रङको राजनीति र बर्गचरित्र गोविन्द वेल्वासे
अप्रिल ९, २०१३ मंगलबारका दिन बेलायतमा प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले मुख्य पृष्ठमा एउटै समाचार प्रकाशित गरे। अधिकांशले त्यही समाचारलाई कालो पृष्ठभूमिमा सेतो अक्षरले प्रमुखताका साथ प्रथम पृष्ठमा छापे। बेलायतमा सर्वाधिक विक्री हुने टेबल्वईड दैनिक “दी सन” पत्रिकाले त्यही समाचार निलो रङको पृष्ठभूमिमा प्रमुखताका साथ प्रथम पृष्ठमा छाप्यो। ती सबै पत्रिकाहरुको समाचार चाहिँ वेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचारको निधनको समाचार थियो। सामान्यतया कसैको मृत्युमा खुसियाली मनाउन सहज हुँदैन र उत्सव मनाईँदैन पनि। तर, बेलायतमा थ्याचरको मृत्यूको शोक मनाउने विषय भने दुई भागमा विभाजित हुन पुग्यो। यो विभाजनले ब्रिटेनको सत्ता र बेलायती जनता बीचको भिन्नता छताछुल्ल पारेको छ। उनको निधनको समाचारका बारेमा प्रतिक्रिया दिँदै बेलायतका वर्तमान प्रधानमन्त्री डेविड क्यामरुनले ब्रिटेनलाई योगदान पुर्याएकी व्यक्तित्वको वखान गर्दैगर्दा थ्यचरको प्रशासन र नीतिका कारण पीडित भएका श्रमजीवीहरुले थ्यचरको मृत्यूको उत्सव मनाए। थ्याचरले आफ्नो कडा राजनैतिक कदमका रुपमा मजदुर हत विपरित निर्णयहरु गरेकी थिइन। खास गरेर उनले कोइलाखानी उद्योग बन्द गरेका कारण हालसम्म चार पुस्ताले उत्पिडन झेल्न परेको मजदुर पीडाका कारण थ्याचरको मृत्यूमा ती पीडित परिवारले उत्सव मनाएका हुन्। मजदूर यूनियन र सरकार बीचको द्वन्द्वका कारण थ्याचर सरकारले कोइलाखानी बन्द गर्दा श्रमिकहरु वेरोजगार बनेपछि चारपुस्तासम्म पनि त्यो समाज सम्हालिन सकेको छैन। स्मरणीय कुरा के छ भने अहिले पनि कन्जरभेटिभ पार्टीकै मिलिजुली सरकार छ र प्रम क्यामरुन पनि त्यही पार्टीका अध्यक्ष समेत हुन। श्रमजीवीहरुको पक्षमा रहेका वुद्धिजीविहरुले थ्यचरले मजदुर यूनियन (ट्रेड यूनियन)लाई निस्तेज पारेर मालिक वर्ग रिझाएको वकालत गर्दै अएका छन्। थ्याचरको मजदुर यूनियन निस्तेज पार्ने कुटिल चालका कारण वेलायतका मजदुर र ग्रामिण जीवन घाटामा पर्दै गयो। तर, उनकै नीतिले गर्दा बेलायती सहरको आर्थिक क्रियाकलाप बृद्धि हुनुका साथै लण्डन त विश्वका धनाढ्यहरुको मुख्य केन्द्र बन्यो भन्ने दावी गरिन्छ। त्यसैले थ्याचर प्रशासन र उनको नीतिले मालिकहरुलाई फाइदा पुर्यायो र वलायती श्रमजीवीहरुलाई घाटा दिलायो भन्नेहरु धेरै छन्। उनकै नीतिका कारण व्रिटिस साम्राज्यले स्वरुप बदलेर नयाँ ढङ्गबाट अगाडि बढ्यो तर आर्थिक मन्दीका कारण वेलायती श्रमजीविहरुको दैनिकी झन पछि झन कष्टकर बन्दै गएको छ।
