अजन्ता: अचम्मको स्वाद
वाघर(बाघर) खोलाको एक तर्फ फनक्क घुमेको चट्टान छ । खोला पारिका डाँडाको टुप्पाबाट खोलापारि देखिएको बाघलार्इ ताकेर जोन स्मिथले बन्दुकको ट्राइगर दबाए । त्यो सन् १८१९को अप्रिल २८को दिन थियो । उनले दुरबिनबाट बाघलार्इ गोली लागेको देखे । तर बन्दुक पड्किएको आवाज अलि फरक थियो । घाइते बाघ भने त्यता कतै देखिएन । यो गुफा पत्ता लागेको प्रसङ्ग हो । त्यस दिन भन्दा पहिले छैठौं सताब्दिदेखि नै ती गुफा गुमनाम थिए । खोजकर्ताहरूले छैठौं सताब्दिसम्म गुफामा संरचनाहरू थपिएको तथ्य दावी गरेका छन् । त्यस हिसाबले अजन्ताका गुफा छैठौं सताब्दीदेखि त्यस दिनसम्म अन्जान थिए ।
म अजन्ता छिरेको दोस्रो दिन एक–एक गुफा हेर्दै र छिर्दै गएं । क्रमस जाँदै गर्दा सवैजसो कर्मचारीले पर्यटकबाट हुने अतिरिक्त कमाइका लागि फूलमा भमरा भुन्भुनाएको भान गराए । मेरा वरिपरि पनि भुन्भुनाइरहे । गुफा भित्रका रहस्यमय जानकारी लिन गाइडको सिफारिस गरे । त्यो उनीहरूको दैनिकी नै रहेछ । सिफारिस गरेबापतमा कमिसन पाउने भएर होला भन्ने अनुमान गरें । पालकी बोक्ने पोर्टरदेखि सफाइ गर्ने कर्मचारीसम्मले महत्वपूर्ण जानकारि राखेका हुँदारहेछन् । उकालो हिँड्न नसकेका पर्यटकहरूलार्इ बोकेर गुफाको सतहसम्म पुर्याउने र फिर्ता लैजाने पोर्टर ब्यवसाय पनि ब्यवस्थित रहेछ ।
गुफा नं. ६ को पिलर ठोक्दा घुँघुरू बजेको स्वर सुनिन्छ । १० नम्बरको सानो मुर्तिबाट पानी झर्छ । पदमपाणि चित्रमाथि कसैले विध्याबारिधि नै गरेका छन् भन्ने जस्ता जानकारी दिए बापत पाइने पैसाको लागि नै उनीहरू भुन्भुनाएका हुँदारहेछन् ।
एक दिन घुमेपछि दोस्रोदिन पनि गुफा धाउने पर्यटक उनिहरूले प्राय नदेख्ने, नभेट्ने भएर होला केही कर्मचारीले मलार्इ चिनिहाले । दोस्रो दिन थोरै बढि आत्मियता देखाए । र भनेः एउटा नेपाली कर्मचारी पनि उनिहरूका सहकर्मी छन् । एक जनाले त उनकै फोनबाट ए.जे थापासंग कुरा पनि गराइदिए । मैले आफूलार्इ नेपाली भनेर परिचय गराएपछि एक जनाले पहिलो दिन नै उनको बारेमा बताएका थिए । दोस्रो दिन धेरैले बताए ।
दोस्रो दिन गुफा बन्द हुने समयमा जान थाल्दा ती थापा र उनका सहकर्मीले थप कमाइको कुरा गर्दै थिए । म पनि ती थापासंगै थिएं । सुनें र मनन् गरें । अनुमति (लाइसन्स) प्राप्त गाइडहरूले पर्यटकलार्इ बताउँदा सुनेको भरमा जानकार हुँदारहेछन् । त्यस्तो जानकारी सस्तोमा बताएर पैसा कमाउँदारहेछन् । गाइडहरू धेरै महँगा हुने हुनाले पर्यटकहरू पनि सस्तो जानकारी बटुल्न लालायीत । गुफाहरूको लस्कर भएको बाघर खोला वारिको चट्टाने भाग भिरालो छ । खोलापारिको डांडाको बीचको भाग हेर्दा घुडा खुम्चाएर पैताला र चाकको भरमा बसेको मान्छेको घुडा जोडिएको भाग जस्तो देखिने रहेछ । त्यहाँ पनि टिनको छानो र फलामे बारले घेरेको टावर देखें । माथिल्लो टुप्पो त्यसरि बसेको मान्छेको टाउको जस्तो । जोन स्मिथले गोली हानेको त्यही टुप्पी झुण्डिने टुप्पोमा मुल भ्यू–टावर बनाइएको छ । तल खोलाबाट नाके उक्कालो पैदल निस्कन सिंढी बनाइएका छन् । माथिको मुल भ्यू टाबरमा भने अजंठा गाउँ तिरबाट मोटरबाटो त्यहिँसम्म पुगेको छ ।
