पर्यावरणीय कथासङ्ग्रह ‘ब्लु प्लानेट’ एक समीक्षा
पुस्तक
सेनामा भर्ती भएर पेन्सन पकाउने युवासँग बारुद र बन्दुकका रहर हुन्छन् होला भन्ने मेरो सोचाइ विजय हितानले बदलिदिएका छन्। पन्ध्रवटा वातावरण कथाको सङ्लन पस्किएर सङ्गीनको टुप्पाको भन्दा तिखो कलमको उपलब्धी भरिएको ‘ब्लु प्लानेट’मा उनी छचल्किएका छन्। उनको विगत थाहा नपाएको पाठकलाई यी आख्यानकारको विगत सेनाको जागिरसँग जोडिएको छ भन्दा बिजुलीको जस्तो झट्का लाग्ने सम्भावना छ।
चलचित्र पनि त साहित्यकै एक पाटो हो भन्ने अर्थबाट पुस्तकको शीर्षकमा भएको ब्लु (फिल्म) शब्दलाई खोज्दा अर्थको अनर्थ हुन जान्छ। पुस्तकको शीर्षकमै इको साहित्यको सन्देश दिन आकाशको निलो र अन्तरिक्षबाट देखिने पृथ्वीको रङप्रति हितानको प्रेम स्वयंसिद्ध तथ्य रहेको कुरा हरेक कथाले अभिव्यक्त गरिरहेका छन्।
नेपाली भाषाको साहित्यलाई नेपाली इतर भाषाको शीर्षक राखेर हितानले न्याय अन्याय कति गरे भन्ने विषयमा हरेक पाठकका फरक-फरक राय बाझिने पनि हुन सक्छ। नेपाली माटोमा जन्मी हुर्किएर बेलायती सेनामा जागिरको अनुभव बटुलेपछि अङ्ग्रेज समाजमा बसोबास गर्ने यी कथाकारलाई स्वाभाविक लाग्ने भाषाले जुरेको नामलाई त्यही अर्थमा बुझिदिँदा उनी भने पक्कै खुसी हुने छन्।
कथासङ्ग्रहको सारका रूपमा उनी भविष्यका सन्ततिप्रति चिन्तित रहेको भाव सहजै बुझिन्छ। चिन्ता मात्रै भन्दा पनि सन्ततिहरूको जीवनअनुकूलको पृथ्वी नबच्ने डर बेच्न पनि कथाकारले यो पुस्तक मार्फत मार्केटिङ गरेका छन् भन्ने आरोपलाई प्रतिरोध गर्न त्यत्ति सजिलो भने छैन।
‘चिल्ड्रेन अफ म्यान’ नामको उपन्यासमा पच्चीस वर्षसम्म सन्तति देख्न नपाएका मानवप्रति सन्ततिको मोहको भावलाई पिडी जेम्बसले पस्किएको भाव नै हितानले पनि बिक्री सूत्रका रूपमा पहिचान गरेको पाइन्छ। चलचित्र समेत बनेको त्यही उपन्यासबाट विचार जन्मिएको भन्दै साम्युएल स्काफलरले कति पुस्तासम्म सन्ततिको चिन्ता गर्ने भन्ने विषयको दर्शन व्याख्या गर्ने गरेकै सन्दर्भमा हितानका कथाहरू अल्झिएका छन्।
शृङ्गार रसलाई छचल्काउँदै बाग्मती ब्लुज नामको कथामा काठमाडौँको जल प्रदूषणको गम्भीर विषयलाई पनि रोचकता थप्न उनी लेख्छन्, ‘उनका आँखाका काला गाजलमसीले लेखेका अक्षरमाथि पानी पोखिएर पोतिएसरी देखिन्थे।’ शब्दजालमा भुलाएर आफ्नै सन्तति बस्नलायक हुने गरी यो पृथ्वी छाड्नका लागि पाठकलाई सचेत गराउने खुबी नै यो पुस्तकको मुख्य विशेषता रहेको छ।
अहिलेका मान्छेका थुप्रै गतिविधिहरूप्रति घृणा र लान्छना दिँदा पनि पाठकका रूपमा कथा पढ्दै गरेको यही समाजको मान्छे रिसाउन पनि नपाउने परिबन्दमा जकडेर राख्ने खुबी पनि कथाहरूमा भेटिन्छ। उक्त कथामा किशोर पुस्ताबीच प्रचलित शब्द समेट्ने ‘इको डेटङ’ जस्ता शब्दसँगै पढ्दै जाँदा बाग्मती नदीसँगको ‘पहिलो डेटिङ’को नवीन शैली दाल भातसँगको ट्वाक्कको चटनीको स्वाद जस्तो लाग्छ।
