Govind Belbase
<December 2024>
SuMoTuWeThFrSa
24252627282930
1234567
891011121314
15161718192021
22232425262728
2930311234
बुद्ध पौडेको खोलो
बुद्ध पौडेको खोलो


Listen


मेरो जन्मथलोबाट पूर्ब र पश्चिममा खोला छन् । पूर्बको खोला बुढ्ढी गाउँबाट नौ किलोमिटर परबाट बग्छ भने पश्चिमको खोलो एक किलोमिटर परबाट बाग्छ । दुबै खोला उत्तरबाट दक्षीण तिर बग्छन् । पूर्बमा रामघाट बग्छ, जसलाइ अलि माथितिर बाँडगंगा भन्छन् । भाँवरमा झर्नु अघि पहाडका खोँचमा बगुञ्जेल त्यसैलार्इ गंगा खोला भन्छन् । अलि तल तिर लक्ष्मणघाट भन्छन् । पश्चिममा गुणुरूङ खोला बग्छ ।


पूर्वको रामघाटको ढिकैपारि पुरातात्विक महत्वको दरवार उत्खनन् भएको छ । त्यो त्यही दरबार हो जहाँ गौतम बुद्धको बचपन वितेको थियो । तिलौराकोटको त्यो दरबार बुद्धका बुवा सुद्धोधनको राजदरबार थियो । उनको कपिलबस्तु राज्यको राजमहल हो, त्यो उत्खनन् गरेर भेटाइएको अवशेष । हो, त्यही राजदरबारमा बुद्ध हुर्किएका हुन् । त्यहीँको आँगनमा खेले हुन बुद्ध । छेउँको रामघाटको रहमा पौडी पनि खेले हुन् । बचपनमा त उनी पनि चलचल नै हुँदाहुन । भन्न त भारतले शुद्धोधनको दरबार भनेर भारतको भूमिमा कपिलबस्तु दरबार रहेको दावी पनि गर्दै आएको छ ।


मेरो जन्मथलोबाट नौ किलोमिटर पूर्बको त्यो दरबारलार्इ बायाँ पारेर मेरो जिल्लाको सदरमुकाम तौलिहवा जाने गर्छु म । स्कूल पढ्न घरबाट चामल, तेल र सिन्की लिएर त्यही बाटो सदरमुकाम धाएर नै मेरो बचपन वित्यो । हिउँदमा त जुत्ता मोजा खोलेर पाइन्ट माथि सारेरै पनि त्यो रामघाट तर्न सकिन्थ्यो । बर्षामा भने डुङ्गा (नाउ)मा तर्न पर्थ्यो । बार्षिक बालीघरे हुन्थे डुङ्गा तार्ने मल्लाहहरू । माघमा खलाबाट धान भित्रिने समय पारेर हेरक वर्ष उनीहरू बाली उठाउन हाम्रा गाउँमा पनि आउने गर्थे । उनीहरूले हाम्रो घोँडालार्इ पनि खोला तार्नु पर्ने हुनाले अरू घरबाट लिने भन्दा हाम्रो घरबाट धेरै धान लैजान्थे । टेस्ला कार तथा मोटरसाइकल होइन घोँडा चढ्ने जमाना थियो हाम्रो बचपन । उसबेला पनि सात सय घर भएको बाक्लो गुचुप्पको गाउँ भएकोले हाम्रो गाउँबाट मल्लाहहरूलार्इ राम्रै आमदानी हुन्थ्यो ।


हाम्रो गाउँको उत्तरबाट हिजोआज मोटर गुड्ने महेन्द्र राजमार्ग उतिखेर बनेकै थिएन । अहिले त रामघाटमा पनि पुल बनेको छ रे । न बर्षामा नाउ तर्न पर्ने न त छत्ल्या टत्ल्याङ पानी पार्दै खुट्टा भिजाएर खोला तर्न पर्ने अवस्था छ अहिले । तर, रोजगारी हराएका मल्लाहका सन्तानहरू कहाँ छन् कुन्नि ? कुनै अरू पेशा भेटाएका छन् कि ! बैदेशिक रोजगारमा मिसिएकाछन् भन्ने विषयमा म अनभिज्ञ छु ।


