|
छोरी कसकी?
गोविन्द बेल्वासे फागुन १२
भिसा लागेर आएको मेरो पासपोर्ट घरको ढोका बाहिर उभिएको हुलाकीले दिँदै मेरो दस्तखत माग्यो। उसले हत्केलामा अटाउने यन्त्रको स्क्रिन मेरा अगाडि तेर्साएको देख्नासाथ मेरो चोर औंलाले दस्तखत गरिदिएँ।
सधैं जस्तै सबैका चिठी घरघर पुर्याउने हतारमा ढोकाढोका चाहार्ने 'रोयल मेल' (बेलायतको हुलाकी)को कर्मचारी गयो। मैले पासपोर्ट बुझेर ढोका थुनेँ।
त्यतिञ्जेलमा घर भित्रको तातो हावा ह्वात्त बाहिर गयो। बाहिर जति तातो हावा गएको थियो, त्यति नै चिसो हावा ढोका भित्र छिर्यो। हिजो परेको हिउँ पूरै पग्लिसकेको थिएन। घाम छेकिएका ठाउँको दुबोमाथि हिउँ अझै सेतै देखिन्थ्यो।
हुलाकीले दिएर गएको खाम नखोल्दै भिसा लागेर आएको पासपोर्टको न्यानोपनले मनै रमाइलो भइरहेको थियो। मन त फुरफूर्ति उडिरहेको थियो। पाँच वर्षदेखि पर्खिरहेको खुसी हात लागेको भावनाले फुरूंग थिएँ।
निलो रङको प्लास्टिकको खाम बाहिर मेरो ठेगाना विवरण लेखेको कागज टाँसिएको थियो। खाम च्यात्दै सिटिङ रूम भित्र छिरेँ। भिसा लागेर पठाएको पासपोर्ट रोयल–मेलबाट पठाइएको छ, चाँडै नै पाउने छौ, भन्ने पत्र हिजो नै बुझेको थिएँ।
मैले भिसा थप्न प्रमाण पुग्ने गरी होम अफिस (गृह मन्त्रालय) पठाएका बैंकको स्टेटमेन्ट, बिजुली–पानी युटिलिटी बिलहरू, काउन्सिल ट्याक्सको बिल हिजै हात परेकाले पासपोर्टमा भिसा लागेको छ भन्ने थाहा थियो। त्यसैले भिषा लागेर आएको कुरामा पासपोर्ट हेर्नुभन्दा अघि नै म ढुक्क थिएँ।
नीरूलाई हिजै फोनमा खबर सुनाउँदै पासपोर्ट बुझेपछि नेपाल आउने अनि उनको पनि डिपेन्डेन्टमा भिसा लगाएर बेलायत ल्याउने खबर सुनाएको थिएँ। नीरूसँग विछोड भएको पाँच वर्ष पुगिसक्यो। हुन त बिछोड भएको भन्नुभन्दा पनि शरीर भेट नभएको भन्न ठीक हुन्छ। भिडिओ च्याटमा दिनदिनै साँझ-बिहान हुने भेटलाई विछोडै त कसरी भन्न मिल्ला र!
