गुफाभित्र दोश्रो दिन
बिश्व सम्पदाको महत्वपूर्ण एलोरा गुफा र मानव संरचना भन्ने थाहा भएपछि त्यहाँ थुप्रै अनुसन्धान भएका छन् । त्यसअघिकै अनुसन्धानले पुष्टि गरेर नै महत्वको सूचिमा राखिएको हो । प्रविधिले सम्पन्न अहिलेको यूगमा त्यहाँ पुगेर आफूले देख्ने बुझ्ने भन्दाबढि जानकारी र तथ्याङ्क इन्टरनेटमै पनि भेटिन्छन् । तर, भूमि टेकेर नै गरिने अनुभूति फरक हुन्छ । अघिल्ला अनुसन्धान र विश्लेषणमा पनि पछिल्ला तथ्याङ्क र विवेचनाले कहिलेकाहीँ धारणा बदल्ने अवस्था सिर्जना गरेको पाइन्छ । त्यसैले पनि प्रत्यक्ष अनुभव तथा अनुभूति गर्नुको महत्व फरक रहन्छ । त्यस्ता अनुभूतिले अघिल्ला अन्वेषणप्रतिका धारणा समेत बदलिने सम्भावना नकारिहाल्नु पर्ने हुँदैन नै ।
त्यस्तै भावनाबाट हुट्हुटी जागेकोले मेरो शरीर ती गुफाहरू चाहार्न पुग्यो । गुफाका संरचना भन्ना साथ मेरो दिमागमा तरार्इको हाम्रो गाउँमा घर लिप्न माटो खनेको जमिन भित्रको खोक्रो भाग उदाउँछ । गाउँका सवैजसो घरको टाटीका भित्ता लिप्न उचित ठहरिएको माटो एकै ठाउँबाट निकाल्ने चलन छ । ढिस्कोमा मान्छे नै भित्र पस्न मिल्ने खोक्रो ओढार बन्दै जान्छ । पहाडमा दशैंका बेला घर रङ्गाउँन कमेरो माटो गाउँलेले कोट्याएर लग्छन् । त्यस्तै खोक्रो कमेरोको ओढार भनेर दाँजे पनि उदाहरण मिल्छ नै । यूग बदलिएपछि अहिले भने सिमेन्ट र एनामेल तथा पेरिस प्लास्टर इत्यादिको उपलब्धताले अवस्था फेरिएको छ । बजारमा हुर्किएका पुस्ताले कमेरो खन्दा बनेको खोक्रो ढिस्कोको विषय नबुझ्न पनि सक्छन् ।
तर, कोदालीले कोट्याउँदै पहराको माटो गाउँ लैजाँदा बनेका खोक्रा पहरा एलोराका गुफा होइनन् । पहेँला, खैरा र काला दह्रा पहराभित्रका खोक्राभाग देख्ने बित्तिकै माटो झिकेर भएको खोक्रा गुफा ती होइनन् भन्ने पुष्टि भैहाल्यो । ती खोक्रा पहरामा मान्छेले छिनी हथौडाले फोरेर अझै बढि फराकिलो पारेका छन् । गुफालार्इ इच्छाएको आकारमा ढालेको तथ्य पुष्टि गर्न कुनै विशेषज्ञको तर्क चाहिने भएन ।
खोक्रा गुफाको रहस्य बुझ्न मेरो मस्तिष्कले मलार्इ पोखराको महन्द्रपुल तिर डोर्यायो । जमिन भित्रको कोमलो भाग पानीले पखालेर भित्र खोक्रो भएको भागबाट बडेमानको सेती नदी बगेकी छन् । तर, पानीले पगाल्न नसकेको माथिको चट्टानमा सानो पुल बनाएर छिचोलेको महेन्द्र पुलको उदाहरण मेरो दिमागमा नाच्न थाल्यो । महेन्द्र गुफाको खोक्रो भाग भित्र देखिने विविध आकृति पनि दिमागमा खेल्छ । पोखराको गुफामा मान्छेले औजार प्रयोग गरेर तोड मरोड गरे कस्तो बन्छ होला ? त्यही अन्दाज गर्दा एलोराका गुफामा मान्छेका गतिविधि अनुमान गर्न थालें । तर, अहिलेका जस्ता औजार छैठौ सताब्दि तिर ती गुफा ताछ्दाका मान्छेसंग थिएनन् ।
