दुर्इ धर्के अनुभूतिः
प्रसंगः भ्याक्सिन पछिको कोरोना संक्रमण
दुर्इ धर्के ल्याटरल फ्लो टेस्टले ककहरा पढ्दाको 'तीन धर्के ण'को सम्झना गरायो । मेरो अधिल्लो पुस्तालार्इ मेरो पुस्ताले जसरि उछिन्दै गयो, त्यसै गरी तीन धर्के 'राा' लार्इ 'ण' ले प्रतिस्थापित गर्यो ।
स्वस्थानीमा तारकासुरको डरले त्राहिमाम भएका देवहरू भन्दा बढि मानिस कोभिडबाट नतमस्तक भएकाबेला वैज्ञानिकले बनाएको यन्त्र हो ल्याटरल फ्लोको दुर्इ धर्के परीक्षण यन्त्र । घरमै कोभीड परीक्षण गर्न सकिने माध्यम हो यो भाँडो (टुल) । बन्दीखाम भित्रको एउटा सुइरो नाक र घाँटीको फेँदैसम्म ठेल्यो ६ थोपाको झोलमा डुबायो । एकै छिनपछि दुर्इ थोपा झोल अनो(हलो) रूपी तीन इन्चको खोपीमा झार्यो, पर्ख्यो ! एक धर्को भए बच्यो, दुर्इ धर्को देखिए सुरूभो त्राहिमाम !
यो परीक्षणबाट कोभीड भाइरस शरीरमा थोरै भए दोस्रो धर्को मधुरो हुँदो रहेछ भन्ने अनुभव रह्यो । शरीरमा भाइरस फैलँदै गएपछि दोस्रो धर्को पनि चहकिलो हुँदै जाँदो रहेछ । आँखाले नदेख्ने, इन्द्रीयले नखुट्याउने तर शरीरमा प्रभाव पार्ने भाइरस चिन्न सक्ने यन्त्र बनाउन सक्ने बैज्ञानिकको सय जिब्रा भएका नागले पनि प्रशंसा गर्न के सक्लान र ? म मनुवाले के सकुँला र ! अघिल्लो हप्ता रूघाले नाक बगायो तर खासै सताएन । छोरी र श्रीमतीज्यूले अस्पतालमा काम गर्ने हुनाले एनएचएस(नेशनल हेल्थ सर्भिस,यूके)ले सित्तैमा दिएको धर्के यन्त्र घरमै थियो । बुधवारका दिन सवैले परीक्षण गर्यौँ । मेरो र छोरीको एक धर्को र श्रीमतीको हल्का मधुरो दोस्रो धर्को पनि देखियो । हत्तनपत्त पीसीआर परीक्षण बुक गरेर बुढाबुढीले स्याम्पल दिएर फर्कियौँ । उहाँको आइसोलेशन सुरू भयो, मेरो संशय । भर केवल शरीर भित्र छिराइएका भ्याक्सिन(मेरो दुर्इ र उहाँको बुस्टर समेत) को प्रतिरक्षाको रह्यो । त्यसैले आँट पनि जगाएकै हो । भ्याक्सिन कति कारगर छ, साच्चै कारगर हो कि जालझेलको ब्यापार भन्ने अनुभवबाट छुट्याउने जमर्को पनि गर्ने मन भयो ।
सुक्रबार धर्के यन्त्रले मेरो पनि मधुरो दोस्रो धर्को देखायो । बुघवारको राति नै कोभिड पोजेटिभ भनेर श्रीमतीज्यूको रिजल्ट आएपनि मेरो भने विहिवार साँझ बल्ल स्पष्ट गरी परीक्षण हुन नसकेको इमेल प्राप्त भयो । सनिवार विहान धर्के यन्त्रले मेरो दोस्रो धर्को पनि चहकिलो देखायो । नदेखिने भुसुनो शरीरभरि फैलिएछ भन्ने निधो गरेर आइशोलेशन पनि सुरू भो । पीसिआरको लागि दिएको स्याम्पलको परिणाम भने यी हरफ कोर्दासम्म पाएको छैन ।
अधिल्लो हप्ताको रूघामा हाच्छिउ, खोकी र नाक बग्ने भएको थियो । सुक्रबारदेखिको कोरोना असरमा भने खोकी ठ्याक्कै छैन, दुर्इ तीन पटक हाच्छिउँ बेहोरेँ । शनिवार विहानसम्म शरीर फुर्तिलो थियो तर दिउँसोबाट सिटामल हरेक चार घण्टामा खाँदा पनि हल्का भने भएको छैन । धेरै अप्ठेरो पनि भएको छैन । सुनेको र पढेको अनुभूतिहरूमा कोभिडको लक्षण भनेर खानाको स्वाद नहुने चर्चा थियो । तर, त्यो अनुभव भएको छैन । सधै भन्दा बढि नै भन्न धरमर भए पनि भोकमा कमी आएको छैन । खानाको स्वादमा कमी हामी दुवैले महसुस गरेका छैनौ । छोरी लगायत अरू परिवार सदस्यको पीसीआर परीक्षणमा नेगेटिभ परीणाम प्राप्त भएको छ ।
पीसीआर परीक्षणको पनि मेरो नयाँ अनुभव रह्यो । टेस्ट सेन्टरमा पुग्दा टेस्ट बुक गरेपछि प्राप्त इमेलको बारकोड सहित परिचयपत्र (आइडी) देखाएपछि ती कर्मचारीले कालो प्लास्टिकको थैलो दिए । छेवैँको स्टिल सङको मोटो किलोको तल्लो भागमा उठेको खुड्किलामा दायाँ खुट्टाले लचक्क थिच्दा निस्केको सेनिटाइजर हातमा दलेर चार खुड्कीला सिढी चढ्दा त्यहाँका कर्मचारीले स्वागत गर्दै छ नम्बरको तीनधेरै क्याबिन तोकिदिए । भित्तामा लेखिएका निर्देशन पछ्याउन अनुरोध गर्दै सहोगका लागि आफू तत्पर रहेको अनुरोध सहित उनि अलि उता उभिए । हातमा पञ्जा, नाकमुखमा मास्क लगाएर कोभिडको नदेखिने किराबाट जोगिने उपाए गरेर उनी बसेका रहेछन् ।
भित्ताको निर्देशन हेर्दै लिफाफा खोलेँ, सुइरो घाँटी र नाकको जरैसम्म पुर्याएर ढुङ्ग्राभित्रको झोलमा डुबाएर आधा सुइरो भाँचेर बिर्को लगाएँ । कालो लिफाफा भित्रको ट्रान्सपरेन्ट लिफाफामा ढुङ्ग्रो हालेर सिल प्याक गरेँ । स्यानीटाइजरको सानो पोको त्यातेर हातभरि दलेँ । फाल्टु भएका लिफाफा छेउँको बीन डिब्बामा छिराएर अघि बढ्दा क्याबिन भित्र बसेकी कर्मचारीले इमेलको बारकोड र ढुङ्ग्रो छिराएको लिफाफाको बारकोड स्क्यान गरिन र खोपी खोलेर डिब्बामा खसाल्दिन भनिन । धन्यवादको आदान प्रादन सहित विदा भएर घर पुगेँ, तथा आइसोलेशन सुरू भयो । |