Govind Belbase
<November 2024>
SuMoTuWeThFrSa
272829303112
3456789
10111213141516
17181920212223
24252627282930
1234567
चस्मा महात्म्य
चस्मा महात्म्य


चस्मा लगाएको सवै भन्दा बढि सुहाएको जस्तो लाग्ने अनुहार महात्मा गान्धीको हो । तर, फोटोमा भन्दा जायज ठहरिएला किनकि मैले उनको जीउँदो अनुहार नै देखिन । उनले चश्मा लगाएको त्यो अनुहार हेर्न उनी जीवित पनि त छैनन् । उनका नाममा बनेका चलचित्रमा नायकले लगाएको चस्मा देख्दा भने वास्तविक अनुहारमा त्यो गोलो चस्माको ढाचा दुरूस्तै लाग्छ ।


उनको त्यो चस्माको कुरा अलि पुरानो जस्तो लाग्नु स्वभाविक नै हो । तर चस्माको प्रसंग अहिले पनि समय सान्धर्विक बनाएको जस भने बालेन साहलाइ जान्छ । रङ्गीन चस्मा । रङ्गदार फ्रेममा बाँधिएको चस्मा । नजर लुकाउने चस्मा । गान्धीको पावरवाला गोलो आँखिभौँ नढाक्ने पारदर्शी चस्माको रङ्ग हुन्थेन । उनको नजर सर्बसाधारणले पढ्न पाउँथे । गान्धीको जनप्रेमी विचार उनका आँखाबाटै पढ्न सकिने भएर त होला उनका अनुयायीले अहिंसाको नाराभित्र समेटिने हिम्मत जुटाउँथे । दलीत धरातलबाट उठेर विद्वान बनेकाले भारतको संविधान लेख्ने नेतृत्व गरेका डा. भिमराव रामजी अम्बेडकरले पनि चश्मा लगाएको फोटो देखिन्छ । अलि मोटो फ्रेम भित्र पावरदार चस्मा लगाएको उनको फोटो जताततै देखिन्छ । तर, उनको पनि नजर लुकाउने होइन देखाउने चस्मा नै देखिन्छ । उता पाताल लोकका अब्राहम लिङ्कनको जमानामा नाकको डाँडीमा बसेर कान समाउने चस्माको चलन नभएर हो कि किन हो कुन्नि ! चाउरी परेको बुढो अनुहारमा पनि चस्मा लगाएको फोटो देखिँदैन ।


जे होस्, गान्धी हुन वा अम्बेडकर जस्ता जनपक्षीय चिन्तकले लगाउने चश्मा कमजोर भएका आँखालाइ पढ्न सक्ने बनाउनकालागि हुन्थ्यो । नगिचका बस्तु राम्ररी देख्न सक्नका लागि हुन्थ्यो । तर, बालेन्द्र शासको चस्मा देख्नका लागि होइन अरूकालागि देखाउन र नजर लुकाउनको लागि हो भन्ने लाग्छ । कसैकसैलाइ बालेनको चस्माको विषयमा मेरो चस्माको दृष्टि भ्रम भएको जस्तो लाग्न पनि सक्छ । हो मेरा पावदार चश्माले त्यस्तै दृष्य देखाइरहेको छ । अरूलाइ जस्तो लागेनि लागोस मलाइ भने यस्तै लागिरहन्छ ।


चस्माको विषयमा बी. पी. कोइरालाद्वारा लिखित ‘दोषी चस्मा’ नामको कथा राम्रो उदाहरण हो । उनले उक्त कथामा नजरको राम्रो चर्चा गरेका छन् । चश्मा त विषय उठान गर्ने उनको बहाना थियो । कथा भित्र उनले राणाकालका सरकारी कर्मचारीको मनोविज्ञान र चाकडीप्रथाको सल्यकृया गरेर सफल साहित्यीक चिकित्सकको पहिचन बनाएका छन् । स्वस्ति चढाउनमा चुकेको ठहरिने डरको मनोविज्ञानद्वारा सत्ता विरूद्धको चेतानाको झिल्को पस्किएका थिए । चाकडी विनाको कर्ममा विश्वास जगाउने प्रयास गरेका थिए । हुन त, अझै पनि अघिपछि झिलिमिली पार्दै बाटो बन्द गरेर सवारी चालाउनेलाइ खुसी पार्न चाकडीका लागि हतार गर्नेहरूको लस्कर लामै छ क्यारे ! भलै उनले अघिल्लै सताब्दिमा त्यो झिल्को सल्काएका नै किन नहुन ।


चस्माको सौन्दर्य रसका लागि भने मोहम्मद रफीको सम्झना नगर्नु अन्याय ठहरिन सक्छ । हसरत जयपुरीको शब्दलाइ स्वर मिलाएर उनी गाउँछन्–