सोफा अगाडिको टी-टेबलमा राखेको चियाबाट बाफ उडिरहेको थियो। हुलाकीले ढोका ढकढक्याउँदा कपमा चियापत्तिको थैलो हालेर भल्भली तातेको पानी कित्लीबाट कपमा खनाउँदै थिएँ। त्यो कप सिटिङ रूमको टेबलमा राखेर हुलाकीलाई ढोका खोल्दिन गएको थिएँ। सोफामा बस्दै खामबाट पासपोर्ट झिकेर बायाँ हातमा समातेँ। च्यातिएको खाम टेबलमाथि राख्दै दायाँ हातले चिया ओठमा लगेर सुरूप्प पार्दा ज्यानमा हल्का तरंग चल्यो। चिया धेरै तातो भयो भने पनि यति मजाको तरंग चल्दैन, त्यतिञ्जेलमा सेलाएर स्वादिलो तरंग चलाउने ठिक्कको तातो भएको रहेछ।
कालो चियाको हल्का टर्रो स्वादले सिर्जना गरेको तरंग मस्तिस्कमा पुगेर ऊर्जा दियो र मनले भन्यो– ‘नीरूलाई सर्प्राइज दिन खबरै नगरी एकैपट ढोकामा पुग’।
त्यो आदेश सिरोपर गरेँ। हवाइजहाजको आजकै टिकट काटेर लागेँ काठमाडौं। हवाइजहाजको गति धिमा त छँदै थिएन तर पाँच वर्षदेखि भेट्न नपाएकी नीरूलाइ भेट्ने हतारमा मलाई हवाइजहाज पनि अझै छिटोछिटो उडे हुन्थ्यो भन्ने लागिरह्यो। मन मभन्दा अगाडि नै काठमाडौं पुगेर नीरूसँग रमाएका पलहरूको झल्कोमा रूमल्लिरहेको हुन्थ्यो।
त्यही बेला कहिले हवाइजहाजमा टर्बुलेन्सको सूचना सहित सिटबेल्ट बाँध्ने सूचनाले झस्किन्थेँ अनि अझै प्लेनभित्रै छु भनेर झल्यास्स हुन्थेँ। कहिले खाना बाँड्दै आएकी एयरहोस्टेजले दिएको प्लेट समाउँदै तन्द्रा त्यागेको हुन्थेँ।
काठमाडौंको हुस्सु चिर्दै एकाबिहानै प्लेनले एयरपोर्टको भुइँ छोयो। चक्काले भुइँ छुँदा झड्का महसुस भयो, हल्लायो। निद्राले झपक्क भएको मस्तिस्कले सपना देखिरहेको रहेछ। घरमा पुगेर नीरूसँग बसिरहेको सपनाबाट झँल्यास्स बिउँझिएँ। सपनामै निरू र मसँग चार वर्षकी छोरी ऋचा रमाइरहेकी थइन्।
म यस्तै प्लेनमा चढेर विदेश गएको ९ महिनामा जन्मिएकी छोरीलाई आज पहिलोपटक काखमा लिन पाउने आशाले मन फुरूंग भयो। नीरूलाइ खबर गरेको भए त एयरपोर्ट बाहिर मलाई पर्खिरहेकी हुन्थिन्। सर्प्राइज दिने धुनमा अलि खल्लो भयो। तर, घर पुग्दा रमाउने नीरू र छोरीको भावनाको कल्पनामा फेरि मन रमाउन थाल्यो।
प्लेन अडियो। धेरै जसो यात्रु सिटबाट उभिएर बाहिर कतिखेर निस्कन पाइन्छ भनेर लाम लाग्दा पनि लाइन अगाडि बढेकै होइन। लाइनमा पर्खुन्जेल लण्डनदेखि काठमाडौं पुग्दासम्म लागेको पूरै समयभन्दा धेरै लागेजस्तो लाग्यो।
प्लेनबाहिर निस्केर सिँढी झर्दै गर्दा काठमाडौंको गन्धले मन रमायो। त्यो गन्ध नाकबाट पसेर मस्तिष्कसम्म हुँदै मनभित्रै छिर्यो। सबै दुःख बिर्सिएको मनले घर पुग्ने हतारो गरिरह्यो। पाँच वर्षसम्म कमाउँदै पठाउँदै गरेको पैसाले नीरूले दुःखसुख गरी घर खडा गरेकी छन्। हुन त च्याट गर्दा भिडिओमा सबै देखाएकाले नौलो लाग्ने केही थिएन।
ट्याक्सी घर अगाडि रोकिँदा नि काठमाडौंको हुस्सुले छाडेन। घामको किरणको अत्तोपत्तो थिएन। ट्याक्सी ड्राइभरलाई पैसा दिएर बिदा गरेपछि काँधमा एउटा झोला झुण्ड्याएँ। सुटकेस गुडाउँदै ढोकामा पुगेर डोरबेल थिचेँ। अब नीरू ढोका खोल्दै, मलाई देखेर अचम्म पर्ने छिन् भनेर मन चञ्चल भयो। कति छक्क पर्लिन् हँ !
एकैछिनमा ढोका खुल्यो। म ढोकाबाहिर, नीरू ढोकाभित्र। एकाबिहानै मलाई देखेर सपना हो कि विपना खुट्याउन नसकेर होला, उनको कुनै वाक्य निस्केन। ट्वाल्ल परिन्। एकटक मलाई हेरिरहिन्। हर्षको भाव देखिएन। भूत देखेजसरी डराएको भाव उनको अनुहारमा पढेँ।
उनले जे देख्दै थिइन्, त्यो सत्य हो कि होइन भनेर अलमल परेर हो कि भनेर मैले नै भनेँ, 'किन अल्मलिएकी ?' उनको प्रश्न थियो, 'भन्दै नभनी एक्कासि आएको किन नि?'