त्यो जमानामा हाम्रो जिल्ला सदरमुकाम तौलिहवामा बुधबार र शनिवार हाटबजार लाग्थ्यो । मैले दश कक्षासम्म पढेको स्कूल पनि त्यही कपिलबस्तुको सदरमुकाम मै छ । गाउँलेहरू बोरियामा धान बोकेर हाटबजार जान्थे । धान बेचेको पैसाले मट्टितेल तथा फरूवा, फाली र हसियाँ इत्यादि बनाउने फलामका टुक्रा साथै बिँडी खान सुर्ती पनि किनेर त्यही खोला तर्दै फर्कन्थे । त्यसैले त डुङ्गा तार्ने मल्लाहलार्इ पनि बालिघरे आरन र हाँक हाल्ने चौकिदारलार्इ जस्तै हरेक घरबाट बार्षिक धान दिने गरी नियूक्त गरिन्थ्यो । तर रामघाटको मेला लागेको बेलामा ती डुङ्गा चढ्न छुट्टै पैसा तिर्न पर्छ । बार्षिक तिरेको धान दिएको छु भन्न पाइँदैन ।


रामघाटको मेला हिउँदमा लाग्ने हुनाले रामघाट खोलामा घाट मिलेको ठाउँमा घुँडा मुनि नै हुन्छ पानी । तर, रह भएको ठाउँमा भने पौडी खेल्न मिल्ने गरी पानीको गहिराइ हुन्छ । सानो छँदा बुङ्गै पनी भित्र गएर पौडी खेल्न सिकेको पनि त्यहीँ हो । त्यो मेलाका दुकान मेन्टोल बालेको उज्यालोमा खोला वरि र पारी दुवै तिर थापिएका हुन्थे । पानी कम भएको तर्न मिल्ने घाट पुग्न करिब १५ मिनेट माथि वा तल जान पर्ने हुन्छ । फर्कन पनि उत्ति समय लाग्छ । त्यसैले खोला तार्ने डुङ्गाको मात्र हैन हात्तीहरूको पनि राम्रो ब्यापार हुन्छ । मेला हेर्न पुग्नेहरूले एक रूपैँयामा हात्ती चढ्ने मौका जुराउँदै नदी तर्न पनि पाइन्थ्यो । हाम्रो छिमेकी गाउँका अलिरजाको हात्तीपनि माउतले ल्याएका हुन्थे । खोला तरेर हात्ती घुँडा मारेर बस्थ्यो । बसेको हात्तीमा मान्छे चढ्थे । खोला पारि पुगेर हात्ती उस्तै गरी बस्थ्यो र मान्छे उत्रन्थे ।


त्यस्ता मेला देशका धेरै ठाउँमा लाग्थे । एैरावतको मेला, विभिन्न गाउँका रामलीला, नौटङ्की त्यस जमानाका मनोरञ्जनका उच्च साधन थिए । कुरकुरै बैंसको बेलाका मेलाको चञ्चलता नै बेग्लै हुन्छ । सबैले त्यो बेहोर्ने नै हो । अलि लाज लाग्दा अनुभव, कतिपय सधै लुकाउन पर्ने त्यो उमेरका अनुभवहरू सवैका हुन्छन् होला । त्यस्ता प्रशंगहरू आफ्नै दौँतरीहरूसंग मात्र कुरा गर्ने सीमा भित्र बाँधिएका पनि हुन्छन् । त्यसैले भनिन्छ कुखुरे बैंश । त्यस्ता अनुभव केटाका मात्र हुँदैनन् । किनकि एक्लो हुने अनुभूति होइनन् तिनी । त्यो अनुभवका जोडी पनि हुन्छन् । तर, समाजले हामी केटालार्इ अलि आक्रामक हुन सिकाएको थियो । केटी साथीहरूलार्इ लजाएर केटा फकाउनु भनेर सिकाएको जस्तो लाग्थ्यो मलार्इ । मेरा साथीलार्इ पनि त्यस्तै हुन्थ्यो जस्तो लाग्थ्यो मलार्इ । अनुभव बटुल्दैजाँदा ती सामाजिक नियम परिवर्तन भएर लैङ्गीक समानता ब्यवहारमा कायम हुन अझै लामो अन्तराल छ भन्ने लाग्छ । कमसेकम अहिले सिद्धान्तमा त समानता स्वीकार गरिएको छ । उतिखेर त्यो पनि थिएन ।


