|
कथा
गोविन्द वेल्वासे
बाघले झम्ट्यो...
|
कथा
>गोविन्द वेल्वासे
>बाघले झम्ट्यो...
>
भान्ज विदुरलाई मोवाइलमा फोन गरेको, उनको मोवाइल फोनको स्वीच नै अफ रहेछ। अफिसको नम्वरमा फोन गर्दा सिधै उनले उठाउँदैनन्। त्यो पिएले 'को बोल्नुभएको, के काम थियो?' भन्ने निदीखुदी पार्छिन्। तै पनि फोन नगरी भएन। मोवाइल उठ्दै नउठेपछि के गर्नु त! अफिसको लेन्डलाइन मै फोन गरेँ। उताबाट आवाज आयो –
>
हेलो ..
>
मैले एकै सासमा भनेँ त्यहाँ विदुर शारुलाई दिनुस् न, म विदुरको मामा बोल्दै छु।
>उताबाट उही आइमाईको स्वर सुनियो : हजुर, सर त मिटिङमा हुनुहुन्छ। अति गोप्य मिटिङ छ डिस्टर्व नगर्नु भन्नु भएको छ । के खवर हो भन्नुस् न ..।
>
म अलमल परेँ, मन छट्पटाइरहेको छ। मुटु पनि छिटो छिटो चलेजस्तो लाग्छ। के गर्नु के नगर्नु भैरहेको अवस्थामा, बोली आफै फुट्यो ..'ल हुन दिनुस् बरु, सकेसम्म चाँडै मामाको मोवाइलमा फोन गर्न भनिदिनुस् न है।'
>
एक मन त बसेको कोठामा एक्कासी बाघले झम्टियो, तर फुत्त बाहिर निस्केर ढोका लगाएँ। बाघ भित्रै छ भनेर भनिदिनुस् भन्ने पनि मनमा आयो। तर अर्को मनले यस्तो पत्यार नै नलाग्ने कुरा भनेर वास्ता गर्दैनन् होला भनेर त्यस्तो केही नभनी फोन राखिदिएँ।
>
वल्लो पल्लो घर पनि कसैलाई चिनेको छैन। कसलाई भन्नु। यसो ढोकामा कान थापेर भित्रको त्यो मलाई झम्टने बाघले केही गर्दै छ कि भन्ने बुझ्न प्रयास गरेँ। तर टिभीमा के के कार्यक्रमको आवाज बाहेक केही सुनिएन। शान्त छ, भित्र त। धन्न् बाघको झम्टाइबाट बच्न फुत्त ढोकाबाहिर फुत्किँदा मोवाइल भने खल्ती मै रै छ। नत्र फोन कसरी गर्ने, भन्ने अर्को समस्या पर्ने थियो। साचो त बरु ढोकामै झुण्डिएको रहेछ। ढोका लगाएर अस्पतालमा रीता (श्रीमती) छिन् नै जाउँ भने पनि लुङ्गी र सर्ट मात्र लगाएको छु यही पहिरनमा कसरी जानु। चिन्ने जान्ने भेटिए भने के भन्लान् भन्ने डर। रातभरि विरामी रीतालाई कुर्दा सुत्न पाएको होइन। दुई घन्टा जति आराम गरेर अस्पताल जानुपर्ला भनेँर लुङ्गी लगाएर आराम गरेँ। यो लुङ्गीले पनि यता न उता पार्यो। ढोका खोलेर भित्र गएर कपडा फेरम भने त्यो बाघले खत्तम पार्ला भन्ने डर। मोवाइलको घण्टी बजेको थाहा पाएर हत्त न पत्त फोन उठाएँ।
>
हेलो ...।
>
उताबाट आवाज आयो– 'दाई ..म दिवाकर बोलेको भाउजुलाई कस्तो छ? यताको चिन्ता नगर्नुस्। यहाँ हामीले सबै हेरिहाल्छौँ। निर्धक्क भाउजूको उपचार गरेर सञ्चो भएपछि आउनुहोला।
>
महेश सरसँग आज बिहान भेट भएको थियो। यहाँको केही पीर नगरेर राम्रोसँग मेडमको उपचार गराउन भन्नुहोला हेडसरलाई भन्दै हुनुहुन्थ्यो। भाउजुलाई कस्तो छ अव ..?