मसिनो चुच्चे टुप्पो भएका, मध्यम साइजका र धारिला चेप्टा फलामका छिनी भने उसबेला पनि पक्कै उपलब्ध थिए । हथौडा पनि आवस्यकता अनुसार कहिले काठका त कहिले फलामकै प्रयोग पनि भए होलान । तर, शिलिङ्मा तल हेर्ने मुर्ति कोतर्दा खस्ने धुलो र ढुङ्गाका कँणबाट ती कलाकारका आँखा जोगाउन के जुक्ति गरेहोलान ? मेरो बुध्दिले कुनै मेसो पाउन सकेन । त्यसै विषयमा बिचरण गर्दै गर्दा मेरो कान समाएर नाकको डांडीमा झुण्डिएको चस्मालार्इ झिकें । हातमा समातेर सफा रूमालले पुछपाछ गरें । फेरि लगाएं र, गुफा भित्रका छेउँ टुप्पा साथै शिलिङ हेर्दै हिड्दै गएं ।
बीचमा ठूलो हललार्इ चट्टान ताछेर बनाएका खम्बाले अड्याएका छन् । खम्बादेखि ६ फिट जति परका भित्तामा भएका ढोका रूपी खापाका पारि चारकुना मिलेका कोठा भेटिए । कोठा भित्रका भित्ता र शिलिङ निहार्दा भने गुफाको खोक्रो स्वरूप त्यहाँ सम्म पुगेको थियो भन्ने देखिन्छ । तर, ताछेका भित्ता र आकार मिलाएका कोठामा छिर्ने ढोका हाल्न मिल्ने खाप छन् । कतै अध्यारोमा उज्यालो पार्ने लठ्ठा अड्याउने प्वाल देखिन्छन् । ती संरचना देख्दा मानव कलाको बखान गरिरहेको भेटियो ।
गुफा भित्र कुरा गर्ने समय जुरेका सुमिनाथ चौहानले उनका बाजेले उनलार्इ सुनाएका घटनाले झन् धेरै जानकारी दियो । सुमिनाथका बाजे सानो छँदा, बाजेका बाजेले बाजेलार्इ सुनाएका तथ्यले सान्दर्भिकता कोट्यायो । उस समयमा १२–१३ दिनसम्म मुसलधारे पानी लगातार पर्थ्यो । गुफा रहेको पहाडको फेँदीमा भएको गाउँमा पानीले गर्दा बस्न नसकिने अवस्था सिर्जना गर्थ्यो । त्यस्तो अवस्थामा उनीहरू अन्नपात लिएर ती गुफामा बसेर सैबाग बनाएर खान्थे । उनको स्थानीय भाषा मराठीमा रोटी(चपाती)लार्इ सैबाग भन्दा रहेछन् ।
छैठौं सताब्दि भन्दा पहिले मानिसले ती गुफा अहिले जस्तो आकारमा ताछेका थिएनन् । धेरै जसो गुफा सायद ज्वालामुखीबाट निसकेको तातो झोल बग्दा कतै खोक्रो भएको थियो होला । कतै चुना तथा नरम भाग पानीले बगाएर पनि खोक्रो पारे होला । त्यसरि खोक्रो भएको ओढारको सहारामा आकासबाट झर्ने पानीबाट ओत लागेर धेरै अधिका पुस्ताले जीवन धाने होलान । उनैका सन्तान दरसन्तानले सिप सिकेहोलान । टाढाबाट सिपालु मानिस आएर पनि सिकाए होलान र कालान्तरमा मुर्ति समेत कुदिए होलान भन्ने मैले अनुमान लगाएं ।
सुमिनाथले ती गुफाको लस्कर रहेको चट्टानको माथिको डांडाको टुप्पमा गाउँबस्ती छ भन्ने बताए । उक्त खुल्ताबाग गाउँ नगिच तीव वटा पोखरी छन् । उनका कुरा सुनेर मलार्इ ती पोखरी हेर्न जान मन लाग्यो । तर, एलोरा गुफा घुम्ने एक दिनको समयलार्इ लम्बाएर दुर्इ दिन पुर्याउँदा पनि खुल्ताबादसम्म उक्लने समय जुरेन । त्यो दुर्इदिनको समयलार्इ लम्बाउन भन्दा ती पोखरी हेर्ने धोकोलार्इ खुम्चाउने निधो गरें ।
