अजन्तामा प्यागोडा शैलीको रहस्य
अजन्ता गुफा पसेको तेस्रो दिन सुरूमै अतुल र प्रणव भेटिए । अतुल मेरालागि महत्वपूर्ण जानकारीको श्रोत बने । भारतीय स्वतन्त्र संग्राममा रबिन्द्रनाथ टैगोर तथा नन्दलाल बोसको कलाको सन्दर्भ अजन्ताका गुफासंग पनि भएको विषय अतुलले मलाइ बताए । सन् १९४७ मा भारतलार्इ स्वतन्त्र गराउने सेनानीहरूले अजन्ताका गुफालार्इ आश्रय स्थल बनाएको तथ्य पनि जानकारी गराए । त्यसबाट अजन्ताका गुफाको सम्बन्ध क्रान्ती र स्वतन्त्रतासंग पनि रहेछ भन्ने बुझें । सर्बसाधारण जनताको दैनिकीसंग अलग्गै रहेका पहराका गुफामा लुकेर गतिबिधि बढाउन क्रान्तिकारीका लागि उपयूक्त स्थान बनेहोला ।
बिहानको पहिलो बसमै उनीहरू पनि गएका रहेछन् । बसमै देखादेख त भएको थियो । नास्ता गरेर गुफा छिर्नुपर्ला भनेर रेस्टुरेन्टमा छिर्दा अतुल मात्र एउटा कुर्सीमा बसेका देखिए । उनको छेउँको टेबुल रोजेर म बसें । एकै छिन माहोल अनुमान गरेर उनलार्इ मैले गुफा घुम्नुको कारण तथा चासो सोधें । उनी भारतीय चित्रकलाको इतिहाँसका विध्यार्थी रहेछन् । अध्ययन खर्चसहित त्यो घुमाइका लागि पनि दाइ प्रणवले खर्च पुर्याइदिने बताउँदै दुर्इ भाइ आएको बताए ।
अघिल्लो दिन गुफा बन्द भएर जानेबेला त्यही रेष्टुरेन्टमा चिया खान बस्दा भारत सरकारका कर्मचारीहरूको एक हुल नै भेटेको थिएं । अधिकृत स्तरका कर्मचारी तालिमको एउटा पक्षकै रूपमा सरकारी खर्चमै सामुहिक रूपमा बस नै भरेर त्यहाँ ल्याइएको रहेछ । त्यो रेष्टुरेन्ट पनि पर्यटन विभागकै ब्यवस्थापनमा चलेको छ ।
मेरो घुमाइको तेस्रो दिन भएको र अघिल्ला दिनको अनुभव अतुललार्इ बताएं । बौद्ध धर्मावलम्बीहरू पनि अध्यात्मिक हिसाबले गुफामा आउने जानकारीले उनलार्इ छक्क पार्यो । म भने उनलार्इ त्यस विषयले छक्क पारेको देखेर छक्क परें । गुफामा भएका ऐतेहांसिक चित्रको सम्बन्ध बौध्द धर्मसंग भएको सामाजिक पक्षलार्इ उनले बुझ्न भ्याएका रहेनछन् । त्यहाँ ऐतेहाँसिक चित्र भएकोले हेर्न र अध्ययन गर्न उनी त्यहाँ पुगेका थिए ।
उनले बताउनु भन्दा पहिला मलार्इ भारतका चित्रकार नन्दलाल बोसको विषयमा थाहा थिएन । बोसकै चित्रहरू भारतको संविधानको मुल प्रतिमा छापिएका छन् । भारत स्वतन्त्रताका लागि हरेक पक्षमा अभियान जारि राख्नु पर्ने हुनाले पूर्विय कलामा जोड दिनु पर्ने राय रबिन्द्रनाथ टैगोरको रहेछ । चित्रकार बोसलार्इ अजन्ताका गुफाका चित्रकला अध्ययन गर्न टैगोरले सल्लाह दिएका रहेछन् । पश्चिम जगतको कलाको दब्दबा भैरहेको उपनिबेश भारतमा क्रान्तीको लागि पूर्विय कलाको मौलिकताबाट धक्का दिन जरूरी ठानेछन् । नन्दलाल शान्तिनिकेतनका प्राधान्याधापक भएकाले टैगोर र उनको सम्बन्ध गहिरो हुनु त स्वभाविक नै थियो । टैगोर शान्तिनिकेतनका संस्थापक हुन ।