>
उसको प्रश्नले मलाई झस्कायो। म त यो काठमाडौंको शहरभित्र कोठा भित्रै बाघले झम्टियो भन्ने कुरा भनु कि नभनु! भने पनि पत्याउलान्, नपत्याउलान्। अहिले भित्र पनि बाघको कुनै सुइंको छैन, कतै मेरो भ्रम मात्र हो कि भन्ने कुरा मनमा खेलाउँदै उसका कुरा सुन्दै थिएँ। प्रश्नले झस्कायो अनि भनेँ –'अँ रीतालाई अलि ठीक छ। सबै एक्सरे भयो। खुट्टा भाँचिएकोले प्लास्टर गरेर भोलि डिस्चार्ज गर्ने भनेको छ। अरु त्यताको हालखवर सुना ..' भनेर मेरो कुरा छोट्याएँ। भाईले मेरो आवाज बदलिएको र नआत्तिन भन्दै फोनमा भन्दै गयो 'हर्कजितले दुध दुहुने, घाँसपात गर्ने, सबै गर्यो। म बिहानै आन्द्रेखोला झरेर धानमा पानी लाएर आएँ। यताको कुनै चिन्ता लिन पर्दैन। मेरो पढाइको पनि खासै त्यस्तो माचो छैन। दुई चार दिन पढाई छुटे पनि साथीहरुको नोट मागेर पढिहाल्छु। भाउजूलाई राम्ररी सञ्चो भएपछि मात्र आउनुहोला। यता मैले सबै सम्हाल्छु। तपाईहरु आएपछि मात्र म हेटौंडा गए पछि मेरो पढाई कभर गरिहाल्छु।'
>
मैले अँ अँ भन्दै गएँ। उसले फोनमा एकोहोरो भन्दै गयो। अस्पतालमा सुत्न नपाएर र थाकेर पनि होला तपाईको स्वर फेरिएको छ। आराम गर्नुहोला। बरु विदुर भाञ्जालाई कस्तो छ। उहाँलाई अफिसबाट विदा लिएर अस्पतालमा कुर्न तपाईलाई पालो दिन लगाउनुहोला।
>
मैले आफु घरभित्रको बाघको डरले वरन्डामा थुनिएको र भाञ्जा अफिसमा गोप्य मिटिङमा बसेकाले सम्पर्क हुन नसकेर मेरो विचल्ली भएको कुरा बताएर भाइलाई किन चिन्तित पार्नु भन्ने लागेर त्यस्तो केही भनिन।
>
हुन्छ, त ..चिन्ता न ले। भोलि खुट्टा प्लास्टर भएपछि तेरी भाउजूलाई डिस्चार्ज गर्यो भने पर्सी यहाँबाट हिँड्छु। साँझ हेटौंडा बसेर भोलिपल्ट दिउँसो म आइहाल्छु। त्यसपछि तँ आफ्नो कलेजको पढाईका लागि जालास्। हुन्छ अहिले फोनमा किन धेरै खर्च गर्नु र मैले साँझतिर एक पटक फोन गरुला। स्कूलका महेश सरहरुको तलव निकासा गर्न एक दुई दिन ढिला हुन सक्छ भन्नु। भेट भएन भने पनि चिन्ता नगर्नु। मैले भोलि महेश सरलाई फोन गरेर सम्झाउँला, भनेँ।
>
हुन्छ दाई, भन्दै उसले फोन राख्यो।
>
यता भाञ्जाले खबर पाएर मलाई फोन गर्दा मेरो लामो कुरा गराइले फोन इङ्गेज भयो कि भन्ने डर लाग्यो। एक मनले फेरि त्यो भान्जकी पिएलाई फोन गरेर सोधौँ कि भन्ने पनि लाग्यो। तर फेरि झल्यास्स सम्झेँ र भाञ्जाका मोवाइलमा फोन गरेँ ....।
>
'माफ गर्नुहोला, तपाईले डायल गर्नुभएको फोन बन्द छ ..।' सुनेर लाइन काटेँ। फोन कम्पनीले पनि कति नमिठो रेकर्ड बनाएको होला जस्तो लाग्यो। अघिपछि पनि फोन कम्पनीका यी रेकर्डेड आवाज नमिठो त लाग्थ्यो। तर, आज विलखवन्धनको आफ्नो अवस्थाले होला झनै झर्को लाग्दो लाग्यो। अलि सुरिलो स्वरमा मिठासका साथ रेकर्ड गरे पनि हुने नि जस्तो भान भयो।
>
घरको फोनमा घण्टी बज्यो। तर फोन घरभित्र म घरबाहिर भएकोले त्यो घर भित्रको बाघको डरले ढोका खोेलेर फोन उठाउन जान सकिन। भान्जले गरेका होलान् भन्ने लागेर भान्जको मोवाइलमा फोन गरेको उनको फोन व्यस्त रहेको सूचना त्यही नमिठो रेकर्डेड स्वरमा सुनियो। पक्कै भान्जले नै ल्याण्ड लाइनमा मलाई फोन गरेको हुनुपर्छ भन्ने लाग्यो र भित्रको घण्टी बज्न छाडेपछि फेरि भान्जको मोवाइलमा फोन गर्छु भन्ने सोँचेर पर्खन थालेँ। आत्तिएको समय भएर हो कि किन हो त्यो घण्टी त आधा घण्टासम्म बजेको बजै गरेजस्तो लाग्यो।
