Govind Belbase
<November 2024>
SuMoTuWeThFrSa
272829303112
3456789
10111213141516
17181920212223
24252627282930
1234567
उज्ज्वल प्रसाईको 'एक बागी' पढेपछि

उज्ज्वल प्रसाईको 'एक बागी' पढेपछि



गोविन्द बेल्वासे
पुस ११


निचोड:
सत्ताको एउटा ह्यूमपाइप हुन्छ। त्यसमा एकापट्टिबाट जनपक्षीय मान्छे पसाल्नु पर्छ। त्यो स्फटिक जनपक्षीय मान्छे पनि ह्यूमपाइपको अर्को तिर निस्कँदा फोहरी बनेको हुन्छ। यो वर्तमान हो।

त्यसमा पसेको मान्छे निस्कँदा पनि स्फटिक स्वच्छ नै निस्कने संयन्त्र सिर्जनामा लाग्ने असल व्यक्ति नै ‘बागी’ हो। बागी ह्यूमपाइपको विग्रह शैली परिवर्तन नहुँदासम्म त्यसभित्र पस्न डराउँछ। पस्दै पस्दैन।

पाठकलाई बागी कस्तो मान्छे हो भन्ने बुझाउने रिपोर्टिङ मात्र रहेछ यो पुस्तक। कुनै विचार उत्तेजक छलफल होइन। पाठकले आफ्नो विचार आफै सिर्जना गर्ने हो। भलै रिपोर्टरले नकारात्मक पक्ष तथा टिप्पणी पनि समेटेका छन्। तर पनि बागीलाई असल मान्छे बन्ने लेप लगाउने तथ्य पस्कन बढी मेहनत गरेका छन्।

एउटा तराजु लिएर बसेका उज्जवल प्रसाई बजारमा भेटिन्छन्। उनको तराजु राजनीतिक नभएर सामाजिक रहेछ। तराजुको एक पलरामा बागीलाई राखेछन्। ती बागीको न्वारनको नाम खिलराज रहेछ।

पसलको सटर उठाउनासाथ अर्को पलरामा लीला शिवाकोटीको नाम परिवर्तनको कुटुरो हालेर जोख्दै देखाउँछन। कहिले भविष्यको लेखक एवं साहित्यकारले ‘राज’ नै काटेर छरितो बनाउने भाउताउ देखाएर ग्राहक आकर्षित पारेका छन्।

अधिकांश पाठकलाई प्रसाईको व्यापार मनपर्ने नै देखिन्छ। तर उनी न बागीको मूल्य तोक्छन्, न त ग्राहकलाई माल भिडाउने तिगडमको तुज्जुक नै देखाउँछन्। उज्जवलको तराजुमा ग्राहक बनेर मैले सबैभन्दा बढी मन पराएको पनि त्यही तुज्जुक नै हो।

ती खिलराजलाई नचिने पनि खगेन्द्र संग्रौलालाई पत्रिकामा बढी र किताब र मिडियामा जताततै चिनेका व्यक्ति नै बागी भनेर चिनाउन खोजेका रहेछन् प्रसाईले। तर वास्तविक बागी त पुस्तकको लेखकको नाममा दर्ज भएका उज्ज्वल भेटिए।

मूल धार र सत्ताका विवरण त ग्रीष्मबहादुर देवकोटाले ‘नेपालको राजनीतिक दर्पण’को पसलमा ठेलीका ठेली बेच्न राखेकै थिए। त्यसको समानान्तरमा चलेको नेपाली राजनीतिको बागी (भूमिगत) चलखेल देख्ने पात्रका पाना उतारेर वास्तविक बागी आफै पनि बनेका रहेछन् उज्जवल।

ग्रीष्मबहादुरले छताछुल्ल पारेका सम्भ्रान्तका जुँगा उखेल्न नाके स्वरको ‘आँहुम्’ बाट सिलसिला रचिएका छन्।

सामन्त र सम्भ्रान्तका ती जुँगा उखेल्ने लर्को सुरू गर्ने रन्को लाग्ने जग बारे खगेन्द्रले लेखेर बताएकै कारण उज्जवलले थाहा पाउँछन्। बामदेव पाहाडीको भाकामा विद्रोह विज्ञान टुँसाउने लर्को हो- ‘जुन हो भाइ, प्रकाश दिने एउटा सुर्जे आकाशमा छ, भन्नू। अर्को सुर्जे कहाँ छ? म भन्दछु कि अर्को सुर्जे जुन हो शिक्षामा छ।’

