भाग –१२
हामी घरमा पुग्दा हाम्रो चहलपहल थाहा पाएर वाहिरको बत्ति बल्यो । एयरपोर्टमा प्लेन ल्याण्ड गर्दा नै रात परिसकेको थियो । घर पुग्दा त रात छिप्पिनै सकेको थियो । इन्फ्रारेड प्रविधिले गर्दा मान्छे आएको थहा पाउँदा आफै बत्ति बल्ने भएकोले अरु बेला बत्तिको बिल पनि नबढ्ने र घर आइपुगेर ढोका खोल्न खोज्दा अध्यारो पनि नहुने प्रविधिले सहज गराएको छ । अहिलेको प्रविधिको यूगमा मान्छेका दैनिकी धेरै सजिला भएका छन् । बुवाले आफुहरु सानो छँदा गाउँमा सल्लाको राँको बालेर रातिमा यत्रा गरेको र देउसी भैलो गाउन हिँडेको सुनाउनु हुन्थ्यो ।
ढोका खोल्दा जुत्ता राख्ने ¥याकको माथि थुप्रै चिठ्ठी थुप्रिएका रहेछन् । नेपाल जान लाग्दा हत्तनपत्त छिमेकीलाई फूलका गमलामा पानी हालिदिन र रेखदेख गर्न भनेर घरको साँचो छाडेर गएकी थिएँ । हुलाकीले ढोका भित्र छिराइदिएका चिठ्ठी उनै छिमेकीले उठाएर त्यहाँ राखिदिएका होलान भन्ने सहजै अनुमान लगायौँ । हाम्रो नजिकको पहिलो छिमेकी भारत केरलाका हुन । भारतका भए पनि उनीहरु क्रिश्चियन धर्म मान्छन् । क्रिश्चियनहरुमा छिमेकीसँग मिठो बोल्नु पर्छ, खाना र मिठाई बाडिचुडी गरेर खानु पर्छ भन्ने मान्यता हुँदोरहेछ । त्यो धार्मिक प्रभाव उनीहरुमा देखिन्छ । निकै सहयोगी छन् । हुन त हाम्रो हिन्दू धर्ममा पनि अतिथिलाई सत्कार गर्नु पर्ने कुराहरु सिकाइन्छ तर छिमेकीको बारेमा त्यत्ति सिकाएको पाइँदैन । सायद पहिला पहिला खेती गरेर गाउँमा बस्ने हाम्रा हजुरबुवाका पालासम्म पनि गाउँमा धेरै जसो दाजुभाइ हुने हुनाले छिमेकी विषयको बढि नियमहरु हामीलाई नसिकाएर दाजुभाइका ममता र मर्दा पर्दाका नियमहरुले नै काम गर्ने भएर पनि हुनसक्छ ।
यी छिमेकी महिलाले मैले काम गर्ने अस्पतालमै केयररको काम गर्छिन, लोग्ने चाही एउटा ग्रोसरीमा काम गर्छन । कहिले काही किनमेल गर्न गएको समयमा उनले पसलमा काम गर्दै गरेको पनि भेटिन्छ । उनीहरुको एउटा छोरा छ । छोरा चाही हुनुपर्ने भन्दा अलि बढि नै मोटो छ । आर्टको सौकिन छन् । कोठमा बसेर आर्ट गरिरहने । स्कूलमा पनि उसले आर्टमा पुरस्कार पनि पाउने र टिचरहरुले आर्टसमा उनलाई प्रोत्साहन दिन्छन् भनेर उनकी आमाले सुनाउने गर्छिन । यो वर्ष भने अलि गार्डेनको काममा पनि देखिन थालेका छन् । सायद कोठमा बसिराखेर मोटो भएको भन्ने लागेर जिउ अलि घट्छ कि भनेर पनि हो कि घर पछाडिको बारिमा यो वर्ष अलि नै मेहनत नै गरेका छन् ।
एक दिन उनकी आमाले भन्दै थिइन ‘उता छिमेकीको घर पछडिको गार्डेन कति चिटिक्क पारेका हुन्छन् ! हामीले पनि अव गार्डेन चिटिक्क पार्नु पर्छ मैले पनि सघाउँछु भनेको छ, छोराले ।’ नभन्दै यो वर्ष उनीहरुको गार्डेन त हाम्रो भन्दा पनि राम्रो भएको छ । हुन त त्यस्तो राम्रो त हाम्रो पनि होइन । तर, विकेन्ड शनिवार आइतवार दिनेशलाई पनि गार्डेनमा काम गर्न मन पर्छ । अनि घास काट्ने मिलाउने गर्दा र साँझमा एक छिन कुटो कोदालो गर्दा पछाडिको बारी त्यत्ति नराम्रो त हुँदेन नै । जाडो महिना भरि जाडोले गर्दा बारिमा निस्कन पनि सकिँदैन । चिसोले गर्दा भएका विरुवा फूल पनि मरिहाल्छन् । गर्मि महिना भरि त हो नि गार्डेन पनि अलि हराभरा हुने ।
भाग – १३ भाग –११ |