जुवा भाच्ने गोरू
कथाः गोविन्द बेल्वासे
यो कथा हाम्री नातिनी जन्मंदाको वर्षको हो । हाम्रो खेतीकिशानी राम्रै चल्दै थियो । दुर्इ हल राँगा, दुर्इहल जोत्ने गोरू र एक हल लडिवान गोरू गोठमा थिए । हाम्रा गाउँमा गोरूगाडालार्इ लडिया भनिन्छ । लडिया तान्ने गोरू वा राँगालार्इ लडिवान गोरू(राँगा) भन्छौ ।
जोत्ने गोरू र राँगा चर्न जान्थे । चरेर फर्किएपछि गोठमा थुनेर राख्थेम । हामले उनीहरूलार्इ थुन्ने गोठलार्इ संसद भन्ने गरेका थियौं । लडिवान गोरूले बडी स्याहार पाउँथे । उनीहरू खेत बारी र जङ्गलमा चर्न जान पर्थेन । चारा मसिनमा काटेर मसिनो पारेको परालको भूषामा धानको भूष पनि मिसाएर खान दिन्थ्यौं । सिजन अनुसारको घास पनि त्यसमा मिसाएर खान पाउँदा झन घुस र कमिसन पनि पाइयो भने झै गरी खान्थे । हुन पनि हौदीमा पराल, घाँस र खली(पीना) मिसाएर खुवाउँथ्यो । कहिलेकाही मसुरोको भूस मिसाएको दाना पाउँदा झन् हौंसिदै खान्थे । सानी र पानी अनुसारको काम पनि राम्रै गरी असुल गरिन्थ्यो । भरिभराउ बोरा लिएर हटिया गएर धान बेच्न जाँदा उनैहरूले काठे चक्काका लडिया तान्थे । खेतीबाट अरूले फुरसद पाए पनि उनीहरूले फुरसद पाउँथेनन् । रेञ्जर र फरेष्टरको आँखा छलेर जङ्गलका मुडा रातीमा ल्याएर बारीमा माटोमुनि पुरेर लुकाउन पनि उनैहरूले कमाल देखाउन पर्थ्यो ।
ती दुर्इ लडिवान गोरू उमेरले अलि छिप्पिएका तथा पाका भैसकेका थिए । लडियामा होस कि हेँगा लाउँदा होस एउटा सधै बाँया पट्टि नारिन्थ्यो । उसको नाम 'बा' राखिएको थियो । दाँयापट्टिको जुवा सम्हाल्ने जिम्मा पाउनेको नाम 'सप्रेको' भन्ने राखेका थियौं । हाम्रा केटाकेटीले अङ्ग्रेजी फेसनका बर्डिङ स्कूल पढ्न थालेका थिए । त्यही बानीले गर्दा जे पनि अङ्ग्रेजीमै उच्चारण गर्थे । नेपालीमा भन्न भन्दा अङ्ग्रेजीमा भन्न उनीहरूलार्इ सजिलो भएर नि होला ! त्यो दायाँ नारिने गोरूलार्इ 'सप्रेको' भन्ने हाम्रो भाकालार्इ बिगारेर 'सुप्रिमो' भन्थे । हामलार्इ पनि केटाकेटीले अङ्ग्रेजी भाका टिपेकोमा केके न गर्ने भए भनेर खुसी पो लाग्थ्यो । हाम्रा पालाका संस्कृतका स्लोक र छन्दको स्वाद हाम्ले नै विर्सँदै गएझै भाथ्यो ।