थ्याचरको कुटिल चाल के थियो त? थ्याचर वेलायतकी प्रधानमन्त्री बन्दा मालिक वर्ग र मजदुर यूनियन बीचको खिचातानी निकै बढेको थियो। थ्याचरको नीतिलाई गहिराइसम्म गएर अध्ययन गर्ने बुद्धिजीविहरुले ट्रे़डयूनियन निस्तेज पार्ने मुख्य नीतिको त विरोध समेत नभएको बताउँछन्। अहिले मजदुर यूनियन प्रभावहीन अवस्थामा पुगिसकेपछि भने मजदुर नेताहरुले मुख्य विषयमा विरोध हुन नसकेका कारण मजदुरहरु झनपछि झन् उत्पिडित हुँदै गएको स्वीकार गरेका छन्। मार्गरेट थ्याचरको पालामा मजदुर हितसम्बन्धी कानूनमा संशोधन गरेर दुरगामी असर पार्ने नीति अवलम्बन गरियो। ट्रेड यूनियनमा सक्रिय भएका कारण पूर्वाग्रही भएर मालिकले मजदुरमाथि कारवाही गर्न नपाउने प्रावधानलाई संशोधन गरेर हटाइनु नै दुरगामी प्रभाव पार्ने मजदुर हित विरोधी उनको नीति थियो। त्यो कानून संशोधन गर्दा यसले पुर्याउने असरका बारेका मजदुर नेताहरुले चाल नै पाएनन् वा चाल पाए पनि खासै महत्व दिन सकेनन्। तर, पछि जब ट्रेड यूनियनमा सक्रिय हुने नेतृत्वतहलाई मालिकहरुले कारवाही गरेर मजदुर संघर्षलाई निस्तेज पार्न थाले। त्यसबेला त्यो कानूनको विरोध गर्न धेरै ढिला भैसकेको थियो। त्यो कानूनको विरोधमा जुन मजदुर सक्रिय हुन्थ्यो, उ कारवाहीमा पर्थ्यो र गाँस वाँस कपास गुमाएर थला पर्थ्यो। त्यसले गर्दा पुरै मजदुर संघर्ष पुरै निस्तेज भयो। त्यसको फाइदा मालिकहरुलाई भयो। त्यही फाइदा उठाउन तथा “हायर एण्ड फायर” नीति बोकेको बेलायती कानूनका कारण लगानीकर्ताहरुले लण्डन लगायतका बेलायती सहरलाई केन्द्र बनाउँदै गए। त्यसबाट वेलायती सम्भ्रान्तहरु मौलाउँदै गए भने वेलायती श्रमजीवीहरुको जीवनस्तर खस्कँदै गएको छ। विकसित मुलुकमा बस्ने श्रमजीवीहरुको जीवन स्तर तुलना गर्नेहो भने वेलायतका श्रमजीवीहरुको जीवनस्तर सवैभन्दा निम्न स्तरको रहेको छ। सन् १९८४ मा वेलायतमा १७४ वटा सरकारी खानीहरु थिए। सन् १९८५ मा थ्याचर नेतृत्वको सरकारले नाफा कमाउन नसक्ने २५ वटा खानीहरु बन्द गरिदियो। त्यसबाट एकै पटक बीस हजार श्रमिकहरुले रोजगारी गुमाएपछि पूरै समाजमा नकारात्मक असर पर्यो। सन् १९९२ सम्ममा ती बाँकी मध्ये ९७ वटा खानी पनि बन्द भए र बाँकी अन्य खानीहरु १९९४ मा निजीकरण गरिए। तीनै रोजगारी गुमाएका खानी मजदुरका परिवार तथा सन्तानले अहिले थ्याचरको मृत्युमा शोक होइन खुसीयाली मनाएका छन्। थ्याचर प्रधानमन्त्री वन्दा सन् १९७९ मा ट्रेड यूनियनको सदस्य संख्या १३ करोड ५ लाख थियो। त्यो संख्या थ्यचरले प्रधानमन्त्रीको पद छाड्दा १९९० मा घटेर एक करोड मात्र बचेको थियो। यो थ्याचर नीतिका कारण भएको थियो।
