अतीत
>– गोविन्द बेल्बासे
धेरै वर्षअगाडिको कुरा हो । डिजिटल प्रविधि र आणविक शक्तिबाट मानिसहरु सुविधासम्पन्न भएका थिए । तर एक पटक अन्तरिक्षबाट एउटा ग्रह आएर पृथ्वीमा ठोक्कियो र सबै भताभुङ्ग भयो । सबै प्रविधिबाट उपलव्धिहरु हराए । तर त्यो ग्रह पृथ्वीमा ठोक्किने समयमा एउटा प्लेन पृथ्वीबाट ३६ हजार फीटमाथि उड्दै गरेको थियो । त्यसैमा उड्दै गरेका चिन्तामणि र सुप्रियाले प्लेन पृथ्वीमा ल्याण्ड गराउँदा पृथ्वीमा हरियाली पनि थिएन । त्यो प्लेनमा उनीहरुमात्र थिए । शहर–बस्ती बाटो र सबै सुविधा नष्ट भएको थियो ।
प्लेनबाट निस्केर पानीमा पौड्दै सुप्रिया नदीको डिलमा आइपुग्दा चिन्तामणि डिलमा पहिले नै पुगिसकेका थिए । चिन्तामणिले आफ्नो हातअगाडि बढाए । सुप्रियाले उनको हात समातिन् र त्यही हातको सहाराले उनलाई नदीको पानीबाट जमिनमा उक्लन सजिलो भयो । दुवै जनाको शरीरबाट पानी झर्दै गयो । उनीहरु ठिङ्ग उभिएर प्लेनतिर हेरे । पानीमा सत्रङ्ग परेको प्लेनमा पानीका छालहरु ठोकिँदै थिए ।
>उनीहरु उभिएको जमिन पनि भिजेको थियो । सुप्रियाले भनिन् 'पृथ्वीमा सबै ध्वस्त भएछ, हामी दुई जना मात्रै बाँचेका छौँ जस्तो छ ।' चिन्तामणिले उनको कुरामा सहमति त जनाए तर अरु कुनै कुनामा अरु कोही पनि आफूहरुजस्तै बाँच्न सफल भएको हुन सक्छ भन्ने तर्क गरे ।
>तर कहिँ कतै अन्यन्त्र कोही जीवित भए पनि सम्पर्क गर्न कुनै साधन थिए । न त मोवाइल फोन थिए, न त इन्टरनेटका च्याटरुम । उनीहरु दुवै जनाले पनि मोवाइलफोन प्लेनमै छाडेर पानीमा हाम फालेका थिए । तर साथमा भए पनि के गर्नु र ! नेटवर्क चल्ने सबै प्रविधि ध्वस्त भैसकेकोले हिजोसम्म दैनिक जीवनको अभिन्न अङ्ग बनेको मोवाइल पनि केटाकेटीको खेलौनासरह भैसकेको छ । न त त्यो मोवाइललाई चार्ज गर्न कुनै विद्युतको सुविधा नै छ ।
>घाम लागेको छ । आकाश खुला छ । नीलो आकाश प्रफुल्ल भएर फैलिएको छ । मानौँ त्यो बिनासले उसलाई केही फरक परेको छैन । सुप्रिया भने चिसो भूमिमा उभिएर भताभूङ्ग भएको दुनियाँ देखेर पनि विश्वास गर्न सकिरहेकी छैनन् । उनीहरुले देखे भोगेका सुविधा र प्रविधिमध्ये हातमा बाँधेको घडी छ र प्लेन अगाडिपट्टि पानीमा पौडी खेलिरहेको छ । त्यत्तिकैमा सुप्रिया रुन थालिन् । उनको भक्कानो भरिएर आयो । उनले आफन्त, परिवार साथीभाइलाई सम्झिन् । सबै मारिए, सकिए अब उनको सम्झनामा मात्र उनीहरुको अस्तित्व थियो ।
