Govind Belbase
<November 2024>
SuMoTuWeThFrSa
272829303112
3456789
10111213141516
17181920212223
24252627282930
1234567
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग १७
भाग –१७

एम्माको फोन आउँदा म हिँड्नै लागेकी थिएँ । विहानै ट्याक्सी कम्पनीलाई फोन गरेर यतिखेरै आइपुग्न भनि बोलाएको ट्याक्सी बाहिर आएर भरखरै रोकिएको थियो । ट्याक्सी आइपुगेर रोकिना साथै मेरो मोबाइलमा म्यासेज आएको आवाज ट्वाङ्ग गर्यो र साथै फोनको घण्टी पनि एकै पटक बज्न थाल्यो । म्यासेजको आवाज र बाहिर टेक्सी आइपुगेको समय एउटै भएकोले ट्याक्सी आइपुगेको म्यासेज होला भन्ने सोचेर म्यासेज नहेरी फोन उठाएं । एम्माको फोन रहेछ । एम्माको फोन भन्ने थाहा पाउना साथ उनलाई भने ‘म घरबाट निस्कनै लागें । ट्रेन स्टेशनमा भेटौँला ।’


फोनमा अर्कोपट्टिबाट एम्माले भनिन् ‘म ट्रेन स्टेसनमा आइपुगें, अव बीस मिनेट पछिको ट्रेनमा जाँदा हाम्रो प्लेन सजिलै भेटिन्छ । तिमी यही ट्रेन भेट्ने गरी आइपुग्दा हुन्छ ।’

म उनीसँग फोनमा कुरा गर्दै छोरीलाई हात कै इसाराले बाई–बाई गर्दै ढोकाबाट निस्केर टेक्सीमा बसिसकेकी थिएं अनि फोनमा उत्तर दिएं ‘म टेक्सी चढिसकें त्यसैले अब, ६ देखि ७ मिनेट भित्रमा आइपुग्छु ।’

उनले ‘एकदम राम्रो, ल मैले फोन राख्छु है त ।’ भन्दै फोन काटिन ।

हामी योजना अनुसार नै समयमा एम्स्ट्राडम एयरपोर्टमा पुगेर बाहिर निस्कँदा एम्माका भन्नु कि हामी दुवैका भन्नु आमाबुवा दुवैजना हामीलाई पर्खिएर बस्नु भएको रहेछ । मैले त चिनेकी थिइन तर एम्माले उहाँहरुलाई देख्ने वित्तिकै चिनाइन र हामी नगिच गएर भलाकुसारी गर्यौ । हेल्लो हाय भैसके पछि औपचारिकताको लागि मैले ‘धेरै बेर पर्खनु पर्यो कि कति बेला आइपुग्नु भएको थियो ?’ प्रश्न तेर्साएं । आफ्नै बाबुआमा पनि हुन कि भन्ने हुँदाहुँदै पनि पहिले कहिल्यै नभेटेको हुनाले मेरा लागि उहाँहरु अपरिचित नै हुनुहुन्थ्यो । त्यसैले परिचयलाई अलि सहज बनाउन पनि मैले त्यो प्रश्न गरेंकी थिएं ।

बुवा भन्दा आमा अलि धेरै बोलक्कड(गफाडी) भए जस्तो लाग्यो । बुवा पनि नबोल्ने त होइन ठिक्क बोल्ने जस्तो लाग्यो । आमाले भनिहाल्नु भयो ‘एम्माले तिमीहरु आइ पुग्ने समय बताएको हुनाले हामी समय मिलाएर आएका थियौँ । कार पार्किङ गरेर यहाँ निर हामी आइपुगनेको १० मिनेट जति भए होला । खासै धेरै बेर कुर्न परेन । हामीलाई आउँदा खासै ट्रफिकको समस्या पनि भएन ।’

हामी कुरा गर्दै कार पार्क तिर हिँड्दै गयौँ र कार चढेर घरमा पुग्यौ । घरमा पुगेर केही छिन भलाकुसारी गर्दागर्दै आमाले टेबलमा खाना राख्नु भयो । चीज पनि थरिथरिका, ओभनमा पोलेका आलु, उसिनेका ब्रो काउली र गाजर, ताप्केमा उमालेका हरिया मटर र हरियो पातका सलादहरु टेबलमा देख्दा भोक पनि लागेकोले कत्तिखेर मुखमा हाल्न पाइन्छ भन्ने भयो । खाना खाइवरि एक छिन टिभी हेरेर सुत्यौ । साँझ खास रहस्यको विषयमा बुवाआमासँग कुरा निकाल्ने आँट पनि आएन ।