पूर्व प्रधानमन्त्री थ्याचरको मृत्यूको खबरः बेलायतकी प्रथम महिला प्रधानमन्त्री मार्गरेट थ्याचरको ८७ वर्षको उमेरमा अप्रिल ८, २०१३ का दिन हृदयघातबाट मृत्यु भएको छ। बेलायतको इतिहासमा २० औँ शताब्दीमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेकी मार्गरेट थ्याचर सन् १९७९ देखि १९९० सम्म ११ वर्ष बेलायतकी सरकार प्रमुख भएकी थिइन्। उनको अन्त्यष्टि बुघबार, अप्रिल १७, २०१३ का दिन लण्डनको एक क्याथेड्रलमा इसाई परम्परा अनुसार हुने भएको छ। मजदुर यूनियनहरुलाई निस्तेज गर्नको साथै नीजीकरणलाई प्रश्रय दिएको र फोकल्याण्ड युद्धसँग पनि उनको प्रशासनीक कार्यकाल र नीति जोडिएको छ। शीत युद्धको समयचक्रमा सोभियत संघका गुप्तचरहरुले उनलाई जनाउने गरेको “अइरन–लेडी” शब्द पछि प्रचलित उपनाम बन्न गएको यथार्थले पनि उनको स्वभाव दर्शाउने गर्छ। भनिन्छ उनी यती कडा स्वभावकी थिइन कि त्यो भन्दा बढि कडा हुन सक्ने सम्भावना नै थिएन्। उनको कार्यकाल र सक्रियताबाट बेलायतमा मात्र नभएर संसारमै महिला नेतृत्वको लागि उर्जा प्रदान गरेकोलाई भने महिला अधिकारकर्मीहरुले सकारात्मक रुपले लिने गर्दछन्। तर, उनकै कार्यकालमा उनले महिला नेतृत्वका लागि प्रश्रय नदिएको भन्ने उनीमाथि आरोप लाग्ने गरेको छ। उनको मन्त्रिमण्डलमा एक महिलालाई मात्र मन्त्री बन्न मौका दिएकाले पनि उनीमाथिको आरोप पुष्टि भएको देखिन्छ। उनी आफैले महिलाहरुलाई उत्साहित गर्न बढि प्रश्रय नदिएता पनि उनको सफलताबाट महिलाहरुले मेहेनत गरे पाउन नसक्ने पद छैन भन्ने सन्देश पाएका छन्। संसारभरिका महिलाहरुलाई नेतृत्वदायी पद ताक्न उनी एक प्रेरणाको स्रोतका रुपमा रहेकी छन्। एक महिला नेतृ भैकन पनि पुरुष प्रभूत्व रहेको अन्तर्राष्ट्रिय राजनीतिमा समेत उनको भूमिका दह्रो नेतृत्वको रुपमा रहने गरेको थियो। अधिकांश राष्ट्रिय दैनिक छापाहरुमा वेलायतमा उत्पिडनमा परेका श्रमजीवीहरुको पीडा संबोधन गर्ने गरी कालो पृष्ठभूमिमा उनको खबर छाप्दा सम्भ्रान्त मेर्डिकको स्वामित्वको 'सन्' पत्रिकाले नीलो पृष्ठभूमिमा छापेको उक्त समाचारलाई पनि अर्थपूर्ण रुपले हेर्ने गरिएको छ। वेलायतको कन्जर्भेटिभ पार्टीलाई श्रमजीवीको भन्दा बढि सम्भ्रान्त वर्गको हितमा काम गर्ने पार्टीका रुमा मुल्याङ्कन गर्ने गरिन्छ। थ्याचर त्यही कन्जरभेटिभ पार्टीकी अध्यक्ष हुनका साथै त्यही पार्टीकी प्रधानमन्त्री थिइन। “दी सन्” पत्रिकाले संभ्रान्त वर्गको हितमा