हुन त बाँया जुवा समाल्ने गोरू भैरहवाको काञ्जी हाउसमा धेरै वर्ष थुनिएको थियो भन्नुहुन्थ्यो मेरी आमाले । उसलार्इ काञ्जी हाउसको जरिवाना कसैले नतिरेपछि लिलाम हुँदा सबै भन्दा बढि मुल्य तिरेर ल्याएको हो पनि भन्नु हुन्थ्यो । हिजोआज दाँया नारिने गोरूलार्इ पहिला चाहिं बाँया जुवामै नारिन्थ्यो रे । तर, उसको दायाँ नारिने साथीगोरू विरामी भएर थलापरेछ । त्यसपछि 'बा' गोरू लिलामीमा बढाबढ् गरेर ल्याएको हो हाम्रा घर । बा गोरूले जोत्दा, हेँगा लाउँदा र गाडा तान्दा जातिबिति दायाँ तिर पेल्ने गरेर हैरान पार्न थाल्यो । हेँगामा नार्दा पनि जहिल्यै दायाँ तिर ढकेलेर हेँगा त आलीमै चढाइदिन्थ्यो रे । हेँगाको एउटा टुप्पो आलीमा चढेपछि हेँगा उचालिन्थ्यो । माटाका डल्ला छुँदै नछुने भएपछि फुट्ने कुरै भएन । खेती बिग्रने भयो भन्ने पीर पनि लाग्न थाल्यो । काजु खेतीमा मात्र हेँगा ठीक सित तान्थ्यो । गोरूगाडा तान्दा कोलम्बसको बाटो समाउन नि खोज्थ्यो । उतै पुगिन्छ भने झै गर्थ्यो । त्यसपछि त्यो बाँया नारिने सप्रेको गोरूलार्इ दायाँ जुवामा सारियो । दुर्इ गोरूको ब्यालेन्स मिलाउन जोडा मिलाएको भन्ने गाइगुर्इ पनि छ हाम्रा गाउँमा । हुन त नेपालकै किसानले जन्माए हुर्काएको बाछो रैछ, उ पनि । ती किसानले बेच्नै पर्ने घरब्यवहारले गर्दा ठूलो गोरू बजारमा धेरै पैसा पर्छ भनेर उता पुर्याएका रहेछन् । दशगजा पारिको गोरू बजारबाट किनेर ल्याएर दायाँ जुवामा सारेपछि चाही उसको नि खुबै मेलो बस्यो ।
परार साल खेती लाउने बेलामा दुबै गोरूले बडो मेलजोल गरेर मेलो मिलाएर हेँगा लगाए । खेती पनि खुवै सप्रियो । खेती सप्रेको खुसीमा पीना, दालको ढुटो र छिटाको साग धेरै खुवाएपछि मोटाएर दुबै गोरू निकै ढाढिए । जङ्गलतिर पनि सामुदायीक बनको ब्यवस्था भएकोले रातीमा मुढा चोर्न जान नपरेपछि काम पनि घट्यो । खेती सप्रेको देखेपछि दाउराले हैन अब पाइपको ग्यासमा चुलो बालिन्छ भन्ने फुर्ति नि हाम्ले लाम्दै हिडिम । अनि त बाँयाका गोरूले दायाँ जुवाका गोरूलार्इ धकेलेको धकेलै गर्न थाल्यो । दायाँ जुवामा नारिनेले 'नपेल के मेलो बिग्रन्छ' भन्थ्यो बा गोरूले मान्ने नै हैन, पेलेको पेलै पार्यो । हुँदाहुँदा एक दिन गोरूगाडा लिएर जाँदै गर्दा बा गोरूले जोडले धकेलेर गाडा नै पल्टाइदियो । धानका बोरा फुटेर धान पनि पोखियो । जनतन रामशाह पथमा बस्ने छिमेकी गुहारेर उनकै सहयोगमा गाडा उठाइयो । तै पनि त्यो गोरूले धेकेल्न छाडेकै हैन । हैरानै पार्यो । अलिदिन पछि फेरि उसै गरी गाडा पल्टाइदियो । हामीलार्इ नि खेतीकिशानी बरबादै हुने पीर पर्यो ।