तेरी प्यारी प्यारी सूरतको
किसकी नज़र न लगे
चश्मे बद्दूर
तेरी प्यारी प्यारी सूरत
को किसिकी नज़र न लगे
चश्मे बद्दूर
मुखड़े को छुपा लो
आँचल में कहीं
मेरी नज़र न लगे
चश्मे बद्दूर


भलै ससुराल भन्ने चलचित्रका लागि गाएका हुन, तर वास्तविक जीवनमा पनि चस्माले रूप सुन्दर बनाउने भन्दा पनि रूपको वर्णनमा चस्माको बहानेवाजी गरेका थिए गायकले । भनिन्छ नि मान्छेको रूप नै चालीस प्रतिशत आँखाले नै वर्णन गर्छ भने र । अनुसन्धानले त्यही भनेको छ । कीशोर अवस्थामा आँखा जुधाएर मन साट्नुको मजै बेग्लै हुन्छ । त्यो रङ्गीन चस्मा भित्र लुक्नेसङ्गको सम्बादको मजै हुँदैन । पारदर्शी चश्मा भित्रका नजर पढेर रूपको वर्णन गर्नुको स्वादपो प्रेमको स्वाद । घाम छेक्ने बहानामा नजर चोरसंग भने सङ्गतै नगर्नु बेस । त्यसैले आँखाका नानी लुकाउनु भनेको रूप लुकाउनु पनि हो । रहस्यमयी बन्ने स्वभाव दर्शाउनु पनि हो ।


चस्माको प्रसंग उठ्दा मलाइ सवै भन्दा अनौठो लाग्ने चस्मा भने घडी मेकानिकले लगाउँथे । उनको घडी मरम्मत पसलमा काठको बाकसमा पारदर्शी सीसाको शोकेसभित्र नयाँ र पुराना घडी थुनिएका हुन्थे । त्यसै माथि सेतो कागज विछाएर घडीका मसिना पार्टपुर्जाको विसुन सुकाएका हुन्थे उनले । साना पुर्जा देखिने गरी करिब साढे दुर्इ इन्च लामो सिल्वरको फेमको चश्मा एउटा आँखमा लगाएर झुकेर जोडजाड गर्दै गरेको देख्थेँ मैले । त्यसबेला उनी गजबका मेकानिक लाग्थ्यो र ठूलो भएपछि यस्तै मिस्त्रि बन्न पर्छ कि भन्ने प्रश्नले मस्तिष्क भित्र कुस्ती खेल्ने गर्थ्यो । कालान्तरमा घडी यति सस्ता भए कि मरम्मत गर्न भन्दा नयाँ घडी किन्दा सस्तो पर्न थालेपछि त्यस्ता मिस्त्रिहरूको रोजगारी नै बचेन । अर्का थरि महँगा घडी पनि हुन्छन् तर विग्रदै नविग्रने ती घडीले पनि ती मिस्त्रिलाइ काम दिने कुरै भएन । तर, मलाइ भने ती मिष्त्रिको एक आँखे चस्मा हराएकोमा खल्लो लाग्छ । त्यो चस्माले न त कान समाएको हुन्थ्यो न त नाकको डांडी माथि बसेर हैकम नै जमाएको हुन्थ्यो ।


चश्माको कुरा गर्दा अभिताब बच्चनको फुटेको चस्मा पनि विर्सन मन छैन । ‘बागवान’ नामको हिन्दी चलचित्रमा नातिले फुटाइदिएको चस्माको प्लटले तुरूक्कै रूवाइ दिन्छ । सन्तानले मातापिताको प्रेमजोडी छुट्टाइदिएका हुन्छन् । बुवाको भूमिका निभाएका ती नायकले विछोडमा ब्याकुल नायीका हेमामालीनीलार्इ प्रेमपत्र लेख्न पाउँदैनन् । तब झल्कन्छ दुर्इ पुस्ता बीचको अन्तर्विरोध । तर, प्रेम त सधै अमर रहन्छ भलै बुढेसकालको प्रेममा कुखुरे बैंशकाले खिसिट्यूरी नै किन नगरून । उनै नायीकाले शोलेमा ‘बसन्ती’को भूमिका निभाउँदै देखाएको प्रेम र बागवानमा देखाएको प्रेममा अन्तर देख्नु भनेको दृष्टि भ्रम हुनु नै त हो ।


प्रविधिको कमाल भन्नु पर्ला शिक्षकले पढाउँदा नसमाएको कान पनि समाइदिने चश्मा हिजोआज नलगाए पनि हुन्छ । कन्ट्याक्ट लेन्स लगायो आँखा कमजोर भएको कुरा अरूले चाल पनि नपाउने । हुँदाहुँदा लेजर उपचार गरेर आँखा मरम्मत पनि हुने जमानामा चस्माकै कुरा गर्नु पनि वाहियात पो हुन सक्छ । कि कसो ?


बालेनका आँखा पढेर नजरिया पहिचान गर्ने जमात नभए पनि गीतबाटै बिचार बुझ्ने पुस्ताको बुझाइ ठम्याउन भने केही समय कुर्नै पर्ला कि ?
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.