गौदानबारे एआईको भाषा: भाग २
-गोविन्द बेल्बासे
पुरानो पुस्ताको लागि गौदान गर्नुको मतलब बैतर्णीको सहारा बनाउनु हो। बैतर्णी नेपाली समाजमा विश्वास गरिएको आस्था हो। मृत्यूपछि यमलोक जाँदा बैतर्णी नदी तर्नु पर्छ भन्ने मान्यता छ। चेतना नगुमाउँदै गाई दान गरियो भने उक्त बैतर्णी नदी तर्दा दान गरेको गाईको पुच्छर समातेर तर्न सकिन्छ भन्ने सिकाइएको छ। धार्मिक ग्रन्थहरूको ब्याख्या गर्दै ब्राम्हणहरू बैतर्णी तर्नुपर्ने तथ्य सिकाउँछन्। जुन पण्डितले सिकाउँछन् उनलाई भने यसको सत्यता थाहा छैन। विश्वास भने छ। तर, उनी स्वयं पनि बैतर्णी नदी पार गर्न चाहिने गाइको व्यवस्था गर्न गाई दान गर्दछन्।
गौदानका विषयमा नयाँ पुस्ताको चासोलाई बेवास्ता गर्नु मुर्खता हुन सक्छ। पुरानो पुस्ताका ऋृषिहरूले पाँच इन्द्रीयको अनुभवबाट संसारलाई ज्योतिष शाष्त्र, योग र ध्यानको हदसम्म बढाएका छन्। कर्मकाण्ड पनि त्यही सुझबुझमा आधारित छन्। नयाँ पुस्ता कृत्रिम बौद्धिकता तथा हर्बल र जेम्स वेब टेलिस्कोपले देखाएको ब्ल्याक होल, निहारिका (nebula वा नेब्युला) को हदसम्म गएर धारणा बनाउँछन्। त्यस्तो धारणा बनाउँदा गौदान र प्रचलित कर्मकाण्ड प्रतिको धारणा कस्तो बन्छ?
जर्मन दार्शनिक इम्यानुअल कान्टले स्वतन्त्रता सकारात्मक र नकारात्मक हुने चर्चा गरेका छन्। चोरले घरमा पसेर पुर्पुरोमा पेस्तोल राख्दा चुप बस्ने स्वतन्त्रता नकारात्मक स्वतन्त्रता हो। चोरका विरूद्ध पुलिस बोलाउनु सकारात्मक स्वतन्त्रता हो।
त्यस्तै गरी नयाँ पुस्तालाई परम्परा जस्ताको तस्तै मान्ने वा नमान्ने स्वतन्त्रता छ। यो विषयलाई पूरै बेवास्ता गर्दा पनि हुन्छ। तर, नयाँ पुस्ताको गौदान जस्ता संस्कारको चासोलाई सम्बोधन नगर्नु पनि नकारात्मक स्वतन्त्रता हुन्छ। समाजप्रतिको उत्तरदायित्व बहन नगरेको ठहरिनेछ।
गाईको पुच्छर सहित जौँ, तील, कुस र पानी समाएर ब्राम्हणद्वारा मन्त्रोच्चारण गर्दै उक्त गाईलाई दान गरिन्छ। उक्त मन्त्रको सार अमुक ठेगानाको व्यक्तिले अमुक ठेगानाको ब्राम्हणलाई नगद दक्षिणासहित यो गाई दान गर्दैछु। यो दान गरे बापतमा मैले जान अञ्जानमा गरेका पापहरू कटिन्छन् भन्ने विश्वासमा यो दान गर्छु। जनजिब्रोको सर्वसाधारण जनताले बुझ्ने भाषामा भनेर गाई दान गर्दा जनतालाई धेरै दिन गुमराहमा पार्न सकिन्न भन्ने ब्राम्हण समुदायको सुझबुझ देखिन्छ। त्यसैले सर्वसाधारणले नबुझ्ने संस्कृत भाषा देवलोकको भाषा भन्ने किंवदन्ती कायम गरिएको छ। बृद्ध भएर अशक्त भएका व्यक्तिले पनि उक्त गाईले लात्ताले हानेर पुर्याउने चोटपटकको जोखिम लिएर पनि गाईको पुच्छर समाउँछन्। मरेपछि बैतर्णी नदी तरेर स्वर्ग जान पर्ने हुनाले जिवित हुँदाको जोखिमको उनीहरूलाई मतलब नै हुँदैन।