>चिन्तामणिले 'किन रोएको डार्लिङ? चिन्ता नगर' भन्दै आफ्नो चिसो कपडासँगै सुप्रियालाई छातीमा कँसे । एउटा हातले पिठ्यूपछाडि विस्तारै मसार्दै सुप्रियालाई मसार्न थाले । अर्को हात सुप्रियाको कम्मरमा थियो । सुप्रियाका दुवै हात चिन्तामणिका दुवै काँधको सहारामा अडिएका थिए । सुप्रियाको भिजेका कपडा र भिजेको कपालबाट तपतप पानी चुहिँदै थियो । दुबैका ओँठ एकआपसमा जोडिए । तातो श्वास घुलमिल हुँदै गयो । एकैछिनपछि चिन्तामणिले भने 'यो चिसोले हामी बिरामी हुन सक्छौँ, कपडा खोलौँ र कपडालाई ऊ त्यो परको ढुङ्गामा सुकाऔँ ।' सुप्रियाले 'के लगाएर यो कपडा खोल्ने? नाई मलाई लाज लाग्छ' भनिन् ।
>'यो कुनै मान्छे वा पशु कोही नभएको ठाउँमा तिमीलाई अब के को लाज? संसार पुरै अब हाम्रो बेडरुमजस्तै भएको छ। अब कसैको लाज मान्नुपर्दैन। बरु हिँड ऊ त्यो परको ठूलो ढुङ्गोनगिच जाऔँ र कपडा सुकाऔँ' चिन्तामणिले भने।
>दुवैले अंगालो बाँधेर हिँड्दै ढुङ्गानगिच पुगे । कपडा खोल्दै ढुङ्गामा सुकाउँदै गरे । उनीहरुलाई त्यहाँ अरु कोही छैन भन्ने थाहा थियो । तर पनि कपडा खोलेर नाङ्गै हुँदा कता कता लाज भने लाग्यो । तर त्यो लाज सजिलै पचाउँदै गए । त्यो खुला संसार पनि उनीहरुको बलेको बल्बमा उज्यालो कोठाभित्रका श्रीमान श्रीमतीजस्तै महसूस गर्न थाले । त्यत्तिकैमा सुप्रियाको मलिन अनुहार देखेर चिन्तामणिले सुप्रियालाई नजिक तानेर आफ्नो छातीमा टाँसे । सुप्रियाले भनिन् 'बाबा र आमाको याद आयो ।' चिन्तामणिले सुप्रियाको निधारमा चुम्बन गरेर आँखाको आँशु पुछिदिए। फेरि सुप्रिया मुस्कुराउँदै फेरि चिन्तामणिको छातीमा आफ्नो गाला टाँसेर अडिइन् ।
>दुबै जना निकै थाकेका थिए । भिजेका जुत्तामोजा खोलेर सुकाएकोले खुट्टामा माटो टाँसिएको थियो । त्यो माटो धुन खोलासम्म गएर धोए पनि त्यहाँ आउँदासम्म फेरि झन् धेरै हिलो लाग्ने थियो । कुनै भाँडोमा पानी ल्याएर खुट्टा धोएर आराम गर्न पनि केही भाँडो नै थिएन । त्यसैले हिलो लागेको खुट्टासँगै त्यो ढुङ्गामा उक्लिए र चिन्तामणि बसे । सुप्रिया पनि चिन्तामणिको हातको सहारा लिएर माथि उक्लिइन् र चिन्तामणिको नाङ्गो साप्रामा गाला टाँसिने गरी टाउको अडाएर शरीर सत्रङ्ग पारेर आराम गर्न थालिन् । चिन्तामणिले टाढा टाढासम्म हेरे । आँखाले देख्दै गरेको क्षीतिजभन्दा पारिसम्म पनि हेर्ने प्रयास गरे । तर सबैतिर सुनसान छ । न त कतै चराचुरुङ्गी छन् न कतै रुखबिरुवा । पानीभित्रका जीव जन्तु बाहेक जमिनमा उनीहरु दुईजना बाहेक अरु कोही पनि छैन भन्ने कुरामा चिन्तामणि निश्चित भए । एकछिन दुवैजना आ–आफ्नै चिन्तामा मग्न भए । आफ्नो काखमै सुप्रिया निदाएको देखेर चिन्तामणिले विस्तारै सुप्रियाको कपाल सुम्सुमाउँदै कपालको पानी सुकाउने प्रयास गर्दै सुप्रियालाई निदाउन दिए । तर चिन्तामणिको मस्तिष्कमा भने झन पछि झन् चिन्ता थपिँदै गयो । विस्तारै थकाई पनि कम भयो र भोक लाग्न थाल्यो । सोचे 'सुप्रियालाई अब जाग्दाखेरि भोक लाग्छ। के खाने ? कहीँ कतै केही छैन ।' कतै घासपात भएको भए पनि त्यही चपाउनु हुन्थ्यो जस्तो लाग्यो उनलाई । ढुङ्गा र माटो छ जताततै त्यो खान सकिँदैन । आफूले के खाने भन्ने भन्दा पनि सुप्रियाले भोक लाग्यो भन्दा के खुवाउने भने चिन्ता लाग्यो उनलाई ।