त्यही शिक्षाले धेरैलाई चाकडी बजाउन सिकाउँछ र थोरै केहीलाई बागी बनाउँदो रहेछ। कतिपय अति गोपनीय आत्मरतिमा रमाउने पनि हुँदारहेछन्। अर्काथरि उग्र विद्रोही सहभागी सत्ताको लिसो छुट्ने डरमा पलायन पनि हुँदारहेछन्। त्यही शिक्षाले चेतना फैलाउँछ।

चेत नभएर ‘जुनकीरीको संगीत’ अर्कैबाट सुन्दा अर्थको अनर्थ बनाउँदै व्याख्या हुँदा बागीको मथिङ्गल हल्लिन्छ। ‘बुझ्यो कठीक झन बुझ्यो झन कठिन, झन्-झन् बुझ्यो झन कठिन’ भन्दै नबुझ्नेलाई बुझ्ने बनाउने शिक्षा कसरी बाँड्ने भन्ने बुझ्न पनि गम्दै लेख्ने लर्को ७४ वर्षको हुँदासम्म पनि खगेन्द्र संग्रौलाले चलाइरहेको भेटाएका छन्, उज्ज्वलले।

सिङ्गाने शिल्पकार, सङ्ग्राम सिंह हुँदै गर्दा जनै बिनाकै बाहुनलाई पानी दिँदा पाप लाग्ने डर हराउने चेतना स्तरमा सन्तोषको सास पनि फेरेका भेटिन्छन्।

‘त्यसअघि उपल्लो जातका मान्छेलाई आफूले छोएको ख्वाए पाप लाग्छ भन्ने अन्धविश्वास बोकेर बसेका उनीहरू अहिले भने धक नमानी उनलाई खाना ख्वाउने र बास बस्न दिने भएका थिए।’


त्यस्तै-त्यस्तै विवरण पस्किएर एउटा श्रमिक पक्षधर मानव पात्र किताबमा बागी भनेर प्रकाशन गर्न पाएकोमा रिपोर्टर निकै मक्ख परेका भेटिन्छन्।

खुट्टामा टिमिक्क टाँसिएका शिक्षकको सुरूवालको पहिरनको आकर्षणमा मूल पात्र बागीको पहिरनको चर्चा चल्छ। कलेज शिक्षकको कालो सुट र टाई अनि टलक्क टल्कने छालाका जुत्ताको अक्षरको लस्कर लम्किन्छ।

‘सादा जीवन उच्च विचार’ का अम्मली बागी भने जीवनमा एक पटक मात्र टाई लगाएको कथनले उनको जीवनशैली दर्शाउँछ। बाम साहित्यबाट बागीलाई अम्मल बसेको अनुमान भने गर्न सकिन्छ। तर उज्ज्वलले गाउँदेखि कलेज पुग्दाको र राजधानी तथा सदरमुकामतिर लवज फेरिएको तर्फ ध्यान दिँदैनन्।

पूर्वेली भाका ठाउँ सर्दै जाँदा फेरिएको चर्चा कतै उल्लेख छैन। बरू सिर्जनशील समुदायको लवज टपक्क टिपेका बागीका जुनकीरीको सङ्गीतका भाकाले पानाहरूमा राम्रै स्थान पाएका छन्। भाका र समुदायको लवजमा महत्व नदिएका कारण रिपोर्टरबाट ‘पहिरनले महत्व पाउनुको कारण’ पुस्तकमा खुलस्त भएको छैन।

तत्कालीन नेपाली गाउँले खगेन्द्र संग्रौलाको बालककालसम्म पनि आगो बाल्ने सलाई र लाइटरको अभाव बेहोर्दै थियो। अँगेनाको खरानीमुनिको अगुल्टो निभेको बिहान छिमेकीको घरबाट अगुल्टो ल्याएर चुलो बल्थ्यो।

पुस्तक टुङ्ग्याउने अवस्थासम्म पुग्दा ट्विटर तथा साइबर प्रविधिबीच बदलिएको चेतना प्रभावको विषयको चर्चा नगर्नुले उद्देश्यलाई खल्लो बनाएको छ। ग्रहण लाग्नुको कारणलाई पण्डितले गरेको व्याख्या खगेन्द्र कलेज पुग्दा फेरिन थालेको हुनुपर्छ।

