Blog Details

cateringpal
bye

Sita Belbase

05 Jan, 2024

श्रध्दाञ्जली



सीता बेल्वासेको

जन्म कणेल परिवारमा बि.स.२०२६ साल श्रावण ११ गते गुल्मी जिल्लाको श्रीङ्गा रूक्सेमा भएको थियो । पिता मेघराज र माता मेघ कुमारीको काखमै हुर्किइन । स्थानीय नारी भन्दा अलिबढि चेत बोकेर किशोरी उमेरमा बर्माबाट नेपाल फर्किएकी आँबै(हजुरआमा)को पालन पोषणको प्रभाव उनको जीवनभरि नै रह्यो । आबैं बर्मामा नै हुर्कनु भएको थियो । सनातन परम्परा, पाञ्चायन पुजा, सोह्र सरादमा १६ ब्राम्हणको मन्त्रोच्चारण तथा नागपुजा आदिले अध्यात्मिक चेत उनलार्इ दियो ।

स्कूल अध्ययन ८ कक्षाभन्दा माथि जारी राख्न उनी अर्घाखाची, अर्घातोष मामाघरमा बस्न थालिन । त्यसभेगका बिद्वान र पण्डितहरूले हजुरबुवा गुणानीधि बण्जाडेबाट सनातन ज्ञान सिक्ने र शाष्त्रार्थ गर्ने गरेको पाइन । ज्योतिष, बेद तथा निर्णयसिन्धु लगायतका शाष्त्रमा पारङ्गत हुनुहुन्थ्यो ।

तर, श्रीङ्गामा देखेको जस्तो भगवनाका मुर्ती र फोटोमा अक्षता चन्दन छरेर पुजा गरेको मामाघरमा नदेखेर छक्क परिन । सनातन परम्परामा कर्मकाण्ड र पूर्बीय दर्शनबीचका अन्तरविरोध देखेर उनको सोच्ने तरिका बदलियो । सीताले २८ डिसेम्बरमा देह त्याग गर्दाकै दिन हजुरआमाले ९५ औं जन्मदिन भोग्नु भयो ।

आर्यसमाज गठन गर्ने योगी दयानन्द सरस्वती सम्प्रदायको प्रयासको निरन्तरता जारी राख्ने हजुरबुवाबाट प्रभावित भइन । कर्मकाण्ड भित्र भएका बिकृति सुधार गर्ने प्रयास अनुभूत गरिन । सनातन धर्म सुधार गरेर धर्मपरिवर्तन गरेकाहरूलार्इ सनातन धर्ममा फिर्ता गरेका र फिरङ्गी भगाउने दयानन्द सरस्वतीका योगदानको हजुरबुवा अनुयायी हनुहुन्थ्यो ।

त्यही चेतले गर्दा पदार्थलार्इ नभएर चेतनालार्इ प्रधान मान्ने भएता पनि ढोङ्गी कर्मकाण्डमा उनको आशक्ति थिएन ।

उनीसंग मिलेर तीन बिरूवा बर्षा, ऋतु र मौसम हुर्कायौ । ती टुसाबाट समृध्द र आरिथ पालुवा पलाएका छन् । समयको यो निरन्तरतामा सीता समाहित भएकी छन् । सीता र म बि.स. २०४२ सालबाट औपचारिक दाम्पत्यसम्बन्धमा आबध्द भएका हौं । सीता सन् २००६मा नेपालबाट आएपछि बेलायत पिटरबरो बस्न थाल्यौ । म त्यसभन्दा ६ बर्ष पहिला नै बेलायत आएको थिएं । परिवारको मुल मियो नै उनी थिइन । संसारबाट बिदा हुने हप्ता पनि नातिलार्इ स्कूलबाट लिन जान सम्झाउन बिस्तराबाटै फोन गर्नुबाट पुरै परिवार उनीमाथि कति आश्रीत थियौ भन्ने प्रष्ट हुन्छ । मलार्इ त आफूले लगाउने कपडाको साइज पनि थाहा छैन किनकि मैले किन्नै पर्थेन । उनलार्इ गुमाएपछि अति आवस्यक कागजको पोको खोज्दा नभेटाएर एक घण्टा खोज्न परेका जस्ता कडीबाट मुक्त हुन हामीले अझै लामो समय संघर्ष गर्नुपर्ने छ ।