मानिसले जुन आस्थामाथि विश्वास गर्छ त्यही आस्थाका गुरूहरूले जे सिकाउँछन् त्यो नै उसका लागि सत्य हुन्छ। क्रिश्चियन, इस्लाम आस्थावान र भौतिकवादीका लागि बैतर्णी दानको अर्थ सत्य हुँदैन। तर, हिन्दू तथा सनातन आस्था मान्नेका लागि बैतर्णी सत्य हो। बुद्ध धर्मावलम्बीका लागि पनि बैतर्णी सत्य होइन। बुद्धले पुनर्जन्म हुन्छ भनेर त सिकाए तर संसारको उत्पत्ति र अन्त्यका विषयमा मौन बसे। बुद्धका अनुयायीहरूले मानिसले बुझ्न नसक्ने सन्सारको उत्पत्ति र अन्त्यका विषयमा सोच्नु दुख्ख पाउने एक कारण हो भन्ने मान्दछन्। बुद्धलाई थाहा त थियो तर चेलाहरूलाई संसारको सुरूवातका विषयमा बताउन चाहनु भएन, भनिन्छ। त्यसैले चेलाको प्रश्नमा उहाँ हासेर मात्र बस्नु भयो जवाफ दिनु भएन। त्यसैले बुद्ध अनुयायीहरूका लागि गौदानको सत्यता खोज्नु दुख्ख खोज्नु पनि हुनसक्छ।
अब हुर्कने पुस्ताले कम्प्यूटरको सहाराबाट पाउने चेतनाको स्तरमा आफ्नो धारणा बनाउँछन्। कम्प्यूटर पनि झन्पछि झन् नयाँ पुस्ताका रूपमा आर्टिफिसियल इन्टेलिजेन्सको पुस्ताका रूपमा चिनिएको छ।
अहिलेका केटाकेटीले नजानेको विषयमा आमाबुवा र शिक्षकलाई भन्दा बढी कम्प्यूटरलाई सोध्न थालेका छन्। त्यसैले मैले पनि उनीहरूले कस्तो ज्ञान हासिल गर्छन् भन्ने जान्न ‘च्याटजीपीटी’ लाई बैतर्णी दान किन गरिन्छ र यसको सत्यता के हो? भन्ने प्रश्न गरेँ। उसले यस्तो उत्तर दियो:
‘बैतर्णी दान वा बैतर्णीको दान नेपालमा प्रचलित एक परंपरागत रूपको दान पद्धति हो जसमा विधायिका बैतर्णीबाट परिसारमा बोलाइन्छ र त्यसले तपाईंको शुभकामनाहरूलाई बढाउँछ, ताकि तपाईं धन्य र भाग्यशाली हुनुहोस् भन्ने विशेष आशीर्वाद प्रदान गरेको मानिन्छ। यसले आशीर्वाद, सुख, शान्ति, धन, स्वास्थ्य, लाभ, श्रेष्ठता, र सफलता ल्याउँछ भन्ने धारणा रहेको छ।’
यो परम्परा सामाजिक, सांस्कृतिक र धार्मिक पृष्ठभूमिबाट परिचित छ र नेपालको विभिन्न क्षेत्रहरूमा अपनाइएको छ। हाम्रो समृद्धि, धन, र सुखको क्षेत्रमा बैतर्णी दानले महत्त्वपूर्ण भूमिका खेलेको छ, र यो धार्मिकताका साथै सामाजिक एवं सांस्कृतिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण मानिन्छ।
तथापि, यसको सत्यता वा वैयक्तिक विश्वास तथा धार्मिक दृष्टिकोणबाट आफ्नो समर्थन गर्ने व्यक्ति वा समूह अनुसार भिन्न हुन सक्छ। कुनै पनि दान वा पूजा पद्धति धार्मिक वा सामाजिक परंपराका आधारमा हुँदैछ र त्यसले विभिन्न धार्मिक र सांस्कृतिक समृद्धिमा योगदान गरेको मानिन्छ।’
त्यसैगरी ‘कोपाइलट’ भन्ने अर्को एआइलाई गौदान तथा बैतर्णीको सत्यता के हो? नेपाली भाषामा बताउनुहोस् भनेर सोध्दा उसले यस्तो उत्तर दियो:
गौदान र बैतर्णी हिन्दू धर्ममा प्रसिद्ध धार्मिक प्रथाहरू हुन्। यी प्रथाहरूको महत्व धार्मिक दृष्टिकोणबाट अत्यधिक मानिन्छ।
गौदान:
गौदान भनेको गाईको दान गर्नु हो।
