Govind Belbase
<April 2026>
SuMoTuWeThFrSa
2930311234
567891011
12131415161718
19202122232425
262728293012
3456789
‘बहुजनहिताय नीति' र खोप
‘बहुजनहिताय नीति' र खोप

गोविन्द बेल्वासे
बुधबार, पौष २२ २०७७

गत हप्ता बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले गरेको आह्वान दर्शन शास्त्रको 'बहुजनहिताय' (utilitarianism) सिद्धान्तको प्रत्यक्ष उदाहरण हो । बेलायतमा गत महिनादेखि लगाउन थालिएको कोभिड–१९ विरूद्धको भ्याक्सिन दोस्रो खोप दोहोर्याउन भन्दा पहिला सकेसम्म धेरै ब्यक्तिलाई पहिलो खोप लगाउन उनले आह्वान गरेका थिए । उक्त भ्याक्सिन उत्पादन कम्पनी फाइजर–बायोएनटेकले भने कोभिड–१९ बाट सुरक्षाको लागि दुई खुराक लगाउन पर्ने भनेको छ । भ्याक्सिन सम्बन्धी सरकारी निकायले पनि आपत्कालिन रूपमा दुइ खुराक भ्याक्सिन प्रयोग गर्न अनुमति दिएको हो ।



पूर्व प्रमले २३ डिसेम्बरमा द इन्डिपिण्डेन्ट पत्रिका मार्फत गरेको उक्त आह्वान लाई वैज्ञानिकहरू तथा बेलायत सरकारले पनि सकारात्मक रूपमा लिएको देखिन्छ । दुईवटा खोप लगाउँदा हुने सुरक्षा भन्दा एउटामात्र खोप लगाउँदा हुने सुरक्षा कम भएता पनि खोप लगाउन पर्ने ब्यक्ति धेरै र खोपको उत्पादन तथा उपलब्धता थोरै भएको अवस्थामा ब्लेयरको सुझाव सकारात्मक देखिन्छ ।

ब्लेयरको आह्वान प्रोफेसर डेभिड सेल्सवरीको सुझावको आधारमा भएको बीबीसीले जनाएको छ । प्रोफेसर सेल्सवरीले उक्त खोपको एक खुराकले ९१ प्रतिशत र दुइ खुराकले ९५ प्रतिशत सुरक्षित बनाउने भनेका छन् । न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा भने उक्त खोपको दोस्रो खुराक लगाएको छ दिन पछि ९०.५ प्रतिशत सुरक्षित हुने जनाइएको छ । खोप लगाए पछि शरीरले कोभिड प्रतिरक्षा क्षमता दिनदिनै बढाउँदै जान्छ । खोप लगाउनासाथ तुरन्तै पुरै सुरक्षा दिने हुँदैन ।

सभ्यताको मापदण्ड

ब्यवहारमा हेर्दा मेरी छोरीले उक्त भ्याक्सिनको पहिलो खुराक लगाइसकेको र अर्को हप्ता दोस्रो खुराक दिइने भनिएको छ । सवैलाइ लगाउने खोपको अभावमा दोस्रो खुराक लगाएर उनको सुरक्षा बढाउने कि उनको लागि राखिएको अर्को खोप अर्कै ब्यक्ति लाई दिने भन्ने ब्यवहारिक प्रश्न उब्जिएको छ । निर्णय गर्ने अधिकार सरकारी निकायलाइ भए पनि यस विषयको पारिवारिक धारणा कस्तो हुन्छ भन्नेमा सभ्यताको मापदण्ड मापन गर्न सकिन्छ । मानविय स्वभाव अनुसार नै छोरीले दोस्रो खुराक लिएर सुरक्षित हुन खोज्नु स्वभाविक हो । तर, दोस्रो खुराक नदोहोर्याएर अरूलाइ दिन थालेको खण्डमा अरू परिवारले खोप लगाउन पाउने पालो चाडो आउने आशा गर्ने अवस्था बनेको छ । यस्ता ब्यवहारिक अन्तर्विरोधहरूलाइ सन्तुलित पार्न नसक्ने हो भने शान्ति खल्बलिने सम्भावना समेत रहन्छ । उत्पादन कम्पनीले भने दोस्रो खुराक पहिलो खुराक लगाएको २८ दिनदेखि बाह्र हप्ता सम्ममा दिनु पर्ने भनेको छ । अनुसन्धान पनि त्यसै गरी गरिएको आधारमा समय तोकिएको हो । पूर्व प्रमको सुझावलाई बेलायत सरकारले पनि सकारात्मक रूपमा लिएको देखिँदा पहिलो खोप र दोस्रो खोप बीचमा १२ हप्ताको अन्तराललाइ अवलम्बन गरिने सम्भावना अधिक छ ।

यसै बीच अक्सफोर्ड यूनिभर्सिटी र अस्ट्राजेनिका कम्पनी मिलेर तयार पारेको खोपले पनि मान्यता पाएको र धेरै मात्रामा उपलब्ध हुने हुनाले आशा थपिँदै गएको छ । संक्रमणको सम्भावनाको आधारमा प्राथमिकतामा परेका ब्यक्तिहरूलाई पाँच हप्ता भित्रमा खोप लगाइसक्ने योजनामा बेलायतसरकार अग्रसर भैरहेको अवस्थामा १२ हप्ताको अन्तराललाई अवलम्बन गरेर पूर्व प्रम ब्लेयरको सुझावलाई ग्रहण गर्न बेलायतका आम सुमदायले भावनात्मकरुपमा स्वीकार गरेको देखिन्छ ।

