Govind Belbase
<December 2024>
SuMoTuWeThFrSa
24252627282930
1234567
891011121314
15161718192021
22232425262728
2930311234
घैँटालाइ रस्सीको पत्र
घैँटालाइ रस्सीको पत्र

पृय घैँटा

स्वांर-स्वांर, छत्ल्याङ-छुत्लुङ, छप्प, अभिवादन

तिमी त सञ्चै हौला भन्ने अनुमान गरेकी छु । म भने गलेर लथ्र्याक-लुथ्रूक भैसकेँ । तिमी पनि सधै बस्ने त्यो ठाउँबाट अत्नै सरेका छौ रे, भन्ने सुनेकी छु । त्यो भान्सा कोठाको कुनामा तिम्रो गोलाकार पिँद थपक्क बस्न मिल्ने गरी बनेको चिसो भूइमा तिमीलाइ बसाइन्थ्यो । तिलौराकोटको सुद्धोधनको भासिएको दरबारमा भेटिएका खपटा बटुलेर संग्राहलयमा राखे झैँ कतै तिमीलाइ पनि सजाएर राखिएका पनि हुन सक्छौ । पानीको आधुनिक धारोले तिम्रो अस्तित्व नै मेटाइ सक्यो रे भन्ने खबर पनि यताको मिडियाले प्रशारण गरिनै रहन्छन् ।

हैन हो ? संझिएका छौ कि विर्सियौ ? हामी त धेरै सताब्दी संगै विताएका जोडी पो हौँ त हो। त्यसैले तिमीले मलाइ विर्सिएकै हौ भने त पाप पनि लाग्ला है ! तिमीसंग जबरजस्ती पारपाचुके गरिदिएर मान्छेले मलाइ घारी (गोठ)को छेउँमा झुण्डाइ दिएका थिए । कहिले माकुराले जाल लगाउँदै कालीकुती लगाइ दिन्छन्, कहिले मुसाका खस्रा नङले कोतर्दै खुरूर्र.. दगुर्दा मेरो त आङ नै सिरिङ्ग हुन्छ । जीउमा काँडा जिरिङ्ग उठेर आउँछ । अनि तिम्रो घाँटीमा मेरो अङ्गालोले चरप्प पारेर इनारमा पानी भर्न पठाएको रोमाञ्चक छँडहरूको लहरो संझिएर अत्यास लागे पछि यो पत्र लेखिरहेकी छु । यो पत्र हात पर्यो भने एक पटक मलाइ पनि संझनु है । आजभोलि त मान्छेले हामीलाइ विर्सिएर स्मार्ट फोन समाएर झुण्डिएका हुन्छन् रे । मेरो सहाराले तिमीलाइ झुण्ड्याएर इनारमा झारेको र तिमी झुण्डिएको त उनीहरूलाइ संझना पनि छैन होला जस्तो लाग्दै छ ।

तिमी मसंग रिसाएको त्यो दिनको पनि संझना आइरहेको छ । तिमी त्यसबेला निकै धेरै रिसाएको हुनाले त्यो संझना तिमीलाइ पनि हुन सक्छ । तिमी र म दुवैका मालिकले एक दिन टिनको बाल्टी किनेर खन्द्राङखुन्द्रुङ पार्दै ल्याएका थिए । तिमीलाइ घरमै छाडेर झुण्डिएको ठाउँबाट मलाइ झिकेर हल्लाउँदै इनार तिर जाँदा तिमी बाल्टीलाइ जारका रूपमा ब्याख्या गर्दै रिसाएका थियौ । द्रोपतीका पाँच पति झै एउटै रस्सीका घैटो र बाल्टी गरी दुइ पति बनाइदिएकोमा तिमीलाइ चित्त बुझेको थिएन । विचरा घैँटा, तिम्रो कुनै जोडबल नचले पछि रिसाएर फुटिदिएका थियौ । तिमी फुटेर टुक्रँनु भन्दा अघिल्लो दिन बाल्टीमा भरेर ल्याएको पनी तिम्रो मुखबाट खनाएर तिम्रो पेट भरेका थिए । महिना पुगेकी गर्भवती महिलाको जस्तै तिम्रो पुटुस्स निस्किएको पेटमा पानी भर्दा निस्किएको आवाज सुनेर मेरो शरीर त उत्तेजित नै भएको थियो । त्यो ध्वनि साह्रै रमाइलो थियो । मनै फुरूङ्ग पार्ने । कोइलीको कुहुँ-कुहुँ को ध्वनि भन्दा बढि मलाइ त तिमी भरिँदा निस्कने स्वरले नाचु-नाचु लाग्थ्यो । तिम्रो घाँटी भरिँदै गर्दा त्यो स्वरमा गायकले आलाप फेरेझै भिन्नता सुनिन्थ्यो । गीतमा हरकत मिसाए झै लयदार सुनिन्थ्यो । त्यही स्वरमा सुनिने हरकतले गर्दा मालिकले घैँटामा पानी भरिँदै गएको भान पाउँथ्यो । मालिक्नीले अगेनामा उम्लन थालेको दुध डाडुले चलाउँदै, अर्को हातले अगुल्टो बाहिर तिर तान्दै 'ए बुढा पोखिएला है' भन्दै आफ्नै पतिलाइ सचेत गराउँथिन ।