यूरी गागरिन अन्तरीक्षमा पुग्दाको वैचारिक द्वन्द्व छिचोल्नमा उज्ज्वलले अल्छी गरेका छन्। खगेन्द्रले स्कुल पढाउन थाल्छन्। तिनै ताक मान्छेले चन्द्रमा टेक्नुले गर्दा ग्रहण लाग्ने र अर्घ चढाउने विषय बुझ्न र बुझाउन फरक परिस्थिति बने होला।

प्रविधिमा परिवर्तन र राजनीतिक चेतना समानान्तर रेखामा दगुरेको विषय खगेन्द्रसँग कोट्याएको भए सुनमा सुगन्ध थपिने थियो। वाष्प इञ्जनको आविष्कारबाट फैलिएको साम्राज्यवाद पेट्रोलियम इन्धनबाट सञ्चालित अटो-इन्जन प्रविधि प्रयोगमा पुग्दा भारत र चीनले राजनैतिक परिवर्तन गर्दै थिए।

सन् १९४७ को भारतबाट बेलायती सत्ता लखेटिनु र सन् १९४९ मा चीनको नौलो जनवादी क्रान्तिको झिल्काले खगेन्द्रको चेत उद्वेलीत भएको देखिन्छ। त्यसैले त माओका रचनाको अनुवादमा उनी जाँगर चलाउँछन्। तर ती राजनैतिक चेत प्रविधि सँगसँगै बदलिँदै गएको प्रसङ्ग पनि खगेन्द्रसँग सिकेर पाठकका लागि पस्किएको भए पुस्तक अझै रचनात्मक ठहरिने थियो।

छोरी जन्मिएको प्रसङ्गले सामाजिक बदलाबसँगै बदलिन नसकेको खगेन्द्रको अन्तरचेतनाको खुलासा भएको छ। त्यसमा प्रविधि चेतले कति दख्खल दिँदै गए होला भन्ने जिज्ञासा पाठकले मेटाउन पाउने अवसर उज्जवलले दिएका छैनन्।

चेतनाको स्तर के कारणले फेरिँदो रहेछ भन्ने बुझ्न प्रविधि परिवर्तन पक्षले सहज बनाउने थियो। रेडियोको प्रचलनले भारत र चीनको राजनीतिक परिवर्तनको लहर नेपाल पसेको अनुमान गर्न सकिन्छ।

खगेन्द्रको जीवनसँगै भित्रिएको टिभी, कम्प्युटर र साइबरको प्रभाव सत्तालाई कति पर्यो र भुइँमान्छेको चेतनामा कति दख्खल दियो भन्ने जस्ता धेरै अवसर लेखकले गुमाएका छन्।

हिरण्यलाल श्रेष्ठलाई उदृत गर्दै उज्जवलले ‘सिमाना जोडिएको चीनले आफ्नो प्रभाव विस्तार गर्न नचाहने कुरै भएन। ... नेपालको भूमि प्रयोग गर्दै भारतले बलमिच्याइँ गर्छ भन्नेमा सतर्क भएकाले ऊ यहाँ प्रभाव जनाउन चाहन्थ्यो’ भनेर उल्लेख गरेका छन्।

यो तथ्य अरविन्द रिमालको कथनसँग मेल खाँदैन। रिमालको ‘१९९७ देखि २०१७ साल एक अवलोकन’ (२०६२- आइएसबिएन ९९९४६-५७-३४-८) भन्ने पुस्तकमा चिनियाँ अधिकारीले ‘नेपाल त भारतकै प्रभाव क्षेत्रभित्र रहनुपर्छ’ भनेको भनेर उल्लेख गरेका छन्।

चिनको निम्तोमा चिनिया कम्युनिष्ट पार्टीको आठौं महाधिवेशनमा भाग लिन उनी गएका थिए। उनले सन् १९५६ मा मशालको प्रतिनिधिका रूपमा त्यहाँ गएको जनाएका छन्। मशाल पीएल प्रकाशक भएर पार्टी सदस्य बटुचन्द्र गौतमको सम्पादकत्वमा चलाइएको पार्टी मुखपत्रसरहको साप्ताहिक अखबार थियो।