गौदानलाई धार्मिक दृष्टिकोणबाट महत्वपूर्ण मानिन्छ।
बैतर्णी:
बैतर्णी पनि एक प्रकारको धार्मिक दान हो, जसमा नौजवान बैलोंको दान गरिन्छ।
यसको महत्व गाईभन्दा पनि अधिक हो।
गौदान र बैतर्णीले धार्मिक आदर्शहरूको पालन गर्दछ र यसले पुण्यदायक मानिन्छ।
आर्टिफिसियल इन्टेलिजेन्स पनि भर्खरै जन्मिएको हो, र हुर्कँदै छ। वैज्ञानिकहरू यसले दिनप्रतिदिन सिक्दै छ भन्छन्। ऊ छिप्पिँदै जाँदा उसले दिने उत्तरहरू पनि पक्कै खारिँदै जानेछन्।
सनातन परम्परामा हजारौं वर्षदेखि ज्योतिष शाष्त्र प्रचलनमा छ। मानिसले कम्प्यूटर बनाउन सिक्नुभन्दा पहिला दिमागका भरमा विभिन्न हिसाब गरिन्थ्यो। ज्योतिष शाष्त्र पनि एउटा हिसाब हो। पूर्वजहरूले जुन, तारा, सूर्य र अन्य ग्रहको स्थान गणना गरेर हिसाब गर्छन्। त्यही हिसाब गरेर एक वर्ष पछि हुने चन्द्र ग्रहण वा सूर्य ग्रहणको मिति र समय तोक्न सक्छन्।
औपचारिक शिक्षाको अवसर नपाएको ब्यक्तिलाई अर्को वर्ष लाग्ने ग्रहणको भविष्यवाणी गर्नसक्ने व्यक्ति भगवानको दूत जस्तै लाग्नु स्वभाविक नै हो। त्यसैले ज्योतिषको गणना जान्ने पण्डितले भनेका र सिकाएका सवै कुरा ईश्वरवाणी भन्ने लाग्छ। त्यसैले पण्डित वचन अनुसार बैतर्णी नदी तर्नका लागि गाई दान गर्न सोझो ब्यक्ति आतुर हुन्छ। पण्डित भने एक तल्लो वर्णको जातले भगवान्लाई छुँदा ग्रहण लागेको बताउँछ। सर्वसाधारणले त्यसैलाई विश्वास गर्थे। ज्योतिषले जस्तै कम्प्यूटरले गणना गर्ने नयाँ स्वरूप आर्टिफिसियल इन्टेलिजेन्स हो।
अब हुर्कने नयाँ पुस्ताले ग्रहण लाग्ने समय र दिन ज्योतिष शाष्त्रले भने जस्तै भेटाउँछ। तर, उसले ग्रहण लागेको कारण पृथ्वी, सूर्य र चन्द्रमाको घुमाइको हिसाबका रूपमा छाँया परेको भन्ने बुझ्छ। अझ सन् १९६९ मा निल आर्मस्ट्रङ चन्द्रमामा पुगेर फर्किएपछिका पुस्ताले पण्डितका कुरामा प्रश्न खडा गर्न थालेका छन्। तर, नयाँ पुस्ताले अब भने नबुझेका कुराको ज्ञान सिक्न पण्डितलाई सोध्न छाडेका छन्। पण्डितको सट्टा कम्प्यूटरलाई सोध्ने गर्छन्।
कम्प्यूटरले मरेपछि यमलोक जान बैतर्णी नदी तर्नु पर्छ भन्ने विषयलाई सत्य मान्दैन। त्यसैले गौदान गरेर स्वर्ग पुग्ने कुराका विषयमा नयाँ पुस्ताले विश्वास गर्दैनन्। सनातन धर्मको आस्था जोगाउने हो भने पण्डितहरूले कथनहरू समयसापेक्ष रूपमा सच्याउनुपर्छ। निरक्षर समाजमा मान्छेको चित्त बुझाउन दिइएका पण्डितका उत्तर अहिले गलत सावित भएका छन्।
तर, पण्डितका सबै कुरा झुटा हुन् भनेर प्रमाणित गर्न वैज्ञानिकहरू असमर्थ छन्। वैज्ञानिकहरूले असत्य भनेर प्रमाणित गर्न नसकेका विषय पण्डित वाणीका रूपमा अझै पनि बिक्न सक्छन्। तर, वैज्ञानिकका कुरा पत्याउने नयाँ पुस्तामा सनातन आस्था जोगाउन चाहने पण्डितहरूले गौदानको अर्थ समय सापेक्ष हुने गरी पुनर्ब्याख्या गर्न जरूरी छ।
Published on nepallive.com