नास्ता पछि उनीहरू गुफाको मुलद्वार तिर गए । म भने खोला तरेर अर्को बाटो लागें । मुल ढोका हुँदै गएर टिकट मोबाइलमा स्क्यान गराएर म नजानुको कारण उकालो बाटो छल्नु थियो । त्यताबाट गए एक लर्कन उकालो चढ्न पर्छ । तर, मैले १६ नम्बरसम्मका गुफा दुर्इदिन सम्ममा हेरिसकेको थिएं । धेरै उकालो नचढी पुगिने गुफा नं. ८ निरको द्वारबाट छिर्न मैले पुल तरेर खोला पारिको गोरेटो समातें । अर्को पुल तरेर गुफाको अर्को ढोकाबाट छिर्दा उकालो खासै चढ्न पर्ने रहेनछ ।
दुर्इ दिन घुमिसकेर माहोल बुझिसकेकोले उकालो छल्ने उपाय जानेको थिएं । फेरि महत्वपूर्ण चित्रकला रहेका गुफा नं. १ र २ हेर्न त उकालो बाटो जाँदानै बाटो सोझिन्छ । उनीहरूकालागि सोझो बाटै त्यही नै थियो । उकालो भरि रूखको छहारी पनि नभएकोले चर्को घामले पोल्नु पोल्यो अघिल्ला दुर्इ दिन । खोलैखोलाको बाटो गएर उकालो छल्दा होचै रूखले भए पनि अलि सित्तल गराए । खोलाको छिप्छिपे पानी देखेरै पनि सित्तल महशुस भएको पनि हुन सक्छ । अकबर र बिरवलको कथामा डांडा माथिको धिप्धिपे बत्तिको तातो सोंचेर जाडो खटाए जस्तै भएको पनि हुन सक्छ ।
अजन्ताका गुफा महत्वपूर्ण रहेको हल्का जानकारि त स्कूल पढ्दैदेखि थियो । तर, चित्रकार एम. एफ. हुसेनले सधैकालागि भारत छाडेर जाँदा पत्रकारलार्इ दिएको उत्तरले विषय पुनः उब्जाइदियो । हुसेनले हिन्दू देबीहरूको बस्त्रविहिन चित्र प्रदर्शनमा समाबेस गरेपछि भारतमा बिरोध भयो । कलाको सम्मान नभएकोमा उनको मन दुख्यो र सदाकालागि भारत छाडेर गए । एयरपोर्टमा पत्रकारले हुसेनलार्इ ती नाङ्गा चित्र किन प्रदर्शन गरेको भनेर सोधे । उत्तरमा उनले उक्त प्रश्नको उत्तर अजन्ताको गुफामा गएर खोज्नु भन्ने उत्तर दिएछन् ।
हुसेनको त्यही प्रस्नले गर्दा मैले अजन्ताका गुफाका विषयमा गुगल गर्दै गएं । पोडकाष्टहरू सुने । जति बुझ्दै गएं त्यत्ति पूर्विय सभ्यताको मुहान भेट्ने चाहना भयो । अन्ततः साइत जुर्यो र त्यहाँ पुगें । तीन दिनसम्म कुना काप्चा धोरिएर र चियाएर हेरें । निचोडमा पुर्विय सभ्यताको अध्ययन केन्द्र थिए ती गुफाहरू भन्ने नीजी धारणा बनाएं । पूर्विय सभ्यतामा बुध्द ज्ञानको प्रभाव थपिएपछि त्यसको प्रभावले गुफामा जरा गाडेको मत बनाएं ।
कतिपय गुफामा चैत्यगृह छन् । सवै भन्दा पुरानो चैत्य गृह १० नम्बरको गुफामा छ । सिकारीले भेटेको पहिलो गुफा पनि त्यही नै हो । बुध्द ज्ञान खोज्ने विध्यार्थीका लागि पढाउन बनाइएका चित्रहरू रङ्गिएका छन् । मुर्तीहरू कुदिएका छन् । गुफालार्इ ताछ्ने र कोतर्ने गरेर भित्रभित्र बस्ने तथा सुत्ने कोठाहरू पनि बनाइएका छन् । चरण चरणमा संरचना थपिँदै गएको देखिन्छ । अनुसन्धानकर्ताहरूले छैठो सताब्दिसम्म संरचना थप्न विभिन्न राजाहरूले प्रायोजन गरेको तथ्य फेला पारेका छन् । राजाहरूको खर्च विवरण लगायतका दस्ताबेजहरूबाट उनीहरूले ती जानकारी हासिल गरेका हुन ।
