चुक्कुल नै थिएन !! (साहित्य)
– गोविन्द बेल्वासे
बेलायत पुगेर कोठा भाडामा पाएपछि सामान थन्काएर सुत्ने बेलामा ढोकामा चुक्कल लाउन पर्यो भनेको त चुक्कल नै थिएन । अल्लि अघि ट्वाइलेट भित्र छिर्दा पनि भित्रबाट चुक्कल खोजेँ । भेटाइन । चुक्कल नै थिएन । यूनिभर्सिटीको यूनियनमा विद्यार्थीलाई कोठा भाडामा दिनेहरुको लिस्ट र फोन नम्बर सूचना पाटीमा टाँसिएको रहेछ । त्यसैबाट फोन गरेर उनको घरमा पुगेर कोठा भाडामा लिएको थिएँ । दुई दिन पछिको कुरा हो, चुक्कल नलगाइ दीर्घसंका (ट्वाइलेट) गर्दै थिएँ । ढोकामा ट्वाक...ट्वाक... को आवाज आयो । अलि हतारिएर कर्म टुङ्गाएर निस्कँदा घरभेटी अलि कुप्रि परेर कुरिरहेका रहेछन् ।
उनले हतारिँदै भने ‘सरी.., आई वाज डाइङ’ उनले छेरौटीले अत्याएर खटाउनै नसक्ने स्थितिले गर्दा ढोका ढक्ढकाएकोमा माफि माग्दै गरेको भाव बुझिहालेँ । कनि कुथी अङ्ग्रेजीमा सम्बाद गर्न सक्ने भए पनि स्थानीय बोलीचालीको लवज सिक्ने मेरो राम्रो आवसर पनि भएको थियो, उनको त्यो लवज । बेलायत पुगेको भरखर केही दिन मात्र त भएको थिए ।
भाषाको कुरा भन्दा पनि त्यो ट्वाइलेटमा भित्रबाट अड्काउने छिस्किनी मैले भेटाउन नसकेको हिनताबोध भित्र कुम्सिरहेको थिएँ, म । उनले ढोका नढकलेर ट्वाक..ट्वाक पारेको आवाजबाट मलाइ छिटो ढोका खोल्न अत्याएका थिए । उनको ट्वाक...ट्वाक...को मतलव बेलायतका खैरेका घरमा चुक्कल नै हुँदोरहेनछन् भन्ने बुझेर ढुक्क भएँ ।
अँझ आधा दशकपछि ऋण–धन गरेर बेलायतमा खैरेको घरलाई आफ्नो भन्ने बनाएर घर किनेपछि भित्र पस्दा न ट्वाइलेटमा चुक्कल थियो, न कोठाहरुमा नै छिस्किनी थिए । घर किन्ने भनेर हेर्न आउँदा चुक्कलको ख्याल नै गरिएन छ । घर सरेको पहिलो दिन त सामान थन्काउँदा थन्काउँदै चुक्कल किन्न जाने समय पनि मिलेन । भोलिपल्ट भने पहिलो महत्वपूर्ण काम भनेको चुक्कल र पेचकस किनेर ल्याएर पाइखानामा चुक्कल ठोक्नु नै भयो ।
जन्मन त म तराइमा जन्मिएँ । सुत्केरी अवस्थाबाट अलि तङ्ग्रिएपछि आमा घोँडामा र मलाई डोकामा बोकेर पहाडको घरमा लागिएको थियो रे । त्यस पछि म पहाडमा हुर्किएकोले मैले सम्झने जीवनमा सवैभन्दा पहिला देखेको चुक्कल भनेको हाम्रै गाउँका कर्मिले बनाएको ढोका भित्रको काठको आग्लो र ढोका बाहिरको साङ्लो हो । मुल ढोकामा साङ्लो लगाएर कुचीले बन्द गर्न मिल्ने गरी बनाइएको थियो । गोलो पारेको र बीचमा कुची पसाउन मिल्ने साङ्लोको एउटा टुप्पो छिराउन मिल्ने गरी संघारमा ठोकिएको भाग र ढोकाको दुईटै कप्टेरामा साङ्लाको अर्को टुप्पो जडान गरिएको थियो । दुईटै कप्टेराको साङ्लाका टुप्पा जोडेर सङ्घारमा ठोकीराखेको भागमा छिराएर बन्द गर्नेगरी बनाइएको थियो । भित्र पट्टिको आग्लो भने ढोकाको एउटा कप्टेरो तिरको काठको कप्टेरो सारेर अर्को कप्टेरो भित्रको बीचमा प्वाल पारेको काठकै भागमा छिराएर ढोका बाहिरबाट धकेलेर खोल्न नमिल्ने गरी लागइएको हुन्थ्यो ।
