भाग –१६
दिनभरि नै एस्सो दिमागले सोच्ने फुरसद पायो कि एम्मा साँझ हाउँछिन भेट हुन्छ । कुराकानी हुन्छ । अब त हामी दुई बहिनी हौँ भन्ने कुरामा पनि विवाद रहेन । खाली हामी यतिका बर्ष दुई बहिनी भएको थाहा नै नपाइ बस्नु परेको रहस्य पत्ता लगाउनु छ । अव एम्मा र मेरो एउटै गन्तब्य भएको छ । हामी दुवै मिलेर रहस्य खोतल्ने छौ भन्ने सोच्दा मन फुरुङ्ग पनि हुने । बडो अचम्मको रहस्य के होला भनेर खुल्दुली पनि हुने भै रह्यो । एम्माका साच्चैका बाबुआमा नभए पनि उनले बाबुआमा भनेर मान्दै आएका उनका अबिभावक नै हाम्रो रहस्य खुलाउने मुख्य स्रोत रहेकोले हामीले उहाँहरुलाई भेट्नु पर्ने परिस्थिति बनेको छ ।
काममा ब्यस्त हुँदा कामकै धुन यस्सो मौका मिल्यो कि उही विषय मनमा खेलिरहने भैरह्यो । कत्तिबेला काम सकिएला र घर जाउँला, एम्मा आइपुग्लिन भन्ने हुँदाहुँदै आखिर कामबाट घर जाने समय भै हाल्यो । कारपार्कमा गएँ । हत्तपत्त गाडी स्टार्ट गरेँ । हुइकेर घर पुगेँ । तर, मन भने म भन्दा पहिला नै घर पुगिसके जस्तो लागिरहेको थियो । ट्राफिक लाइट रातो बलेर रोकेर एक्कै छिन कुर्दा पनि बर्षौ कुर्न परेजस्तो हुने । अगाडि पट्टिको गाडी सडकमा तोकिएको तीस माइल प्रति घण्टाको गति भन्दा बढि नगुड्दा त्यो गाडी चाडै चाडै दगुरे त हुन्थ्यो नि भन्ने भैरहने, मनमा त्यसलाई उछिनेरै जाउँ झै भैरहने, तर फेरि अर्को मनले म आत्तिएर नियम मिचेँ भने असुरक्षित भइन्छ भन्ने डर पनि लाग्ने । त्यसो गर्दा आफुमात्र कहाँ होर अरु पनि झन असुरक्षित हुन्छन् नि ।
आखिर मन आज अरु दिन भन्दा बढि नै आत्तिए पनि अवस्थानुसारको सामान्य समयमा घरमा पुगेँ । गाडी पार्क गरेँ । अझै एम्मा आइपुग्ने समय एक छिन बाँकी नै थियो । माथिको कोठामा गएर कपडा झिकेँ । अनि बाथरुम पसेर नुहाएँ । आफ्नै जुम्ल्याहा बैनी आउँदा कस्तो कपडा लगाएर बस्न ठिक होला भन्ने मनमा खुल्दुली लागि रह्यो । दराजबाट हल्का रङ्गको ठूला बुट्टा भएका म्यक्सी झिकेँ । मनमा बैनीले कस्तो कपडा लगाएर आउने होलिन भन्ने प्र्रश्न उठ्यो । आखिर जस्तो कपडा लगाएर आए पनि के नै फरक पर्छ र पर्न त । तर, हामी दुई बैनी भन्ने थाहा भएपछिको हाम्रो यो पहिलो भेट नै हुने छ । मन बडो अचम्म लागिरहेछ । नुहाउँदा पनि मनतातो पानीको धुनमा गीत फुरिरहेकोले गुनगुनाउँदै नुहाए । नुहाउनजेल पनि तल एम्मा आइहाल्छिन कि जस्तो लागि रह्यो । नुहाउँदा नुहाउँदै ढोकाको घण्टी बज्छ कि जस्तो लागेकोले एक मनले ढोकाको घण्टीमै ध्यान दिइँरहेँ ।