टोनी ब्लेयरको भावनालाई हेर्दा दार्शनिक जेरमि बेन्थम र जोन स्टुअर्ट मिलको दर्शनलाई आदर्श मान्नु पर्ने हुन्छ । दर्शन शास्त्रका विद्यार्थीका लागि यो एक ज्वलन्त उदाहरण पनि हो । समाजका ब्यक्तिहरूको धारणा फरक फरक हुन्छ । कसैले जो संग महँगो भ्याक्सिन किन्ने क्षमता छ उसले प्राथमिकता पाउनुलाई स्वभाविक भएको वकालत गरेको पनि पाइन्छ । धेरै अघिदेखि नै यस्ता वैचारिक छलफल प्राज्ञहरूका बीचमा पनि हुँदै आएको हो । युवा पुस्तामा आरक्षणको विषयमा हुने विवाद पनि यस्तै दार्शनिक पक्षबाट केलाउन सकिन्छ ।

समाजमा थोरै समुदायले अरूले भन्दा बढि सुविधा पाएका हुन्छन् । सुविधा पाएका समुदायका सदस्य लाई सुविधाबाट बञ्चित समुदायसंग बरोबरिको प्रतिस्पर्धामा धकेल्दा सुविधा प्राप्त समुदायले नै उछिन्नु स्वाभाविक बन्न जान्छ । त्यसैले त्यही वर्गले हालीमुहाली गरिरहन्छ । आरक्षणको सिद्धान्त विरोध गर्नेहरूले त्यस्तै समानताको वकालत गरेको पाइन्छ । भारतको संविधान लेख्ने क्रममा डा. भिमराव रामजी अम्बेडकरले आरक्षणको ब्यवस्था गरेर समान सुविधाबाट बञ्चित समुदायलाइ उद्धार गर्ने नीति लेख्नमा ठूलो भूमिका निभाएका थिए । तर ७० वर्षसम्म पनि भारतको संविधानको उक्त भावना साकार हुन नसकेको देख्दा यस विषयमा थप कार्ययोजना अघिबढाएर सुविधाभोगी र वञ्चित समुदाय बीचको दूरी घटाउने प्राज्ञिक छलफल चलिरहन पर्ने देखिन्छ । नेपालको परिप्रेक्षमा राजनीति र नियुक्तिहरूमा महिलाका लागि आरक्षणको ब्यवस्था गरिएको छ । तर सुविधाभोगी नेतृत्वले दुरूपयोग गरेको देख्दा संविधानको परिकल्पना सकार हुने सम्भावनामाथि प्रश्न उठाउन सकिन्छ । हालीमुहाली भएका नेताकी श्रीमतीले वञ्चित समुदायको सुविधा पनि आफैले लिने प्रवृत्ति देख्दा जेरमी बेन्थम र जे एस मिलका भावना संविधानका अक्षरमै सीमित रहने सम्भावना देखिन्छ ।

आदर्श नेतृत्व

नेतृत्व आदर्शवान नबन्दासम्म संविधानका अक्षरले समाज अगाडि बढाउन सक्दोरहेन छ भन्ने विषय संसद विघटनसम्मको धुर्त्याइबाट पनि पुष्टि हुन्छ । भारतबाट नेपालमा सांस्कृतिक प्रभाव परे जस्तै भारतका नेताहरुको आदर्शले नेपालीको भावनामा पनि प्रभाव पारेको हुन्छ । उदाहरणको लागि भारतका नेताहरूको धोती–कुर्ता–गम्छाको सादापहिरनको प्रभाव ०४६ अघिका नेपाली नेताहरूमा देखिन्थ्यो । सबै जनताको जीवनस्तरभन्दा भड्किलो जीवनशैली प्रदर्शन हुन्छ कि भन्नेमा नेतृत्व सतर्क हुन्थ्यो । त्यसबाट जनभावना पनि तडकभडकतिर नगएर सवैलाइ पुग्ने स्तरमा आकर्षित हुन्थ्यो । ०४६ पछि पजेरो चढ्ने, राजधानीमा अग्ला महल ठड्याउने नेतृत्वको होडले गर्दा नेपाली जनमानसमा पनि गच्छे भन्दा बढी तडकभडकको होडवाजी चलेको सर्वत्र अनुभव गरिन्छ ।

भैसकेको कमजोरी सुधार गर्नु पनि नेतृत्वको जिम्मेवारी हो । आफूले पहिलो अवसर समातिहाल्ने होडबाजी छाडेर कुन नीति अवलम्बन गर्दा सवैभन्दा बढि नेपालीलाई कोरोनाबाट बचाउने खोप वितरण गर्न सकिन्छ भन्ने चिन्तन नेतृत्व तहमा हुन जरूरी छ । नेपालका सुविधाभोगीहरूले विदेश गएर महँगो भ्याक्सिन लगाएर ज्यान बचाउने सम्भावना छ । सर्वसाधारणको ज्यान बचाउने खोपको लागि बहुजनहिताय नीति अवलम्बन नगर्ने हो भने वर्तमान नेतृत्वलाई भावी पुस्ताले धिक्कार्ने छ ।

www.globalnepalese.com मा प्रकाशित
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.