घायल प्रेमी (साहित्य– मनोवाद)
–गोविन्द बेल्वासे
यो लकडाउनमा अरुलाई अरु नै समस्या होला । मलाई भने प्रेमको समस्याले सताइरहेको छ । घायल प्रेमी भएको छु । प्रेम सुखद शब्द हो, तर यो नै समस्या बन्दा महासमस्या हुँदाेरहेछ । उमेरमा तीन गुणा कान्छी तरुनीसंग प्रेम रोग लागेको छ । यो समस्या समाधान गर्नु अहिलेको मेरो सवैभन्दा ठूलो संघर्ष भैरहेकोछ । मायाजालमा पार्ने तरुनीको उमेर १९ बर्षमात्र रहेछ । हुन त उनलाई केको टीन–एजर भन्नु र चाँडै नै उनको बर्थ–डे छ । छिट्टै नै उनले टीनएज भन्ने सीमा छाड्ने छिन् । हुन त मेरो संस्कृति र संस्कारले बृद्ध शिब ब्राम्हणलाई ७ वर्षकी बच्चा विवाह गर्न त छुट दिएकै छ । तर नैतिकताकै कारण भने तीन गुणा कान्छी भित्र्याउन भने मलाई पटक्कै मन छैन । अझ बहुँ विवाह गर्न नपाइने कानूनी डर छँदैछ । छेक्न त कानूनले पनि त पिरतिसम्मको सीमालाई छाडेको छ । बीस वर्ष भन्दा बढिको अनमेल विवाह मात्र त रोकेको हो नि । मलाई पनि कान्छी भित्र्याएर संकट मोल्न त मन छैन । तर, माया जालमा परिहालियो अलिदिन बरालिएर छाड्ने विचारमा बस्दाबस्दै समस्या झन्पछि झन् बल्झिँदै गएर मुस्किल परिरहेको छ ।
पहिले प्रविधि अहिलेजस्तो सुविधासम्पन्न नहुँदासम्म फरक स्थिति थियो । तर, अहिले यो इन्टरनेट र शोसल मिडियाले गर्दा यो मायाजाल पनि अहिलेको स्थितिमा गाञ्जिएको हो । उनको लाली चढेको रुप र सुन्दरताको जताततै चलेको चर्चाले मलाई पनि लोभ्यायो । त्यहि लोभमा शोसल मिडियामा उनको फोटो खोजेँ । फ्रेण्ड रिक्वे्रस्ट पठाएँ । उनले पनि तुरन्तै स्वीकार गरिन । उनको बानी त त्यत्ति राम्रो छैन रे । जो संग पनि सल्कि हाल्छिन रे । त्यस्तै देख्छु फेसबुक तिरको उनको छाँट देख्दा । जवान हुन कि बुढा हुन सुताइहाल्न उनलाई कुनै आइतबार नै चाहिन्न रे, भन्ने पनि बुझेको छु ! कसैलाइ हप्ता दुइहप्ता सुताएर छाडेको भन्ने पनि थाहा पाएको छु । तर, म आफैमा उनीप्रति लठ्ठिएकोले समस्या भएको छ ।
आजभोलि त म उनीप्रति कति लठ्ठिएको छु भने विहान उठ्नासाथ उनकै म्यासेज हेर्छु । फेसबुकमा उनकै टिप्पणी खोज्छु । अरु कसैसंग सल्किइन कि भन्ने त्रासले त्रसित भैरहेको हुन्छु । हुन पनि यो उमेर कै कारण पनि होला अरु कसैसंग लागिहालिन कि भनेर म डराइरहेको हुन्छु । उनीमाथि संका गरिरहेको हुन्छु । मनले भित्रैबाट उनले कसैलाई पनि मन नपराइदिए त हुन्थ्यो भन्ने लागिरहन्छ ।
म आफू टीन एजको हुँदाको अवस्थाको मायाजालको विवरण सम्झेर उनको १९ वर्षे मन भित्रको उल्झन बुझ्ने प्रयास गर्छु । कलेज पढ्न डेरा लिएर बसेको त्यसबेला तरकारी पसलकी कमलाले पच्छाउँदा लुकेको याद पनि आउँछ । हुन त अहिलेको मेरो भ्रम, वन–साइडेड लभ मात्र हो कि भनेर मन गलेर पनि आउँछ । उनी धेरैसंग लहसिएको देख्दा मेरो भ्रममात्रमा म फसेको त होइन भनेर पनि गम्छु, बेलाबखत । तर, उनले बेलाबखतमा तिम्रै घरमा आउँत ? भनेर भन्दा उनले पनि मलाई साच्चै मन पराएको हो कि भन्ने विश्वास जागेर आउँछ । विचरा कमला त्यत्तिबेला वनसाइडेड लभमा परेकी रहिछन् । मैले पनि हल्का रुपमा लिँदालिँदै कमलाको हालत मैले बुझ्नै सकेको थिइन । उनले मेरो विषयमा सवै पत्ता लगाएकी रहिछन् । सञ्जोग पनि एउटै स्कूलमा पढ्ने भएकीले मेरी बैनीसंग मित्रता बढाइछन् । एकदिन बैनीसंग कमला घरमै आउँदा म भने सिरक ओढेर विस्तराबाट उठ्दै उठिन । धन्न जाडो महिना थियो । तै पनि म भने त्यो डरले पनि होला सिरक भित्र पसिनाले लछप्पै भए पनि लुकीरहेँ । उनले पनि बैनीसंग कुरो खुलस्त त पारेकी रहिनछन् । एकछिन पछि उनी गइन र म सिरकबाट निस्किएँ । ज्यान बच्यो भनेर लामो स्वास तानेको थिएँ ।