नुहाएर कपडा लगाएपछि कपाल सुकाउने हेयर ड्रायर झिक्नु भन्दा पहिला बाथरुमको ढोका खोलेर छोरीलाई बोलाए ‘नानु’ दुई पटक बोलाउँदा पनि छोरी नबोलेपछि अलि चर्को आवाजमा छोरीलाई ‘नानु’ भनेर फेरि बोलाउँदा उनी तल्लो तलको ट्वाइलेटबाट निस्कँदै ‘हजुर’ भनिन् । तलको ट्वाइलेटको ढोका खुलेको आवाज र छोरीको आवाज सुनेको आवजको तालमेल हिसाब गरेर उनी ट्वाइलेट भित्र भएकोले दुई पटकसम्म नसुनेकी र तेस्रो पटकमा जवाफ दिएको अनुमान गरिहालेँ ।
छोरीले हजुर भनेको सुनेपछि उनलाई भनें ‘नानु, मलाई एक कप मिठो नेपाली चिया पकाइ देउ है ।’
छोरीको ‘हवस’ भनेको आवाज सुन्ने वित्तिकै बाहिरबाट साचोले ढोका खोलेर मानिस भित्र पसेको आवजबाट दिनेश आइपुगेको अनुमान गरेँ । हेयर ड्रायरले भिजेको कपाल सुकाउँन अन गरे पछि तातो हावा फाल्दै ड्रायरले निकालेको आवाजले कतै एम्मा अलि चाडै आएर डोर बेल बजाइहाले पनि अव त दिनेश पनि तल छँदैछन् । उनीहरुलाई स्वागत गर्दै गर्छन । मैले ड्रायरको आवाजले डोर बेलको आवाज नसुने पनि खासै फरक पर्ने वाला छैन भन्ने सोँच्दै मस्त हुँदै अव एम्मासँग भेट हुन्छ एक्कै छिनमा भन्ने भवानाले खुसी भएको मनमा गित गुन्गुनाउँदै कपाल सुकाएँ । रुमाल हिटरमो डण्डीमा सुकाएँ र बाथरुमको बत्ति निभाएर सिढीबाट तल झरेँ ।
छोरीले मलाई चिया बनाएर सिटिङ रुमामा राखिदिएकी रहिछन् । यो साझँमा एक कप नेपाली तरिकाको बाक्लो चिया खाने बानी पहिलै बाट बसेको छ । दुधै दुधमा चियापत्तीको एउटा पोको हालेर त्यस माथि एक चम्मच चिनी हालेर माइक्रोवेभमा दुई मिनेट घुमाउँदा उम्लेर झण्डै पोखिन थाल्दा झिकेर एकछिन मजाले चियापत्तीको पोकोलाई चम्मचले निचोरिने गरी रस दुधमा भिजाएर फेरि माइक्रोवेभमा हालेर आधा मिनेट घुमाए पछि दुधमा मस्त भिजेको चियापत्तीको आउने जति रस निचोरिने गरी भिजेको चियाको कड्क स्वाद बडो मज्जाको हुन्छ । चियापत्तीको रस निचोरेर ब्याग बिनमा आले पछि एकदमै थोरै कफि गन्धका लागि मात्र हालेर आधा मिनेट माइक्रोवेभमा घुमाएर भलभलि उमालेको चिया साझँमा खाने अम्मल नै भएको छ । पहिले सानी छँदा आमाले ताप्केमा पकाएको बाक्लो चिया खाने बानीबाट पल्केको यो बानी अहिले माइक्रोवेभको सुविधामा तताएर बनाउन सजिलै पनि हुन्छ । खन पनि मज्जा आउँछ ।
म त नुहाएर तल झर्नु भन्दा पहिला दिनेशले पनि आफुलाइ कफि बनाएर सिटिङ रुममा आएका रहेछन् । एकै छिन हामी गफ गर्दै थियौ, ढोकाको घण्टी बज्यो । पक्कै एम्मा आइपुगिन भन्ने अनुमान गरिहालेँ । जुरुक्क उठेर ढोका खोल्न गएँ । ढोका खोल्दा साच्चै नै एम्मा रहिछन् ।
उनले ‘हेल्लो सिस्टर(दिदी)’ भन्दै मुस्कुराइन । उनका पछि उनको ब्वाय फ्रेण्ड पनि उभिएका रहेछन् । उनी भन्दा अग्ला, जिन्स माथि बाक्लो टिसर्ट लगाएका । उनले पनि एम्माले भन्ने वित्तिकै ‘हेल्लो’ भने । एम्माले पनि जिन्स र टिसर्टका माथि पसमिनाको उनीको बटन विनाको स्वीटर लगाएकी रहिछन् । एम्माको कपाल पनि ब्वायज कटमा फ्रेस भएर आउँदा त अस्पतालकी सादा एम्मा त कति राम्री देखिएकि ! हुन त पहिला आफ्नै बैनी भन्ने थाहा थिएन अहिले साख्खै बैनी भन्ने भएर पनि होला झन् राम्री लागेको ।
