कथा
>रातो पासपोर्ट
>गोविन्द वेल्वासे
>वेलायती जीवनलाई आनन्द मानिराखेका होमनाथले नसोँचेको संकटलाई टार्न केही समय नेपाल जाने विचार गरे । वेलायती रातो पासपोर्ट पाउँदाका दिन उनले आफूलाई धन्य ठानेका थिए । वेलायती नागरिकता लिँदा आफ्नो हरियो रङ्गको नेपाली पासपोर्ट कानूनी रुपमा मान्यतारहित हुन्छ भन्ने पनि उनलाई थाहा थियो । उनलाई आफ्नो नेपाली नागरिकता बदर भएकोमा खासै पीर पनि थिए । हुन त एक मनले नेपालमा दोहोरो नागरिकताको व्यवस्था भैदिए हुन्थ्यो भन्ने उनी चाहन्थे । आफू वेलायती र नेपाली दुवै नागरिक हुन पाए हुन्थ्यो भन्ने चाहना भने उनमा नभएको होइन।
>फेक्ट्रीमा आफूले गर्दै आएको जागिरबाट उनलाई निकालिएपछि उनमाथि संकट आइलागेको हो । छोरी जन्मेको ४ महिना भयो । रातो पासपोर्ट पाएपछि अनेक झमेला ब्यहोरेर काठमाडौंको वेलायती एम्वेस्सीमा केटाकेटी उभिएर विवाह गरेका थिए उनले । परम्परागत पञ्चेबाजा ठोकेको विवाहका आधारमा मात्र दुलहीलाई बेलायत ल्याउन सम्भव पनि थिएन् । सिर्जनालाई लिएर वेलायत आउँदा उनलाई संसारको सवैभन्दा खुसी मान्छे आफु भएजस्तो लागेको थियो । जागिर छँदासम्म त जीवन सुखीसंगै वित्दै थियो । विवाह गरेकी सुन्दर श्रीमती, मोगेर्जको थ्री वेडरुम घर र काममा जान आउन आफूसँग भएको कारलाई उनले सजिलै धानेका थिए ।
>केही समय पछि छोरी स्याहार्न आमालाई नेपालबाट ल्याउने अनि सिर्जनाले पनि काम गर्न थालेपछि क्रेडिटकार्डको ऋणलाई कम गर्ने उनको योजना पनि भताभुङ्ग भएको छ । सोँच त उनको ठीकै थियो, आमाले पनि नातिनी हेर्न र खेलाउन पाउने, हवाई जहाज चढेर वेलायत देख्न पनि पाउने, आफ्नो समस्या पनि समाधान हुने ।
>फेक्ट्रीमा सामानहरु प्याकिङ गर्ने काम गर्थे होमनाथले । विश्व आर्थिक मन्दीसँगै फेक्ट्रीमा काम कम भयो । फेक्ट्रीमा एक दिन कामदारहरुलाईसमेत मिटिङमा बोलाइयो । उनी पनि त्यो मिटिङमा थिए । त्यस दिनसम्म पनि उनलाई यो आपत आइलाग्छ भन्ने थाहा थिएन । मिटिङ बोलाउँदा अव फेक्ट्रीमा काम घटेकोले कामदारहरु घटाइने चर्चा चलेको थियो । तर उनलाई त्यो संकेतले आफैलाई यति चाँडै संकटमा धकेल्छ भन्ने चाँहि थाहा थिएन । वेलायतमा बस्न पाउने कागज पक्का नहुँदासम्मको कमाई नेपालमै पठाइदिएका थिए । हुन पनि वेलायत छिरेको अलि वर्षसम्म त होमनाथलाई वेलायतमै बसोवास गरिएला जस्तो लागेको थिएन । अलि वर्ष कमाएरै नेपाल गएर मस्ती गर्ने हो भन्ने विचार थियो । त्यसैले सकेसम्म छिटो कमाउने र सकेसम्म धेरै कमाई नेपाल पठाउनेमा उनको ध्यान रह्यो । तर समय वित्दै गयो । समयले साथ दिँदै गयो, यतै बस्न पाउने कागज हात लाग्यो । त्यसपछि विस्तारै वेलायती जीवन सहज पनि बन्दै गयो । नेपालप्रतिको माया भए पनि आनन्दको घरजम वेलायतमा बसाउने सोच बढ्दै गयो । वेलायत छिरेपछि दोस्ती बढेका नेपाली संगीसाथीहरुको सङ्गत रमाइलो बन्दै गयो । गाडी चलाउन नसिकी हुने भयो । सिक्न करै लाग्यो । बल्ल तल्ल ६ पटक फेल भए पछि लाइसेन्स पनि हात परिहाल्यो । पहिले पहिले जति धेरै काम गर्न पाए पनि काम गर्न मनलाग्थ्यो । जति सक्यो धेरै पैसा कमाउने सोच थियो । तर पछि-पछि, त्यो सोच केही बदलिँदै गयो । धन कुम्ल्याउने सोँचमा पनि वदलाव आउँदै गयो । कमाएर मात्रै के गर्ने अलि-अलि घुमफिर, मनोरञ्जन गर्नुपर्छ भन्ने भावना र संगीसाथीको रमाइला कुराले वेलायती जीवन रमाइलो बन्दै गयो । तर खर्च धेरै र बचत कम हुने क्रम जारी रह्यो । पहिले भन्दा काममा पनि अलि कम मन लाउने र कामबाट समय निकालेर रमाइलोमा समय विताउने रमाइलो बानीसँगै खर्च बढ्दै गयो । जीवन आखिर एकै रफ्तारले हिँड्दो रहेन छ ।
>उता नेपालका सँगै पढेका साथीहरु कोही जागिरे भए, कोही ब्यापारी, कतिपय अरबतिर गएर पनि राम्रै गरेका छन् । मान्छेको स्वभाव त हो, साथीभाइहरुका अगाडि आफ्नो हैसियत राम्रो देखाउन मन लाग्दो रहेछ ...।
>पहिला-पहिला काम गर्ने गरेको रेस्टुरेन्टको जागिर बदल्न मन लाग्यो । कति रेस्टुरेन्ट लाइनमा काम गर्ने भन्ने लागेर फेक्ट्रीतिर छिरेका हुन् उनी । रेष्टुरेन्ट लाइनमा काम गर्दा राम्रै वचत हुन्थ्यो । अझ पहिला पहिला तलब कम भए पनि रेष्टुरेन्टमा बस्यो, रेष्टुरेन्टमै खायो गर्दा खर्च केही नहुने भएर वचत पनि राम्रै हुन्थ्यो । खर्च भनेको हप्तामा पाँच पाउण्डको फोनकार्ड किनेर नेपाल फोन गर्दा हुने नियमित खर्चबाहेक अरु खासै खर्च केही थिएन । एउटा मोवाइल पनि 'पे एज यू गो' थियो । खर्च धेरै हुन्थेन । तर वेलायती कागज भएपछि त फोन र मोवाइल खर्च मात्र हो र ! टिभी लाइसेन्सदेखि ब्रोडव्याण्डसम्मको खर्चले कहिल्लै बचत हुन दिएन ।
>सुरुमा बैंक खाता खोल्नै गाह्रो पर्यो । तर पछि बैंकले क्रेडिट कार्ड पनि पत्यायो । सहज लाग्दै गयो । खर्च बढ्दै गयो । तर क्रेडिट कार्डको महंगो व्याजसहितको महिनावारी किस्तामा मोर्गेजको किस्ताको भारी थपिँदै गयो । सिर्जनालाई विवाह गर्ने क्रममा तीन-तीन पटक नेपाल आउने जाने गर्दा कामबाट होली डे सबै सकियो । अनपेड होली डेले पनि जागिरमा नराम्रो प्रभाव पर्दै गयो । उता क्रेडिट कार्डको लिमिट थप्दै गए उनले । विवाह खर्च, सिर्जनालाई वेलायत ल्याउने खर्च र हनिमुन मनाउन पनि क्रेडिट कार्डले राम्रै सुविधा दियो । तर सवै बोझ एकैपटक अहिले थाप्लोमा बजारिएर हैरान पारेपछि होमनाथलाई नयाँ उपाय देखा पर्यो, नेपालमा गएर अलि महिना विताउने ।
>फेक्ट्रीबाट रिडेन्डेन्सी लेटर बुझेका दिन काम नभएको बेरोजगार होमनाथलाई जमिन भासिएर आफू त्यहीँ भासभित्र जाकिए जस्तो लागेको थियो । लण्डनमा घर किन्दा लाग्ने मोरगेज धान्न सकिन्न भन्ने बुद्धि पुर्याएरै उनी लण्डनबाट अन्यत्रै सरेर मोर्गेजको घर, कार र फेक्ट्रीको जागिर मिलाएका हुन् । तर यही सानो र सुखी जीवनमा एक्कासी यत्रो ठूलो बोझले उनको जीवन लथालिङ्ग हुन्छ भन्ने उनलाई के थाहा थियो र !