बजारबाट किनेर ल्याएको बाल्टी घरमा भित्रिएको रिशमा तिमी फुटिदिएपछि मालिक कुमालेकोमा गएर अर्को घैँटो किनेर ल्याइदिएका थिए । कुमालेलाइ दुइ पाथी धान दिएर साटेका थिए । तिम्रो घाँटीमा बेरिन मलाइ बानी परेको थियो । नयाँ घैटाको घाँटी खर्सो रहेछ । तै पनि नबेरिइ सुख्ख थिएन । केही दिनमा त उनको घाटी पनि मेरो अङ्गालोमा बेरिँदाबेरिँदा चिल्लो भएको थियो । म बेरिएको सहारामा तिमी पानीमा डुब्दा तिमी तिरको मेरो टुप्पो भिजेर लछप्पै भएको थियो । नवदम्पती पहिलो रातमा थाकेपछि निस्किएको पसिनाले लछप्पै भएका हुन कि जस्तै भिजेकी थिएँ । मालिक्नीले हातले चरप्प पारेको टुप्पो भने ओभानो नै थियो । उनका दर्बिला हातको कहिले दयाँ हातले र पालै पालो कहिले बायाँ हातले चरप्प पारेर पानी भरिएको गरूङ्गा तिमीलाइ माथि तान्थिन । मालिक्नीले मलाइ तान्दा म भने तिमी मलाइ छाडेर तल झर्छौ कि भन्ने डराइ डराइ सुर्के गाँठोले अठ्याउँथे । कहिलेकाहीँ म गलेर चुडिन्थे । नयाँ डोरी लगेर तिमीलाइ झिक्न मालिक पानीमा झर्थे । पानीभित्र खोतलखालत पारेपछि झिकेर माथि ल्याउँथे । सेवा गर्दागर्दा गलेर फतक्क भएको मेरो शरीरमा गाँठो पार्थे र अलिदिन तिमीलाइ डुबाउने र बाहिर झिक्ने खेलको सहारा बनाउँथे । गलेर चुडिँदा पनि हत्तपत्त कहाँ छाड्छन र मालिकहरू ? गाँठाले पनि धान्न छाडेपछि बल्ल तिम्रीलाइ अर्को साथी खोजिदिन्थे । मलाइ मल्खातामा मिल्काइ दिन्थे । त्यसैबेला बार्दलीमा झुण्ड्याएको ट्रन्जिस्टरमा गीत बज्थ्यो "यस्तै रहेछ यहाँको चलन..." ।