मैले पनि ‘हेल्लो, आइ वाज इगर्ली वेटिङ माइ सिस्टर’ भन्दै ढोका उघारेर उनीहरुलाई हातले भित्र स्वागत गर्ने मुद्रामा इसारा गरेँ ।
उनले बायाँ पट्टिको कोखिलामा च्यापीराखेकी बैसाखीको बीचको डण्डीमा हातले दह्रोसँग समाइन अनि दयाँ हातले ढोकाको बारमा समातेर दायाँ खुट्टा घर भित्र लगेर दायाँ खुट्टाकै बलमा उभिएर बायाँ हातले बैशाखी पनि भित्र छिराइन । उनका ब्यायफ्रेण्डले समाइराखेको फूलको गुच्छा मागेको एम्माको इसारा बुझेर उनले भित्र छिरिसकेकी एम्मालाई ढोका बाहिरबाटै फूलको गुच्छा पुर्याइदिए । एम्माले त्यो फूलको गुच्छा मलाई दिइन । मैले ‘थ्याङ्कयू’ भन्दै फूलको गुच्छा लिँदै उनलाई भित्र अगाडि बढ्न र उनको ब्यावय फ्रेण्डलाई भित्र छिर्ने इसारा गरेको बडी ल्याङ्गवेज अनुसार नै भित्र सिटिङ रुममा हामी बस्यौ ।
दिनेशको कफी र मेरो चिया थोरै मात्र पिँधमा बाकी थियो । दिनेशले एम्मा र उनको साथीलाई ‘कफी चिया के खाने कि ड्रिङ्क्स गर्ने ?’ भन्दै अल्कोहलको समेत अफर गरेको भावमा सोधे ।
कोठामा छिरेपछि हामीले इसारा गरे जसरि नै एम्मा र उसको साथी दुई सीटको सोफामा बसे । तीन सिटको सोफामा छोरी बसिराखेकी थिइन । म पनि छोरी कै छेउँमा बसें ।
फायर प्लेसको माथि भित्तामा टिभी फिट गरेको देखेर एम्माको साथीले भने ‘यो तरिका मलाइ खुव मन पर्यो । कोठाको ठाउँ पनि बच्ने ठोक्किने डर पनि नहुने ।’
उनको कुरा गराइको पाराले उनी फरासिला रहेछन् भन्ने बुझियो । उनले त्यो भित्तामा झुण्डाएको टिभीको प्रसँग हाम्रो सामिप्यता झल्काउन र खुला स्वभाव ब्यक्त गर्न गरेको जस्तो लाग्यो ।
अंग्रेजी भाषामै कफी खाने भन्दै ‘चिनी बेगरकै एक चम्मच कफीको अनुरोध’ बताइन । एम्माले त्यसो भनिरहँदा उनको साथीले पनि इसाराले त्यही भनेर इसाराबाट जनाए ।
छोरी र दिनेशसँग पनि परिचय भयो । हामी दुई बैनी भएको औपचारिक चिनजानीबाट एम्मा र म दुवै अति नै खुसी भयौ । यो रगतको सम्बन्धले भएको खुसी थियो वा कसरि किन यत्ति धेरै खुसी मेरो भित्रबाटै निस्किरहेको थियो ! एम्मामो खुसी पनि सवैले देखिने र बुझिने गरी झल्किरहेको थियो । तर, हाम्रो विछोडको अतित भने हाम्रो रहस्य बनेर बत्ति मुनिको अध्यारो जसरि मन भित्र पिल्सिरहेको छ । म त कमसेकम आफ्नै बाबुआमाका काखमा थिएं । दिदीबैनी कोही अरु पनि छन् भन्ने अनभिज्ञतामै थिएं । तर, एम्मा भने अर्कैलाई आफ्नै बाबुआमा मानेर बसेकोमा अहिले वास्तविक बाबुआमा पनि कहिल्यै नभेटिने गरी परलोक भैसके भन्ने पिडा मन भित्र कसरि पिल्सिरहेको होला ! संयोगले उनी उता म यता भए हौँला, उनी यता म उता पनि त हुन सक्थ्यौं नि ! त्यसैले हामी जता परेको भए पनि परिस्थिति त उस्तै हुन्थ्यो नि ।