विहान उठ्दा घर बाहिरको नहरमा डुङ्गा चलाउँदाका बहनाले निकालेको छप्ल्याक–छप्ल्याक, स्वार–स्वारको आवाज सवै भन्दा पहिला कानमा ठोकियो । त्यो आवाजले एक प्रकारको आनन्द दियो । अझ त्यही आवाजमा चराहरुको चिरबीरको आवाजले झन सँगीतमय बातावरण बनाइरहेको थियो । बुवाआमाले अल्छि भन्नु हुन्छ कि भन्ने डर मनमा झट्ट पलायो र फूर्तिसाथ विछौनाबाट उठेर तन्ना तनाकतुनुक पारेर सोझ्याएँ, ओढ्ने कपडा मिलाएं ।

बाथरुम छिरेर नुहाउँदासम्म पनि घरमा सुनसान देखेँ । अव अरु नउठे पनि किचन(भान्सा)मा गएर आफै चिया पकाएर खानु पर्यो भन्ने मनमा सोच्दै थिएं । त्यसै बेला मुलढोका घर्याक्क गर्दै खुल्यो । मैले बुवाआमा सुतिराखेका होलान भन्ठानेको त मर्निङवाक गएर पो आइपुग्नु भयो । म नजाग्दै उहाँहरु विहानको पदयात्रामा निस्कनु भएको रहेछ भन्ने बल्ल बुझेँ । एम्मा पनि साथै आएको देखेर म आफू त अल्छि पो रहेँछु, अबेलासम्म सुतेछुं भन्ने ग्लानि भयो ।

बुवा र आमा दुवै जना बाथरुममा छिर्नु भयो । एम्मा र म किचन(भान्सा)मा पसेर मैले आफूलाई माइक्रोवेभमा नेपाली पाराको चिया बनाएं, एम्माले ब्ल्याक कफी बनाइन र हामी चिया कफी लिएर सिटिङ रुममा बसेपछि एम्माले भनिन् ‘अव ब्रेकफास्ट गर्दा बुवाआमासँग यस विषयमा कुरा उठाउँ है, हुन्न र ?’

मैले सहमतिको भाव अनुहारमा प्रकट गर्ने प्रयास गर्दै भने ‘हुन्छ, हामी आएको मुख्य कामको कुरा त गर्नै पर्यो नि, अव चिया कफी खाए पछि हामीले मिलेर ब्रेकफास्ट बनाउँ अनि सँगै बसेर खाँदा कुरा पनि गरौँ । तर, बुवाआमाले ब्रेकफास्टमा के खान मन पराउनु हुन्छ मलाई थाहा भएन, तिमीले के के बनाउने भन् । अनि मिलेर बनाउँ ।’

बुवा र आमा साधारण परिधानमा तर चिटिक्क परेर तल झर्दा हामीले नास्ता तयार पारेर राखिसकेकाले उहाँहरुलाई सिधै डायनिङ टेबलमा आउन एम्माले आग्रह गरिन । डायनिङ सेटको कुर्सीमा बस्दै आमाले भन्नु भयो ‘तिमी थाकेकी हुनाले पनि मीठो निद्रामा सुतिरहेकी हौली भनेर तिमीलाई खबर नै नगरी सधै जस्तो हामी पदयात्रामा निस्कियौं । हाम्रो बानी थाहा भएकीले एम्मा पनि तयार भएकीले हामी सँगै गएर आयौँ । तिमीहरुले त चिया नास्ता पनि बनाइसकेछौ । कत्ति रमाइलो !’ भन्दै आमाले बुवातिर हेर्नु भयो । बुवाले पनि सहमति जनाउनु भयो ।

टोस्ट गरेको ब्रेडमा बटर दल्दै एम्माले मेरो आखाँमा हेरिन र कुरा गर्ने अनुमति मागेको भाव जस्तो लागेर मैले पनि आँखाले नै हुन्छ भन्ने भावना ब्यक्त गरें । त्यस पछि एम्माले बुवाआमालाई सम्बोधन गर्दै भनिन ‘हामी एउटा विषयले निक्कै अल्मलमा परेका छौ । त्यसको निवारणको लागि हामी दुईटी सँगै यहाँ आएका हौ । यस विषयमा हामीलाई हजुरहरुको सहयोग चाहिएको छ ।’