तिनै ताक हाम्रा गाउँमा एउटी फुर्तिली बुहारी भित्रेकी थिइन । उनी साह्रै सिपालु पनि रहिछन् । हामिले यी हिमाल पारिकी तरूनीलार्इ यो तराइको खेतीपाती थाहा छैन होला भन्ने सोचेका थियौं । मंगोलियन बुहारी भित्राउने गाउँलेको घर बिग्रन्छ कि झै नि लाथ्यो । उनको घर मात्र हो र गाउनै विग्रन्छ कि भन्ने गाइँगुइ पनि चलेको हो । तर, ती तरूनी बुहारी भने, जसो पनि जानेकी, जर्खराउँदी रहिछन् । भोटे भाषा बोल्ने घरकी भएनि यता आएपछि त खरर्रै हाम्रो भाषा नि बोल्न थालिन, गाठें । कति चाडै बोली भाषा सिकिन कुरा गरेरै साध्ये भएन । अचम्मै लाग्यो, लाग्न नि ।
हाम्रा लडिवान दुर्इ गोरू मध्ये एउटाले मेलो मिलाउन खोज्ने अर्काले दायाँ ढकेल्ने गरेको पनि उनले देखेकी रहिछन् । एक दिन हाम्रा घर आइन । उता भोट तिर पनि खोक लाउँदा गोरूको हल मिलेन भने साट्ने चलन रहेछ । दायाँ जुवाकोलार्इ वायाँ जुवामा र वायाँ नारिनेलार्इ दायाँ जुवामा सार्ने चलन रैछ । त्यही कुरो हाम्लार्इ सिकाइन । उनका कुरामा जाद्रै भर त लाथेन । तर नि, एकचोटी साटासाट पारेर बिचार गरेर के भो त नि भन्ने नि लागो । नभन्दै यताको जुवाकालार्इ उताको जुवामा उताका जुवाकोलार्इ यताको जुवामा नारेको त बढो मेसो मिलाएर हेँगा नी ताने । मिष्त्री हलो नारेर बाँजो फोर्दा नि एउटा सियो नि विरिएन । त्यही भएर त्यो बर्षको बालीनाली गजबसित फल्यो फल्न नि । दुर्इ बर्ष जति राम्रै अनाज नि भित्रियो । केटाकेटी बिदेश पढ्न पठाउने हवार्इजहाजको खर्च र कलेज फीस पनि पठाइयो । त्यही जोसैजोसमा धेरै खुवाउनाले बायाँ नारिने गरेको गोरू फेरि मात्तिन थाल्यो । जुवा त दायाँ तिर पेलेको पेलेकै पार्न थाल्यो ।
एक दिन दायाँ नारिने गोरूलार्इ अति भएछ । सहनै नसक्ने ठहर गरेछ । झरामझुरूम जुवा भाँचेर हिंड्यो । बा गोरू बाँया जुवामा एक्लै नारिएकै थियो । त्यहीँबाट डुक्रियो... । उ डिक्रएको आवाज सुन्दा 'नजा सिध्धिन्छस' भनेझै लाग्यो । उमेर त दुबैको पाको नै थियो । त्यही भएर नि होला जुवा भाचेर हिंडेको सुहाउन भने पटक्कै सुहाएन । बहर गोरूले जुवा भाचेर हिँड्दा यस्तै हो यो उमेरमा भन्ने लाग्दो रैछ । बुढो गोरूले जुवा भाच्दा अलि उदेक लाग्दो छनक पाइँदोरहेछ ।
