|
सिकार (संस्मरण–साहित्य) –गोविन्द बेल्वासे गरीबहरू खानको लागि सिकार गर्छन्, सम्भ्रान्तहरू रहरले सिकार गर्छन् । विक्रम सम्बत २०३० सालमा तौलिहवाबाट हाम्रो गाउँमा सिडियो सहितको टोली सिकार खेल्न आएको थियो । पूर्व पश्चिम राजमार्ग बन्न सुरू मात्र भएको त्यो अवस्थामा तौलिहवा अहिलेको बुटवलको तुलनामा बढि नै चहलपहल हुन्थ्यो । त्यस समयमा भारतसंग पीच बाटोले नेपाल जोडिएका चार बजार मध्येको एक हो, कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजार । गौतम बुध्दका पिता सुद्धोधनको दरबार तिलौराकोट भरखर उत्खनन् हुने क्रममा थियो । खासै प्रचार भैसकेको थिएन । गोरखपुरबाट पेन्सन बुझेर फर्कने लाहुरेहरूको मुख्य मध्येको नाका नै थियो । उनीहरू तौलिहवासम्म मोटरमा वा टाँगामा आउँथे । त्यहाँबाट बाकस र गुण्टा घोँडामा बोकाएर उत्तर तिर लाग्थे । सिडियो भनेका जिल्लाका राजा सरह नै हुन्थे त्यसताका । त्यो पञ्चायत शासन काल थियो । कानून भन्दा शासकहरू माथि नै हुन्थे । संविधान भन्दा राजा माथि हुन्थे । जिल्ला न्यायाधीशहरू पनि सिडियोसंग थुरथुर हुने परिस्थिति हुन्थ्यो । कानूनले जरायो, मिर्ग, हरिण जस्ता जङ्गली जनावर सिकार गर्नु अपराध हुन्छ भनेको थियो, जेल सजाय हुन्थ्यो । तर, जिल्लाका बनका हाकिम डिएफओ र सिडियो नै टोलीमा मिसिएर सिकार खेल्न हिँडेपछि कानूनका कुरै नहुने ? रेञ्जर र फरेस्टरले कानूनको ध्वास दिएर गाउँले थारूसंग कुखुरा, चामल, निहार (रक्सी) भने खुव उठाउँथे र मोज गर्थे । थारूहरूका लागि त्यस्ता कर्मचारीहरू सत्कार गर्नै पर्ने भयावहका स्वरूप हुन्थे । सिकारी हाकिमहरू आउनु भन्दा एक दिन अघि नै झण्डेनगर (कृष्णनगर)बाट हात्तिमा चढेर बड्का शीरका मालिक खलकका यूवा र किशोरहरू आइसकेका थिए । बड्का शीरका मालिकहरू वर्षमा दुर्इ तीन पटक मात्र बस्ने गरी गाउँमा पुग्थे, नत्र सधै रैती तथा हरूवा–चरूवा थारूहरूको जिम्मामा हुन्थ्यो । चीते थारूका जेठा छोरा बड्का शीरका अघरिया थिए, काम भने शिरवार जस्तै गर्थे । कुन धन्सार, भकारी र डेहरीमा कति मन कति शेर धान छ, मसुरो र छिटाको दाल कति छ भन्ने सवै हिसाव पहाडमै बसोबास गर्ने अर्घाखाँचीका राष्ट्रिय पञ्चायत सदस्य बड्का (जेठा) मालिकको बहीखातामा लेखिएको हुन्थ्यो । उनैले चिठ्ठीमा लेखेको विवरण अनुसारमात्र कसलाइ कति नापेर दिने भन्ने हिसाब उनै अघरियाले गर्थे । त्यस्तै चिठ्ठीमा ठूला हाकिम पाउनाहरू आउने र उनीहरूलाइ सवै ब्यवस्था गर्न खवर पहिला नै पुगिसकेको थियो । केके ब्यवस्था गर्नु पर्ने हो भन्ने ब्यहोरा पनि खुलाइएको थियो चिठ्ठीमा। अर्घाखाँची गल्दा गाउँका