त्यत्तिकैमा उनको दिमागमा पानीमा सत्रङ्ग परेर र्सूयको प्रकाशमा टल्किरहेको प्लेनभित्रको बिस्कुट याद आयो । उनले सुप्रियालाई अहिले नचलाई आराम गर्न दिने, सुत्न दिने अनि उठेपछि पौडिएर प्लेनमा जाने र भित्रैका बिस्कुट–सिस्कुट खानेकुरा ल्याउने र एक दुई छाक टार्ने जुक्ति सोचे । एकछिनपछि सुप्रियाको टाउको अडिएको उनको खुट्टा पाटियो । विस्तारै चलाउन मन लाग्यो । तर सुप्रियाको निद बिग्रन्छ, आराम गर्न पाउँदिनन् भन्ने सोचेर अप्ठेरो लागे पनि खटाउन सक्दासम्म उनले आफ्नो खुट्टा चलाएनन् । सुप्रियाको कपाल सुम्सुमाउँदै खुट्टा नचलाई विस्तारै आफू पनि हातको आड लिएर आराम गर्न थाले । आड लिएको हात पनि पाटिँदै गएपछि खुट्टा नचलाई विस्तारै पिठ्यूँको आडमा शरीरलाई पछाडि लगेर उत्तानो परेर आराम गर्न थाले । निकै थाकेको शरीर भएका कारण उनी पनि भुसुक्क निदाए ।
सुप्रियाको आँखा खुल्दा चिन्तामणि उत्तानो परेर निदाई रहेको देखिन् । आफ्नो निन्द्रा बिग्रन्छ कि भनेर खुट्टालाई नचलाई आराम गर्दा चिन्तामणि निदाएको अवस्था बुझेपछि आफ्ना श्रीमानप्रति निकै माया लाग्यो उनलाई । चिन्तामणिको ओंठमा आफ्नो ओंठ जोड्ने र चुम्मा खान मन लाग्यो। तर चिन्तामणिको निन्द्रा बिग्रन्छ भन्ने सोचेर आफ्नो इच्छालाई भित्रभित्रै दबाइन् उनले । विस्तारै टाउको उठाइन् । कपाल पनि सुकिसकेको रहेछ । शरीर पनि सुकिसकेको रहेछ । थकाई पनि कम भएर शरीरमा थोरै भए पनि फूर्ति महसूस गरिन् । सुकाएका कपडालाई मन्दमन्द हावाले फुरफुर पार्दै थियो । कपडा पनि सुकिसकेछन् भन्ने उनलाई लाग्यो । कपडा छामिन, सुकिसकेका थिए । चिन्तामणिको गन्जी उडेर ढुङ्गाबाट तल माटोमा पुगेको रहेछ । पहिला गएर त्यो गन्जीमा माटो नलागोस् भन्ने सतर्कतासहित उठाइन् । जमिनको माटो पनि अलि सुकिसकेको रहेछ । त्यो गन्जी पट्याएर ढुङ्गाको अर्को छेउमा राखिन् । चिन्तामणि निदैनिदमा हर फेरेर हातको सिरानी पारेर सुत्न थाले ।