आजकाल पनि हरेक बर्ष रामघाट मेला त लाग्छ रे । तर, पहिला जस्तो जमघट हुँदैन रे । सानो मेला लाग्ने गरेको छ भन्छन् साथीहरू । हामी संगै एसएलसी परीक्षा दिएका साथीहरूको हरेक शनिबार सामाजिक सञ्जाल फेसबुकमा जमघट हुने गर्छ । त्यही जमघट हुँदा रामघाट मेलाको जानकारी पाउन मौका जुट्ने गर्छ । उति बेला त हामी सवै साथी हरेक वर्ष त्यो मेलामा गएको रमाइलो गरेका छँडको सम्झना पनि रामाइलो छलफलको विषय हुने गर्छ । ती उट्पट्याङको रमाइलो त्यही उमेरमा मात्र हुनसक्छ । प्रेम चन्दले त्यही भएर त होला इदगाह भन्ने कथामा मेला हेर्न गएका केटाहरूले अरूका बारीका आँप ढुङ्गालै हान्दै हिँडेको प्लट जोडेका छन् । उनले उल्लेख गरेको त्यो प्लट म भन्दा अघिल्लो पुस्ताको थियो । अहिलेका केटाकेटीले पनि उट्पट्याङ त गरिहाल्छन् नि !


बुद्ध खेलेको आँगनका विषयमा छिमेकी देश भारतले पर्यटकलार्इ भ्रममा पार्न झेल्ली पनि गर्ने गरेको छ । हुँदाहँदा कति सम्म गरेको छ भने पहिला उत्तरप्रदशेमा 'नौगढ' भन्ने जिल्ला थियो । हामीले स्कूल पढ्दापढ्दै त्यो नौगढ जिल्लाको नाम बदलेर शिद्धार्थनगर भनेर नामाङ्करण गर्यो । कतिपयलार्इ भारतले बुद्ध जन्मेको स्थान लुम्बिनी भारतमा छ भनेर दावी गर्छ भन्ने भ्रम भएको पनि पाएको छु । विकलीपेडियाले त्यस्तै लेखेको पन छ । तर पुरातत्वविध, तथा भारत सरकारले बुद्धको जन्मथलो लुम्बिनी भारतकै भूमिमा परेको दावी गर्ने गरेको छैन् । लुम्बिनी हैन त्यही कपिलबस्तु दरबार भारतमा भएको दावी गर्ने गर्छ । हुन पनि शुद्धोधनको समयका केही उत्खनन् भारतको भूमिमा भेटिएको भन्ने कुरामा भने विश्वास गरिन्छ ।