मैले भनेँ, 'सर्प्राइज दिन।’ त्यत्तिकैमा घरभित्र छिर्ने मूल ढोकाबाट छिर्नेबित्तिकै बायाँपट्टि रहेको ट्वाइलेटको ढोका खुल्यो। ऋषि ट्वाइलेटबाट फुत्त निस्कियो र मलाई देखेर ट्वाल्ल पर्यो। ऋषि मेरो बालापनदेखिको मिल्ने र सधैं भरोसा गरेको साथी। अब भने नीरूको होस हवास उडेको अनुहारको भनकले मेरो होस हवास उड्न थाल्यो।
एकैछिनको मौनता भंग गर्दै निरूले मैले ल्याएको सुटकेस समातेर लतार्दै स्वागत गरिन्। सिटिङ रूममा बस्यौं मेरो मनमा घर नीरूको नाममा दर्ता रहेको र पाँच वर्षको कमाइ सबै उनकै हातमा रहेको कुरा खेलिरह्यो। नीरूको अनुहारको अँध्यारो बिस्तारै हराउँदै थियो। मेरो भागमा क्रेडिट कार्डका बिल थुप्रिएको भारी मन थियो। उनी सहज हुँदै गइन्।
म मनभित्रको अन्योल लुकाउँदै अनुहारमा सहज देखाउने प्रयास गरिरहेको थिएँ। ऋषि मौन थियो। घोप्टे टाउको पारेर भुइँतिर हेरिरह्यो। म एक्लो सोफामा असहज भएको नझल्कियोस् भन्ने पार्ने प्रयास गर्दै बसेँ। हामी तीन जना तीनतिर बस्यौं। आमने–सामने भएर बसेका नीरू र मेरा आँखा जुधे। उनी विस्तारै मुस्कुराइन्।
मैले पनि मुस्कुराउने कोसिस गरेँ। तर, नीरूले म मुस्कुराउन नसकेको अनुहार पढिरहेकी थिइन्। मैले लामो सास फेरेको हेरिरहिन्। मेरो बोली निस्कन नसकेको महसुस गरेजस्तो अनुभूति गरेँ।
एकैछिन आँखा जुधाउँदा मेरो मनभित्र के-के पढिन् कुन्नि र भनिन्, 'हजुर उता गएपछि यस्तै भयो। ऋषिसँग उठबस गर्दागर्दै हेलमेल बढिहाल्यो।'
उनले नढाँटी जस्ताको तस्तै भनेकोमा एक किसिमको सान्त्वना भने मिल्यो।
उनी भन्दै गइन्, 'हामीले यस विषयमा अरूले चाल नपाउन भन्ने प्रयास त गर्यौं। गाउँघर भइदिएको भए सम्बन्ध लुकाउन सकिन्थेन होला। यो सहरको भिडमा हामीले हाम्रो प्रयास जारी राख्यौं। हजुरलाई पनि हामीले यो सम्बन्धको गहिराइ लुकाउन सफल भएकै हो। तर, अहिले केही कुरा हजुरसँग लुकाउन जरूरी छैन जस्तो लाग्दैछ।'
नीरूको कुरा सुनेपछि ऋषितिर हेरेँ। ऊ घोसे मुन्टो लगाइरहेको थियो। उसैतर्फ फर्किएर 'साथी भनेर विश्वास गरेको बर्बाद पारिछस् त?' भनेर सोधेँ।
उसले भुइँबाट आँखा नउठाइ भन्यो, 'यस्तै भयो। खबर गरेर आएको भए यस्तो अप्ठ्यारो हुने थिएन। एक्कासि आउनाले अब कसरी मिलाउने मैले मेसो पाइन खै।'
मनभित्रको आक्रोस दबाउन मलाई सजिलो भइरहेको थिएन। नदबाइ सुख छैन भन्ने पनि भइरहेको थियो। कुरो ढोकाबाहिर नलगी सुल्झाउन पर्छ भन्ने भावनाले रिसलाई जितिरहेको थियो। त्यत्तिकैमा छोरी निद्राबाट जागिछन् र उठेर हामी बसेको कोठामा आइन्। उनलाई निद्राले छाडिनसकको कुरा उनका लठ्ठिएका आँखाले बताइरहेका थिए। उनी अल्छिपाराले पाइला चाल्दै नीरूका काखमा टाउको अड्याएर आँखा बन्द गरेर सुत्ने प्रयास जारी राखेजसरी लम्पसार परिन्।