>कामबाट रिडन्डेन्सी लेटर बुझेपछि उनको मोर्गेज तिर्ने उपाय नै हरायो । क्रेडिट कार्डमा लिमिट थपिदिन कति अनुरोध गरे, तर सबै बेकार भयो । भए जतिको लिमिट पनि सकियो । आउने अनइम्प्ल्वाइमेन्ट बेनिफिट र चाइल्ड बेनिफिटले खाना खर्च, विजुली, पानी, ग्याँस, टिभी लाइसेन्सलाई तिर्न पनि पुग्दैन । उता यहीँ बेलामा कारको एमओटी गर्ने बेला आयो । कार नभई जागिर पनि नपाइने । कत्ति गरेर कार धान्न खोजे, उपाय नलागेपछि कार बेच्ने प्रयास गरे, त्यही पनि बिकेन । उपाय हराउँदै गयो । पिरैपिरले निन्द्रा लाग्न छाड्यो विचरा, होमनाथलाई । सिर्जनाका मीठा कुराले पनि होमनाथलाई सान्त्वना दिन सकेन । झर्को लाग्ने र कुरा कुरामा झर्किने गरायो । झर्कने त बानी नै भयो । उता सिर्जनाले आफूलाई त्यस्तो माया गर्ने श्रीमान जतिखेर पनि झर्किन थालेपछि चिन्तित हुँदै गइन् ।
>यो चिन्ता र व्यथाबाट बल्झिएको होमनाथको जीवनमा एउटा बज्रपात बोकेको चिठी लिएर आएको रोयल मेलको झल्किने ड्रेस लगाएको पोष्ट म्यानले ढोकामा चिठीको मुठो छिराएर गयो । चिठीको थुप्रोमा अरु सवै विलहरु थिए । कोही पानीको पैसा नतिरेका फाइनल नोटिस, कोही डाइरेक्ट डेविडका लागि बैंक खातामा पैसा नभएका कारण भूक्तानी हुन नसकेकोले जरिवाना सहितको नोटिस आदि आदि । अनि त्यहीँ बीचमा एउटा थियो, मोर्गेज नतिरेका कारण बैंकले घर फिर्ता लगेकोले घर खाली गरिदिने सूचना । घर खाली गरिदिने सूचनाले होमनाथको मनलाई कठोर बनाइदियो । आपत कसरी झेल्ने भन्दै धेरै दिनदेखि भौतारिएको मनलाई अव ढुक्कसँग उपाय नपहिल्याई नहुने स्थितिमा उनलाई पुर्यायो । त्यही घर खाली गर्न बैंकले पठाएको चिठी हात परेको दिन बिहान उनले टिभीमा वेलायती नागरिकले काम नपाएका समयमा फेक्ट्रीमा विदेशीलाई काम दिएको विरोधमा वेलायती मजदुरले विरोध गरेको हुल देखे ।
>त्यत्तिकैमा एउटा फोनको घण्टी बज्यो । कुनै अर्को आपत बोकेको घण्टी हो कि भन्ने आशंका सहित फोनको रिसिभर उठाएर हेलो भने, उनले । अर्कोपट्टिबाट बोल्ने एउटी स्कटिस स्वरकी एक महिला थिइ । अंग्रेजी भाषामा बोल्ने त्यो केटीले कुरा गर्न थाली । उसले ऋण तिर्न नसकेको भए, सेवा गर्न डेब्ट लाइनबाट फोन गरेर उनको ऋणको आपत मिलाइ दिन सक्ने जुक्ति बताएर सबै उनको ब्यहोरा क्रेडिट कार्डका डिटेल्स सवै लिई । त्यसपछि सबै ऋणको बोझ त्यही ऋण मिलाउने कम्पनीलाई जिम्मा लगाए । घर मोर्गेज कम्पनीले कब्जा गरिहाल्यो ।
>अनि होमनाथको सबैभन्दा मिल्ने साथी मिलनसँग सल्लाह गरेर आफ्ना खत्राक-खुत्रुक सामान जति मिलनका ग्यारेजमा लगेर थन्काए । त्यसपछि नेपालतिर लागे सिर्जना र चार महिनाकी छोरी लिएर होमनाथ ।
>नेपालमा पठाएको पैसाले घर व्यवस्था सवै राम्रै थियो । आखिर आपतको समयमा त्यही काम लाग्यो । बाबु आमा दाजूभाइ दिदीबहिनी सवैजना होमनाथका परिवार नेपाल आएकोमा खुसी पनि भए । कसैले भाञ्जालाई वेलायत लगिदिन अनुरोध गर्थे, कसैले के के भन्दै आफ्नो घरमा खाना खान पनि बोलाउँथे । तर उनीहरुलाई होमनाथको त्यो आपतबारे केही पनि थाहा थिएन ।
>एकदिन एक्कासी सईको नेतृत्वमा आएको प्रहरीको गाडी होमनाथका घर अगाडि रोकियो । होमनाथलाई बोलाएर सोधपुछ गरेपछि हरियो र रातो दुवै पासपोर्टसँगै होमनाथलाई प्रहरीले गाडीमा हालेर लग्यो ।
>आर्थिक समस्या परेकोले होमनाथले वेलायती पासपोर्ट लिएको भए पनि भिसा खर्च बचाउने लोभले नेपालकै पासपोर्ट देखाएर नेपाल छिरेका थिए । तर नेपालको भिसा नलिई नेपाल बसेका होमनाथलाई प्रहरीले पक्राउ गर्यो । सामाजिक मान्यतामा रातो पासपोर्टले निकै रवाफ बढाएको भए पनि त्यही रातो पासपोर्टका कारण नेपालमा प्रहरीको फन्दामा पर्दा उनको शिर निहुरियो ।
> |