बि.स. २०४४ सालमा हैजा लागेर गाउँबाट बुटवल लाँदै गर्दा उनको सास रोकिएको केही समयपछि जागिन र उपचार पछि निको भयो । ०४७ सालमा दम रोगको उपचारका क्रममा रोकिएको सास एक छिन पछि फिर्ता भएर जागिन । उपचार पछि दमको समस्या सञ्चो भयो । अपवादका रूपमा दम रोग सञ्चो हुने, एलर्जी विरूध्दको भ्याकसिनले सञ्चो पार्यो । हाम्रो विवाह हुनभन्दा पहिला ७–८ बर्षमा पनि निमोनियाले विरामी हुँदा चौरमा सारेपछि पुनः सास फर्किएको पनि आमाले हामीलाइ बताउनुहुन्छ । त्यसैले अर्बुध रोगको यो प्रहार थेग्न उनी काबिल छन् भन्ने हाम्रो विश्वासले भने धोका खायो । चौथो पटक पनि उनले मृत्यूलार्इ पराजित गर्छिन भन्नेमा उनी र हामी सवैजना ढुक्क थियौं । तर, यस पटक शरीरले साथ दिएन । शरीर बिनानै उनी हामीसंग समाहित भएकी छन् ।

गएको जुन २८का दिन अस्पतालमा भर्ना भएपछि चिकित्सकले क्यान्सरको टिस्सु बढेर बाइल डक थुनिएको जानकारी गराए । मृत्यूको त्यो प्रहारलार्इ उनले जित्छिन भन्ने आशा सहित हामी उपचारमा जुटेका थियौ । एनएचएसको ब्यवस्थाप्रति अनुग्रहित हुने गरी सेवा पायौ । त्यसैले एनएचएसलार्इ जोगाउन हामीले सक्दो प्रयत्न गर्ने प्रण गरेका छौ । यसलार्इ जोगाउन सवैले सहयोग गरौ भन्ने अनुरोध गर्दछु । अन्तिमसम्म पनि रोग जित्न उनले पुरै शाहसका साथ लडिन । तर, चिकित्सा विज्ञानको विकासक्रम अझै पर्याप्त हुन नसकेको अवस्था अगाडि लाचार बन्न हामी बाध्य भएका छौ ।

म भन्दा ६ वर्षपछिमात्र उनी जन्मेकी थिइन । तर, म भन्दा पहिला नै यमराजले लगे । त्यसैले चित्रगुप्त हिसाब नै जान्दा रहेनछन् भन्ने प्रभाणित भएको छ ।

यसै घडीमा हामीसंग दुर्इ बैकल्पीक प्रश्न उब्जिए । गौदान, शैयादान, यमदान आदि गरेर कृषी ब्यवसायमा हुँदा ब्यवस्थित गरेको परम्परा अपनाउने सहज बिकल्प थियो । त्यो परम्पराले सीताको अवस्थामा म र मेरो अवस्थामा सीता भएको भए सती प्रथा मान्न नलगाएपनि उनीमाथि विधुवाको कठोर नियम थोपर्ने थियो । तर, म लोग्ने भएकै कारणले मलार्इ कुनै पनि नियम बन्धनको छुट दिने विभेदकारी प्रथा रहेछ । त्यसैले मैले यो विकल्प रोज्न सकिन ।

संस्कार जस्ताको तस्तै पालन नगरे संस्कृति नासिन्छ भन्ने स्टकहोम सिण्ड्रोम हाम्रो समाजमा छ । जातीय र छुवाछुतको बिकृत बन्धनमा हामी थुनिएका छौ । तर, हामी त्यही बिक्रति जोगाउन सहयोग गरिरहन्छौ । त्यसैले हामी स्टकहोम सिण्ड्रोमबाट ग्रसित छौ भन्ने लाग्छ । उपचार गरेर यो सिण्ड्रोमबाट समाजलार्इ मुक्त गर्न जरूरी छ ।