एम्माको कुरा सुनेर बुवाले अलि अचम्म माने जसरि ‘कुन विषयमा भनन् हामीले के सहयोग गर्न सक्छौ ? खुलेर भन ।’ भन्दै जिज्ञासा जाहेर गर्नु भयो ।

मतिर देखाउँदै एम्माले भनिन् ‘यीनी अस्मिता हुन । मेरो खुट्टाको उपचार गरेकी डाकटर पनि हुन । हाम्रो भेट त्यही उपचारकै सिल्सिलामा अस्पतालमै भएको हो । हामी भेट्दा नै एक अर्कालाई आफु जस्तै लागेर यस विषयमा हामीले कुरा कानी गर्यौ ।’

आमाः ‘त्यो त हो, मैले पनि यो अस्मितालाई देख्ने वित्तिकै ठ्याक्कै दुवै जना तिमीहरु ट्वीन्स जस्तो भनेर नोटिस त गरेकी हुँ, तिम्रो बुवालाई पनि हिजै भनेकी थिएं ।’

आमाले बुवातिर पुलुक्क हेर्नु भयो । तर बुवाले केही भन्नु भन्दा पहिला नै एम्माले अगाडि कुरा थपिन ‘आमाले भनेजस्तै हामी ट्वीन्स जस्तो देखिने मात्र होइन, ट्वीन्स नै हौ ।’

एम्माले त्यसो भन्दै गर्दा ओभनमा पकाएको तात्तातो टमाटरको आधा टुक्रा ट्रेबाट झिकेर आफ्नो प्लेटमा हाल्दा हाल्दै बुवाको चम्मचबाट खसेर ट्रे मै झर्यो । सायद एम्माको कुरा सुनेर बुवालाई अलि झट्का लागेछ भन्ने अनुमान गरेँ । बुवाले भने अफूलाई सहज पार्ने कोसिस गर्दै टमाटर प्लेटमा सार्ने अर्को जमर्को गर्नु भयो ।

एक्कै छिन कुरा रोकेकी एम्माले नै फेरि कुरा अगाडि बढाइन ‘हामी दुईटी को डिएनए परिक्षण गरेर सिक्वेन्स जाँच गर्दा हामी जुम्ल्याहा नै भएको पुष्टि भए पछि हामी रहस्यमा फसेका छौ । नेपालबाट अस्मिताका बुवाआमा पनि पढ्न यही देशमा आएका बखत अस्मिताको जन्म भएको रहेछ र हाम्रो कागजपत्र अनुसार जन्म मिति पनि एउटै छ । पढाइ सके पछि अस्मितालाई लिएर उहाँहरु नेपाल जानु भएछ । उनी उतै हुकिएकी हुन । अहिले यूकेमा जागिर गरेर बस्छिन । बेलायतकै बासिन्दा हुन् ।’

बुवा निकै गम्भीर मुद्रामा देखिनु भयो । एकै छिनको मौन शान्तिलाई चिर्दै भम्भीर भावमा भन्नु भयो ‘यो विषय साच्चै नै जटिल बुझियो । तिमी दुईटी जुम्ल्याहा दिदीबैनी हुन कसरि सम्भव हुन सक्छ ? मेरो मस्तिस्कले कुनै पनि उत्तर पाउन सकिरहेको छैन ।’

हामीले बुवाआमाबाट यो रहस्यको खुलासा हुने छ भन्ने पुर्ण आशा लिएका थियौं । तर, बुवाले नै यो विषयमा आफुहरु अनभिज्ञ रहेको बताएपछि विषय झन रहस्यमय हुन पुग्यो । बुवाले कुनै कुरा लुकाएको वा ढाटेको भन्ने कत्ति पनि कल्पना पनि गर्न नसकिने र तथ्यले हामी दुई जुम्ल्याहा बैनी भएको पुष्टि गर्ने तर ब्यवहारले सवै रहस्य मय हुने अवस्थाले म झन अलमलमा परें । मैले पुलुक्क एम्मालालाई हेरें । उनको आँखाले पनि सुन्यता दर्सायो अर्थात उनी पनि रहस्य झन् बल्झिएको पाएर अलमलमा परिरहेको बुझें ।

यसै बीचमा आमाले थप्नु भयो ‘यो तिमीहरु के कुरा गरिरहेका छौ ? मेरो दिमागले केही बुझेको होइन । कहाँबाट यस्तो एक्कासी तिमी दुईदी एउटै बुवाआमाका सन्तान भन्ने कुरा आयो, अचम्म छ बा !’