गोठाला किसानहरू (गल्देली)को गोठ उकालो लागि सकेका थिएनन् । पुस माघको जाडो छल्न पहाडबाट गल्देलीहरूले भाँवर प्रदेशमा हरेक वर्ष डिँगा(भैसी) लिएर आउँथे। गर्मी चढे पछि औलोको डर हुन्थ्यो । त्यसैले गर्मी नचढ्दै फर्कन्थे । सरकारले डिडिटी छर्न थालेदेखि औलोको डर हराइसकेको थियो । त्यसैले हरेक वर्ष त्यसरि डिँगा लिएर झर्ने मध्ये पाँच घरले त बड्का शीरको केही जग्गा पनि दुर्इ वर्ष पहिला किनेर पहाड र तराइ गरी दुइ पाइ बनाएका थिए । नत्र पहिलापहिला त अलि चाडै नै डिँगा लिएर औलो छल्न गैसकेका हुन्थे । पहाडका डाडा सकिएर तराइ सुरू हुने भाँवर प्रदेशमा बसेको छ बोक्टापुर गाउँ । तराइ सुरू हुनासाथको कपिलबस्तुमा पर्ने पहिलो गाउँ नै टाँकु–बोक्टापुर हो । त्यहाँबाट उत्तर पट्टि सवै अर्घाखाँची पर्छ । टाँकुबाट उत्तर जङ्गलकै बीचमा पहाडको फेँदैमा अर्घाखाँचीमा पर्ने महुवारी गाउँ छ । चारै तिरबाट बोक्टापुर र टाँकु गरी दुइ गाउँलाइ जङ्गलले घेरेको छ। जङ्गल नछिरि अरू गाउँ तिर त निकासै छैन । सवै भन्दा थोरै जङ्गल हिँडेर अर्को गाउँको सिमाना पुग्ने नगिचको गाउँ रन्गाइ हो । अहिले पनि अवस्था उस्तै छ तर जङ्गल भने पहिला जस्तो बुट्यान र झाडी हराएका छन् । नदीमा पुलहरू थिएनन् तर अहिले भने पुल बनेकाले पूर्व पश्चिम राजमार्गबाट बर्खामा पनि गाउँमा पुग्न सकिन्छ । उस समयमा घण्टौसम्म पर्खिएर खोलाको बाढी कम भएर तर्न सकिने भएपछि मात्र जान पाइने अवस्था अहिले छैन । नगिचको स्कूल भनेको पत्थरकोटको ८ कक्षासम्म पढाइ हुने मिडिल स्कुल थियो । त्यो पनि ९ किलोमिटर टाढा पर्छ । बर्षा महिनामा मोटर त्यो गाउँसम्म पुग्ने सम्भावना नै रहन्थेन । बर्षा याममा हिलो र पाँगोले लत्पतिएका खोला मोटरले तर्न सम्भव थिएन । माघ महिनाको अन्तिम तिरको कुरा हो, ठ्याक्क गते भने मलाइ याद भएन । दिउस एघार बजे तिर एउटा जीपमा ती हाकिम पाहुनाहरू आएका थिए । गाडी गाउँसम्म पुग्ने बाटो भटवामा झिँगइ खोलाको तिरै तिर महादेव थान निरबाट दायाँपट्टि घुमेर सिधा आएपछि पुगिन्छ । भटवामा मोटर छिर्नु भन्दा पहिला नै जङ्गलबाट निस्कने बेलाबाटै मोटरको आवाज सुनेपछि गाउँका केटाकेटीहरू मोटर हेर्न दगुर्दै महादेव थानसम्म पुग्दा मोटरहरू पनि त्यहाँ पुगेका थिए । केटाकेटीहरू कतिपयले बटन नभएका सर्ट र कट्टु लगाएका, फाटे उरेका लेहेँगा र चोलीमा केटीहरू, कसैका नाकमा पहेँलो सिँगान झुण्डाउँदै दगुर्दै, कोही अरू भन्दा पहिला आफुले मोटर देख्ने होडमा दगुर्दा झर्न थालेको कट्टु एक हातले समाउँदै अर्को हातको नाडीले सिङ्गान लफ्रक्क पुछ्दै गरेका । सवै भन्दा अगाडि घन्चराने लाटो (केटो) धरो र छोँटो सर्टको पहिरनमा थियो । उसले स्वर नसुन्ने भएकोले केटाकेटी दगुरेको देखेर हुलमा लहलहैमा दगुरेको थियो । संगैको साथीले इसाराले मोटर गाउँमा आउन थालेको बताए पछि उसले सवैलाइ उछिनेर दगुर्दै अगाडि सवै भन्दा पहिला मोटर देख्यो । मोटर देखेर उसले प्रफुल्ल मुद्रामा खित्खिति हास्दै मोटरले उडाएको धुलोभित्र छिर्दै मोटरको पछिपछि दगुर्न थाल्यो । त्यस पछि मोटरका पछि अरू केटाकेही पनि धुलो र पेट्रोलको वासनामा रमाउँदै खुसी हुँदै पच्छाउँदै गए । बाँस, इमिली र आँपका पात पनि त्यो रसियन जिपका चक्काले उडाएर धुलो र पेट्रोलको गन्धमा मिसाएर कक्टेल बनाएको थियो । केटाकेटी त्यही कक्टेललाइ रमाइलो मान्दै धुलोले फुस्रो पारिएको कपाल, अनुहार र जिउ लिएर एकले अर्कालाइ अन्दाजले मात्र चिन्ने भएका थिए । गाउँ पुग्ने बेलामा थोरै उकालो चढ्नेबेलामा मोटरको गति पनि कम भयो । साइलेन्सर पाइपले धुवाँको मुस्लो उडाउँदै सिडियोको रसियन जिप अघिअघि केटाकेटी पछिपछि थिए । केटाकेटीले पनि जिपको पछाडीको भाग हातले छुँदै दगुर्न थाले । भूमिसुधार लागुभएर सहकारीका लागि जम्मा पारिएको धान राखिएको धन्सार निर गएर मोटर रोकियो । गाडी रोकिएपछि गाडीबाट झर्दै पातलो गम्छाले धुलो टक्टकाउँदै मान्छेहरू यता र उता उभिन थाले । गाडीले उडाएको र यात्रुहरूले टक्टकाएको धुलो मत्थर भएर अलि शान्त भएको थियो । त्यत्तिकैमा अघिल्लो दिन नै शीरका मान्छे लिएर गाउँमा आएको हात्तिले घण्टी बजाउँदै उत्तर तिरबाट आएर त्यहीँ मोटर भएको ठाउँ निर पुग्यो । हात्तिको टाउका माथि बसेको पिलवान(माउते) का पछाडि पिपलका हाँगा काटेर ल्याइएको घास माउतेले बाँधेको रस्सी फुकाएर भूर्इमा झारिदिए । पिलवानले इसारा गरेपछि हात्ति बसेपछि पिलवान तल भूइमा झरे । भूइमा गाडिएको काठको मुङ्ग्रोमा साङ्लोको एउटा टुप्पो र अर्को टुप्पो हात्तिको अगाडिको दायाँ खुट्टामा बाँधेर छाडिदिए । हात्तिले आफ्ना सुँढले पिपलका डाँठ च्याप्प समातेर आफ्नै खुट्टामा ठटाएर टक्टकाउँने अनि मुखमा चपाउने गरेको हेर्दै कतिपय केटाकेटी रमाउन थाले । अरू केही केटाकेटी मोटरमा आएका मान्छेका पछिपछि लागेर शिर (जिमिदारको घर, गोठ, ठाँटी भएको क्षेत्र) सम्म गए । हात्ति हेर्दै गरेका भुराहरू पनि पछि अरू केटाकेटीसंग मिसिन पुगे । जिपमा आएका हाकिमहरू दुर्इ, झोला बोक्ने उनका पिउनहरू दुर्इ, एक जना पेस्तोल भिरेका सिपाही र ड्राइभर पुग्नु भन्दा पहिला शीरको आँगनमा दुर्इवटा जिउरे–खाट माथि चम्किलो रङ्गिन दह्री विछाइएको रहेछ । अघिल्लै दिन आइ पुगेका मध्ये नरेन्द्र र मुन्ना गाडी आइपुगेको थाहा पाएपछि गाडी सम्मै