Govind Belbase
<December 2024>
SuMoTuWeThFrSa
24252627282930
1234567
891011121314
15161718192021
22232425262728
2930311234
दियालोको साक्षी
सुन्नुहोस्

सल्लाको खोटो वन मन्त्रालयको इजाजत लिएर निकासी गरिने तथा विदेशी मुद्रा आर्जन हुने एउटा नेपाली उत्पादन हो। त्यही खोटो मिसिएको सल्लाका दाउराबाट उर्जा प्राप्त गर्ने नेपाली परम्परा निकै प्राचीन मानिन्छ।

सल्लाको दियालो तथा चोप उज्यालोको लागि बाल्ने र पानीको सिपेज रोक्नका लागि प्रयोग हुँदै आएको वस्तु हो। त्यो चोप भार्निस, पेन्ट र कागज बनाउनमा पनि प्रयोग हुने हुनाले विदेशी बजारमा ठूलो माग रहेको छ। वन विभागको इजाजत नलिई निकासी गर्न पाइँदैन। बिना इजाजत निकासी गरेमा कडा सजायको व्यवस्था पनि छ।

परम्परागत रूपमा पहाड तिर रातिमा उज्यालो पार्ने साधनका रूपमा सल्लाको दियालो प्रयोग हुँदै आएको हो। सल्लो नपाइने तराईमा घिउ, आलस, सूर्यमुखी फूल तथा तोरीको तेल बालेर उज्यालो पारिन्थ्यो भन्ने तथ्य मगध साम्राज्यका ग्रन्थहरूबाट पनि पुष्टि हुन्छ।

पछि पेट्रोलियम पदार्थको पहुँच भएपछि त्यो प्रचलन हराएको हो। तर, घिउ तथा तेलका दिया धार्मिक कार्यमा अहिले पनि बाल्ने चलन छँदैछ। परम्परा धान्ने भावनाले त्यो प्रचलन जोगिएको रूपमा सहजै अनुमान गर्न सकिन्छ।

चाणक्यले सरकारी कामका लागि सरकारी तेलबाट बल्ने दियो बाल्थे भनिन्छ। सरकारी काम सकेपछि घरायसी कामका लागि अर्को दियो सल्काएर सरकारी तेलको दियो उनले निभाउँथे भन्ने कथन दक्षिण एसियाको सुशासनको उदाहरणीय कथन रहँदै आएको छ।

युक्रेनको युद्धले जर्मनी लगायतका यूरोपेली देशका चुला चिसो हुन थालेको चासोले युरोप चिन्तित छ। ग्यास तथा पेट्रोलियमको उर्जा स्रोतको धनी रसियामाथिको प्रतिबन्धले दियालोको सम्झना गराउँदै छ।

नेटो पनि जर्मनीको उर्जा संकट र रसियामाथिको भुक्तानी प्रतिबन्धको जालोमा जेलिएको छ। जर्मनीमा उर्जाको आधाजति भाग रसियामै निर्भर रहेकोले उसको उर्जा स्रोत चिन्ताको विषय भएको हो।

एकातर्फ हरित ग्यास तथा पृथ्वीको तापक्रम नियन्त्रणको विषय छ, अर्को तर्फ उर्जा स्रोतको सन्दर्भ। पहिले-पहिले नेपालको पाहाडी भेगमा पकाउने दाउरा मात्र होइन उज्यालोको स्रोत पनि सल्लाको गुदीका मसिना पारेका चिरा उपयोग गरिन्थ्यो। म ती दियालो बालेर अँध्यारो हटाउने प्रचलनको साक्षी पनि हुँ। अर्थात् म जान्ने हुँदाको अवस्थासम्म पनि त्यो प्रविधिले मानव जीवनलाई सहज पारेको ठानिन्थ्यो।

हिउँदमा खेतीका अन्य कार्य सकेपछि गाउँलेहरू दाउरा जोहो गर्न बञ्चरो काँधमा बोक्दै, खुर्पेटोबाट खुर्पाको ख्याट-ख्याट स्वर निकाल्दै जङ्गलतिर जान्थे। शान्त गाउँले वातावरणमा टाढा जङ्गलबाट बञ्चरोको मार खेप्दै गरेका रूख एवं बुटाबाट फैलिएको आवाज सुनिन्थ्यो।

