भाग – ९
बुवा र आमा वित्नु भएपछि मेरो त माइती पनि सकियो । माइती नै घरमा परिणत भयो । संविधानले पनि आखिर छोरा र छोरीबीचमा समानताको परिकल्पना त गरेको छ । तै पनि परम्परा अनुसार दिनेशको घर पो मेरो घर र यो बुवाआमाको घर तर माइती हो । अघिल्लो पुस्तासम्मको प्रचलनहरु अहिले फेरिएका छन् । वास्तवमा न दिनेशको घर न मेरा बुवाआमाको घर हाम्रो घर भएको छ । हाम्रो घर भन्ने त हाम्रै कमाइले किनेको बेलायतकै घर आफ्नो भएको छ । हामी हुर्किँदा र विवाह हुँदासम्म पनि लोग्नेको घरको सम्पत्ति आफ्नो हुने र माइतीको घर आफ्नो सम्पत्ति नहुने भावना महसुस हुन्थ्यो । तर अहिले त छोरीलाई पनि आफै कमाउने हो, भन्ने हुन्छ । लोग्नेको कमाइमा बाच्ने र आफुले त पतिको सेवा मात्र गर्ने हो भन्ने भावना नै छैन । उनीहरु जस्ता नयाँ पुस्तालाई लोग्नेको कमाइको आशै छैन बरु आफ्नै क्यारियरको चिन्ता र सोच हुन्छ । विदेशमा हुर्कने केटाकेटीमा मात्र होइन नेपालकै हुने खानेका छोराछोरीमा पनि लैङ्गिक समानताको मान्यता जागेको छ । तर, नेपालमा पैत्रिक सम्पत्तिको आश गर्ने सोच भने हराइसकेको छैन । म त सानी छँदासम्म पढ्ने पनि, विवाह हुन र राम्रो कमाउने पति पाउन मात्र हो भन्ने लाग्थ्यो । वातावरण नै त्यस्तै थियो त्यसैको परिणति होला । पछि पढ्दै गएर ग्लोबलाइजेसनका कुरा र महिला समानताका कुरा बुझ्न थालेपछि बल्ल हाम्रो समाजले महिलालाई पुरुषको सेवकका रुपमा मात्र राख्ने प्रपञ्च रचेका रहेछन् भन्ने लाग्न थाल्यो ।
दिनेशलाई मैले भने ‘सोमबार काममा पुग्ने हिसाबले म्यानेजरलाई इमेल पठाएँ ।’
दिनेशः ‘इमेल लेख्न भन्दा पहिला सल्ला गर्नु पर्ने । हुन त ठिकै छ । अव एक पटक विराटनगर घरमा पनि पुग्न त पर्यो । अस्ति आमा आउनु भएकोले भेट त भयो । तै पनि एकपटक घरमा पुगेर अनि उताको प्लेन समाउँला । भोलि फ्लाइटमा विराटनगर गएर पर्सि विहान काठमाण्डौ पुग्ने र काठ्माण्डौबाट साँझ लण्डनको लागि प्लेन चढ्ने गरी टिकट मिलाउन पर्यो । भैरहवाबाट विराटनगरलाई सिधै प्लेन छैन, त्यसैले विहानको प्लेनमा काठमाण्डौ गएर विराटनगरको प्लेनमा जाउँ ।’
मः ‘हुन्छ नि म त्यसै अनुसार टिकट मिलाउन अर्जुन दाइलाई अनुरोध गर्छु ।’ भनेर म तल अर्जुन दाइ बस्ने भूइतलामा पुगेर दाइलाई अनुरोध गरेँ ।
भाग – १० भाग –८ |