मूल शीर्षक कथामा भविष्यको कल्पनारूपी मनोवादभित्र रूमलिँदै हितानले फ्लासब्याकमा पाठकलाई अल्झाएर राखेका छन्। कोरोना कालको निकटतम विगत साथै वर्तमानलाई पस्किने ढङ्ग पु¥याएको पनि देखिन्छ। यसलाई साहित्यमा इन्टरप्रेनरसिप भन्ने उपमा दिँदा पनि अतिसयोक्ति हुँदैन जस्तो लाग्छ।
पाठककका सन्ततिले बेहोर्ने पृथ्वीको परिवेशलाई सन्तुलित राख्न अहिलेको पुस्ताले भोग्दै गरेका घटनाक्रमबाट डर देखाउने जाले रुमालमा बुट्टा भर्ने क्रुससरी कलम झन्झन् तिखारिँदै गरेको प्रमाण एकपछि अर्को कथा पढ्दा थपिँदै जान्छ। कोरानाको प्रकोपलाई ‘वुहान सिफुड मार्केट’ प्रसङ्ग जोड्दै उनी लेख्छन्, ‘यो एउटा पृथ्वीले कसरी थेगोस् साढे सात अर्ब मानिसका अनेक चाहना।’ अहिलेका पाठकले कोरोना प्रसङ्ग आफैले अनुभव गरेको अवस्था हुँदा धेरै चाख नलाग्न पनि सक्छ। तर, भविष्यको पुस्तालाई कोरोना कालका प्रसङ्गहरू रोचक र ज्ञानमूलक दुवै ठहरिने छन्।
यी साहित्यकारका मस्तिष्कमा पृथ्वी जोगाउने लहड चलेको तथ्य हेरक कथामा भेटिन्छ। उनको लहडलाई साथ दिन वातावरणसम्बन्धी केही शब्दजाल त यिनको मानसिकताका अम्मली भाषाका रूपमा भेटिन्छन्।
उदाहरणका लागि ‘प्लास्टिकका टुक्रा अड्किएर छट्पटाउँदै गरेका डल्फिनहरू।’
‘बढ्दो तापक्रम र प्रदूषणले समुद्रको पानी अम्लीय बन्दै छ। यसको प्रभावले खुइलिँदै छन् कोराल चट्टानहरू।’
ईश्वर उर्फ प्रकृतिका नियमहरू उछिन्ने मानिसको क्रियाकलापबाट इभोलुसनको नियममा भएका अस्वाभाविक चरणलाई उजागर गर्न पनि हितान त खप्पिसै पो भेटिन्छन्। बेलायतमा वातावरण एजेन्सीको कर्मचारी भएर बटुलेका अनुभव मिसाएर कथा बुन्ने कलाकारका रूपमा पाठकको दिमागमा ठाउँ खोज्न पनि उनी सफल रहेका छन्। उनको विशेषज्ञता प्रस्ट देखिने हरफ कोर्दै भविष्यको कल्पनाभित्र वातावरणमा सुधार हुने आशा जगाउन उनी लेख्छन्:
‘ब्लु प्लानेटमा दिउँसोमासै रात सम्झिएर उड्ने ती चमेरा अहिले अग्ला भवनका भग्नावशेषभित्र मस्त निद्रामा छन्। सफा जुनेली रातमा मात्रै निस्किँदा रहेछन् आहारको खोजीमा।’ यस अर्थमा उनी एक आशावादी कथाकारका रूपमा आफ्नै खुट्टामा उभिएका भेटिन्छन्।
यिनका आँखाअगाडि फ्रेममा अडिएर बस्ने चस्माको पावरभन्दा दिमागभित्रको चस्माको पावर धेरै रहेको भेटिन्छ। त्यसैले त अहिले (२०७८) प्रकाशित भैसकेको कथासङ्ग्रहमा ‘नव वर्षले जन्माएका वृक्षहरू’ शीर्षकमा २१०२ सालको वैशाख १ गते भेटाउँछन् उनी। उनको चिन्ताको परिधि विस्तार गर्न नेपालको राष्ट्रवादलाई समेट्दै उनी लेख्छन्: ‘भगवान् बुद्ध भारतमा जन्मिएका भनेर संसारमा झुटो प्रचार गरिँदै छ।’
यहाँनिरको प्रसङ्ग केलाउँदा वातावरणको अन्तर्राष्ट्रिय सन्दर्भ साँघुरो पारेर उनी नेपालको देशभक्तिप्रति चाकडी गर्न पुगेको पनि भेटिन्छन्। नेपालभित्र भन्दा विदेशमा बसेको उनको जीवनको समय दुई गुणाभन्दा बढी भैसकेको छ। तर पनि नेपालीपनको स्वादलाई सबैभन्दा उत्तम भनेर प्रमाणित गर्न उनलाई मात चढेको भन्न सकिन्छ। मात चढेका बेला होस नरहेजस्तै अहिलेको नेपालको सिमाना र भारतको सिमाना बुद्ध जन्मने समयमा फरक थियो भन्ने उनलाई हेक्का नभएको देखिन्छ।
