भेटियोः गुफाको नम्बर
एलोरा र अजन्ताका गुफा भूगर्भविदहरूको भाषामा डेक्यान प्लेट (Deccan Plateau)भनिने पृथ्विको भागमा छन् । एलोरा गुफाको नक्सामा नम्बर नभेटिएपछि म ती नम्बरका गुफा खोज्दै हिंडे । नम्बर हराउनुको कारण भेटाउने तरखरमा लागें । एलोरा चट्टानका गुफाहरू खोपेर तथा ताछेर आधुनिक ढाँचामा सजाउनु ती पुरखाका पौरख नै मान्नु पर्छ । अहिले ती गुफा ऐतेहांसिक भएका छन् । तर, २२सय वर्ष अघिका ती गुफाका संरचना त्यस समयकालागि अत्याधुनिक थिए । घनश्याम खड्काका शब्दहरू सापट लिँदा, उनी भन्छन्– “मान्छेको मगजभित्रको यही सेरेब्रल कोर्टेक्समा एक अर्ब साठी करोड स्नायु रेशाहरू हुन्छन्, जो अरू जनाबरमा सारै कम हुन्छ ।
यस्तो जटिल मानव मस्तिष्क ५० करोड वर्षअघि केही कोसिकाहरूको उत्परिवर्तनको लामो यात्राको परिणाम भएको अनुमान अध्यताहरूको छ, जो सुन्दा निकै रोचक लाग्छ ।“ (कान्तिपूरः फाल्गुन २०, २०७९)
हो, त्यही मस्तिष्क उत्परिवर्तन हुँदैजाँदा हाम्रा पुरखाले पनि ढुङ्गाका हतियार बनाएर सिकार खेल्न जानेहोलान । सुत्केरी स्याहार्न र बच्चा हुर्काउन एलोराका गुफामा बस्न सिकेहोलन । आगो सल्काउन र नियन्त्रण गर्ने ढंग पुगेपछि अजन्ताका गुफा भित्र मासु पोलेर खान थालेहोलान । काँस(ब्रन्ज) धातु प्रयोग गर्न जानेपछि खेती गर्न जानेको तथ्य पुष्टि भएको मानिन्छ । मेरो हालको बसोबास रहेको पिटरबरो सिटी क्षेत्रमा रहेका कास्य यूगका छाप्राका अवशेषले पनि त्यही पुष्टि गर्छन् ।
मेरो जन्मथलोबाट अजन्ताका गुफा १४ सय किलोमिटरमा छन् । त्यहाँबाट १०० किलोमिटर पर एलोराका गुफा छन् । ती दुबै ठाउँका गुफा भित्र बुध्द धर्मसंग सम्बन्धित मुर्ति र स्तुपा इत्यादि संरचना छन् । अजन्तामा त २२सय वर्ष भन्दा बढि पुराना चित्रकला समेत छन् । जबकि मेरो जन्मथलोबाट ९ किलोमिटरमा बुध्द खेलेको दरबारका अवशेष छन् । उनका बुवा सुध्दोधनले राज्य गरेको क्षेत्र थियो, मेरो जन्म थलो ।
बुध्दको ज्ञान प्राप्तिका मार्गको विध्यालय बनेको थियो अजन्ताका गुफा । त्यस बेलाको विश्वविध्यालयकै तहको अध्ययन स्थल बनेको पनि हुनसक्छ । जन्म थलोको सन्दर्भ जडिएकोले गर्दा पनि मेरो मन त्यता तिर सोझिएको हुनसक्छ । मनस्थितिका तार अनेक तरहले जोडिन्छन् नै ।
बुध्द ज्ञान प्राप्तिकोलागि पिताको दरबार छाडेर हिड्नु भन्दा पहिलाको यूगसङ्ग म हुर्किएको माटोको सम्बन्ध छ । त्यसैगरी बुध्दले बोधिसत्व प्राप्त गरेपछिको सभ्यतासंग एलोरा र अजन्ताका कलाको सम्बन्ध जोडिएको छ ।