>
भान्ज र म दौतरीजस्तै हो नातामा मामा भान्ज भए पनि उमेरमा खासै फरक छैन। भिनाजूको रक्सी खाने नराम्रो लत बस्यो। दिदी र भिनाजू दुवै जना जागिरे भएकोले भिनाजूको सरुवा जहाँजहाँ हुन्छ त्यहाँ त्यहाँ दिदी जान सम्भव पनि हुन्थेन त्यसैले एक्लै हुँदा झन रक्सीको मात्रा बढ्दै बढ्दै गयो। हुँदा हुँदा भिनाजूले रक्सी खाने होइन, रक्सीले भिनाजूलाई खान थाल्यो। आखिर त्यही रक्सीले यी भान्ज कक्षा ५ मा पढ्दा भिनाजूको ज्यान गयो। दिदी प्राइमरी स्कूलकी मास्टर भएकीले अरु त खासै समस्या थिएन। तै पनि ६ कक्षादेखि त भान्ज र मसँगै हाम्रो गाउँको स्कूलमा एसएलसीसम्म पढ्यौँ। भान्ज पढ्नमा जेहेन्दार थिए। अनि टुहुरो भएकोले पनि होला पढ्नमा निकै मन गर्थे। म भने अल्छी, पास मात्र भए भै हाल्छ भन्ने सोँच्थेँ भने उनी चाँही फस्ट हुने गरी पढ्थे ।
>
त्यसैले उनले लोकसेवा समेत पास गरेर अहिले उपसचिव भएका छन्। मेरो पनि गाउँकै स्कूलको हेडमास्टरी जागिरले जिविका चलेकै छ।
>
एक दिन बुढी (रीता) डिगाँवाच्छालाई घाँस झार्न कुटमेराको रुखमा चढेका बेला रुखबाट खसेकाले उपचारका लागि अस्पतालमा ल्याएको हो। भान्जले पनि आफ्नी माइजूलाई अति सम्मान र माया गर्छन्। नभन्दै माइजू रुखबाट लडेको सुनेपछि। को साथीको हो कुन्नी जीप मागेर हाम्रै घर पुगेर ल्याएर नर्सिङ होममा सिधै पुर्याएर उपचार सुरु गराए। मैले त उतै हेटौंडातिरै उपचार गराउने भन्दा भन्दै मेरो कुरै सुनेनन्।
>
सरकारी काम त्यस्तै त हो। जिम्मेवारी निभाउनै पर्ने भएर नगई नहुने भएर विचरा अफिस गए। भान्जी बुहारी चाँही एक हप्तालाई कता जागिरकै शिलशिलामा विदेश भ्रमणमा गएकी रहिछन्। यी भान्ज फेरि वालअधिकारको पक्षमा र श्रम शोषणको विरोधमा कट्टर छन्। त्यही भएर घरमा नोकरचाकर चाँही राख्दैनन्। लोग्ने स्वास्नी नै आफ्नो काम आफै गर्छन्। दुःख सुख गरेर बचाएको रकमबाट सानो भए पनि चिटिक्कको घर पनि काठमाडौंमा बनाएकाले अहिले मलाई पनि काम लाग्यो। तर, यो घर भित्रै बाघले झम्टने यो के हो मैले मेसोभाति केही बुझेको होइन ...।
>
यत्तिकैमा भित्रको फोनको घण्टी बज्न छाड्यो र हत्त पत्त भान्जको मोवाइलमा डायल गरेँ। तर मैले भान्जको नम्वर मिलाएर डायल स्वीच थिच्न नपाउँदै भान्जको फोनको घण्टी बज्यो ...।
>
मैले ..'हेलो' भन्नासाथ भान्ज आत्तिंदै, माइजूलाई कस्तो छ, किन तुरुन्तै फोन गर्न भन्ने खवर छाड्नु भएको? घरको फोन किन नउठाएको? म त एकदम आत्तिएर हत्तपत्त फोन गरेको। भन्ने प्रश्नको तांतीमा मैले कहिले पालो आउला र आफ्नो समस्या बताउँला भन्दै बीचैमा उनको कुरा काट्दै भने..।
>
'हेरन म त लुङ्गी र सर्टमा यहाँ वरण्डामा छु। खाना खाएर एस्सो आराम गरेर बैठक कोठामा बसेको थिएँ, अगाडिपट्टिबाट एक्कासी एउटा बाघले झम्टियो। त्यसपछि म त बाकिर वरण्डामा आएर ढोका बन्द गरेको सम्झन्छु, अरु केही सम्झन्न। अनि तिमीलाई फोन गरेको तिमीसँग भेटै भएन। म यहाँ अलपत्र परेको छु। ल छिटो केही उपाय लगाउ त!