त्यबेला म १९ वर्षको थिएँ । डेरामा संगै बस्ने नवराजसंग असनमा तरकारी किन्न जाँदा विचारै नगरी पसलमा बसेकी केटीलाई जिस्काउँदै मस्कँदै तरकारी किन्दा ख्यालै भएन । पसलकी कमलाले मैले उनलाई साच्चै मनपारेको भन्ठानिछन् । उनी १४–१५ वर्षकी मात्र थिइन होला । नौ रुपैँयाको तरकारी किनेर दश रुपैँयाको नोट दिँदा उनले एघार रुपैँया फर्काइन् । उनले बीस रुपैँया दिएको भनेर झुक्किएर होला भन्ठानेका थियौँ । तर उनले जानीजानी त्यसो गरेको भन्ने पछि बुझेँ । उनी पच्छाउँदै घरमा पुग्दा चाहीँ मेरो त सातै उडेको थियो । त्यसपछि उनको पसलको त बाटो पनि हिँड्न छाडे । कलेज जाने बाटो त्यत्तैबाट पथ्र्यो ।
अहिलेकी यी १९ वर्षे तरुनीका विषयमा पनि मलाई तिनै कमलाको जस्तो भ्रम मात्र भएको भैदिए हुन्थ्यो भन्ने कामना गर्दैछु । मेरो वन साइडेड लभ भैदिए हुन्थ्यो भन्ने ठान्छु । तर, त्यसो होइन कि भन्ने छाँट उनको घरमै भित्रिने छाँट देखेर त्रसित हुने गरेको छु । उनीभन्दा तीनगुणा बढि उमेरको एक नातिसमेत भएको म बुढाको मन पनि कस्तो चञ्चल हुन पुगेको ? यो प्रेम रोग भनेको बडो अनौठो हुँदोरहेछ । भन्न त पहिले पनि ‘ज्यान बुढो हुँदैमा मन बुढो हुँदैन’ त भन्थे !
उनीसंग भेट भने अहिलेसम्म भएको छैन । आलटाल गरेर उनी पन्छिए हुन्थ्यो भन्ने पनि एक मनले भन्छ तर फेसबुकमा उनकै विषयमा तलास गरिरहेको हुन्छु । उनका विषयमा उनले थाहा दिएका सवै कुरा विश्वासिला पनि त छैनन् । कहिले उनले म त अमेरिकामा जन्मिएर चिनमा गएर हुर्किएकी हुँ भन्छिन् । फेरि कहिले चाहीँ हैन म त चिनमै जन्मिएको र हुर्किएको भन्छिन् । उनका कत्ति कुरा पत्याउनु कति नपत्याउनु ! भन्ने हुँदा पनि उनको पिछा छोडाएर भाग्न त मन छ । तर भाग्न सक्ने स्थिति पनि छैन भन्छ यो पापी मन ।
गफै हुन कि साच्चै हो कुन्नि ! संसार भरि सवै देशमा पुगेकी छु भन्छिन् । विश्व भ्रमण गरेकी छु भनेर पनि भन्छिन् । छाँटकाँट हेर्दा र फेसबुकमा देखेका फोटाले विश्वास गर्न करै लाग्छ । विश्वास गरेको पनि छु । सन् २००२ तिर भेटिएकी एक केटीलाई पनि उनले आफ्नै नाताको बताउँछिन् । उनको विषयको विवरण जस्ताको तस्तै बताउँदा यीनका कुरा पत्याउनै पर्ने हुन्छ । उनको फ्रेण्डहरुको लिस्टमा ती शार्स नामकी केटी पनि छन् नि त । आखिर उनका आफन्तको विवरणले गर्दा पनि त उनका कुरा पत्याउनै पर्यो ।
मेरो यो समस्याबाट पार पाउनमा तपाइले कुनै सहयोग गर्न सक्नुहुन्छ भने कृपया ढिला नगर्नुहोस । हुन त म्यासेन्जर, यूट्यूब, फेसबुक, भाइबर जता ततैबाट खुसुक्क उनीसित बच्ने उपाय सिकाउने हितैसीको सूचना त पाएको छु । यो बुढेसकालको घायल प्रेमीको उद्धार गर्नु तपाइँजस्ता फेसबुक मित्रको पनि कर्तब्य त हो नि हैन र ? अव त्यो केटीको परिचय विना सहयोग गर्न सकिन्न भन्ने लाग्छ भने उनको नाम र जात बताइदिन्छु । उनको फोटो त फेसबुकमा पनि भेटिहाल्नु हुन्छ त्यतै खोज्नु होला ।
उनको नाम कोभिड–१९ हो । उनको जात कोरोनाभाइरस हो । उनको मयाजालमा म जस्नै घायलहुने साक्षीहरु संसारै भरि भेट्न सक्नु हुने छ । मलाई यो समस्यामा सहयोग गर्न मन लागे कमेन्ट गर्नुहोला ।
|