त्यो स्वर सुनिएको केही समयपछि रूख चर्मराउँदै ढलेको आवाज विरलै सुनिन्थ्यो। त्यसपछि फेरि त्यो ढलेका रूखलाई गेँड्दै टुक्रा पार्ने बञ्चराको मार गुञ्जायमान हुन्थ्यो। मानौँ रूखले दुख्यो, अइया, आच्या पो भन्यो भनेझैँ गरी ध्वनि फैलन्थ्यो।

गाउँलेहरू बर्खाको झरीमा पनि चुलो र अँगेनो तताउने दाउराको जोहो गर्न मुढा चिर्थे र डोकामा हालेर कट्कुरोमा थुपार्थे। सधैँ सुकेका र मरेका रूखले नपुग्ने हुनाले हरिया रूख पनि ढालिन्थे। सल्लाघारीको स्वार...को धुन अनौठो गरी सुस्याउँथ्यो। सल्लाका रिठाहरू गुल्टिँदै जहाँसम्म पुग्न सके त्यहाँसम्म पुगेर विश्राम गरिरहेका भेटिन्थे।

चैतको डढेलोमा सल्कन पाउँदा पण्डितजीले हवनखाडीमा चुहाउने घिउ बलेझैँ ती रिठ्ठो दन्कन्थ्यो। नजिकका पोथ्रा पनि पोल्थ्यो र आफू पनि खरानी बनेर उड्थ्यो। अनलाइनमा खोज्दै जाँदा मष्टा गाउँपालिकाले कर उठाउने दरभाउ तोक्नका लागि रिठ्ठो प्रतिक्विन्टल १५० रुपैयाँ लेखेको पनि भेटियो।

म जुनबेला त्यो दियालो बालेर उजेलो पार्ने र जन्ती जाँदा बाटो छिचोल्ने राँको बाल्ने चलनको देखिजान्ने साक्षी बनेको थिएँ, त्यसबेला वार्सा सन्धी संगठन र नेटो संगठनको सीत युद्धको समय थियो। नेटो अझै पनि प्रभुत्वशाली रहेको छ र अमेरिकी नेतृत्वको विश्व शक्ति संगठन हो भन्दा अतियुक्ति हुँदैन पनि।

अमेरिकाले लिटल ब्वायलाई हिरोसीमामा खसालेको दुई दशक पनि भएको थिएन। सोभियत संघको नेतृत्वमा वार्सा शैन्यशक्ति संगठन पनि प्रभुत्वशाली थियो। उक्त वार्सा शक्ति संगठन सन् १९९० मा सोभियत संघको विघटनसँगै शक्तिहीन भयो। औपचारिक विघटन त भएको छैन क्यारे तर त्यसै अस्तित्व हरायो। नेटो र वार्सा दुवै संगठन शक्तिशाली हुँदा कुन दिन आणविक युद्ध भैहाल्यो भने मानव समाज ध्वस्त हुन्छ भन्ने त्रासको त्यो समयलाई सीत युद्धका नामले चिन्ने गरिन्छ।

तिनताका गाउँघरमा अहिलेको जस्तो मोटर गुड्ने बाटो बनेको थिएन। दिउँसमा कृषिका कामधन्दा गर्नुपर्ने, समय वचत गर्नपर्ने हुनाले प्रायः रातिको समयमा जन्ती जाने चलन थियो। औँसीका चुक घोप्टाएको जस्तो अँध्यारोमा बाटो देखिने उज्यालो बनाउन सल्लाको त्यो दियालो नै असली उर्जा बन्थ्यो।

साहुहरू तथा एकमानो खान पुग्नेका घरमा भने मट्टितेलबाट बालिने लालटेन, ल्याम्प, टुकी ढेबरी बाल्ने गरिन्थ्यो। त्यस्ता धनी परिवारका विवाह समारोहमा भने मेन्टोल-पेट्रोम्याक्स बल्थे। मेन्टोलको रेशमी धागोको त्यो जाली बलेपछि बल्ब आकार बनाएर अडिएको खरानी हुन्थ्यो। छोए फुट्थ्यो। किरो ठोकिएर प्वाल पारिदिन्थ्यो। वर्षमा एक/दुई पटक अक्कल झुक्कल बल्न पाउने ती पेट्रोमेक्सहरू विरलै गाउँमा मात्र हुन्थे।