त्यहाँका भिक्षुहरूले ज्ञानकेन्द्र विस्तार गर्न राजाहरूसंग आर्थिक सहयोगको लागि अनुरोध गरेहोलान । कतिपय राजाहरूले मानव सभ्यता विकास गर्ने ध्ययले गुफा खोपेर कोठाहरू बनाउन पनि जन र धन दिए होलान । कतिपय राजाहरूले धेरै पछिसम्म आफ्नो नाम रहने लालचले पनि लगानी गरेहोलान ।
तर, छैठौ सताब्दि पछि भने त्यहाँ मानव पहुँच भएको प्रमाण भेटिन्न । त्यत्रो सभ्यताको चहलपहल किन हरायो भन्ने प्रश्नले मलार्इ सताइरह्यो । ती गुफाका संरचनाहरू सन् १८१९ सम्म मानव पहुँच बाहिर रहे । नालन्दा विश्वविध्यालय सुविधा सम्पन्न भएपछि गुफाको असुविधाले गर्दा त्यहाँको चहलपहल हराएको पनि हुन सक्छ । त्यहाँको सवै श्रोत उठाएर शिक्षक, भिक्षुहरू र विध्यार्थीहरू पनि नालन्दा सरेका पनि हुनसक्छन । तर, उक्त तर्कलार्इ पुष्टि गर्ने प्रमाण जुट्दैन ।
कुनै राक्षसको डर वा अन्य कुनै त्रासले गर्दा त्यहाँको सभ्यता गुमनाम भएको पनि हुन सक्छ । कुनै रोग फैलिएर त्यसक्षेत्रमा मानव विनास भएको र जङ्गलले ढाकेपछि त्यता मान्छे नगएको पनि हुनसक्छ ।
एलोराका गुफाको ठीक अगाडि समथर उब्जाउ कृषि भूमि भएकोले मानव सभ्यताबाट ती गुफाहरू गुमनाम भएनन् । तर, अजन्ताका गुफाबाट नगिचमा कृषि योग्य भूमि रहेनछ । अहिले जस्तो बाक्लो जनसंख्या पनि त थिएन होला त्यो यूगमा । त्यसैले उब्जाउ जमिन हुँदाहुँदै उब्जनी राम्रो नहुने पाखा पखेरामा कोही बस्ने कुरा पनि भएन । ती गुफा भिरालो भिरमा भएकाले बस्तुभाउ चराउन त्यता गोठाला जाने सम्भावना पनि भएन । भीरको चट्टाने पहरामा घास पनि नहुने भएकोले बस्तुभाउ चर्दै त्यता गएनन नै होला । त्यस्ता कन्दरामा जाने सम्भावना सिकारीको हुन्छ । त्यसैले सिकारीले ती गुफा फेला पारे । त्यस अघिका सिकारीसंग बेलायती सैनिक अधिकारीको जस्तो सुविधा सम्पन्न तगडा बन्दुक नभकै कारण पनि ती गुफा गुमनाम रहेहोलान ।
जे सुकै कारणले बेपत्ता भएको भएपनि उन्निसौ सताब्दिमा एक सिकारीले फेला पारे । त्यसपछि ती गुफाको रहस्य खोज्न र अनुसन्धान हुन थाल्यो । यूनेस्कोले पनि चासो दिएर सूचिकृत गर्यो । पर्यटकहरूको घुइचो लाग्न थाल्यो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत पुगेका समयमा चीनका राष्ट्रपति सी जिङलार्इ आतिथ्य सत्कारका लागि ती गुफामा लाने योजना बनाएका थिए । त्यसबाट पूर्विय सभ्यताको गौरबका रूपमा पनि ती गुफालार्इ हेर्न थालिएको प्रमाणित हुन्छ ।