पुगेर - हाकिमअरू संगै भए, अघिल्लो दिन नै आइसकेका अरू यूवा र किशोरहरू ठाँटीमा बसेर रमाइलो गर्दै थिए । गाउँका केटाकेटीभने शीरको परिसर वाहिरै उभिएर तमासा हेरे जसरि हेरिरहेका थिए । शीरको घर क्षेत्रको पूर्व पट्टिको बैरका काँडाले बारेको बार निर राखिएको माटोका घैटाबाट पानी सारेर अमखोराले थरूनीहरूले पानी खनाइ दिए । हाकिमहरूले हातखुट्टा धुने गरेपछि खाटमा बसे । जिमिदारको घर भए पनि सवै गोठ, ठाँटी पनि काठ, खर, माटोबाटै बनेका थिए । उनीहरू आफूहरू बस्ने भए सिमेण्ट इटा झड जोडेर राम्रो पक्की घर बनाउने थिए होलान । तर, गाउँ भरि नै इटा देखिन्थेन । टाँकुको खोलादेखि झिङ्गइ खोलाको बीचमा कुवा (इनार) खन्न हुँदैन भन्ने अन्धविश्वास थियो । चापाकल जस्तो प्रविधि त जानकारी मै थिएन भनेपनि हुन्छ । सदरमुकाम तौलिहवा तिर भरखर प्रचलनमा आउँदै थियो । प्लास्टिकको त नाम निसान नै थिएन । आधुनिक प्रविधिका नाममा छोट्का शीरका मालिककहाँ भने ट्रान्जिष्टर रेडियो थियो । यी दुर्इ खोलाभित्र टाँकु र बोक्टापुर दुइ गाउँ थिए । दुर्इ शीर टाँकु र दुर्इ शीर बोक्टापुर अनि पाँच घर गल्देली बाहेक अरू सवै थारूहरूको बस्ती थियो दुवै गाउँ । नदी किनारका जरूवाबाट पानी भरेर माटाका घैटामा गाउँमा ओसारिन्थ्यो । खोलाको छेउँको वालुवा खोस्रेर कुन्टो बनाउँदा पानी रसाएर जम्मा हुने पानीलाइ जरूवा भनिन्छ । खाना खाए पछि 'हँकवा' सिकार जाने पहिलादेखि नै तयारी थियो । जङ्गलमा जनावरहरू खोला तरेर भाग्ने नाकाहरूमा लुकेर बन्दुकेहरू बस्ने अनि अरू तीन तिरबाट गाउँलेहरू हल्ला गर्दै अगाडि बढ्दा भाग्न थालेका जनावरलाइ गोली हानेर मार्ने सिकारको रणनीतिलाइ हँकवा भनिन्छ । हँकवामा यही जनावर मार्ने भन्ने हुँदैन जुन फेला पर्छ त्यही मार्ने हुन्छ । तर पनि शिकारीहरूले सकेसम्म गर्भवती हरिण र बच्चा नमार्ने धारणा बनाएका हुन्छन् । धार्मिक भावनाले पनि स्वतः कतिपय नियमहरू बनेका छन् । सकेसम्म सिकारीले नियम पालन गर्छन् तर कहिलेकाही सिकार नपाएको झोँकमा नैतिक नियम उलंघन त भै हाल्थ्यो । जीप लिएर सिकार खेल्न आएका पाउनाहरूको प्रमुख रोजाइ जरायो मार्ने भन्ने हुन्थ्यो । त्यस्तो घना जङ्गल भएको त्यो समयमा पनि जरायो भेट्न भने मुस्किल नै पर्थ्यो । गार्इ भैसी चराउन जाने गोठालाहरूले जरायो देखियो भन्ने खबर गाउँमा पुर्याउँदा शिकारीले दुर्इ तीन दिनको खर्च बोकेरै जरायोको सिकार गर्न जङ्गल पस्थे । जाडो महिना छ भने पानीको रहको नगिचको रूखमा मचान बनाएर जरायो कतिखेर रहमा खाल खेल्न आउँछ भनेर ढुकेर बस्थे । भेटे भने मचानबाटै गोली ठोकेर मार्थे । रूखमा बस्न सुत्न