यो भूमिकाले के प्रष्ट पार्छ भने अजन्ताका संरचना तयार पार्ने सभ्यता विकास हुन कैयौं सताब्दि ब्यतित भएका थिए । त्यस समयकालागि अत्याधुनिक ठहरिएका संरचना तयार पार्दासम्म फलामे यूग सुरू भैसकेको थियो । काश्य (ब्रञ्ज) यूगमा बेलायत र इजिप्ट तिर मात्र होइन दक्षीणपूर्व एसियामा पनि सभ्यता विकास भैरहेकै थियो ।
तत्कालीन समयमा समृध्दिले भरिपूर्ण भारत खोज्न कोलम्बस हिंड्दा अमेरिका भेटिएको प्रसङ्ग छ । उसबेला पश्चिमका देशमा भारत वर्षलार्इ ‘सुनौलो चरा’ भनेर चिनिन्थ्यो भनिन्छ । त्यसबाट पश्चिमा समाजको तुलनामा दक्षीण पूर्वको समाज बढि समृध्द र प्रविधि सम्पन्न थियो भन्ने प्रमाणित हुन्छ ।
कालान्तरमा वाष्प इन्जनको आविस्कार भयो । उक्त प्रविधि सुरूमा बेलायतबाट प्रयोग हुन थाल्यो । पश्चिमा समाजले प्रविधिको उपयोगले पूर्विय सभ्यतालार्इ उछिन्यो । प्रविधिलार्इ सवैभन्दा पहिला आफ्नै नगिचमा उत्खनन् र आविस्कार गर्न उपयोग हुनु स्वभाविक नै हो । त्यसैले प्राज्ञहरूबीच पश्चिमको सभ्यता पुरानो हो, भन्ने मान्यता बन्यो । त्यसै अनुसार पश्चिमा सभ्यतालार्इ सवैभन्दा पुराना र उन्नत सभ्यता भन्ने मान्यता बन्यो । तर, दक्षीण पूर्वको सभ्यताका विषयमा पर्याप्त उत्खनन र अनुसन्धान हुन पाएन । त्यसैले २ हजार वर्ष पहिले पश्चिमको सभ्यता भन्दा पूर्वीय सभ्यता पिछडिएको थियो भन्ने पुष्टि भएको रूपमा बुझ्नु गलत हुन जान्छ ।
प्रविधिमा फड्को मारेका पश्चिमाहरूले पूर्विय सभ्यताका विपयमा न्यायपूर्ण अन्वेषण गर्न चाहेनन् । बरू अत्याधुनिक प्रविधि प्रयोग गरेर उपनिवेश बनाएर शोषण गर्न थालेको इतिहास लेखबध्द नै रहेका छन् ।
एलोराका गुफाका १ देखि १४ नम्बरसम्मका गुफामा काश्य यूग भन्दा पहिलादेखि मानिसले उपयोग गरेको अनुमान गर्न सकिने धेरै आधार छन् । बुध्दका मुर्ति सहितका संरचना कुदिएका तथ्यले बुध्दको समय पछि नै ती संरचना बनाइएका हुन भन्नेमा पनि विवाद रहँदैन । तर, मान्छेसंग ती गुफाका संरचना कुद्ने प्रविधि विकास नहुँदासम्म मान्छे त्यहाँका खोक्रा गुफामा बस्थे । त्यसैले गर्दा त्यहाँ थप संरचना बनेका हुन । नत्र त अन्यत्रका पहरामा पनि ती संरचना कुदिन्थ्यो होला । त्यहाँ खोक्रा गुफा थिए । बस्ती पनि थियो । त्यसैले त्यहाँका पहरा नै संरचना निर्माण गर्ने स्थान रोजिएको हुनुपर्छ ।
ती संरचना खोप्ने र कुद्ने गर्दासम्म बेलायतीले भारत वर्षसम्म उपनिवेश विस्तार गरेका थिएनन् । त्यस समयमा उनीहरू रोमन साम्राज्यको बन्धनबाट मुक्ति खोज्दैपो थिए होलान । बेलायती मात्र हैन मुगलहरू पनि भारत वर्षको समाजमा दख्खल दिन पुगेका थिएनन् ।
बुध्दको समयभन्दा पहिलाका मानिसहरूले पनि धार्मिक मान्यता बोकेका थिए । सुख प्राप्तको प्रयास गरेका थिए । दुखःबाट मुक्तिको मार्ग खोज्ने प्रयास गरेका थिए । दुःख हरणमा प्रयासरत समाज बुध्द धर्म तथा निर्वाण प्राप्तिको भावनाबाट प्रभावित भयो । त्यसैले बौध्द ज्ञानप्रति प्रभावित भएर संरचना बनाएको पाइन्छ ।