चलिआएको कर्मकाण्डीय अन्त्यष्टि परम्पराले जातीय ब्यवस्था र छुवाछुतलार्इ प्रत्यक्ष र अप्रत्यक्ष रूपले कायम राख्ने हुनाले यो परिमार्जन गर्नै पर्ने जिम्मेवारी हामीले सीताबाटै बोध गरेका हौ । चन्द्रमालार्इ भगवन मानेर अर्घ चाढाउने परम्परा जेम्सबेव टेलिस्कोपको चेतनामा मेल खाइरहेको छैन । कर्मकाण्डका पण्डितहरूले संस्कारमा समयानुकुल सुधार नगरेको देख्दा नालन्दा विश्वविध्यालय लगायतको गुरूकुलको अभावले हामीलार्इ मर्माहित बनाएको छ । बालमीकी रामायणमा भएको शम्बुक प्रसङ्ग तुलसीदासले हटाएर सुधार गर्नु प्रगतिशील कदम थियो । शुद्रले तपस्या गरेकै कारण रामले हत्या गर्ने साहित्यबाट जातीय र छुवाछुत प्रश्रय पाएको भाग हटाउनु उनको क्रान्तिकारी कदम देखिन्छ । तर, नेपालमा भानुभक्त सिर्जित बधुशिक्षा जस्ता प्रसङ्गले समाजलाइ दिएको मार्ग प्रगतिशील हुन सकेको पाइँदैन ।

यो सुधार सहित परम्परा धान्रे हाम्रो प्रयासमा कतै त्रुटि हुन्छ कि भन्ने डर पनि लागिरहेको छ । यही समाजले बिकृति हटाउने सुधार गर्दै हाम्रो नेपाली संस्कृति यो यूगमा पनि जोगाउने छ भन्ने आशा छ । नेपाल बाहिरै हुर्कने सन्ततिले हाम्रा पुरखा नेपालबाट आएको अलग पहिचन जोगाउने संस्कृति जोगाउन पाउन र जोगाउन भन्ने चाहना एवं लोभ लागेकोछ । त्यो लोभ सितालार्इ पनि थियो र छ ।

संस्कार मान्ने नाममा कुस समाएर दिइने गौदान, यमदान एवं शैयादान गरेर ब्राम्हणबादको निरन्तरता कायम गर्न हामी असमर्थ छौ । त्यसको सट्टामा कल्याणकारी च्यारिटीको विकल्प अपनाउने हाम्रो प्रयासमा साथ, समर्थन गर्नुभएमा अनुग्रहित हुनेछौ । साथ समर्थन गर्न नसक्नेहरूले यो विकल्प रोजेकोमा विरोध गर्नु भएन भने मात्र पनि हामीलार्इ यो दुखको घडीमा सान्त्वना दिएको मान्ने छौ ।

अन्त्यमा, परम्परा अनुसार नै तेह्रौ दिनमा हामीले योजना गर्ने पित्रीप्रसाद ग्रहण गरेर हाम्रो संस्कृति जोगाउन सहयोग गर्नुहुन अनुरोध छ ।

हजुरहरू सवैको भावनात्मक तथा विविध सहयोगबाट हामीले यो बज्रपातलार्इ थेग्ने प्रयास जारी राखेका छौ । हामी हजुरहरूप्रति अनुग्रहित छौ ।

रामायणको किष्किन्धाकाण्डमा एउटा प्रसङ्ग छ । बालीको बध गरेपछि रानी ताराले रामसंग नैतिक एवं तार्किक प्रश्न गर्दै बालीको मृतशरीर प्रति आशक्तिपूर्ण बिलौना गरिन । तब रामले ‘बालीले त्यो शरीर त्याग गरिसकेका’ हुनाले शरीरसंगको आशक्तिको अर्थ नरहेको भनेर सम्झाउँछन् ।

सीताले छाडेको शरीरप्रतिको आशक्तिबाट मुक्त हुन नसकेर हामी मर्माहित भएका छौ । तरपनि सनातन परम्पराअनुसार दाहसंस्कारको लागि जुटेका छौ । यस दुखद घडीमा भावनात्मक एवं विविध सहयोग पुर्याउनुहुने सवैप्रति हामी आमारी छौ ।

समय चक्रबीच उनको शरीर नास भएपनि सीता मसंग नै छिन, म भित्त्रै समाहित रहनेछिन, हामीसंग नै छन् र रहिरहने छिन ।

Donation link

Recent Blogs