हुन त एम्मालाई पनि यथार्थ थाहा नभएकोले जसलाई आमाबुवा मान्दै हुर्किइन त्यो वास्तविकता होइन भन्ने थहा नहुँदासम्म ढुक्कै थिइन । तर, उनको र मेरो भेट हुने संयोगले हामी दुई बैनी रहेको तथ्य भेटाउन त हामीले अहिले भेटायौं । कता कता यो तथ्य उजागर नभएर पहिले कै स्थितिमा हामी भएको भए यो उल्झन नै हुने थिएन भन्ने पनि मनमा नआएको त होइन । अव दुई बैनी नै हौ भन्ने पुष्टि भैसके पछि झन हाम्रो रहस्य जान्नै पर्ने बाध्यता हाम्रो अगाडि अजिङ्गगर बनेर आएको जस्तो लाग्दै छ । हुन पनि एम्माले बुवाआमा मानेका उनका अभिभावकहरुले यो रहस्य हामीलाई थाहा नदिने मनसाय थियो भन्ने त उनीहरुलाई यो रहस्यका विषयमा एम्मालाई कुनै जानकारी नदिनु बाट प्रष्ट नै थियो । अव हामीले हामी दुई बैनी भएको रहस्य हामीले थाहा पाइसक्यौ । अव रहस्य खोलिदिनुस भन्दा उहाहरु कुन मनस्थितिमा पुग्नु हुन्छ भन्ने कुराले पनि पिरोलिरहेको छ । तर जे होस विछोडिएका हामी दुई बैनी कमसेकम हाम्रो रगतको नाता थाहा पाएर खुसी भएका छौ । यो खुसी जारीरहने छ भन्ने कामना छ । रहस्य के हो त्यसले हाम्रो मनस्थितिलाई कता डोर्याउला भन्ने खुल्दुली भने भैरहेकै छ ।
एम्माको साथी पनि उठेर दिनेशलाई चिया बनाउनमा सघाउँछु भन्दै किचन(भान्सा)मा पसे । छोरी उठेर चियाका कपहरु राख्ने कपबेस ल्याएर टि–टेबलमा राखिन । चियाका कपको तातो र छेउँबाट चुहिने चियाबाट टेबल जोगाउने कपबेस त्यसरि बिछाएर छोरीले पनि काममा सघाउने प्रबृत्ति जनाइन । यस्तो सानो कुराले पनि सन्ततिबाट अभिभावकहरुलाई ठूलो सन्तोष मिल्दो रहेछ । छोरी हुर्कदैँ गर्दा उनले आफ्नो जिवनलाई सजिलरि अघि बढाउने कला सिकेको विस्वास जगाउने यस्ता घटनाले अभिभावकमा सन्तुष्टि दिलाएको महसुस हुन्छ ।
एम्माको खुसिको माहोल जनाइरहेको अनुहारमा एउटा परिवर्तन महसुस गरेँ । उनले अव कुनै सन्दर्भ कोट्याउन लागेको भाव उनको अनुहारबाट अनुमान गरें । तर, उनले के भन्न खोज्दै होलिन भन्ने कुनै अनुमान नै गर्न सकिन । उनको अनुहारमा त्यत्तिन जेलको खुसि महसुस भैहेको झलकम कमी देखिनुले मेरो मनमा पनि चिसो त पर्यो । म कसरि उनको अनुहारको परिवर्तको विषयलाई उठान गरेर कुरा अगाडि बढाउँ भनेर सोच्दै थिएं त्यत्तिकैमा एम्माले भनिन ‘हामी दुई बैनी नै हौ भन्ने त पुष्टि भयो, यसमा विवाद रहेन तर, मेरो मनमा एउटा प्रश्न उब्जिरहेको छ ।’
उनले कस्तो प्रश्न गर्न खोज्दै थिइन भन्ने मैले कुनै अनुमान गर्न सकिरहेकि थिइन र भने ‘अँ भनन, के प्रश्न हो । निर्धक्क भएर भन, प्लिज ।’
