विवाह गर्ने पद्धति कहिलेबाट सुरु भयो भन्ने पत्ता लगाउन सजिलो छैन तर मानवीय सभ्यताको प्रतिकको रुपमा पनि विवाह पद्धति र परिवारिक संरचनाको विकास भएको होला भन्ने अनुमान गर्न सकिन्छ ।
>परम्परागत रुपमा पूरुष र महिला बीच सम्बन्ध गाँसेर जीवनसाथी बन्ने आपसी सम्बन्धका रुपमा विवाहको प्रचलन सुरु भएको हुर्नुपर्छ । मुस्लिमहरु विवाहलाई लोग्ने र स्वास्नीका बीचको करार अर्थात सम्झौता मान्दछन् । हिन्दुहरुले विवाहलाई पुरुषले अर्धाङ्गनीलाई जीवनसाथीका रुपमा अपनाउने संस्कार, गृहश्रमको आधार तथा सन्तान उत्पत्ती र सृष्टिको निरन्तरता मान्दछन् । विविधता भित्रको एकताका रुपमा विपी कोइरालाले 'सुम्निमा' पुस्तकमा दर्शाएको पारिवारिक संरचनाको अध्ययनबाट नेपालमा विवाहका मान्यताहरु कसरी विकास भएका होलान भन्ने अनुमान गर्न सकिन्छ । उनले सो पुस्तकमा प्रचलित विवाह-संस्कार र सन्तान उत्पत्तिका परम्परागत मान्यताहरुका पछाडि तत्कालिन सामाजिक असमानता भित्र प्रकृतिका नियमहरुको जटिलता पनि झल्काएका छन् । प|mायडले विश्लेषण गर्ने मानवीय आवश्यकता पर्ूर्तिको माध्यमलाई सभ्यताको कडीका रुपमा सन्तुलित पार्ने नियमको परिधि पनि हो "विवाह" भन्ने देखिन्छ । आजको सभ्य मानव समाजमा "विवाह" पुरुष र महिलाबीचको सम्बन्ध वा सम्झौताको रुपमा सिमित रहेको छैन । समलिङ्गी विवाहको प्रचलनलाई प्रकृतिको नियम भित्रकै कडी मान्ने मात्र होइन मानवअधिकारको अंश मान्नु पर्छ भन्दै हाम्रो सभ्यता अगाडि बढिरहेको छ । समलिङ्गी सम्बन्धलाई अप्राकृतिक मान्ने पुरातनवादी सोँच र नवअधिकारवादीहरुको आन्दोलनबीच संर्घष बढ्दै जाँदा समलिङ्गीहरुले आफ्ना क्रियाकलाप पनि प्रकृति कै देन हो भन्ने तर्क प्रस्तुत गरिरहेकै छन् ।
>लिङ्ग परिवर्तन गरेर महिला पुरुष बन्ने र पुरुष महिला बन्ने प्रचलनले गर्दा मात्र विवाहका पुराना मान्यता फेरिएका होइनन् । विवाह पर्ूव सन्तान जन्माउन नपाईने सामाजिक मान्यता फेरिएर गर्लफ्रेन्ड र ब्वायफ्रेन्ड भएर सँगै बस्दैमा र सन्तान जन्मदैमा विवाह मान्न सकिन्न भन्ने पाश्चात्य मान्यता नेपालको समाजले पनि अपनाउन जायज हुन्छ भन्ने कुरालाई नेपालको सर्वोच्च अदालतले अन्नपूर्ण राणाको मुद्दामा नजिर नै प्रतिपादन गरेको छ ।