त्यो माथिल्लो टावरबाट खोलासम्म झर्न स्वस्थ्य मान्छेलार्इ पनि आधा घण्टाको बाटो झर्न पर्छ । उकालो चढ्न त्यसै अनुपातमा थुप्रै इनर्जी बर्न गर्नै पर्छ ।
रूखो पहाड भएर त होला खासै ठूला रूख देखिएनन् । गुफा माथिको पहरो त घास पनि नउम्रने चट्टान नै भैहाल्यो । साना तिना बुटा पनि पानी नपाएर तेज दिन नसकेका रहेछन् । माटो नपाएर जरा फैलाउन असफलता दर्शाउन खुम्चिएका छन् । मौसमको प्रभावले झरि नपाएर झरेका पातले खङ्गङ्ग भएका सिख्रा हाँगामा चारा पनि धानिएला कि नधानिएला जस्ता । चरी फूरूर्र उडेर झ्याप्प बस्दा पनि लचक्क लच्कने हाँगा । जीवन धान्न घिटिघिटि गरेका पोथ्रा वरिपरि चराको चिरबिरको अभाव पर्यटकको लस्करले नै होला भन्ने अनुमान गरें ।
बर्षामा उर्लन्छ होला त्यो घोँचमा छचल्कँदै बग्ने त्यो खोला । तर, म पुग्दा बग्न पनि सकस भएको कतैकतै पानि छिपछिपे मात्र देख्छु । नदीले सुन्ने भैदिएको भए बिचरा भनेर सान्त्वना दिने थिएं । चर्को घाम थाप्लै माथि पुगेर पुर्पुरो तताउँदा पनि गुफाको रहस्यले खटाउने साहस दिइरहेको छ । सूर्य ढल्कँदै जाँदा गुफा भित्रै घामको किरण छिरेर चित्रकला विगार्ने भएर नै होला कतिपय गुफामा त कपडा झुण्डाएर घाम छेक्न खोजेका रहेछन् ।
म त जुन महिनाको घाम छलेर गर्मी छल्न फेब्रुअरि महिना रोजेर त्यहाँ पुगेको थिएं । तै पनि दोपहरको ३१ डिग्री सेल्सियसले मलार्इ गर्मी खटाउन हम्मेहम्मे नै पार्यो । गुफा भित्रछिर्दा गर्मी अलि खटाउन सजिलो । पानी घटघटी खान पर्ने अवस्थाको सहारा दिने पानीको बोतल हातमै लिएर हिँडे । रित्तिएको बोतल भर्न मिल्ने पानीका धारा दुर्इ ठाउँमा रहेछन् । पानीको गुणस्तर राम्रै होला भन्ने ठानेर रित्तिएका बोतल पटकपटक भरें । धारोको टुटी माथि थिच्दा झ्वार्र गर्दै झर्ने पानीको फोहोरा बोतलको साँघुरो गलीमा झर्दा त्यसका छिटाले छाला छोयो । पानीका छिटाले सितलताको आनन्द महकियो । पृयतमको एक चुम्मन पाएकै आनन्द महशुस भयो ।
तातोले ओइलाएको छालामा चिसो पानीको छिटाले छुँदाको आनन्द बडो गजबको हुन्छ । हिउँले ठिहिराएको चिसोबाट अतालिँदै ढोका भित्र छिर्दाको न्यानो पनि त उस्तै त हो नि । त्यो आनन्द तुलना गर्न मिल्ला कि नमिल्ला ! तर धेरै फरक पक्कै नपर्ला । त्यही धारामा भने ट्याङ्कीको चिसो पानी ननिस्कँदासम्म पाइपभित्र तातेर बसेको मन्तातो पानि छुँदासम्म पनि अत्यास पो लाग्दोरहेछ । तै पनि चिसो पानीको सम्भावनामा प्रतीक्षाको घडी आनन्ददायी ।
देख्न त मैले खोला वारि र पारिको पहाडमा बाँदर देखिन । तर, धेरै जसो गुफामा काठको फ्रेममा कालो चम्किलो मार्बलमा विवरण लेखिएको भेटियो । कुनै कुनैमा भने भेटिएन । नभेटिएका गुफाका विवरण बारेमा सोध्दा कर्मचारीले बाँदरले बिगारेका छन् भन्ने बताए । त्यहाँका कर्मचारीको कुरा पुष्टि गर्न धेरैजसो पर्यटक नछिर्ने कोठामा थन्काएका ती सूचना बोर्डले पुष्टि गरेको भेटें ।