मालिकले दुइपाथी धान धोक्रोमा बोकेर कुमालेको घरमा पुग्दा तिमी त्यो चक्रमा घुम्दै रहेछौ । सिप मिलाएर मुछिएको चिप्लो माटोको डल्लो बनेर कुमालेको चक्रमा खेलिरेहा थियौ । कुमालेले डण्डी समाएर चक्रको दुलोमा छिराएपछि घुमाएको चक्र अलिबेर आफ्नै लहरमा लहराउँदै घुमिरहँदा कुमालेका औँलाका बान्कीदार मिचाइमा तिमीले आकार पायौ । बुट्टेदार रूप बन्यो । पेट फुलेर पैसा कमाएपछि मोटाएको साहुको भूँडी जस्तो पुटुस्स भयो । अलिदिन घाममा सुकेर रमाउँदा रमाउँदै आगोको भट्टीमा पोलिएको पीडा संझँदा भने पीर लाग्छ । तर पीर नगर त्यही आगोको रापले तिमीले रूप पायौ, मलाइ लोभ्याउने लालित्य स्वरूप बनायौ, बजारमा बेच्न राखेको देखेर ग्राहकले सोध्दा कुमालेले ट्वाङट्वाङ बजाउँदा मीठो ध्वनि निकाल्ने सिप जन्मायौ । मलाइ पनि साह्रै निर्धो त नठाने पनि हुन्छ, भो । म पनि नयाँ नयाँमा त जर्खरिएकी पो हुन्थेँ त । जोरी नखोज्ने पनि कहाँ हो र ? तर, परिस्थितिले गलाउँदै गए पछि हार खाएर चुँडिन्थेँ । नत्र त इनारमा तेर्साएको काठपनि घोट्दा घोट्दा आफू अटाउने डोब बनाइदिन्थेँ । हुन त तिमी पनि कम्ता कडा त कहाँ हौ र ! उत्तर कुवाँमा गाउँलेले सिमेन्ट दलेर चिल्लो पारेको सम्मोमा पनि तिम्रो पिँद घोटिँदा घोटिँदा तिमी नढल्किकनै थप्प बस्न मिल्ने डोब बनाएका थियौ । गहिरो इनार छेउँ राखिएको ढुङ्गोमा पानी भरिएको तिम्रो भारिलो ज्यानले घोट्दा घोट्दा उस्तै डोब बनाइसकेका थियौ । भलै त्यस अन्तरालमा तिम्रा थुप्रै जुनी फेरिए । म धेरै पटक गलेर गाँठा पारिपारी जोडिएँ । बेलाबखत फेरिएँ । समय वित्दे गयो त्यो इनारको खेल इतिहासमा रूमल्लियो र हाम्रा कथाहरू लेखिए । ती कथाहरूमा मान्छेले हाम्रो अस्तित्व पनि अलि पुस्ता त सम्झेलान नि है ? हुन त तिमीले मलाइ संझिरहेकै छौ भन्ने पनि ग्यारेन्टी त कहाँ छ र ! तर पनि मनको बह पोख्न भने भ्याइहालेछु ।

सनको रस्सी पानीमा भिज्दा गन्हाउने भएर होला, पहाडको बाबियो काटेर मेरो चुल्ठो बाटि दिन्थे । भर्लाको बोक्राको जुर्रो जर्फराउने भएर साइत नजुराएका होलान । म पनि कोरीबाटी चुलठी सिङ्गारिएकी छु भन्ठानेर गोलाकार मुठो बनेर मालिक्नीको हातमा झुण्डिएर इनार जान्थेँ । उनको कम्मरमा तिमी थपक्क बसेर, उनकै अङ्गालोमा बेरिएर इनार जाँदा म कम्ता डाहडिने गर्थेँ र ? तर के गर्नु मालिक्नीले घेँटालाइ माया गरी मलाइ झुण्डाउँदै हिँडी भनेर जति उजुर गरेपनि सुनिदिने कोही भए पो ! इनार पुगेर मेरो टुप्पोको सुर्के गाँठोले तिम्रो घाटी बेरेर चरप्प अठ्याउँदा भने दाम्पत्य जीवनको रमाइलो भनेको यही नै होला भनेर सन्तोष मान्थे । समयले फड्को मारेपछि त्यो पनि हरायो । त्यसैको संझनामा लेखेको यो पत्र झर्को नमानी पढिदिएमा पनि म त बैतर्नी पार हुन्छु भन्ने आशा छ ।

तिम्रो संझनामा बैरागिएकी,

तिमीलाइ सधै माया गर्ने

इनारको पानी तान्ने रस्सी
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.