बुद्ध त कुनै देशको सिमानाको परिधिमा बाँधिने व्यक्तित्व नै हुन सक्दैनन्। उनका बुबा शुद्धोधनको राज्य, सिमानाको विषय केलाउने नै हो भने पनि उक्त कपिलवस्तु राज्यको सिमाना अहिलेको नेपालको सिमानाको केही भाग र अहिलेको भारतको केही भागमा पर्ने हुनाले कथाभित्रका व्यक्त वाक्य र यथार्थबीच तालमेल नमिलेको भेटिन्छ।
तिलौराकोट, निग्लिहवा, कुदानतिर भेटिएका उत्खनन सामग्री, सङ्कलित रचना र अशोक स्तम्भहरूले जाहेर गरेको विषयमा अलमल हुन पुगे पनि कथाकारको भावनालाई भने दोष नदिनु नै बेस हुन्छ। बेलायतीले शासन गर्नुभन्दा पहिला भारतको सिमाना विभिन्न राज्य र साम्राज्यका रूपमा विभाजित थियो। सन् १९४७ को स्वतन्त्रपछिको भौगोलिक भारत बुद्ध अघिपछिको स्वरूप भिन्न थियो।
विभिन्न राज्यहरू मिलेर उत्तरमा हिम पर्वतसम्म फैलिएको भूभागलाई सिमानाका रूपमा नभएर समयकालका रूपमा भारत वर्ष भनेर मानिएको प्रसङ्गलाई प्रस्ट पार्न सकेका भए कथाकारले झनै जस पाउने थिए। कमजोरी सुधार गर्दै गएमा समाज झन् सुन्दर हुने भावना व्यक्त गर्न नेपालीहरूको समयमको महत्त्व नबुझ्ने बानीमाथि झटारो पनि हानेका छन् उनले।
प्रमुख अतिथि नै कार्यक्रमको सही समयमा नपुग्ने कमजोरी भोगेको पीडा कथाभित्र समेट्नुबाट उनको छटपटाहटमा अधिकांश पाठक सहमत हुने नै भान हुन्छ। उनको कल्पनाको भविष्यमा नेपालमा महिला प्रधानमन्त्री चयन भैसकेको कथनबाट उनी लैङ्गिक समानताका हिमायती हुन् भन्न करै लाग्छ।
कथा कोर्दै जाँदा ‘पिताको काजक्रियामा सरिक हुन नजाने’ तर ‘बाघको शोकसभामा दिलो ज्यान दिने’ पात्र खडा गरेर उनले मानव सभ्यताप्रति न्याय गर्न नसकेको दोष खेप्न पर्ने देखिन्छ। मानव सभ्यताको बचावटका लागि सन्तुलित वातावरण संरक्षणको पक्षधर हुनु राम्रो हो। त्यस अर्थमा कथाकारलाई स्याबासी दिनुपर्ने हुन्छ। तर बाघ संरक्षणका लागि मानव संस्कारको बलिदानले उग्रपन्थी वातावरण विधाका रूपमा कथाकार विचलित भएको पनि पाइन्छ।
झापा (नक्सल) विद्रोहलाई उग्रपन्थी भन्दै बामपन्थी नेता मोहनविक्रम सिंहले उग्रपन्थी भडकाव अन्ततोगत्वा विसर्जनवादमा पलायन हुन्छ भनेजस्तै सन्दर्भ दोहोरिने डर पनि झल्किन्छ। वातावरण संरक्षणको प्रयासस्वरूप पस्किएका इको कथाहरूमा उग्रपन्थी भडकाव हावी हुन गएमा उपलब्धिहीन हुन सक्ने भावनाबाट कथाकार बच्न सकेका छैनन्।
पृथ्वी मानव बस्नलायक नहुने अवस्थाका लागि तयारीस्वरूप अर्को ग्रहमा बस्ती बसाल्ने मस्किजम (एलेन मस्क) को व्यापार भाव र कथाकारको उग्रधारलाई विवेचकहरूले तुलोमा जोख्दै जाने छन्। त्यसै गरी फिलोसफर स्काफलले भविष्यको पुस्ताको चासोमा गरेको विश्लेषण पनि वातावरणीय उग्रपन्थी भावनामा मापन गर्नु बेस हुन्छ।
ती दार्शनिकले उदाहरणका रूपमा भविष्यका पुस्ताको माया गर्ने मानव स्वभावलाई चिरफार गर्न एक उदाहरण दिने गर्छन्, जुन यो प्रसङ्गमा पनि सान्दर्भिक लाग्छ। उदाहरण दिँदै उनी भन्छन्: तीस वर्षपछि क्यान्सर रोग उन्मूलन गर्न तल्लीन वैज्ञानिकलाई छ महिनामा पृथ्वीको आयु सकिने जानकारी प्राप्त भयो भने उक्त क्यान्सर अनुसन्धान तुहिन्छ।