गुफा नं. ११ जस्ता गुफा अग्रज भिक्षुको बासस्थान सहितको अध्ययनका लागि डिजाइन गरेको देखिन्छ । गुफा नं. ५ र ६ विध्यार्थीहरूकालागि बासस्थान सहितको अध्ययन हलका रूपमा देखिन्छन् । भित्रपट्टि विध्यार्थी सुत्न मिल्ने दयाँ र बाँया चट्टान कै सुत्ने विस्तरा लाउन मिल्ने अग्ला खाट जस्तो भाग सहितका कोठाहरू बनाइएको छ । प्रकाश मिलाउने बत्ती राख्ने खोपी पनि छन् । पहिला त्यहाँ थोरै विध्यार्थी, शिक्षक, भान्ते तथा भिक्षुहरू हुँदाहुन । पछि ती संरचना अपर्याप्त हुँदै गएपछि थप अध्ययन श्रोतका लागि गुफा १ र २ नं. थपिएको देखिन्छ ।
गुफा नं. ९ को संरचना हेर्दा १ र २ नम्बर विस्तार हुनुभन्दा पहिलाको पुस्तकालयका रूपमा संरचना विकास गरेको भान हुन्छ । १–२ भन्दा पुराना भएर पनि होला र सूर्यको किरण पनि अलि भित्रै सम्म छिर्ने भएर पनि होला चित्रहरू विग्रिएका छन् । जति छन् त्यसलार्इ जोगाउन मेहेनत गरेको भने पाइन्छ । क्यामराको फ्लास बाल्न नपाइने नियम लगाइएको छ । बरू चित्र र रङलार्इ नोक्सान नगर्ने फाइबर अप्टिक लाइट(प्रकास)को ब्यवस्था गरिएको छ । त्यहाँ प्रयोग भएका रङको गहन अध्ययन पनि भएको छ । त्यस्तो रङ कसरि बनाइन्थ्यो भन्ने जानकारी दिने रिपोर्ट सन् १८८३मा लण्डनमा Society of Arts मा पेश गरिएको थियो । Day, Francis, and George Forbes. “Journal of the Society for Arts, Vol. 31, No. 1589.” The Journal of the Society of Arts, vol. 31, no. 1589, 1883, pp. 609–50. JSTOR, http://www.jstor.org/stable/41327793. Accessed 25 Mar. 2024.
त्यहाँका गाइडहरूले १४ नम्बरको गुफालार्इ अधुरो निर्माण भन्दारहेछन् । कलाकारहरूले मुर्ती निर्माण गर्दै जाँदा चट्टान मुर्ती कुद्न लायक नभएकोले अधुरो छोडेको भनेर ब्याख्या गर्दारहेछन् । तर, मैले हेर्दा भने त्यतिका मान्छेको लागि भान्साका रूपमा गुफा नम्बर १४ प्रयोग हुने गरेको र ठूला भाँडा बसालेर तलबाट दाउराको ठूलो आगो बाल्ने चुला जस्तो अवस्था देखें ।
गुफा नं. १५ लार्इ कान्छा विध्यार्थीको बासस्थान बनाएको देखिन्छ । साथै अध्ययन कक्षका रूपमा प्रयोग हुने गरी छिनी हथौडाले चट्टान तोडेर विस्तार गरेका रहेछन् । पुराना गुफा भन्दा नयाँ गुफा झन् ठूला छन् । विद्याको महत्व बढ्दै गएपछि खर्च जुटाउन पनि सहज भएहोला । त्यसैले संरचना पनि थपिंदै गए होलान । नालन्दामा दशौ हजार विध्यार्थीको बासस्थान सहितको अध्ययन स्थल भएपछि अजन्ताका गुफामा चाप घटेको पनि हुन सक्छ ।
अर्को सम्भावना मुगल शासकहरू बौध्द र हिन्दू आस्थाप्रति अनुदार भएकै कारण श्रोतको कमीले गुफाको अध्ययन अध्यापन सभ्यता हराएको पनि हुनसक्छ । तर, यी विवेचना गरिएका सम्भावना मध्ये कुन कारणले गुफा भित्रको सभ्यता हरायो भन्ने ठम्याउन बलियो स्रोत भेटिएको छैन ।