>
उता भान्जले चाँहि लामो सास तान्दै भने.. म त माइजूको बिरामी वढी भयो कि भनेर डराएको। ल ल ... नआत्तिनुस् म अव यहाँबाट हिडिहाल्छु एक छिन नआत्तिएर बस्नुस्। छिमेकीको विरालोसिरालो केही पसे होला। के को बाघ हुनु। नडराउनुस्, ढोका खोलेर भित्र बस्नुस् भन्न थाले ..।
>
आफुले बाघै देखेको हो। कसैले पत्याउने होइनन्। अहिले आए पछि आफै भाग्लान् नि भान्ज पनि आफैले बाघ देखेपछि भन्ने लाग्यो र तर्क वितर्क गर्न नथाली 'ल ल चाँडै आउ, अनि थाहा पाउला' भनेँ।
>
त्यत्ति भन्दै फोन काटेर भान्जलाई पर्खन थालेँ। आफुले प्रत्यक्ष आँखाले देखेको बाघलाई बिरालो भनेर बेवास्ता गरिदिनेसँग के लाग्यो र। हुन त अव यो शहरको ठाउँमा कोठाभित्र बाघ आयो भन्दा भान्जाको ठाउँमा म, मेरा ठाउँमा भान्जा भए पनि मैले पनि त पत्याउने कुरै थिएन। तर आफ्नै आँखाले देखेपछि यहाँ आफुलाई यति डर लागेको छ।
>
अघि बल्ल तल्ल कसै गरी बाँचे अव त रिस्क लिन हुन्न्। यो झ्यालको पर्दा पनि कस्तो टन्न भित्र सबै ढाक्नेरहेछ। झ्यालको कुनै कुना काप्चाबाट पनि भित्र चियाउन मेल्दो रहेन छ। भित्र त्यो बाघले के गरेको छ, केही मेसो नै आएन। अहिले एक छिनमा भान्जा आइपुगे पछि देख्लान् नि आफ्नो घरभित्रको बाघको चर्तिकला। अनि पुलीस, आर्मी बनपाले कलाई डाँक्दा रैछन् हेरमला नि।
>
एकछिनपछि फेरि मोवाइल वज्यो। ..भान्जाकै रहेछ। रिसिभ स्वीच थिचेर कानमा लगेर हेलो .. भनेँ। उताबाट उत्तर आयो ...
>
हजुर मामा, हेर्नोस् न यहाँ ट्राफिक जाम रहेछ। नआत्तिनुस् अव एकैछिनमा आइपुग्छु ..।
>
'हुन्छ .. हुन्छ,' मेरो अरु उपाय नै के छ र? भन्दै फोन राखेँ।
>
यही बेलामा फोनको ब्याट्री पनि सकिन थालेछ। भान्जाले अफिस जाने बेलामा अब एक छिन पछि लाइन आउँछ, मोवाइल चार्ज गर्न नविर्सिनुहोला भन्दै गएका थिए। तर, बाघले झम्टेपछि चार्ज न सार्ज भयो। अहिले भित्र लाइन छ। मोवाइल चार्ज गर्न पाएको होइन। चार्जर भित्र छुट्यो नत्र प्लग त यहाँ वर48डामा पनि रहेछ। तर, चार्जर नभई भएन के गर्नु।
>
झ्यालमा कान जोडेर भित्रको चाल बुझ्ने प्रयास गरेँ तर बाघको कुनै साईसुइको छैन। टिभीमा के के कार्यक्रमको आवाज बाहेक भित्र कुनै आवाज झाईझुई छैन।
>
बाहिर बाटोमा गाडी रोकियो। भान्ज गेट खोल्दै भित्र पसे। म तर्सेर वण्डामा बसेको देखेर पनि उनमा घरभित्र बाघ छ भन्ने कुरामा विश्वास नभएको देख्दा अलि रिस पनि उठ्यो। अनि भित्र बाघ भएको र सतर्कता अपनाउन पुलिस, आर्मी वा फरेष्टरलाई बोलाउन भन्दा पनि भान्जाले एकछिन पर्खनुस् न भन्दै अगाडि बढे। वरण्डाको ढोका खोल्नासाथ त्यही बाघले मलाई झम्टेको कोठा छ। भान्जाले चाही मेरो कुरालाई महत्व नै नदिई अगाडि बढेर ढोका खोल्न थालेँ। म चाँही भित्रबाट बाघले झम्ट्यो भने रोलिङ चढेर छतमा पुग्ने योजना सोँचन थालेँ।