यो रहस्य बल्झिएर सवैको दिमाग चक्कर खाएको बुझेपछि यो परिस्थितिलाई टुङ्गोमा पुर्याउन केही त गर्नै पर्यो भन्ने लागेछ क्यारे बुवालाई अनि परिस्थिति अलि सहज बनाउने हिसाबले भन्नु भयो ‘तिमीहरुलाई हेर्दा पनि शरीर तथा अनुहारले तिमीहरु जुम्ल्याहा हुनसक्ने जस्तो देखिने सही नै हो, डीएनएले पनि पुष्टि गरेको भनेपछि तिमीहरु दुईबैनी भन्ने विश्वास गर्नै पर्ने स्थिति देखियो । हामी विज्ञानलाई असक्षम भन्न सक्ने अवस्थामा पनि छैनौ । तर, एम्माका बुवाआमा हामी हौं भन्ने विषयमा त विवाद छैन, अव अस्मिता पनि हाम्री छोरी नै हुन कि होइनन् भन्ने पुष्टि गरेपछि अरु कुराको टुङ्गोमा पुग्न सकिने हुन्छ । यो रहस्यमा तिमीहरुले हामी बुढाबुढीलाई पनि ल्याइ हाल्यौ । हामी त झन् अचम्ममा परिरहेका छौँ । अव पहिला अस्मिताको र हाम्रो डिएनए परिक्षण गरेर हेरौं । त्यसबाट यदि अस्मिता पनि हाम्री छोरी ठहरिएमा यो विषयले नयाँ मोड लिन सक्छ । त्यो परिक्षणको रिजल्ट हेरेर थप सल्लाह गरौँला ।’

मैले अलि डराइ–डराइ अनुरोध गरें ‘मलाई एउटा तर्क गर्ने अनुमति दिनु भयो भने म केही भन्न चाहन्छु तर यो भन्न मलाई डर पनि लागिरहेको छ ।’

बुवाले मेरा शब्द टुङ्गिन नपाउँदै भनि हाल्नु भयो ‘भन, भन । निर्धक्क भएर भन, डराउनु पर्ने केही छैन । तिमीहरुले उजागर गरेको यो रहस्यले कुनै पनि विषयमा डरायो भने वास्तविकता बुझ्ने स्थितिमा हामीलाई पुर्याउन सक्दैन ।’

बुवाका शब्दले मेरो आँट पनि जाग्यो र भने ‘हजुरहरुले एम्मालाई छोरी मान्दै आउनु भयो, मैले बुवाआमा जसलाई भनेँ उहाँहरुले मलाई छोरी मान्दै आउनु भयो । त्यसैले हामी दुई बैनी जुम्ल्याहा एकै बाउआमाबाट जन्मिएका भएपछि कि त एम्मा कि त म मध्ये एउटीले त बायलोजिकल बाउआमाको साथमा नबसेको पुष्टि हुन्छ । मैले जसलाई बाउआमा मान्दै आएँ उहाँहरु अहिले परलोक भैसक्नु भयो । त्यसैले उहाँहरु मेरा बायलोजिकल प्यारेन्ट भए नभएको जाच्न सक्ने स्थिति पनि रहेन । अब हजुरहरुसँग रगत परिक्षण गरेपछि हाम्रो रहस्य पत्ता लाग्न सक्छ । कृपया यो जाँच चाडै गर्नु पर्छ भन्ने लाग्दै छ मलाई ।’

आमा र बुवाले एकै पटक ‘उहाँहरुको देहावसान भएको सुनेर दुख्ख लाग्यो भनेर समबेदना प्रकट गर्नु भयो ।’ उहाँहरुको शब्दमा केवल औपचारिकता नभएर वास्तवमा भित्रि मनले दुखः अनुभूति प्रकट भएको महशुस गरें ।