शुद्धोधनको मूल दरबार त्यही रामघाटको ढिकमाथि भएको तिलौराकोटको भएको विशेषज्ञहरूको दावी छ । शाखा दरबारको रूपमा मौसम अनुसार केही समय उपयोग गरिने तत्कालीन निर्माण भारतको भूमिका भेटिएको हुनुपर्छ । जस्तो कि नेपालका राजाहरूको मौसमी दरबार पोखरामा पनि छ । मुल दरबार त नारायणहिटी नै हो । उत्खनन् गरिएको अवशेषका आधारमा उत्खनन् विशेषज्ञहरूले त्यही विश्वास गर्ने गरेका छन् । नेपाली भूमि लुम्बिनीमा अशोकले बुद्धको जन्मभूमि भनेर बनाएको स्तम्भ ढलेको अवस्थामा भेटिएको हो । उक्त स्तम्भ नेपालको भूमिमै भएकोले भारतले आफ्नो भूमिमा लुम्बिनी रहेको भनेर दावी गर्ने कुनै आधार बाँकी नभएकोले पनि त्यस विषयमा चुप लाग्न बाध्य भएको छ। छन त तिलौराकोटकै नजिक निग्लिहवामा पनि अशोक स्तम्भ रहेको छ । त्यसैले भारतले शुद्धोधनको दरवार भारतमा रहेको भनेर दावी पुष्टि गर्ने आधार छैन नै भन्दा हुन्छ । शुद्धोधन तथा बुद्धको जमानामा अहिले जस्तो भारतको र नेपालको दशगाज सिमाना भने थिएन । शुद्धोधनको कपिलबस्तु राज्य त्यसबेलाको भूभाग मध्यै अहिले केही भारतमा र केही नेपालमा रहेको छ ।


त्यही तिलौराकोटको पश्चिम बग्ने रामघाटमा काठकै चक्का गोरूले तान्ने लडिया (गोरूगाडा)का लस्कर पनि देखिन्थे । नदीको बालुवामा गोरूको बलले नपुगेर अघि बढ्न नसेका लडियालार्इ चालकहरू मिलेर धकेल्दै एक पछि अर्को लडिया नदीको डिलमा उकाल्थे । सवै चालकले एक अर्कालाइ सघाउँथे । नथ्थाले गर्दा नियन्त्रित भएका, घुघुरू लगाइदिएका र रङ्गीविरङ्गी मुङ्गाका माला लगाएर सजाइएका गोरूले फुर्तिसाथ लडिया तान्दै गरेका हुन्थे । ती गोरूका सिङ पनि तेल लगाएर चिल्लो पारेर गोरूको चमक बढाउन उसका मालिकले मेहेनत गरेको पनि प्रष्ट नै देखिन्थ्यो । जुटका बोरामा ८० किलोका धानका सात आठ वटा बोरा हालेर बजारमा बेच्न जाँदै गरेका हुन्थे । कतिपय गोरूगाडामा बाँसका घुमाइएका बारले छेकेर कपडाले ढाकेको भाग भित्र मालिकका पतोहिया(बुहारी) तथा माल्किनहरू माइत जाँदै गरेका पनि हुन्थे । कहिले काहीँ फर्कँदै गरेका पनि हुन्थे । जति बलिया गोरू पालेको छ त्यत्ति नै इज्जत बढेको महशुस गर्थे गाउँलेहरू । हौदीमा सानी खाँदै गरेका गोरूको झलकले किसानको इज्जत तथा रवाफ दर्शाउँथ्यो । मानौ कसैका घारीका हल गोरू अहिलेका फरारी कार सरहका हुन्थे, कसैका मर्सिडिज, कसैका बीएमडब्लू जस्तो सान दर्शाउँथे ।