तीनै पोखरीबाट बगेर झरेको पानी रहेछ गुफा नं. ५ को छत्तरे ढलानबाट झरिरहेको पानी । बर्खा याममा पानीको मात्रा बढ्दा भने त्यहाबाट बग्ने झर्ना ठूलो हुन्छ भन्ने उनको कुरा स्वभाविकै जस्तो लाग्यो ।
धेरै वर्ष पहिले पहरा ताछेरै बनाएका सिंढि र कतिपय पर्यटकको सुविधाका लागि बनाइएका संरचनाले गुफा चाहार्न सजिलै छ । झट्ट हेर्दा आधुनिक भवनका तल्ला ठड्याइएका भित्र फलाम हालेर कङ्क्रिट ढलान गरिए जस्ता पिलरको संरचना देखिन्छन् । गुफालार्इ ताछेर कुन स्वरूपमा निर्माण गर्ने भन्ने दिमागी खेललार्इ संझँदा ती पुर्खा प्रति आदरभाव जाग्छ । अहिलेको आर्किटेक्चरका विध्यार्थीलार्इ राम्रो शिक्षा दिने स्रोत बनेर उभिएका पनि छन् । अझ तिनै पिलरमा विविध चित्रहरू कुदिएका छन् ।
गुफा नं. १० मा बालकोनी समेत बनाइएको बौध्द प्रार्थना हल बनाइएको छ । त्यहाँ काम गर्ने चौकिदारले त्यहाँ पुगेका पर्यटकलार्इ मानिसले बोल्ने र प्रार्थना गर्ने गर्दा बिषेश प्रकारको ध्वनि प्रवाह सुनिने अवस्थाको प्रदर्शन गर्दै थिए । मुख्य हल भन्दा बाहिर पट्टिबाटै बाल्कोनीमा उक्लन मिल्ने गरी चट्टान कुदिएका सिढी छन् । आधुनिक पाराले ढलान गरे जस्तै चिटिक्क देखिने गरी कलाले भरिपूर्ण रहेछन् । माथिमाथि कुदिएका विभिन्न मुर्तिको बखान गरी साध्य नै छैन् ।
उक्त १० नम्बरको सिंढी चढ्ने भागको झ्यालबाट गुफा नम्बर १ तिरको आगमनको मुख्य भाग सिधा देखिँदो रहेछ । सुरक्षाको लागि चट्टान ताछेर त्यो भाग बनाइएको अनुमान गरें । मानव कला मिसिएको चट्टान ताछ्ने काम गर्नु भन्दा पहिला पनि ती गुफामा मानव बस्ति थियो होला । सभ्यता विस्ता हुँदै जाँदा बौध्द धर्मको प्रचार त्यहाँसम्म विस्तार हुँदै गए होला । ती गुफालार्इ धार्मिक प्रयोजनका संरचना सहित मिलान पनि गरिए होला । गुफा १ देखि ९ सम्म सर्बसाधारण जनताको बसोबास हुन सक्ने मेरो अनुमानमा अरू अवलोकन कर्ताको धारणा मिल्ने नमिल्ने विषयमा विबेचना गर्न भने पाएको छैन ।
गुफा नं. ११का दुर्इ तले धेरै कोठाहरू भएको लामो संरचना भन्दा १२ नं. गुफा अलि उचाइमा छ । १२ नं. भन्दा १३ र १४ नं.को गुफा अझै उचाइमा छन् । ११ नं.को माथिल्लो तलामा उक्लँदा घोप्टे काठको ढोका रहेको अनुमान गर्न मिल्ने संरचना देखें । ११, १२, १३ नं.का गुफाबाट ढलान सकिएपछिको सम्मो खेती योग्य जमिन प्रष्ट देखिनेरहेछ । मुखिया, राजा वा सरदारहरूको बासस्थान तथा सैन्य दस्ता र घोडा वा पसुहरू ११ नं. गुफाको भूर्इ तलामा बाध्ने र माथिल्लो तला सुरक्षीत सुरक्षा दस्ता बस्ने अनुमान गर्न सकिने जस्तो अनुभव गरें ।