हाम्रो रहस्य पत्ता लगाउनको लागि डिएनए परिक्षण छिटो गराउने कुरामा हामी सहमत भएपनि यो विकेण्डको समय परेकोेले छुट्टिको अवस्था ब्यवधान हुने देखियो । म त्यही विषयमा सोच्दै थिएं । बुवाले भन्नु भयो ‘तिमीहरुलाई मण्डे(सोमबार)बाट फेरि काममा फर्कन पर्ने होला आज र भोलि नै यसलाई प्रोशेसमा हाल्न पाए हुन्थ्यो । पख म यूनिभर्सिटीको साथीलाई फोन गरेर बुझ्छु । उनी उपलब्ध रहेछन भने उनले हामीलाई सहयोग गर्न सक्छन् ।’

बुवा उठेर टिस्सु पेपरले मुख पुछ्दै चार्जमा राखेको मोबाइल लिएर आउनु भयो र फेरि कुर्सीमा बस्दै उहाँको साथीको नम्बर खोजेर डायल गर्नु भयो । तीन घण्टी जाँदा उताबाट फोन उठेको आवाज हामीले पनि मधुरो आवाजमा सुन्यौ । बुवाले विवरण सुनाएर सहयोग चाहिएको कुरा उहाँका साथीलाई अनुरोध गरेपछि उताबाट सकारात्मक उत्तर आयो र दुई घण्टामा यूनिभर्सिटीमा भेट हुने सल्लाह गर्नु भयो ।

हामीले नास्ता गरेपछि पनि रहस्यको विषय एम्मा र मेरो बीचको भेट, नेपालसम्मका प्रसँग, एक्कासी नेपाल जानु परेको मेरो अवस्था छलफल गर्दा गर्दै एक घण्टा जति वितिहाल्यो । उता हामी यूनिभर्सिटी जान भनेर तयारी भएर समय अनुसार पुग्दा बुवाका साथीले हामीलाई कुरेर बस्नु भएको रहेछ । हामी भन्दा पहिला नै उहाँ पुग्नु भएको रहेछ । वास्तवमा बुवाले हामीलाई उहाँले साथी भनेर बताए पनि उहाँ बुवाकै चेला हुनुहुँदोरहेछ ।

हामीले हाम्रो रहस्यको प्रसँग उहाँलाई बताए पछि उहाँले पनि ‘यो त नाटकीय घटनामा पो परिणत हुन थाल्यो’ भन्नु भयो । उहाँले आफु पनि यो रहस्यको उद्घाटनमा बडो उत्साहित भएको बताएर आजै हामी चारै जनाको स्याम्पल लिएर परिक्षण प्रोशेस सुरु गर्ने र परिणाम चार हप्तामा निस्कने बताउनु भयो ।

हाम्रो रहस्य खुल्ला भन्दाभन्दै झन पछि झन बल्झिरहेको पाउँदा म भने अचम्म परिरहेकी थिएं । यूनिभर्सिटीबाट काम सकिए पछि कतै घुम्न जाने कि भनेर आमाले सोध्दा म यो रहस्यको भूमरीले गर्दा कतै घुम्न पनि जान मन लागेको छैन । जाउँ घरमै गएर कुरा गरौँ बसौ भन्ने मेरो आग्रह अनुसार नै घरमा आएर हामी दिनभरि हाम्रो रहस्य के होला कसरि यो परिस्थितिमा हामी पुग्ने घटना घटेहोला भन्ने अनुमानहरु गर्दै छलफल गरिरह्यौ ।

पहिला यो रहस्य पत्ता लगाउने मेरो मात्र काम हो भन्ने लागेको थियो । पछि त्यसमा एम्मा र मेरो दुवैको रहस्य खोतल्ने जिम्मेवारी भयो । अव हुँदाहुँदा यो रहस्यमा नेदरल्याण्ड्सका बुवाआमा पनि सम्मिलित हुनु भयो । एउटा विरामी आफु जस्तै भेटेर सुरु भएको मानसिक दवाव अहिले चार जनासम्म थपियो । उता बुवाआमा जिवितै हुनुभएको भए उहाँहरु पनि यो रहस्य खोतल्ने जिमेवारीमा पर्नु हुने थियो । तर, साच्चै नेपालमा बुवाआमा जिवित भैदिएको भए यो समस्या उहाँहरुसँग यस विषयमा कुरा खोतल्ने वित्तिकै पत्ता लाग्न पनि त सक्थ्यो नि ! तर, सम्भव नै नरहेको विषयमा मैले सोचेर पो के गर्नु र ?

भाग – १८ भाग –१६
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.