सुप्रियाले कपडा उठाइन् । आफ्नो कपडा लगाइन् । आफ्नो ड्रअरमा भएका कपडा सम्भि्कन्, सबै भताभुङ्ग भैसकेका थिए । उनीसँग अब बाँकी केही थिएन । त्यही भएका कपडाबाट समय काट्नु थियो । आफ्नो कपाल हातले सम्हाल्दै पछाडि लगेर जगुल्टो पारिन् । न धेरै लामो न छोटो कपाल भएकोले सानो चुल्ठो पर्यो । चिन्तामणिका सबै कपडा पट्याउँदै ढुङ्गामा राख्दै चिन्तामणिको सत्रङ्ग परेर सुतेको शरीर हेर्दै गइन् । मन्द हावाले चिन्तामणिको शरीरका रौंहरु सुकेर विस्तारै हल्लिँदै थिए । उनको नाङ्गो शरीरलाई च्यादरले ढाकिदिएर उनलाई आनन्दको आराम गराउने इच्छा जाग्यो सुप्रियालाई । तर न त त्यहाँ च्यादर थियो न सिरक नै । त्यत्तिकैमा अबका दिन र रात कसरी कटाउने सुविधाविहीन संसारमा भन्ने सोचले उनको मन खिन्न भयो ।
चिन्तामणिका कपडा पट्याएर राखिसकेपछि प्लेन आपतकालीन ल्याण्ड गराएर पानीमा हाम फाल्दा लगाएका ती आपतकालीन लुगा पनि पट्याएर पोको पारिन् । पहिले पाइलटको ट्रेनिङ गर्दा ती लुगा उनले ट्राइ गरेकी थिइन् । त्यसपछि उनले कहिल्यै ती लुगा प्रयोग गरेकी थिइनन् । झल्यास्स उनको मस्तिष्क ती ट्रेनिङका दिनमा रुमलिन थाल्यो । ती दिनका वरिपरि मडारिन थाल्यो । ती दिनहरु सबै सपनाजस्तो लाग्यो । त्यो सबै प्रविधि र सुविधासम्पन्न दुनियाँको सपनाबाट झ्वाट्ट जागेर अहिले बल्ल विपनाको दुनियाँमा पुगेजस्तो भान भयो । यो विपनाको दुनियाँमा उनको बिजुलीबत्ति, गाडी, दुनियाँ ग्याँस चुल्हो, माइक्रोवेभ केही थिएन । पानीमा अलपत्र परेको प्लेनले भने त्यो दुनियाँ पनि तेरो विपना नै थियो भनेर सन्देश दिइरहेको थियो । तर उनको भावना सपना र विपना छुट्याउने अल्मलमा अल्भि्करह्यो ।
मन्द–मन्द चलिरहेको हावाको रमाइलो छंडमा एउटा अलि बढि हावाको झोका आयो। सुप्रियाले पट्याएर राखेको चिन्तामणिका कपडा फरर गर्न थाल्यो । उनले सबैभन्दा तल आपतकालीन अवतरणका समय लगाउने ती कपडा राखेकी थिइन् । त्यसमाथि चिन्तामणिको जिन्स । त्यसमाथि चिन्तामणिका कट्टु, त्यसमाथि गन्जी र सबैभन्दा माथि सर्ट राखेकी थिइन् । हावाले त्यो सबैभन्दा माथि राखेको सर्टको बाउला उडाएर चिन्तामणिको हातमाथि पुर्यायो । त्यो सर्टको बाउलाको स्पर्शले चिन्तामणिको निद पनि खुल्यो । चिन्तामणि उठे । अनि कपडा पहिरिए । मन्दमन्द हावाले चिसो चिसो पनि लागेको थियो । कपडा लगाउँदा आनन्द आयो। हातका औंलाले कपाल माथि फर्काए । 'अब त कपाल काट्ने सैलुन पनि छैन केही दिनमा तिम्रोजत्रै हुन्छ मेरो कपाल पनि' चिन्तामणिले भने। 'कपालकै चिन्ता छ, यहाँ आफूलाई भोक लाग्न थाल्यो। के खाने, केही खाने कुरा छैन?' सुप्रियाले भनिन् ।
'ल अब पौडिएर म प्लेनमा जान्छु त्यहाँ बिस्कुट र अरु ड्राइ फूड छ नि, त्यो लिएर आउँछु अनि खाउँला' चिन्तामणिले भने ।
'अँ त नि मलाई त त्यो होसै थिएन, ल हुन्छ' भन्दै खुसी मानिन् सुप्रियाले र आफ्ना दुबै हात चिन्तामणिको घाँटीको वारिपारिबाट पछाडि लागेर ओंठचाहिँ चिन्तामणिको ओंठसँग जोडिन् ।
23 September 2011 |