>
भान्जाले ढोका उघारे तर भित्रबाट बाघले झम्टिएन। भित्र त टिभीको आजाव बाहेक केही थिएन। ढोका खोलेर भित्र पसेर भान्जाले पर्दाहरु खोले कोठा उज्यालो भयो तर भित्र बाघ त के कुरा बिरालोको पनि कुनै संकेत छैन। तर, मेरो मनमा त्यो झम्ट्याइको डर भने हराएको होइन। अर्को मेरो मनमा बाघले झम्टेको विषयमा तर्क वितर्क आउन थाल्यो।
भान्जा कहिले म सपनाएको तर्क गर्थे, म सपनाएको होइन भन्थेँ। उनी भ्रम भन्थे होइन बाघले झम्टेको हो भन्ने म जिद्दि गर्दै गएँ।
>
त्यसपछि उनले म बसेको कुर्चीको अवस्था त्यसको वगलमा टेवुल, पल्लोपट्टि दराज र अगाडिपट्टिको भित्तामा राखिएको प्लाज्मा टिभीको अवस्थामा ममाथि बाघको झम्ट्याई कसरी भएको हुन सक्छ भन्ने पत्याउने, नपत्याउने, सम्भव, असम्भव आदि तर्क वितर्क गर्न थाले।
>
मैले बाघले झम्टेकै हो भन्ने उनको भ्रम हो भन्ने दोहोरी चल्दै गयो। त्यसपछि उनले ठीक कुन समय र त्यसबेला मेरा मनमा के कुरा खेल्दै थिए भन्ने सोध्न थाले।
>
त्यत्तिकैमा मेरो मोवाइलले ब्याट्री सकिएको आवाज गर्यो। यो मोवाइलफोन पनि भान्ज अफिसबाटै विदेश गएका बेला ल्याइदिएका थिए। उनको र मेरो उस्तै मोवाइल छ। मोवाइलमा ब्याट्री सकिएको आवाज सुनेर मलाई मोवाइल किन चार्ज नगरेको भनेर सोधे।
>
पहिला लाइन नभएकोले मोवाइल चार्ज गर्न नपाएको र लाइन आउँदा बाघले झम्टेकोले आफु बाहिरै भएकोले चार्जर नभएर चार्ज गर्न नपाएको बताएँ।
>
त्यसपछि भान्जाको प्रश्न लाइन आउनु र बाघले मलाई झम्टनु एकै पटक भएको विषयमा केन्द्रित थियो र वास्तवमा भएको पनि त्यस्तै थियो।
>
त्यसछि भान्जाले गरेको बाघको विषयको तर्कमा दम थियो। मेरो मनले डर मानेकै भए पनि भान्जाको तर्क मान्नमा मेरो मस्तिष्कले स्वीकृति जनाइसकेको थियो।
>
उनको तर्कमा नेपालको लोडसेडिङ, टेलिभिजन र बाघको सम्वन्ध जोडिएको थियो। हुन पनि म रातभरिको अनिदो, थाकेको र एकोहोरो भएर बसेको समयमा एक्कासी बाघले झम्टेको देख्दा आत्तिएको मस्तिष्कले त्यो तर्कसम्म नपुग्नुलाई खासै अन्यथा ठान्नुपर्ने जस्तो पनि मलाई लाग्दैन।
>
वास्तवमा राति भान्जले टिभी हेर्दाहेर्दै लाइन गएको रहेछ। लाइन गएर बन्द भएको टिभी उनले बन्द नगरी सुत्न गएछन्। सधैजसो त उनले बिहान अफिस जाने समयमा टिभीसिभी बन्द भए नभएको चेक गरेर जान्थे तर आज म घरमै भएकोले उनले टिभी बन्द गर्नुपर्ने नठानेर गएछन्। संयोग भन्नु पर्यो हिजो लाइन जाने बेलामा उनले जोग्रफि च्यानल हेर्दै रहेछन्। त्यसैले लाइन आउनु र ज्योग्रफी च्यानलको बाघ टिभीमा झम्टिनुले मेरो एकाग्र मनस्थितिमा उथलपुथल ल्याएको भन्ने भान्जाको तर्कमा म सहमत भएको छु। |
There are no data records to display. |
|
Received Comments
|