मैले छोरीको अनुहार ठ्याक्कै ऋषिको झैं देख्न थालेँ। तर मेरो भ्रम होला भनेर नाक, गाला, चिउँडो, निधार, आँखा मिहिन केलाउन थालेँ। मेरो झल्को कतै भेटिनँ। चिउँडो र आँखामा त ऋषिकै छाया देखियो। गालामा नीरूको रङ झल्किए पनि समग्रमा ऋषिको स्वरूप छोरी ऋचाको अनुहारले देखाइरहेको रहेछ। फोनको भिडिओमा सधैं हेर्दा नदेखिएको त्यो रहस्य मनले केस्राकेस्रा गरेर भेटाउँदै गयो।
कति विश्वास गरेछु त? अर्कैकी छोरी आफ्नै हो भन्ने भ्रममा रमाइरहेछु।
छोरीको कपाल औँलाले कोरिदिए जसरी मुसार्दै मतिर हेरेर नीरू भन्न थालिन्, 'हजुर गएकै महिनामा गर्भ बसिहाल्यो। आठ महिनामै छोरी जन्मिएकीले हजुर गएको ९ महिनाभित्रकै हो भनेर ढाँट्न मुस्किल भएन। हजुरप्रति बेइमानी गर्ने मन थिएन, परिस्थितिले गलायो। अब ऋषिले आफ्नै मेसो गर्ने हाम्रो संसार छाडिदिने र हामी सहज जीवन अगाडि बढाउने गरौँ।'
यसो भनिरहँदा मेरा मनका भाव नीरूले पढिरहेकी थिइन् जस्तो लाग्यो। जब उनले अगाडि बढेर कुरा खोल्दै गइन् उनले मेरा भाव बुझेको देख्दै गएँ। उनका र मेरा आँखा बेलाबेला जुधिरहन्थे। उनका आँखाले थोरै ग्लानी ओकलिरहेका थिए। थोरै इमानदारी दर्साउन चाहिरहेका थिए। अझ ग्लानीभन्दा बढी साहस गरेर वर्तमानलाई निकास दिने हिम्मत नहारेको बताउन चाहिरहेका थिए। ती आँखा मैले मनभित्रैबाट पढ्ने जमर्को गरिरहेको थिएँ।
मसँग केही थिएन। उनलाई लत्याउने स्थिति थिएन। जारसँग पठाएर जारी बुझ्ने जमाना रहेन अब। धनसम्पत्ति नीरूकै नाममा थियो। आफूसँग ऋण बाहेक केही पनि बचेको थिएन।
परिस्थिति मध्यनजर गर्दा नीरूको प्रस्ताव स्वीकार्दा भलाइ हुन्छ भन्ने निधो गरेँ
'अब त्यसै गर्नुपर्छ। ल ऋषि तँ तेरै बाटो लाग। हामी हाम्रै मेसो गर्छौं,' हिम्मत जुटाएर, मन बाँधेर भनेँ।
त्यतिञ्जेल चुप बसेको ऋषि भन्न थाल्यो, 'तिमी खबर नगरी आएकाले यस्तो स्थिति भयो। सबे थाहा पाइहाल्यौ। छोरी मेरी हो। अनुहार मसँगै मिल्छ। अरूले कुरा काटेको पचाउन तिमीलाई पनि समस्या पर्छ। छोरी अहिले सानी छन्, केही बुझ्दिनन्। यो जटिलताले पछि समाजमा मुस्किल हुन्छ। छोरी म लैजान्छु।'
ऋषिको कुराले नीरूलाई पनि समस्या पर्यो। छोरी ऋषिलाई दिएर मसँग बस्न नीरूलाई समाजले छाड्ने वाला थिएन। पाइलैपिच्छे उनको चरित्रमाथि टिप्पणीले उनका हरेक दिन अप्ठारा हुने थिए। पहिला त्यत्रो हिम्मत देखाएर परिस्थिति सहज बनाउन जस्ताको तस्तै कुरो बताएकी नीरू बोल्न नसकेर टोलाइन्।