लस्करै १ नं. देखि १४ नम्बरसम्मका गुफा भन्दा उत्तरका गुफामा शिव लिङ्ग लगायत गणेशका मुर्ति पनि भेटिन्छन् । पुरातत्वविदहरूले १५ नं. भन्दा ठूलो नम्बरले चिनाइएका गुफाभित्रका संरचनाहरू तुलनात्मक रूपले नयाँ भएको मानेका छन् । आठौं शताब्दिपछिका संरचनाहरूमा हिन्दू देवी देउताहरू बनाउन बढि जोड गरेको देखिन्छ ।
त्यो समाजमा आरन र औजार बनाउने क्षमता विकास भएकै तुलनामा कला निखार्न गरेको दक्षता देखिन्छ । त्यो कलाको चरमरूप १६ नम्बरको गुफामा देखिन्छ । कतिपयले पहरामा भएको सवै चट्टान कोतरेको हिसाब गरेर चट्टानका धेरै टुक्रा निकालेको भनेका छन् । तर, यथार्थमा पहरामा केही खोक्रो भएको चट्टान ताछिएकोले बखान गरिए जस्तो धेरै ढुङ्गाका टुक्रा फाल्न परेन होला भन्ने मेरो तर्क छ ।
विश्व विख्यात नटराजको थ्री डायमेन्सनको मुर्ति पनि १६ नं. कै बीचको भागको मुल संरचनामा छ । कैलास द्वार भनेर परिचित चट्टान कुदिएको कलापूर्ण ढोकाबाट पर्यटकहरू छिर्न पर्छ । वरिपरिको फराकिला कोठारूपी स्थानलार्इ जोगाउन कतिपय नयाँ पिलर जोडिएका छन् । नयाँ थपिएका पिलर पछि सम्भार गर्न थपिएका हुन भन्ने प्रष्ट बुझिन्छ । बीचको मुल संरचना हेर्दा मलार्इ भने पशुपतिनाथको संरचना याद आयो । पशुपतिमा एकातिर तबला र हार्मुनियम बजाउँदै भजन गाउँदै गरेका भक्तजन बस्ने पाटी छ । त्यस्तै चट्टान खोपिएका पाटी त्यहाँ पनि रहेछन् । पर्यटक र त्यहाँका कर्मचारी मात्र देखिए त्यहाँ । भजन गाउने भक्तजन भेटिएनन् । सायद पहिले पुजा अर्चना गरेर भजन गाउनेहरू त्यता रमाइरहेका हुन्थे ।
क्रमशः नम्बर नबिराइ हेर्दै जाँदा १८ नम्बरको गुफासम्म भएको सहज बाटो अगाडि देखिएन । तर, १६ नम्बर भन्दा माथि पनि गुफा छन् भन्ने देखियो । पर्यटन विभागले पर्यटकहरूलार्इ उता जान निरूत्साहित गर्ने गरी बार लगाएको पनि देखियो । तर, उता जान निरूत्साहन गर्ने भएता पनि प्रतिबन्ध नै गर्न भने खोजेको छैन ।
पानी निकाल्ने नलका पाइपहरू बांधेर बार जस्तो बनाएको रहेछ । तै पनि अगाडि जान भने मिल्ने देखियो । त्यहाँका कर्मचारीले पनि मिल्छ भने । म बार चढेर अगाडि बढ्दै गर्दा फूटपाथ बनाउँदै गरेका मजदुरहरू देखिए । उनीहरूसंग ढुङ्गा विछाउन बाँकी भएको गोरेटोमा जान सकिने विषयमा जानकारी लिएं ।
पर्यटन विभागले त्यता जान निरूत्सान पार्नुको कारण त्यताको बाटो राम्रो नभएर रहेछ भन्ने बुझें । नक्सामा नम्बर नदेखाउनुको कारण पनि सहज बाटो नहुनु नै हो भन्ने पक्का जस्तै भयो ।