>हाम्रो समाजमा "विवाह" महिलाको इज्जतसँग चाँही जोडिने तर पुरुष भने बेस्यालयमा जाँदा पनि इज्जात नजाने प्रचलनका रुपमा असमानताको आधार बन्दै विकास भएको छ । दाईजो कम ल्याउने बुहारी माथिको प्रताडनाका कथाले विवाह पद्धतिमा रहेका नकारात्मक पक्षलाई उजागर गरिनै रहेका छन् । तर, विवाहका मान्यताका कडा नियमहरु भित्रका पूर्विय संस्कारका कमजोडीहरुलाई तुलनात्मक रुपमा पाश्चात्य समाजका छाडा प्रवृतिले गर्दा पारिवारिक सम्बन्ध सन्तुलित हुन नसकेको यथार्थ सँग पनि हेर्नुपर्ने हुन्छ । बेलायत जस्ता देशमा करिव पचास प्रतिशत जति विवाहहरु संबन्ध विच्छेद -डिभोर्स) बाट टुङ्गन्छन् र बाल वच्चाहरु आमा-बावुको ममतामय पालन तालनबाट बन्चित हुन्छन् ।
विवाह पद्धतिलाई सन्तुलित पार्ने र मानव सम्यतालाई विकास गर्ने कुरामा सम्पत्ती माथिको अधिकारको ठूलो भूमिका रहेको पुष्टि हुन्छ । महिलालाई पैत्रिक सम्पत्तीको अधिकारबाट बञ्चित गराइएको प्रचलनले गर्दा नै दाइजो प्रथा जस्ता विविध विकृतिहरु बढेका हुन् । पुरुषलाई सम्पत्तीको मालिक ठानिने तथा महिला र पुरुष बीचको असमान ब्यवहारले गर्दा नै विकृतिहरु वढ्दै गएका हुन् । सभ्यता विकासका क्रममा महिला र पुरुष दुवै समान अधिकारका हकदार छन् भन्ने कुरामा अव विवाद गर्न सकिन्न । तर, यो समानताको सिद्धान्त ब्यवहारिक रुपमा लागु हुन भने बाँकी छ । समानता लागु गर्ने मामलालाई हेर्दा पुस्तौ देखि महिलालाई पुरुषले साम, दाम, दण्ड, भेदको सहाराले दमन गरेर समान अधिकार नदिने गरेको प्रचलन देखिन्छ । आफुलाई प्रजातन्त्रको ठेकेदार भएको दावी गर्ने अमेरिकामा अहिले सम्म महिला राष्ट्रपति बन्न नसकेको उदाहरण हाम्रो सामु छँदै छ । समान हकका हकदार, महिलाहरुले समानताको माग ब्यवहारबाट देखाउँन थालेका छन् । यसले गर्दा विवाहका परम्परागत मान्यता फेरिन लागेकोले पनि बेलायत जस्ता देशमा पारिवारिक सम्बन्धलाई सन्तुलित राख्नमा केही समस्या देखिएको हुनसक्छ । बेलायतमा हालैको स्थानीय निर्वाचनमा राम्रो सफलता पाउँदै अगाडि बढेको कन्जरभेटिभ पार्टीका नेता डेविड क्यामरुनले पनि पारिवारीक सम्बन्ध बिग्रिंएको बेलायती समाजको समस्या सुधार गर्नु आफनो राजनैतिक प्रतिबद्वता भएको बताउँदै आएका छन् ।
>धर्मका कट्टरपन्थी देखि लिएर प्रगतिशिल विवाह पद्धति अपनाउने भौतिकवादीहरुले विवाह कार्यक्रमलाई एउटा समारोहको रुपमा अपनाउने गरेको पाइन्छ । बेलायतका स्थानीय बासीहरुका बीचमा त केटो र केटी लामो समयसम्म सँगै बसेर सन्तान पनि भैसकेपछि एउटा समारोह गरेर धुमधामसँग विवाह गरेको देख्दा हाम्रो "बाउको बिहे देख्लास" भन्ने कथनले पलट खाने गरेको छ । बदलिएको नयाँ परिवेशमा केटो र केटी दुवैको कमाई हुने परिस्थितिले गर्दा लोग्नेको कमाईमा बाँच्नु पर्ने हाम्रो परम्परागत वैवाहिक सम्बन्धमा परिवर्तन आउन सक्ने सम्भावनालाई समाजका अग्रजहरुले बेलैमा सोच्न आवश्यक छ । यदि त्यस बिषयमा अहिले सोचिएन भने हाम्रो समाजमा पनि बिग्रिएको पारिवारिक सम्बन्धलाई सुधार गर्न डेविड क्यामरुनले जस्तै कडा परिश्रम गर्नुपर्ने हुनसक्छ ।