मिल्ने गरी बनाइएको अस्थाइ बासस्थानलाइ मचान भनिन्छ । जङ्गलबाट बन्दुक पड्केको आवाज सुनेभने गाउँका मान्छे दगुर्दै त्यहाँ पुग्थे । जो जो पुग्थ्यो उसले सिकारको भाग पाउँथ्यो । नजानेले भाग पाउँथेन । सिकारको आधा सिकारीको हुन्थ्यो, बाँकी आधामा अरूको भाग लगाइन्थ्यो । जरायो अरू जनावर भन्दा बेग्ले हुन्छ । जाडोमा पानीमा खाल खेल्छ । अनि गर्मीमा आगो सल्किएको मुढाको छेउँमा बसेर आगो ताप्छ । अर्थात गर्मीमा तातो खोज्छ, अनि जाडोमा चीसो खोज्छ । गर्मी महिनामा घाम लाग्ने अलि पारिलो ठाउँमा मुडा बालेर मचानमाथि बसेर शिकारीले जरायो ढुक्थे । जरायोको छालामाथि गर्मीमा बस्दा सित्तल हुन्छ, जाडोमा न्यानो हुन्छ त्यसैले उसको मासु मात्र होइन छालाको झन ठूलो महत्व छ । जरायोको मासु नखाएको पनि ४० वर्षभन्दा बढि भयो । उतिबेलाको त्यो जरायोको मासु र सुकुटीको झोलको स्वाद अहिले सम्म पनि जिब्रोमा बसेको छ । सम्झँदा पनि मुखमा पानी आउँदै छ । तर, उतिबेला त विरलै पाइने जरायो अहिलेको जमानामा त आशा नै गर्न पर्दैन । जरायो मार्न ढुके पनि शिकारीले हरिण वा राते जस्ता जनावर भेटे भने पनि मार्न त छाड्थेनन् तर अरू जनावर मार्दाको बन्दुकको आवाजले जरायो जङ्गलै छाडेर भाग्छ कि भन्ने लाग्यो भने अरू जनावर देखेर पनि बन्दुक नपड्काइ जरायो कुरेर बस्थे । शिकारीहरूले बेलाबखत जरायो ढुकेर बस्दा बाघ देखेर झम्टन्छकि भन्दै थुर्थुर काम्दै कुप्रिएर बसेको कथा गाउँलेलार्इ पनि सुनाउँथे । अघिल्ला दिन गाउँमा आएका माल्काने (मालिक घरका) लवंडा(केटा)हरूले गाउँलेले कहिल्यै नदेखेका नयाँ खालका बन्दुकहरू पनि देखे । रूखमा बसेका ढुकुर र सुगा मारेका थिए ती बन्दुकले । एउटा बन्दुकलाइ टुटु बताइयो, अर्को बन्दुकलाइ 'एयर–गन' भन्थे । गाउँमा त भरूवा बन्दुक मात्र थियो । कहिले काहीँ आउने सिकारीहरूको बाह्रबोर बन्दुकसम्म गाउँलेले देखेका थिए । बड्का शीरका बड्का मालिकको पनि बाह्रबोर बन्दुक थियो । उनी आउँदा उनीसँग आउने उनका सहायकले बोकेका हुन्थे । घरमा बस्दा बड्का मालिकको छेउँमै राखिएको हुन्थ्यो त्यो बन्दुक । एउटा भाले कुखुराको मासुमा ढुकुर र सुगाको मासु मिसाएर थरूनीहरूले पकाएको मासु, भात र छिटा (खेसरी)को दाल र साथमा प्याज र आलुको भर्ता खानामा तयार पारेका थिए । विहान गल्देलीहरूले आरीमा दुध–दही, भर्लाको पातमा पोको पारेर कुरौनी र डेक्चीमा खुवा घोटेर ल्याइदिएका थिए । मल्कान लवडांहरूले दुधको चीया पकाउन लगाएर खाए, अनि कुरौनी र खवाको नास्ता गरे । गाउँमा त चियापत्ति पनि हुँदैन । उनीहरूले आफुहरूसंगै ल्याएका रहेछन् र थरूनीहरूलाइ चिया पकाउन पनि