हामी नेपालमा अनुरोधको भाव सित्तिमित्ति जनाउँदा बढि काउलो पारेको हुन्छ भन्ने बानी परेको हुन्छ । यता बेलायत बस्दा प्लिज भन्ने शब्द जत्तिखेर पनि प्रयोग गर्ने बानी परेको छ । त्यही भाव मेरो कुरा गराइको दौरानमा मिसिएछ । हामी दुवै बैनी नेपालीमै कुरा गरिरहेका भए म त्यसरी आफ्नै बैनीलाई प्लिज भनेर औपचारिकता जोड्दै कुरा गर्ने थिइन जस्तो मनमा कुरा खेल्दै गर्दा एम्माले भनिन ‘हाम्रो रगतले हाम्रा बुवाआमा एउटै हुन भन्ने त थाहा भैहाल्यो । तर, तिमीले आफ्ना भन्ठानेका नेपालका आमाबुवा हाम्रा वास्तविक बुवाआमा हुनुहोला कि मैले मेरा मात्र बुवाआमा भन्ठानेकी तर अहिले हामी दुवैका बुवाआमा अहिले जिउँदै हुनुहुने चाहीँ वास्तविक हाम्रा बुवाआमा हुनुहोला ? नेपालका बुवाआमा नै हाम्रा वास्तविक बुवाआमा भए त मैले आफ्नै बुवाआमालाई कहिल्यै भेट्न नपाउने भएं ।’
उनको अनुहारमा खुसिको भाव एक्कासी कम हुनको कारण मैले बल्ल बुझेँ जस्तो लाग्यो । वास्तवमा बुवाआमासँग अव भेट हुने सम्भावना छैन भन्ने त मैले पनि महसुस गरेकी थिएं तर उनले त कहिल्यै पनि भेट नहुने भयो भन्ने चिन्ता हुने विषयमा त म खासै सम्बेदनशील भएकी रहिनछु जस्तो लाग्यो । उनले भनेको अर्को पक्षमा त मैले सोचेकी पनि रहिन छु । नेपालमा जोसँग म हुर्केबढेँ उहाँहरुनै हामी दुवैका वास्तविक बुवाआमा भन्ने मात्र मैले सोचेकी रहिछु नेदरल्याण्स्का बुवाआमा पो वास्तवमा हामी दुवैका रगतका बुवाआमा हुन कि भन्ने विषयमा मेरो ध्यान बल्ल गयो र भने ‘ए, हो त नि, मैले त यस विषयमा सोच्न पनि नसकेकी रहिछु । म त मेरो परिस्थितिमा जे दिमागमा थियो त्यसै भित्र मात्र रुमल्लिएकी रहिछु । तिमीले भनेको कुरा ठीक हो । हाम्रो रगतका वास्तविक बुवाआमा अहिलेसम्म पनि जिवितै हुनुहुन्छ भन्ने सम्भावना पनि त छ नि त ।’
कताकता वास्तविक बुवाआमा जिवितै हुनेहरु नै ठहरिए हुन्थ्यो भन्ने मेरो मनमा आशा पलायो र लोभ पनि जागेर आयो । वितिसकेका बाबुआमाका ठाउँमा जिवित बुवाआमा भेटिन सक्ने सम्भावना जानेर मेरो मन झन प्रफुल्ल हुन थाल्यो । उता एम्मालाई भने बुवाआमा जिवितै छन भन्ने ढुक्क भैरहेको ठाउँमा जन्मदिनेहरु मरिसकेको पिडा भोग्न पर्ने अवस्था हुन सक्ने कुराले चिन्तित पारिरहेको थियो ।
एम्माले कुरा अगाडि बढाउँदै भनिन ‘जे सुकै होस, हामी दुई बैनी भेट हुन पाएको र वास्तविकता थाहा पाएकोमा म त खुसी छु । अव बुवाआमालाई भेटेर रहस्य पनि पत्ता लगाउनु पर्छ । चिन्ता गर्ने विषय होइन अव त झन खुसी हुनु पर्छ ।’ उनको कुराको चुरो उनको मन भित्रबाटै निस्किएको थियो भन्ने भाव उनको अनुहारले पनि झल्काइरहेको छ । उनको अनुहारको मनिलता हराएर प्रफुल्लताको उज्यालो अनुहार फिर्ता भैसकेको रहेछ ।
दिनेश र एम्माको साथीले दुवै हातमा कप समातेर आएको देखेर मैले भने ‘ट्रेमा हालेर ल्याएको भए हुन्थ्यो नि !’