जुवा भाचेर हिँडेको गोरूको पछि लागेर गोठका अरू गोरू र राँगा पनि गए । गोठ समालिनसक्नु भयो । गोठाले नियमले समाल्न नसकेका ती राँगा र गोरू माइतीघरको चौरमा एक छिन चरे । दुबो खानी जति खाए अरू दुबो बस्दा पनि माडे । तेतै गोबर्याए । त्यताको माटो भने अलि मलिलो पारे । तर उनको छट्पटि समालिन सकेन । उनीहरूको छट्पटि उखरमाउलो हुँदै गए पछि शेरे नामका किसानको धानको बीउ चर्न थाले । शेरे पनि हाम्रै गाउँका किसान दाइ हुन । ती दादा पनि हाम्रा घरको चालामाला देखेर जिल्ल पर्दै थे । अब जुवा नै भाचेर हिँडेका गोरूलार्इ उपयोग त गर्नै पर्छ भन्ने लागेछ, उनलार्इ । नभन्दै उनले नि बिउ ननास मैले घांस खान दिन्छु भनेर फकाउन थाले । रामशाह पथमा काम गर्ने कर्मचारी पनि हाम्रा गाउँमा खेती किसानी गर्छन् । एकदिन राँगा र गोरू धपाउँदै शेरे दाइ उनै कर्मचारीका दलानमा पुगे । आँगनको हुल हेर्दै शेरे दाइलार्इ उनैले एउटा टिको लगाइदिए । त्यो टिको कस्तो जादुगरी रैछ भने, सवै गोरू र राँगा टिके शेरेका पछिपछि शेर दा जतागयो उतै जाँदा रैछन् । शेरे दाइ पनि टिकाको कमालको मोहनी तन्त्र बाट छक्कै परे ।
उता एक्लिएको गोरू रन्थनिएको थियो । गोठै रित्ताएर राँगा र गोरू पल्लाघरेका तिर नगैदेका भा जुर्रो झन् उचालिन्थ्यो भन्ने सोच्थे । तर, गोरूबाट टेक्टरकै रूप धारण गर्छु भन्ने दाउ खेल्दा एक्लिएको थियो त्यो गोरू। यसरि त भएन के गरौं त भन्ने छट्पटि भैरहेकै थियो । यता पल्लाघरको शरणमा पुगेका गोठलार्इ एक दिन भाउजुले ताग्लो खोल्दै नखोल्ने निधो गरिछन् । दाइ पनि निर्धा न ठहरिए । ताग्लो नखोल्दिएका कारण भोकले छट्पटिएका गोरू र राँगा छट्पटाउन थाले ।
एक्लिएको गोरूले भाउजुका फन्दामा परेर भोकले गोठै छट्पटिएको छनक पाएछन् । एउटा कुकुरलार्इ सुटुक्क बोलाएर उनीहरूछिन खबर पठाएछन् । कुकुरले भाउजुले सुन्छिन कि ! भनेर भुकेर खबर भन्न डराएछ । उसले विस्तारै कुर्इ...कुर्इ... गर्दै भित्तो फोरेर निस्कने हो भने एक्लीएका बा गोरूले शरण दिन्छन् भनेर सुनाएछ । त्यत्ति भन्ने सन्देश के पाएका थिएर जुवा भाचेर निस्किएका गोरूले तिखारिएका सिङ्ले भित्तो उधिन्यो । राङ्गाले पछाडि तिरबाट भकाराको बार लात्ताले हानेर भत्कायो र उफ्ररँदै सित्तल हावा खादै, विद्या कसम अव बिउ चोर्न गइन्न भनेर बा गोरूका शरमा शीर निहुराए ।
अबको हाम्रो खेतीमा हेँगा लाउने मेसो कति वर्ष चल्ला हेर्न बाँकी छ । गार्इको बथान भा बहर दाएर लडिवान गोरू तयार पार्न हुन्थ्यो । बहर जति भूमण्डली करणको टेक्टर धकेल्न गएकाले उतै तिर रबि-बाली सपार्दैछन् । बहर गोरू दाउन नसकेर एक हल गोरू खरीदकर्ता भने गनगन् गरिरहेछन ।
म भने अवको वर्षको खेति सजिलै लाग्ला कि भन्ने 'आशा त गर भर त नपर' भन्ने गम्दै बसेको छु ।
|