मधुस भनेको गाउँकै उत्पादन भएको काठको बाकस हो । आमाको मधुसमा माथिबाट ढप्काएको कप्टेरामा झुण्डाएको साङ्लो पनि ढोकाको जस्तै फलामे प्वालमा छिराएर कुची झुण्डाइएको हुन्थ्यो । त्यो मधुस अझै पनि हाम्रो तराइको घरमा सुरक्षित छ । त्यो कुची अहिले बजारमा पाइने विभिन्न प्रकारका ताला (लक) भन्दा अलि भिन्दै थियो । स्थानीय इन्जिनियर (कामी)ले आरनमा फलाम तताएर रातो पारेपछि घनले ठोकेर बनाएको फलामको कालो रङ्गले मजबुतीको ध्वास देखाए जसरी झुण्डिएको हुन्थ्यो । त्यसको साँचो पनि झण्डै आधा पाउ जति त हुन्थ्यो । साचो र कुचीको पुरै वजन त आधा किलो भन्दा धेरै नै थियो होला । अहिले त्यो कुची हाम्रो घरमा छैन, कतै संग्राहलयमा त्यस्ता कुचीहरु सुरक्षित राखिएका होलान भन्ने अनुमान गरेको छु ।
हाम्री आमाको बहुमुल्य बस्तु सुरक्षित राख्ने मधुस जस्तै राजा महाराजाहरुको फलामका तिजौरी हुने गर्थे । हालै भारतको उत्तर प्रदेशको रामपुर जिल्लाको एउटा तिजौरी (फलामे बाकस) खोल्न अदालतले आदेश त दियो तर गैस कटरले समेत खोल्न नसकेर फर्किए । पछि अदालतले वेल्डरलाई खोल्ने जिम्मा दिए पछि गत हप्ता ७ मार्चमा बल्ल खुल्यो । तिजौरीको ताला खोल्न नसकेपछि जसरी भए पनि खोल्न लाग्दा भित्ताको कुनै पनि भाग खोल्न सकिएन । नवाबका सन्तानहरुका बीचमा अंशबण्डाको झगडाले साचो हाराएको उक्त तिजौरी विषयको मुद्दाको फैसला भयो । त्यो तिजौरी भित्र रहेको अकुत सम्पत्ति १६ जनालाई बाड्न अदालतले खोल्ने आदेश दिएको थियो । तर, वेल्डरले बल्लबल्ल खोलेको उक्त तिजौरीमा कुनै पनि महँगो बस्तु भेटिएन । सन् १९२०मा चब कम्पनीले उक्त तिजौरी बनाएको थियो । आमाको मधुसको त्यो कुची पनि त्यस्तै बलियो देखिन्थ्यो । त्यो कुची कति मजबुत थियो त थाहा भएन, तर भावनामा भने मजबुत थियो त्यसैले त आमाको मधुसका सामान कहिल्यै चोरी भएनन् । घरपरिवार र घरधन्धाको काम सघाउने सवै ब्यक्तिका लागि कालो रङको त्यो मधुस अकुत धनराशिले भरिएको भन्ने बुझाइ थियो । बुवाकी खजाञ्ची (क्यासियर) पनि आमा हुनुहुन्थ्यो र मधुस उहाँको सुरक्षित सेफ (तिजौरी) थियो ।
पहाडको घरमा मात्र होइन म स्कूल पढ्ने भए पछि तराइ बस्न थाल्दा पनि घरमा बलियो ताला खासै लगाउने चलन थिएन । साङ्लो अड्काएको ढोका खोलेर चोरी हुने डर हुन्थेन । त्यो गाउँले समाज नैतिक र चोरी गरे पाप लाग्ने धार्मिक भावनाले छपक्के भिजेको थियो त्यसैले सवै सुरक्षित हुन्थ्यो ।
पछि बुटवलमा घर बनाउन जग हालेपछि श्रीमती सिकिस्त विरामी भएपछि त्यो वर्ष घर माथि उठ्न सकेन । अर्को वर्ष घर बनाउन भन्दै जाँदा रातिमा आएर जगमा जोडिएका पिलरको लागि बाँधिएका फलामका छड काटेर चोरी गरेर लगेछन् । अर्को वर्ष काटिएका छडका टुप्पामा वेल्डिङ गरेर नयाँ छड जोडेर पिलर जडान गरेर घर बनाउन पर्यो ।
घर बनेपछि अलि वर्ष पछिको कुरा हो । बुटवलमा गर्मी धेरै हुने हुनाले घरको बरण्डामा खुला हावा छिरोस भनेर ग्रिल लगाएका थियोँ । राति हामी सुतेको समयमा त्यही बरण्डामा सुकाएका कपडा जति बाहिरबाट चोरले ग्रिलको प्वालबाट लामो लठ्ठी (सायद) ले तानेर चोरेर लगेछन् ।
पहाड र तराइका गाउँमा बसोबास हुँदाको सुरक्षित बातावरण बुटवलको बजारमा आउँदा हरायो । काठमाण्डौमा अझै अघिबाटै हराइसकेको थियो । तर, बेलायत पुग्दा खैरेको घरका कोठामा चुक्कल नहुँदा त्यही गाउँको सुरक्षाको झल्को दिलायो । त्यो भावना मनमा गडेर बसेको छ ।
|