काम गरेकी थ्याचरको निधनको समाचारलाई सम्मान स्वरुप नीलो रङले रङ्गाएको विश्लेषण गरिएको छ। तर, मृत्यु शोकमा कालो रङ र कालो पहिरनबाट प्रतिनिधित्व गर्ने वेलायती प्रचलनले गर्दा कालो पृष्ठभूमिलाई भने दुबै अर्थमा विश्लेषण हुने गरेको छ। सन् पत्रिकाका मालिक सम्भ्रान्त वर्गका मिडिया टाइकुन हुन तर यस टेबल्वईडका अधिकांश पाठक भने श्रमजीवी हुने गर्दछन्। उक्त पत्रिकाका मलिकले आफ्नै नाफाका लागि योगदान दिने थ्याचरलाई सम्मान गर्नु स्वभाविक भएता पनि थ्याचरबाट जति रिसाएका भए पनि ती श्रमिक पाठकरुले “दी सन्” पत्रिकालाई पढ्न छाड्ने सम्भावना भने देखिंदैन। यस विषयलाई सम्भ्रान्तहरु र बुद्धिजीवीहरुले पढ्ने ब्रोडगेज पत्रिकाहरुले नै भविष्यका दिनमा विश्लेषण गर्ने सम्भावना रहेको छ।
थ्याचर प्रशासन र नीतिबाट परेको असर थ्याचरको प्रशासन र नीतिले पारेको असरबाट बेलायतका श्रमजीवीहरुको रोजगारी गुमेका कारण आफ्नो घरको किस्ता तिर्न नसकेर प्रमुख सहर बाहेक अन्यत्रका घरको मुल्य घटिरहेको छ। विश्वकै धनाढ्यहरुलाई थ्याचरको नीतिले निकै राम्रो गर्यो र लण्डन जस्तो सहरमा सम्भ्रान्तहरुका लागि मौकाहरु खुले। थ्याचरको कडा स्वभावबाट आत्तिएका कारण उनी प्रधानमन्त्रीबाट हटेपछि नरम मिजासका र मिलनसार मानिने जोन मेजर प्रधानमन्त्री बन्न पुगे। जोनमेजरले नै पदपुर्ति गर्नमा अन्य कारण बाहेक थ्याचरको कडकपनबाट आत्तिएको कन्जरभेटिभ पार्टीका सहकर्मीहरुको रोजाइ पनि एक प्रमुख कारण थियो। थ्याचर नीतिबाट अताल्लिएको मजदुर समुदायको सहयोग स्वरुप ट्रेड यूनियनहरुको समर्थनमा लेबर पार्टी १९९७मा सत्तामा आए पछि विभेद विरुद्धका कानून बनाउने जस्ता श्रमजीवी समर्थनका प्रयास भएता पनि श्रमजीवीहरुले खासै राहत पाउन सकेनन्। हालसम्म पनि ट्रेड यूनियनमा सक्रिय भएका कारण भेदभाव गरिने सम्बन्धमा मालिकहरुलाई रोक लगाउने कानूनको अभाव रहेकाले मजदुर संगठनहरुले निर्णायक भूमिका खेल्न सकेका छैनन्। श्रमजीवीहरुको जीवनस्तर सुधार हुन नसकेको कारण लेबर पार्टीको पनि साख गिरे पछि पुनः कन्जरभेटिभ पार्टी र लिबरल डेमोक्रेटिक पार्टीको मिलिजुली सरकार बनेको छ। जुन सरकारले लोककल्याणकारी बजेटको कटौती गरेका कारण रोजगार गुमाएका श्रमजीवीहरु झन पीडित हुँदै गएका छन्। उनको नीति र प्रशासनका कारण परेको त्यही असरका कारण श्रमजीवीहरुले उनको मृत्यूमा समारोह मनाएका छन्। बेलायतका सम्भ्रान्तहरुमात्र होइन विश्वका धनाढ्यहरु अन्त्यष्टीमा उपस्थित भएर थ्याचर नीतिबाट फाइदा भोगेका वर्गले उनको नीतिमा समर्थन देखाउने छन्।
|