>विवाह पद्धतिमा हिन्दु संस्कृतिले महिलालाई पुरुषको दासी मान्दै स्थापित गरेका प्रचलनले हामीलाई विकसित हुन बाधा पारिरहेको कुरामा महिलाहरु सचेत हुन झन् जरुरी छ । महिला समानताका अग्रगामी कदम चाल्नेहरु यस विषयमा चनाखो हुन पनि जरुरी छ नै । संस्कृति जगेर्नाका नाममा, महिला समानता स्वीकार नगर्ने आधारमा विकास भएका, कतिपय प्रचलनलाई बेलैमा सच्चाउन सकिएन भने हाम्रो विवाह प्रतिको मान्यता धरासायी हुने खतरा देखिन्छ । विवाह संस्कारमा हाम्रा पण्डितले पढ्ने पुस्तक र अपनाउने विधिमा पुरुष र महिलालाई समान मानिएको छैन । त्यसैले हाम्रा पण्डित र पुरेतहरुले संस्कार विधिका पुस्तकहरु परिमार्जन गर्न सके उनीहरुको पेशा पनि दिगो रहन सक्छ । नत्र नयाँ पिढिंले असान्धर्विक मानेर हाम्रा संस्कार पद्धतिहरु प्रति व्रि्रोह गर्न थाले भने हाम्रो संस्कृति बिलय भएर जानसक्छ । अहिले सम्म जनै कहिल्यै नलगाउने बाहुनले पनि छोराको ब्रतबन्ध भने गराउने चलन छ । भविष्यमा पुरातनवादी संस्कारका रुपमा ढिकमाथि गएर खाना खाएर इज्जत बढाउन ब्रतबन्ध गराउने संस्कार नयाँ पिढीका लागि जरुरी हुनेछैन । विवाह पूर्व ब्रतबन्ध गराउन पर्ने कारण पनि उनीहरुले देख्ने छैनन् ।
>त्यसैले नयाँ पिढीलाई अवैज्ञानिक र समय सान्दर्भिक नरहेको संस्कार प्रति वितृष्णा जगाउने माहोल बनाउने कि हामी परिमार्जित हुने भन्ने प्रश्न उठाउन पर्ने बेलाआएको छ । हाम्रो सांस्कृतिक पहिचान जोगाउनका लागि पनि हाम्रा पद्धतिहरु परिमार्जित हुन जरुरी छ । सयौ, हजारौ बर्षपहिला जब प्रविधिको विकास थिएन, बिद्युत र कम्प्यूटरको कल्पना नै थिएन त्यस बेलाका पद्धति कायम राखेर संस्कृति जोगाउन खोज्नु मूर्ख तर्क ठहरिने छ । आजको प्राविधिक र वैज्ञानिक सुविधालाई स्वीकार गर्न महिला र पुरुष समान हुन भन्ने प्रजातान्त्रिक मान्यता सहितका संस्कार विधि तथा पद्धति विकास गर्ने तर्फहाम्रा पुरोहितहरु जुट्न आवश्यक छ ।
>हिन्दुहरुले इश्वरको अवतारलाई जोगाउन संर्घष गर्दैमा प्रविधि र वैज्ञानिक युगमा हाम्रो संस्कृति जोगिने वाला छैन । हाम्रो संस्कृति जोगाउन हाम्रा प्रथा प्रचलनलाई पनि मानव अधिकारवादी, समानतावादी र प्रजातन्त्रबादी बनाउन आवश्यक छ । विवाह पद्धति मात्र होइन हाम्रा हरेक संस्कार, विधि र पद्धतिमा परिमार्जन गर्दै सांस्कृतिक सुधार गर्न आवश्यक छ । हाम्रो संस्कृति र संस्कार नयाँ नेपालको लागि बाधक नबनोस भनेर पनि सांस्कृतिक सुधारका कदमहरु चालिनु आवश्यक छ । |