उज्ज्वलले दुवै विवरणलाई संग्रौलासंग विश्लेषणात्मक टिप्पणीका रूपमा उजागर गर्ने अवसर गुमाएका छन्। त्यसबाट पुस्तकको अन्तिमतिर उल्लेख गरिएको राष्ट्रवादको प्रसङ्ग झन् पठनीय हुने थियो।

पुरस्कार प्राप्त गर्ने क्लीष्ट लेखन र श्रमिकलाई बुझ्न सजिलो बनाउन लेखिने शब्दचैन गरी दुई ध्रुवका भाषा बजारमा भेटिन्छन्। संग्रौलाको लेखनमा पाइने श्रमजीवीले बुझ्ने जनजिब्रोको भाषामा राहुल सांकृत्यायनको झलक पाइन्छ।

पुस्तकमा प्रेम चन्दको प्रसङ्ग उल्लेख भएको छ तर राहुलको चर्चा कतै भेटिँदैन। उज्ज्वलले त्यस विषयमा पनि खोतलिदिएको भए पाठकलाई खुसी पार्ने र ज्ञान बढाउने खुराक जुट्ने थियो। खगेन्द्रको भाषा साहित्य लेखनमा बुझ्न एकदमै सरल पाइन्छ। तर समसामयिक मिडिया लेखमा झर्रो व्यंग्यात्मक र कतिपय अवस्थामा घोत्लिएर बुझ्न पर्ने भेटिन्छ।

यो पुस्तक पढेपछि भने खगेन्द्रले साहित्यका पाठक ग्रामीण कृषक र श्रमिक रोजेको भन्ने बुझेँ। समसामयिक लेखनमा उनले मध्यम वर्ग र बुर्जुवाहरूलाई पनि समेट्ने भाषा प्रयोग गर्ने गरेको उत्तर भेटेको अनुभूति भयो। यो अर्थ बुझ्ने मौका मिलाइदिनु भएकोमा उज्जवललाई बोक्न सक्ने जति धन्यवाद अर्पण गर्न चाहन्छु।

उनले धन्यवाद अपर्याप्त हुने शब्दसहित पुस्तक टुङ्गाएका भए पनि मैले उनलाई धन्यवादभन्दा बढी दिन सकिनँ। त्यसैले मेरा अनुग्रहित भावनाबाट उनले चित्त बुझाउने छन् भन्ने आशा छ। उनको कलम तिखारिँदै जाने शुभकामना।

अन्त्यमा,



खगेन्द्र संग्रौलाका विषयमा उज्जवलले समीक्षा तथा विश्लेषण गरेका छैनन्। तथ्यहरू जस्ताको तस्तै हो भन्ने दाबी गर्ने ठाउँ राखेका छन्। खगेन्द्रका विषयमा कसले के भन्यो? कसरी उनको जीवनका दैनिकी अघि बढ्दै गए भन्ने उल्लेख गरेका छन्।

'खगेन्द्र कस्ता मान्छे ठहरिए त?' भन्ने प्रश्नको जिम्मा पाठकलाई नै दिएका छन्। साथै खगेन्द्रले आफूलाई कस्तो पाएका छन् भन्ने उत्तर पनि पुस्तकमा उल्लेख गरेका छन्-

‘म सधैँ निमुखा, पददलित र वञ्चितहरूको पक्षमा छु। तिनका पक्षमा इमानदारीपूर्वक लड्ने सङ्गठन, संस्था एवम् समूहहरूलाई सकेको समर्थन र सहयोग पनि गरेको छु। र म आफ्नो सामर्थ्यको सीमाभित्र रहेर अनवरत लेखिरहेको छु।

सामर्थ्य र कमजोरीसहितका ती लेखन मेरो प्रतिवद्धताका प्रमाण हुन्। लेखकका रूपमा मेरो वैचारिक प्रतिवद्धता र स्वायत्तता जोगाउन प्रलेससँग मैले असहमति राखेँ र कुनै पोलिटब्युरोको आदेशपालक बन्न अस्वीकार गरेँ।

यति भनेपछि उनी हाँसे र आँखीभुइँ उचाल्दै भने- मैले के बिराएँ?’ publish on setopati on 26dec22
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.