उनीहरूले नै सिकाए । उनीहरूले दिएको सिगरेट खाँदै चिया पकाएका थिए थरूनीहरूले । बीँडी र कक्कड खाएका थरूनीले सिगरेट खान पाउँदा अचाक्ली प्रफुल्ल भए । बिँडी पनि खासै कहाँ जुर्थ्योर ! सालको पातमा सुर्तीबेरेर अर्गानिक बिँडी बनाएर खान्थे उनीहरू । बजारको विँडी त कहिलेकाहीँ मात्र जुर्थ्यो । बजार अथवा मेला गएका बेला अलिअलि ल्याएको बिँडी खाँदा चाही गाउँमा अलि सान पनि फरक हुने । झन चुरोट खान पाउँदाको के कुरा गर्नु र !! हाकिमहरूले त अझ फिल्टरवाला सिगरेट खाने रहेछन् । गाउँलेले त्यस्तो फेटा लगाएको सिगरेट त कहिल्यै नदेखेका जिल्ल परेर हेरे । पाए त एक सर्को तान्न हुन्थ्यो भनेर घुटुक्क थुक निले । खाना खाएपछि एकछिन बिसाए । हाकिमहरूले घुडासम्म पुग्ने बुटजुत्ता लगाएका थिए । दुर्इ नाले बाह्र बोरका बन्दुक भिरेका । त्यस्तो घुडासम्मका बुट त गाउँलेहरूले पहिलो पटक देखे । अनि मल्काने लवडांहरू पनि उनीहरूसंगै र पछिपछि पिउन, सिपाइ, ड्राइभर र त्यसका पछाडि अरू गाउँले भएर हँकवा सिकार गर्न जान थाले । त्यो लस्करको पछिपछि लागेर केटाकेटी पनि गएका थिए तर झिँगइ नदी तरेर गब्दहवा तिर जाने जङ्गलतिर शिकारी जान लाग्दा केटाकेटीलाइ खोला वारिबाटै फर्काइदिए । ललवा, लल्पुवा र घिसुवाहरू सिकारीका पछि जान नपाए पछि कपडा खोलेर नाङ्गै भएर खोलामा पौडी खेल्न थाले । भोक लागेपछि बल्ल घरतिर लागे । अरू केटाकेटी पहिलानै घरतिर फर्किएका थिए । पहेँली घाम भैसकेको थियो, दिन ढलिसकेको थियो । त्यसैबेला जङ्गलबाट बन्दुक पड्केको आवाज सुनेर गाउँलेहरू भाग भेट्न बन्दुकको स्वर जताबाट आएको थियो उतै तिर लागे । ठुलै नीलगाइ ढलेको रहेछ । गाउँमा नीलगाइ खाए पापलाग्छ भन्ने थियो, थारूहरूले मार्दैनथे र खान्थेनन् पनि । सामान्यतया सिकारको कहिल्यै कमी नहुने जङ्गलमा त्यसदिन किन हो कुन्नी खासै ठूला जनावर अरू नभेटिएको झोँकमा ती हाकिमहरूले नीलगाइ नै भएपनि मारेछन । उनीहरू र मल्काने लवंडाहरूले त नीलगाइ पनि खाँदारहेछन् । गाउँलेहरू भने त्यो देखेर छक्क परे । भाग पाइन्छ भन्दै पछि गएका गाउँलेहरू पनि नीलगाइ भने पछि भागै नखोजी, नलिइ फर्किए । साँझ, त्यसैको मासुसंग खाना पाक्यो बड्का शीरमा । नीलगार्इको मासु भनेर पकाउन पनि मन नलागिनलागि थरूनीहरूले बाध्यताले मात्र पकाए । बर्खामा धानको विउ काट्दा उज्यालो पार्न मात्र बालिने मेन्टोल बालेर बड्का शीरको आँगन झकिझकाउ भयो । भान्सा घरमा पकाउनेका लागि लाल्टिनको उज्यालो थियो । नत्र गाउँमा मेन्टोल बाल्ने भनेको त नौटंकी देखाउँदा मात्र हो । खाना खाएपछि हाकिमहरू र मल्कान नरेन्द्र र मुन्नाबाबु भएर