गुफा नं. १२ झट्ट हेरेर अनुमान गर्दा सुरक्षा हतियार समेत थन्काउने संरचना सहित बनाइएको अनुमान गर्न सकिन्छ । १४ नं.को गुफामा तलातला गरेर धेरै कोठा हुनका साथै सभा समारोह गरिने फराकिलो आँगन जस्तो देखिन्छ । तल्लो तलाको भित्री ठूलो हलमा धान कुट्ने खल, तथा तोरी पेल्ने कोल जस्ता सुविधा जडान गरिने स्थान पनि भान भयो । त्यसै गरी १५ नम्बरको अगाडिको भागको मन्दीर स्वरूपको पारिपट्टि तलैतला बनाएर कोठाहरू खोपिएका छन् । धार्मिक समारोह समेत ध्यानमा राखेर उक्त गुफाको संरचनालार्इ ब्यवस्थित गरेको पाएं ।
फलामे यूगको सुरूवातका दिनमा मानव सभ्यताले उपयोग गरेको ब्यवस्थित बस्तिको रूपमा एलोराको संरचनालार्इ मनन् गरें । लामो समय गुमनाम रहेको अजन्ता गुफा नपुगी निचोड निकाल्न नसके पनि एलोराका गुफा गुमनाम नहुनुको रहस्यको शुत्र फेला पारे जस्तो भयो । एलोरा गुफा मानव सभ्यताबाट बञ्चित नहुनुको कारण ठीक अगाडि देखिएको उर्बर खेतीयोग्य भूमि रहेको अनुमान गरें । पानीको ठूलो तलाउ सहित खेती योग्य हरियाली फाँटतिर बग्दै गरेको खोला त्यसको साक्षी बनेर बसेका रहेछन् ।
हाम्रा गाउँमा चौकिदारले कलवा (बिहानको खाना) खाए पछि उत्तर कुवाँ(इनार) निरको फराकिलो भागमा जम्मा हुन हाँक(आह्वान) गरेपछि भेला हुने चलनको याद आयो । यूवाहरू झगडा गरेर कुटाकुट गरेको विषय मिलाउन, आगामी बर्षको लागि बालिघरे आर्ने कस्लार्इ नियूक्त गर्ने वा अर्काकी स्वास्नी भगाउनेको जारी रकम छिनो फानो गर्ने इत्यादि विपयको छिनोफानो गर्ने चलन मैले देखेकै थिएं । त्यो एलोरा गुफाको संरचना देख्दा गाउँलेका बुकुरा, मुखियाको घर, मडैयाको पुजा स्थान जस्तो सवै संरचनाको त्यो तालमेल मेरो बचपनको यूगसम्म रहेछ भन्ने महशुस भयो ।
नेपालमा हुर्कँदै गर्दा किशोर अवस्थामा भारतका सम्राट औरङ्गजेब हिन्दू तथा बौध्द धर्मावलम्बीप्रति नकारात्मक थिए भन्ने सुनिन्थ्यो । नेपाल पुगेका आर्यहरू पनि धेरैजसो औरङ्गजेबबाट धर्म बचाउन नेपाल पुगेको कथन ब्यापक छ ।
तर, औरङ्गाबादकै क्षेत्रभित्रको हिन्दू र बौध्द संरचनाहरू अहिलेसम्म पनि धेरै हदसम्म सुरक्षित रहेको पाउँदा सुनेका कथनमाथि पुनर्विचार गर्न पर्ने भएको छ । बत्तिमुनि अधेरो हुन्छ भन्ने तर्ककै आधारमा सहरकै २० किलोमिटरको सरचना बच्नुको कारण मान्ने तर्क पनि बलियो देखिँदैन । दोस्रो दिनका ट्याक्सी चालक प्रकास सिन्धे र अघिल्लो दिनका हिन्दू राप भेटिने चालक बीचको ब्यवहारबीच फरक महशुस भयो । समग्रमा त्यस क्षेत्रका सर्बसाधारणको ब्यवहार निस्छल महशुस गरें । तर, सरकारी रकम ढाटछल गर्नमा सर्बसाधारणको मिलिभगत हुने भान भयो ।
मलार्इ एलोराका गुफा घुमेपछि अजन्तासम्म पुर्याउने हिन्दू चालक प्रकास नै थिए । एक हिन्दू चालकले मेरो अजन्ता गुफा भ्रमणको लागि फर्दापूर गाउँमा बासको ब्यवस्था गरिदिने इस्लाम धर्मावलम्बि मुस्ताकलार्इ सिफारिस गरे । ती दुर्इ चालकबिचको सम्बन्धबाट साम्पर्दायिक सद्भावको झल्को पाएं । हुन त मेरो छणिक अनुभव नै निर्क्योलको आधार मान्नु तर्कसंगत नहुन सक्छ ।
Next part |