उक्त उदाहरणलाई मध्य नजर गर्ने हो भने पनि मानव सभ्यता तथा संस्कार नास गरेर वातावरण संरक्षण अग्रसर हुने व्यक्ति तयार पार्ने साहित्यको उपादेयता तर्कसङगत देखिँदैन।
कथाकार नेपाल र विदेशको भावमा बल्झिँदाबल्झिँदै कतिपय कथामा तराई र पहाडको भावबीच बल्झिएको पनि पाइन्छ।
‘मधेसमा कुनै दिन पानीको स्रोत रित्तिएर मान्छे काकाकुल बन्ने भयले सताउँथ्यो।’ जस्ता शब्दावलीमा उनका ती भाव भेटिन्छन्।
वातावरण परिवेशका कथाहरूमा पाठकलाई डर देखाए पनि सुन्दर भविष्यप्रति आशावादी भेटिन्छन् कथाकार। धेरै कथाहरूमा महिला ‘म’ पात्रका रूपमा कथा पस्किने जमर्को गरे तापनि सामाजिक परिवेशको मुद्दामा हितानभित्र निराशावादी झलक पाइन्छ।
तराईकी केटीमा पहाड मोह दर्साएर संघर्षमा होमिएकी पात्रलाई वियोगान्त अन्त्यसँगैको कथाबाट पुस्तकको सुरुवात प्रकाशनको कमजोरी पक्ष मान्न सकिन्छ। वातावरणको सन्तुलनमा आशावादी कथाहरू मकैका फूला फुरेसरी फुरेका भेटिन्छन्। तर, सामाजिक मुद्दामा लैङ्गिक विभेद हटाउने मुद्दा उजागर गर्न कथी कथुरी गरेरै भए पनि उन्मुक्ति भेटाउन नसकेका कथाहरूले हितानको वचपनमा नारी पात्रहरू पुरूषबाट उत्पीडित भएको पीडा झल्काउन भने सफल रहेका छन्।
नारी पीडाप्रति सदाशयता पाइने शब्द उन्दै उनी लेख्छन्, ‘यौवनावस्था र एक्लै जिउनुपर्ने विवाहित महिलाको उत्तेजना कसले बुझ्ने?’ ‘नारी र नदीको प्रकृति झन्डै उस्तैउस्तै हुँदो रहेछ।’ ‘महिलाको अस्मिता र नदीको इकोसिस्टम दुवै अति संवेदनशील विषय हुन्।’
बेलायती सेनामा भर्ती हुने प्रचलनको समाजभित्र हुर्किएको बचपनमा परेका छापले कथावस्तु र अभिव्यक्तिमा धेरै छाप छाडेको भेटिन्छ। सैनिक जागिरपछि उच्च शिक्षा हासिल गरेको छापका रूपमा लेखनशैलीको जग बसेको भेटिन्छ। क्लिस्ट शब्दावलीका रूपमा ‘कार्बन मोलिक्युल, सिक लिभ, गैरसरकारी संस्थाको नक्कली विकासले धानिएको देश’ जस्ता थुप्रै शब्दावली कथाहरूमा भेटिन्छन्।
वातावरण, लैङ्गिक विभेद, दिगो विकास र राजनैतिक विद्रोहजस्ता धेरै मुद्दालाई एकै घानमा पिस्न खोजेको पनि भेटिन्छ। वातावरण विषयमा क्लिस्टताको साङ्लोले जकडिए पनि विज्ञताको उपलब्धिपूर्ण कथाहरू जन्मिएका छन्। विद्रोही विषय र अपराधको सन्दर्भ एकै ठाउँमा मिश्रण हुन पुगेको परिवेशले राजनैतिक चेतको कमजोरी झल्किने अभिव्यक्तिहरूले केही कथाका स्तर अन्य कथाका तुलनामा झरेको पाइन्छ।
‘धिक्कार भाग्यलाई!’ शब्दावली समेटिएको कथाबाट पुस्तक टुङ्गिएको छ।
कथा लेखनमा खिचडी शैली पाठकले कत्तिको रूचाउने हुन भन्ने भविष्यले बताउने नै छ। विजय हितानलाई कथामा रोचक र हास्य विधा मिसाउने कला थपिएका कृतिहरू मार्फत चाँडै नै अरू कृति बजारमा उतार्ने शुभकामना दिन चाहन्छु। पाठकलाई वातावरण सन्तुलित पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्न यो पुस्तकले प्रेरणा भने पक्कै दिने छ।
प्रकाशित: २९ आश्विन २०७९ ०८:२६ शनिबार |