जीपमा अरू थारूसमेत लिएर सिकार खोज्न गए । गाडीमा चहकिलो बत्ति देखेर जनवारहरू लट्ठ परेर उभिएर हेर्छन त्यसैबेला बन्दुकले हानेर मार्न सहज पनि हुन्छ । सिकार खेल्दा टोटावाल बन्दुक भएपछि सजिलो पनि हुने । हान्यो गोली फेरि भर्यो पड्कायो गर्न पाइन्छ । फटाफट पड्काउन पाइने । तर, गाउँका भरूवा बन्दुकमा त कुन जनावर मार्ने हो त्यसै अनुसार आवस्यकता पर्ने दुर्इ अङ्गुल देखि चार अङ्गुल सम्मको बारूद गजले खाँद्यो त्यसपछि थोरै कपडाका टुकडा हाल्यो । अनि सिसा (लिड)का टुक्रा हाल्यो । फेरि माथिबाट कपडाका टुक्रा हालेर गजले खाँदेपछि एक फायर गर्न तयार हुन्थ्यो । बिजुली क्याप घोँडामा च्यापेर राख्यो । अनि बन्दुकको घोडा–नलीको टुप्पाको चुच्चो–र जनावर ताकेर निसाना ताकिन्छ । ताकेपछि बन्दुकको घोँडा तानेर अङ्गुलाले खुड्किलो तानेपछि विजुली क्यापबाट निस्केको आगोको झिल्कोले बारूद सल्किएपछि त्यो बारूदको प्रेसरबाट धकेलिएका ती छर्रा उछिट्टिएर जनावरको शरीर छेँडेपछि जनावर ठहरै हुन्छन् । सिपालु सकारीले जनावरको मुटुमा छर्राले छेँडिने गरी या टाउको नै छेँडिने गरी हान्छन र ठहरै पार्छन । निसाना राम्ररी मिलेन र ठाउँमै लागेर ढलेन भने जनावर कहिलेकाहीँ रगत चुहाउँदै भाग्छ र रगत पच्छाउँदै गएर अर्को फायर दागेर मार्न पर्ने पनि हुन सक्छ । कहिले काहीँ त धेरै चोट नलागेको भए जनावर भेटिँदैन पनि । बन्दुकको आवाजले गर्दा अरू जनावर पनि धेरै टाढा भाग्छन् । भरूवा बन्दुकमा त एक फायर दागेपछि फेरि वारूद हाल्दै गजले ठोक्दै थप्दै गरेर गोली भर्न अलि समय नै लाग्छ । टोटावाला बन्दुकमा भने अर्को टोटा हाल्यो पड्कायो गर्न सजिलो हुन्छ । दुइ नाले बन्दुक रहेछ भने त लगातार दुइ पटकसम्म पड्काउन पनि सजिलो हुन्छ । अझ धेरै राउण्ड हान्न मिल्ने बन्दुक भए झन् सजिलो पनि हुन्छ । अरू मल्कान लवंडाहरू म्यान्टोलको उज्यालोमा गुन्द्रीमाथि दह्री विछ्याएर तास खेल्न थाले । तास खेल्दाखेल्दा विहान पख कुखुरो बास्ने बेलामा सिकार खेल्ने टोलीले एउटा हरिण र एउटा राते मारेर गाडीमा हालेर ल्याएका रहेछन् । रातिको समय भएकोले बन्दुकको आवाज सुनेर पनि गाउँलेहरू भाग खोज्न गएनन् । विहान पख सवैजना बड्का शीरको ठाँटीमा गएर सुते । हाकिमहरूले जिपमा हालेर र मल्कानहरूले हात्तिमा कपडा पनि ल्याएका थिए तिनै कपडा विछाउने र ओढ्ने गरेर सुतेका थिए । तास खेल्नेहरूका लागि राति जाडो नहोस भनेर थारूहरूले काठका मुडा सल्काएर आगोले न्यानो पारिदिएका थिए । सुत्नु भन्दा पहिला त्यही आगोमा पोल्दै मिठो मानीमानी हरिणको मासु खाए । दिउस साढे ११ बजे तिर उठेर हातमुखमात्र धोएर