खोलाको स्वरूप सधै एकनासको सान्त भएर कुलो र नहरमा बग्दै खेत सिँचेर मानव सभ्यता अगाडि बढाउने मात्र हुँदैन । बर्षाको भेल बनेर बिनास पोख्दै पनि हिँड्छ उ कहिले, त कहिले ढिक खसाल्दै मुलधार वर र पर गर्दै रौद्र रूप धारण गरेको पनि हुन्छ । जुन बर्ष बढि पानी पर्छ, बाढी उर्लेर आउँछ त्यस बर्ष खोला डर लाग्दो पनि बन्छ । नत्र, खोला हाम्रो जीवनको सहयोगी बन्छ । त्यस्तै उर्लेर त्यो रामघाट आफ्नो बगरको सिमाना नाघेर ढिक माथि चढ्दै पाङ्गो, हिलो र बालुवा बिछाएर गएहोला । वितेका पच्चीस सय वर्षमा पटक पटक त्यो रामघाट उर्लेर त्यस्तै हिलो र बालुवाले पुरेको रहेछ त्यो तिलौराकोटको बुद्ध खेलेको आँगन । उर्लेको भेलको धक्काले दरबारका परखाल हरू ढालेको थियो होला । अहिले उत्खनन् गरेर देखिने त्यो दरबारको अवशेष, इट्टा, इनारका डोबहरूले बयानगरे जस्तै मेरा कान गुन्गुनाइरहेका थिए, जब म हनुमान सरसंग त्यहाँ पहिलो पटक पुगेको थिएँ । मलार्इ पाउण्ड सिलिङ पेन्सका जोड घटाउका हिसाब र सब्जेक्ट, नाउन तथा भर्बको ग्रामर सिकाउने मेरा टिउसन गुरू हुन हनुमान सर । उनको नियमित आमदानी हुने जागिर त्यही तिलौराकोट दरबार उत्खनन सम्बन्धमा थियो । त्यसैले अरू साथीहरू भन्दा पनि पहिला मैले तिलौराकोट दरबारका अवशेष देख्ने अवसर पाएको थिएँ । तर पछि बेलायत पुग्दा हनुमान सरले हिसाब सिकाएको सिलिङ त बेलायती मुद्रामा भेटिएन । बीचको त्यो भागको प्रचलन हराएर पाउण्ड र पेन्स मात्र चलनमा रहेछ ।


पहिलो पटक जाँदा भग्नावशेषले दरबारको झलक प्रष्ट बोल्न सकेका थिएनन् । मायाँदेबीको भनेर गाउँलेले पुजागर्ने एउटा पुरानो भएको सानो मन्दीर मात्र प्रष्ट देखिन्थ्यो त्यहाँ । तर, त्यो मन्दीर पनि पच्चीस बर्ष पुरानो थिएन भन्ने मेरो केटाकेटी दिमागले पनि भनिरहेको थियो । हनुमान गुरूले त्यहाँ उत्खनन् गर्न जापनीजहरू आएका छन् भन्नु हुन्थ्यो । हामी डेबरा गाउँका मोटा आलीमा हिँड्दै स्कूल छुट्टी भएर घर जाँदा र स्कूल खुलेपछि फर्कँदा देखिएका टेन्टहरू उनै जापानीहरूका छहारी थिए । स्कूल पढ्दाको दशककै बीचमा गोरूगाडाका हाल (काठका चल्कामा बाहिरबाट बेरिएको फलाम)ले खनेर डोब बनाएको बाटो पक्की बाटो बन्यो । हामीले त्यस अघि नदेखेका यूरोप तिरका ओरालो ढलान गरेका छाना भएका दुइवटा म्यूजियम बने । तिलौराकोट दरबारमा भेटिएका माटाका भाँडादेखि महत्वपूर्ण सामाग्रीहरू त्यही म्यूजियममा राखिएका छन् ।


त्यो बाटो र म्यूजियम बन्नु अघि राजा बिरेन्द्र हेलिकप्टरको पङ्खाले उडाएको धुलो बिस्तारै साम्य भए पछि ओर्लेका थिए । हामी बैरका काँडा फाँडेर गोलाकार पारेको घेर बाहिरबाट कुर्कुच्चा उचालीउचाली राजा र रानी हेर्न आँखा नझिम्कार्इ हेर्दै थियौ । त्यो परिदृष्य दिमाग भित्र रेकर्ड गरिरहेका थियौ । घुर्इचोमा तछाडमछाड गर्न नसकिने भएकोले हामी त्यहाँ अरू भन्दा पहिला पुग्न परेकोले धेरै बेर कुरेपछि बल्ल राजारानी देख्न पाएका थियो ।


टिभी नै थिएन् त्यो जमानामा त्यसैले त्यस भन्दा पहिला राजा कस्ता थिए के था !!


Next part
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.