गुफा नं. १८ को महत्व अरू गुफाको भन्दा अलि फरक देखिन्छ । पानी संकलन गर्ने भूमिगत खोक्रो भाग (इनार) बनाइएको छ । पहराबाट नालीहरू खोपेर वर्षाको पानी बगेर उक्त इनारमा झर्ने चाजो मिलाइएको छ । छेउँको गुफा भान्साका रूपमा प्रयोग हुने र पानीको श्रोत पनि साथैमा हुनु स्वभाविक लाग्छ । भान्सा हुन सक्ने अनुमान गरेको गुफामा मुर्तीहरू पनि कुदिएका छैनन् । मुर्तिहरू नकुदिएकै कारणले गाइडहरूले निर्माण हुँदाहुँदै श्रोत जुटाउन नसकेर अधुरो रहेको भनेर पर्यटकलार्इ बताउँदारहेछन् ।
गुफा भित्र धित मर्ने गरी तीन दिन बिताएर हेरेपछि खोला पारिको उकालो चढें । हो त्यही उकालो चढेर डाँडाको टुप्पोमा भेटियो जेम्स स्मिथले बाघ ताकेर बन्दुक पड्काएको स्थान । अहिले भ्यू टावर बनाएका रहेछन । घाम भरखर ढल्कन लागेको चर्को न चर्को थियो । तापक्रम ३१ डिग्री सेल्सियस थियो । उकालो लाग्न डर पनि लाग्दै थियो । सरासर चढ्न सकिएला कि थाकिएला भन्ने त्रास थियो । तर, उद्देश्य त्यो भन्दा मजबुत थियो । त्यसैले त्यो नाके उकालो चढ्ने एक लिटर पानीको बोतल सहारा थियो । तर, चढ्दै जाँदा सोंचे भन्दा सहज लाग्यो । त्यो सहज लाग्नुको कारण जिज्ञासाको हुट्हुटी पनि हुन सक्छ ।
एक लर्कन उक्लिँदा बीचमा पनि एउटा भ्यू टावर बनाएका रहेछन् । उकालोमा ढुङ्गा विछाएको खुड्किले बाटो हुँदै तल्लो भ्यू टावर निर पुग्ने बेलामा गोरेटो फनक्क घुमेको रहेछ । त्यहाँ निर पहाडले घाम छेकेर छहारी पनि दिइरहेको रहेछ । छेँडो परेकैले त होला सरर्र हावा बगिरहेको भेटें । गर्मीमा उकालो चढ्दा कन्चटका रौँ भिजाउँदै बगेको पसिनामा एक झोका सित्तल हावाले छुँदा एयर कन्डिसन चलेको जस्तै महशुस गरें । अम्बा बेच्न बसेकी स्थानीय महिला त्यही घुम्तीको खोँचको सित्तल छहारीमा बसेर बच्चालार्इ दुध खुवाउँदै थिइन । त्यो बच्चाको एक हातले आमाका कपालका रौं खेलाइ रहेका रहेछन् ।
त्यहीँको भ्यू टावरबाट देख्दा त्यो पहराको प्यागोडा शैलीको बुट्टाको रहस्य पनि खुलस्त भयो । पहाडका टुप्पाको मुल भ्यूटावरबाट बरू त्यति प्रष्ट देखिंदो रहेनछ । त्यो पहरामा बर्षाको पानी संकलन गर्न कुलाहरू घुम्ती पारेर कुदेका रहेछन् । ती कुदिएका कुलाको दृष्यले गर्दा गुफा माथिको पहरा प्यागोडा शैलीको छानो जस्तो देखिंदो रहेछ । त्यो सवै पानी गुफा नम्बर १८ को ट्याङ्कीमा थुपार्ने अक्किल जुटाएका रहेछन ।
अहिले ग्लोबल वार्मिङले सुकेको भएपनि २ हजार वर्ष पहिला ती पहरामा हल्का पानी रसाउने भएकोले पानीको अभाव त्यो यूगमा नभएको पनि हुन सक्छ । तर, त्यो त मेरो अनुमान मात्र हो ।
Next part |