रातेको मासुको झोल र भाण्टाको भर्तासंग भात खाए पछि दुवैटोली नुहाउन भन्दै खोलातिर गए । केटाहरूले नदीतिर हिँड्दै जाँदा आफूहरूले बोकेका टुटु र एयर गनले चरा ताक्दै हिँड्दै थिए । तर, धेरै जना हल्ला गर्दै हिँडेकाले चरा भुरूर्र उडेर गैहालेकाले बन्दुक पड्काउनै नपाए पछि चरा मर्ने त कुरै भएन । खोलामा पुगेर डिलमा बन्दुक र कपडा राखेर सवैजना अलि गहिरो परेको पानी जमेको ठाउँमा पसेर नुहाउन थाले । पौडिन नजान्नेहरू छेउँतिरै छप्लयाक छुप्लुक गर्दै गर्दा एउटा मजुर खोला पारि पट्टिको थुम्कोको बडेमानको रूखको हाँगामा गएर बस्दा रूखै हल्लिए जस्तो भयो । नरन्द्रले माधवलाइ 'हेर त त्यो मजुरलाइ टुटु बन्दुकले लगेर झार त' भन्नु भयो । उहाँको कुरा सकिन नपाउँदै हत्तन पत्त पानीबाट निस्केर भिजेकै कट्टुमा रूमालले जिउ मात्र पुछेर बन्दुक बोकेर विस्तारै गएर माधवले निसाना ताकेर हान्न त हान्नु भयो तर निसाना ठाउँमा परेन छ । लाग्न त लागेछ तर पखेटामा लागेछ क्यारे मजुरका केही प्वाख उडेर नदीमा नुहाउँदै गरेका मान्छे माथिसम्म पुगे । तर, मजुर भने भरर्र.. उडेर गैहाल्यो । मजुर झार्न नसकेकोले अलि मनिल हुँदै लाजमानेर माधव फर्किए । नुहाएर फर्किएपछि तौलिहवाका हाकिमहरू जाने भए, अरू मल्काने टोली भने त्यस रात पनि त्यहीँ बस्ने भए । सामान बोकेर हरियो रङको त्यो रसियन जिपमा सवै थन्काएर आ–आफ्नो सिटमा गएर बसे । ड्राइभरले गाडीको साँचो छिराएर स्टार्ट गर्न खोजेको ङ्यार..ङ्यार गर्दै अलिकता आवाज त आयो तर स्टार्ट हुन सकेन । ड्राइभर न्यूट्रल गियरमा राखेर ह्याण्डब्रेक लगाएर झरेर जिपको अगाडि गए । उनले जिपको अगाडिपट्टि अड्काएर राखिएको हेण्डल झिके । त्यो हेण्डलको एउटा टुप्पो जीपको अगाडि पट्टिको प्वालमा छिराएर एकछिन घुमाए पछि भर्ररर.. गर्दै स्टार्ट भयो । ड्राइभरले त्यो ह्याण्डल फेरि जहाँबाट झिकेको त्यही ठाउँमा अड्काए । उनले सिटमा बसेर गियर हालेर घुमाएर सूरूमा विस्तारै त्यसपछि गति बढाउँदै ओरालो लाग्दै गर्दा गाउँका केटाकेटी जीपका पछिपछि गाडी समाउँदै धुलोमा रूमलिँदै रमाए । जीपको गती तेज हुँदै गयो र उनीहरू छुट्दै गए । गाडी पर पुगेर देखिन छाड्यो तर जीपले उडाएको धुलो र पेट्रोलको गन्ध एकैछिन ती केटाकेटीले रमाइलो मान्दै गए । अलि बेरमा भूर्इको धुलोमा जीपका डोबहरू बाँकी नै थिए तर अरू सवै निसानाहरू हराइसकेका थिए । कुनै कुनै वर्ष अक्कल झुक्कल मोटर देख्न पाउने केटाकेटीहरूले त्यस्तो रमाइलो मोटरको धुलो देख्न अब कति वर्ष पर्खन पर्ला भन्ने अनुमान गर्न थाले । |
There are no data records to display. |
|
Received Comments
|