बाँदरको धतङ्गाइको विषयमा थाहा पाउँदा मैले बि.सं. २०३२ सालमा कोइलाबासको ठाकुरद्वाराका बाँदर संझिएँ । त्यहाँको धर्मसालामा एक रात हामी बास बसेका थियौं । ढाडे बाँदरले हामीले खान थालेको रोटी थुतेर लगेर टिनको छानामा बसेर खाएको थियो ।
साथै एलोराका गुफा बन्द हुने समयमा मुल गेट बाहिर किनेका अम्बा लुटिएको संझना पनि ताजै थियो । दुर्इ दिन अघिको कुरा न थियो । टोकरीमा बेच्नराखेका हेर्दै स्वादिला जस्ता देखिने अम्बा ६ बटा किनेर प्लास्टिकको झोलामा झुण्डाएर जाँदै थिएं । पछि खाँदा थाहा पाएँ, ती अम्बा साह्रै स्वादिला रहेछन् । जस्तो अन्दज गरेर किनेको थएँ, त्यस्तै पाएँ ।
एउटी बाँदर मैयाँले झम्टिएर अम्बाको झोला च्यातिन । तर, उनको हातमा अम्बा लागेन । मेरो छैठौं इन्द्रियले काम गरेछ । मेरो मस्तिष्कले उसले झोला झिम्टिएको थाहा पाउँदा मेरो हातले झोला भाथि लगेर बाँदरलार्इ छक्काइ सकेको रहेछ । मलार्इ उनको मेहनेत खेर गएको देखेर दया जाग्यो ।
झोलाबाट एउटा अम्बा झिकेर उन्को नजिक फालिँदिएं । गाला चाउरी परेकी गोरी र खैरा भुत्लाले शरीर ढाकेकी उनी पछाडिका दुर्इ खुट्टा पसारेर भूइमा थचक्क बसिन । सडक छेउँको धुलोमा बसेर खुसी हुँदै दुर्इ हातले समातेर अम्बा कोपर्दै खाइन । उनको त्यो अम्बा खाने तरिका देखेर मेरो मन फुरूङ्ग भयो । मेरो मन किन फुरूङ्ग भयो कुन्नि ! केहि बुझिन ।
अन्दाज गरेः दिउसोमा ती कर्मचारीले ती बाँदार धपाउँदा हुन त्यसैले त्यता देखिएनन् । मान्छेको घुइचो देखेर उनिहरू तर्किएका पनि हुनसक्छन । साँझ ६ बजे पर्यटकका लागि गुफा प्रवेश रोकिएपछि सुनसान हुन्छ । अनि, ती बाँदरहरू त्यहाँ छुत्छुताउँछन् होला । आपसमा जिस्किँदा, लड्दा र कुद्दा फैम ढालिदिँदा ती ताछिएका संगमरमर फूटेहोलान । अनि बिचार गरें । गुफा बन्दगर्दा ती कर्मचारीले ती सन्देश सूचना बोर्ड भित्र थन्काएर ढोका बन्द गर्ने गरेको भए फुटाउन पाउने थिएनन् । तर, ब्यवस्थापकको बुध्दि पछि पलाए होला । मैले भने सूचना बोर्ड नदेखेका गुफामा कर्मचारीलार्इ खै कहाँ छ भन्दै सोधेर खोजेर फोटो खिचें । त्यो फोटो त्यहाँ पढ्दै बस्न भन्दा जहिले मनलाग्यो, जहिले चाहियो खोलेर हेर्छु, सूचना ताजा पार्छु ।
गुफा त पत्ता लगाए तर जोन स्मिथ बदनाम छन् । अमुल्य रत्न फेलापारेको जस लिन उनी लालची भए । त्यसैले बदनाम बने । घाइते बाघ खोज्दै अहिले १० नम्बर तोकिएको गुफामा उनी पुगे । चित्र देखेर छक्क परे । अनि चैत्य गृहको दायाँ खम्बाको अमुल्य चित्रकलामा आफ्नो नाम कोतरेर १८१९ पनि लेख्दै चित्रलार्इ नोक्सान पुर्याएछन् । जस त त्यसै पनि पाइहाल्ने थिए । पाएकै छन् । तर नाम र साल कोर्ने धुर्ताइ गरेका कारण उनी बदनाम पनि छन् ।
Next part |