छोरीलाई आफ्नो काखबाट छुट्याउन पनि नसक्ने परिस्थितिको सहज निकास पनि नदेख्ने गरेको उनको मनको कुरा उनका आँखामा पढेँ। उनका आँखाले मसँग बिन्ति गुहार गरेको भान भयो।
रूलाई केही थाहा नदिई हामी तीन बीचमा कुरो मिलिसकेको अवस्थामा छोरीको विषयले जटिल हुन पुग्यो। अब हिम्मत जुटाएर परिस्थिति सम्हाल्ने पालो मेरो हो भनेजस्तो लाग्न थाल्यो। तर, हामी तीन जनाले लामै छलफल गर्दा पनि निकास निस्केन। ऋषिले छोरी लैजान्छु भन्ने जिद्दी गरिरह्यो।
एउटा उपाय त निकाल्नै पर्थ्यो। कसैको सहयोग लिने सम्भावना पनि भएन। कुरा गोप्य राख्न पर्ने। त्यसैले हाम्रा गुरू महात्म्यको सहाराले मिलाउन ठीक हुन्छ भन्ने लाग्यो। ऋषि र म सानैदेखि शिद्धेश्वर महाराजको आश्रमकै वरिपरि हुर्केका। उहाँकै सरसहल्लाह मान्दै आएका। गाउँभरिको विश्वास पनि हामी उहाँकै आशीर्वादले जन्मेका भन्ने छ। हामीले हृदयदेखि नै मान्दै आएका र ऋषिले पनि उहाँले भनेको टार्न नसक्ने भएकाले उहाँ कहाँ गएर निर्णय गराउने विचार जाग्यो।
यसमा हामी तीनै जनाको कुरा मिल्यो, छोरी लिएर आश्रम पुग्यौं। सबैले लम्पसार परेर महाराजलाई ढोग गर्यौं।
कुा घुमाएर महाराजलाई भनेँ ,'म कुन परिस्थितिले विदेश जान पर्यो भन्ने त महाराजालई थाहा छँदैछ। हजुरसँग आशीर्वाद लिएरै गएको हुँ। जाने बेला दूध बेचेर खर्च जुटाउने गरेको भैंसी थारै थियो। ब्याएको थिएन। यो ऋषिलाइ रेखदेख गरेस् भनेर जिम्मा दिएर गएँ। म गएपछि भैंसी ब्यायो। त्यसैको दूध बेचेर तिर्न बाँकी भएको अलिकता बैंको ऋण तिरेर गुन पनि लगायो। अहिले म फर्किएर आएपछि तेरो भैंसी तँ लैजा तर पाडी दिन्नँ, म राख्छु भन्छ। म मेरो भैंसीको अरू दूध दही खाएपछि पाडी त दिन्नँ भन्छु। यसमा हामीबीच कुरा मिलेन। महाराज हाम्रो विवाद टुंग्याइदिन पर्यो।'
शिद्धेश्वर महाराजले किन बुझ्थेनन्। छोरीको अनुहार हेरे, नीरूतिर हेरे। मुसुमुसु हाँसे। अनि ऋषितिर फर्केर 'त्यही हो त कुरो?' भनेर सोधे।
ऋषिले 'हो’ भन्यो। महाराजले लामो चिम्टाले आगो बलिरहेको मुडाको कोइला हल्लाए। खरानी फरर्र उड्यो, कोइला रातो देखियो। वरिपरि तातो थपियो।
उनले भने, 'ऋषि, तिमी र नीरू तीनै जनालाई मैले चिनेको धेरै भइसक्यो। तिमी परदेश जानाले परिस्थिति अल्झिएछ। ठीकै छ, ऋषिले केही दूध बेचेर व्यवहार मिलाए पनि अरू दूध खाइहालेछौ। भैंसी फिर्ता दिने भनेकै रहेछौ। भैंसीबाट पाडी छुटाउन भएन। भैंसी पनि आफ्नै गोठमा रमाउँछ। अब पाडी पनि भैंसीसँगै फिर्ता देऊ। धेरै लोभ गर्नु हुँदैन।'
महाराजको कुरा ऋषिले काट्न सक्थेन। ऋषि त्यहीँबाट छुट्टियो। नीरू, ऋचा र म घर फर्कियौं।
Published on setopati.com |
There are no data records to display. |
|
Received Comments
|