दुवै जनाले चियाका कपहरु टि–टेबलमा राख्दै दिनेशले भने ‘हामी केटाहरुको काम यस्तै लत्पते नै हुन्छ, वास्तवमा महिलाहरु ढङ्ग पुर्याएर काम गर्छन । केटी मान्छेले भए यो चिया ट्रेमा हालेर ल्याउँथे । त्यसैले होला म्यानेजमेन्टमा पुगेका महिलाहरुको काम गराइमा पनि पाकोपट भट्ने गर्छु म । तर, म यो सिक्छु भन्छु नसक्दोरहेछु । आज पनि चुकिहालिएछ ।’
दिनेशको कुरा एम्मालाइ चित्त बुझेछ र भनिन् ‘त्यो चाहीँ हो जस्तै लाग्छ, मलाई पनि ।’
हामी सवैका अगाडि चिया देखेर मैले छोरीलाई सोधेँ ‘तिमी हट चक्लेट खाने कि ?’
दिनेशले पहिला नै छोरीलाई सोधिसकेका रहेछन् । छोरीले भनिन् ‘अघि नै बाबाले सोध्नु भएको थियो, मैले अहिले नखाने ।’
एम्माले हाम्रो रहस्य उद्घाटन गर्नु पर्ने विषयमा ध्यान तान्न अगाडि भनिन् ‘अव हाम्रो रहस्य पत्ता लगाउने उपाय भनेका बुवाआमा हुनुहुन्छ । उहाँहरबाटै सम्भव छ । बरु यो विकेण्डमा हामी नेदल्याण्ड्स गएर सँगै भोटौँ हुन्न र ?’
मैले भने ‘हुन्छ नि त सुक्रबार साँझ नै हामी नेदरल्याण्ड्स जान सक्छौँ । बरु तिमीले आजै उहाँहरुसँग कुरा गर, उहाँहरुको के छ कार्यक्रम कुन्नि । अहिले फोनमा यस विषयमा धेरै कुरा गर्नु भन्दा अहिले भेट गर्न हामी सुक्रवार साँझ त्यहाँ पुग्ने गरी कुरा गरौँ अनि त्यहाँ पुगेर नै भेटेर अरु कुरा सोधौला । हुन्न ?’ मैले उनको सहमतिको आशा गर्दै भने ।
एम्माले मेरो कुरामा सहमति जनाउँदै भनिन् ‘हुन्छ, तर मेरो ब्यावय फण्डको त बिहीबार नै कामको सिल्सिलामा एक हप्ताको लागि स्कटल्याण्ड जाने कार्यक्रम छ । हामी मात्र जाउँ ।’
मैले पनि छोरीको जाँच आउन थालेको र नेपाल गएर कक्षाहरु छुटेको विषयलाई पनि मनन् गर्दै भने ‘हामी दुई बैनी मात्र जाउँ, सुक्रवार साझ जाउँ आइतबार दिउसको फ्लाइटमा आउँ । हुन्न र ?’
एम्माले सहमति जनाउँदै ‘हुन्छ’ भनिन् ।
हामी बीचका केही भलाकुसारी पछि सुक्रवार साँझको फ्लाइटमा बुवाआमा भेट्न जाने सल्लाहा मिलाएर ट्रेन स्टेसनमा दुई बैनी साँझ साढे ६ बजे भेट हुने सल्लाह गर्यौ । र एम्मा र उनको साथी विदा भएर गए ।
भाग – १७ भाग –१५ |