मैले कीशोर छँदा अर्घाखाचीको मैदानबाट हाम्रो पुर्खौली गाउँ जाने गोरेटो तिर सोझिएको संझिएँ । तराइ र पहाडको घोंचमा पत्थरकोटको बजार छ । त्यहाँबाट मैदानसम्म फराकिलो घोडेटो (घोडा हिंडाउने बाटो) छ । त्यो बाटो सदरमुकाम सन्धिखर्क तिर जान्छ । त्यहाँबाट छुट्टिएर पश्चिम लागेपछि गोरेटोमा हिंडेको सम्झना लिएर एलोराको उकालो लागें ।
मध्यान्नमा खाना खाएपछि बोकेको २ लिटरको पानीको बोतलमा तीनभाग जति पानी खाइसकेको थिएं । घाम चर्को नै भए पनि त्यसका किरणमा मेरो बाटो छेक्ने छमता थिएन ।
मैदानसम्मको बाटोमा ढाक्रे, खच्चड, लाहुरे, गाउँले र कर्मचारी बटुवाहरू धेरै हिंड्ने गर्थे । त्यहाँसम्मको चहलपहल त्यसपछिको गोरेटोमा हुन्थेन । सुनसान जस्तै थियो । ठ्याक्कै त्यस्तै सुनसान सुरू भयो डांडातिरका गुफा हेर्न हिँड्दाको गोरेटो । कोही मान्छे थिएनन् । म एक्लै थिएं । तर उत्साहित थिएं ।
त्यो डाँडाको टुप्पोमा पानीको कुण्ड देखियो । सफा पानी नीलो थुप्रिएको कुण्डको तीन तिर गुफा रहेछन् । ती गुफाका संरचनामा भने गणेशका मुर्ति कुदिएका भेटिए । १७ नम्बर पछिका गुफामा गणेशको बाहुल्यता देखियो । १६ नम्बरसम्म त्यसरि गणेशका मुर्तिलार्इ महत्व दिएर कुदेको भेटिन ।
आस्थाको प्रभाव समाजमा फेरिंदै जाने क्रमलार्इ नै ती गुफाहरूले पनि पुष्टि गरिरहेका रहेछन् । एलोराका सवैभन्दा पुराना गुफामा बौध्द आस्थाका संरचना देखिन्छन् । त्यसपछिका संरचनामा हिन्दू आस्थाको प्रभाव भेटियो । पछिल्ला संरचना भनेर मानिएका गुफामा गणेशलार्इ प्राथमिकताका रूपमा पुजा गर्ने हिन्दू आस्था प्रतिबिम्बित रहेछन् । टुप्पाको कुण्डबाट पानी छाँगा मुनि प्राकृतिक रूपमा बग्ने बाटो छँदैछ ।
त्यस बाहेक चट्टान खोपेर पानी अन्यत्रै गरेको पनि देंखे । तर, म कुलो भन्दा माथि खरेन जस्तो डांडामा देखिएको गोरेटोमा अघि बढ्दै गएं । गोरेटो अलि ओरालो तिर सोझिएपछि । त्यो चट्टान खोपिएको कुलो त्यहाँ सम्म पुगेको देखियो । त्यो कुलोबाट झुक्किएर कोही छाँगामा नखसुन भनेर बार लगाएका रहेछन् । माथिबाटै तलतिर २९ नम्बरको बडेमानको गुफा संरचना देखियो ।
तल पुग्दा भेटिएको २९ नम्बरको गुफामा माथि देखेको कुलाको पानी झर्ने संरचना देखें । तर म पुग्दा पानी बगेको थिएन । मरम्मत कार्य थपिंदै पनि रहेछ । मुल गेटबाट भारू ३० तिरेर विध्यूत गाडीमा लगिने गुफामा म अर्कै बाटोबाट पुगेको रहेछु । फेरि मान्छेको चलहपहल सुरू भयो ।
उक्त कुलोको पानी २९ नम्बर गुफाको शिबको ठूलो मुर्तिको शीरमा झर्ने गरेको गाइगुइ पनि अरू पर्यटकका मुखबाट सुनें ।
त्यहाँबाट विध्यूत साधानमा मुलगेट पुगें । विकल्प नै त्यहि मात्र देखियो । मुल गेटबाट फेरि अर्को विध्यूत साधनमा ३० देखि ३४ नम्बरका जैन संरचना हेर्न पुगें ।
Next part |