साँच्चै भन्ने हो भने म धेरै सानो छँदासम्म रातिमा बाटो छिचोल्न बालिएका दियालोको प्रयोगमात्र देखेको थिएँ। अलि जान्ने हुन थालेपछि तराईमा बस्न थालेकोले सानो छँदा खासै धेरै प्रयोग भोगिनँ पनि। तर, दियालोको प्रयोगमा अभ्यस्त आफन्तहरूका कुराकानीबाट त्यसको प्रचनल मट्टितेलबाट घटेको पनि धेरै वर्ष भएको थिएन भन्ने बुझिरहेको हुन्थेँ।

हुन पनि बेलायतले भारतमा उपनिवेशका रूपमा शासन गर्दा फलाम बिछाएर रेल गुडाउन थालेपछि बल्ल टिनका टिन मट्टितेल बोकेर पहाड लग्न थालिएको हो। त्यसअघिका हजारौँ वर्षसम्म हाम्रा पुर्खाले त्यही सल्लाको दियालोका सहाराले धेरै अँध्यारोमा पनि देखिने गरी उज्यालो पारेका थिए।

तराईमा सल्लो हुँदैन। पहाडका अग्ला सल्लाका रूख हिउँदमा काटेर कट्कुरोका एउटा कुनामा मसिना चिरा पारेर राखिएका हुन्थे। हाम्रोतिर दाउरा थन्काउने ओत तथा छाप्रोलाई कट्कुरो भन्ने चलन छ। ठाउँअनुसार शब्द फरक पनि हुनसक्छ।

सल्लाको काठ ह्वारह्वार्ती छिटो-छिटो बल्ने हुनाले खाना पकाउँदा प्रयोग गर्न उपयोगी हुँदैन। गीठाका दाउरा अडिलो भएर बल्ने हुनाले भान्सेका प्यारा दाउरा गीठा वा अन्य दाउरा हुन्थे। झट्टपट्ट आगो सल्काउन वा भल्काउन परे मात्र सल्लाको दाउरो उपयोग हुन्थ्यो।

खयरको दाउरा पनि चड्केर फिलिङ्गा उड्ने हुनाले राम्रो दाउरा मानिँदैन। अब त दाउराले खाना पकाउने चलन नै भेट्न मुस्किन भैसकेको छ। यस्तोमा दियालोको उजेलो पारेर गर्जो टार्ने अवस्था हराएकै अनुमान गर्छु।

कक्षा ९ मा पढ्दा दिवालीको पूजा गर्न भनेर पाठो लिएर भान्जे माइलाबा र म पहाड तिर लागेका थियौँ। घरबाट अलि अबेला निस्किएपछि उकालो चढ्न थाल्यौँ। उकालो जङ्गल चढेर छाप नामको गाउँमा पुग्दा झमक्कै रात पर्यो। त्यसैले हामी एउटा घरमा बास माग्न पुग्यौँ।

साँझमा बास माग्नेलाई बास दिने र खान सुत्न दिने गाउँको चलन थियो। त्यसैले हाम्रा लागि सहजै बास मिल्यो। त्यो घरमा मट्टितेलबाट बल्ने लालटेन, टुकी केही रहेनछ। मैले जीवनमा पहिलो पटक दियालो बालेर घरभित्र उज्यालो पार्ने चलनको साक्षी बस्ने मौका पाएको थिएँ।

त्यो छाप नामको गाउँ हाम्रो तराईको गाउँबाट देखिने सबैभन्दा अग्लो चुचुरोमा बसेको गाउँ हो। मेरी हजुरआमाले तराईमा औँलो नियन्त्रण गर्न डिडिटी छर्न थालिनुभन्दा पहिला हाम्रा बाजे त्यही छाप गाउँबाट बिहानै झरेर थारूहरूसँग खेती लगाउने र साँझ फर्कनु हुन्थ्यो भन्ने सुनाउनु हुन्थ्यो।

तर, मेरा लागि त्यो उकालो बाटो पार गर्न चार घण्टाभन्दा कम समयमा हुँदैन। अर्थात् हाम्रा पुर्खाले धेरै दुःख गरेर समाज अगाडि बढाउनु भएको उदारण पनि थियो हजुरआमाबाट सुनेको तथ्य।

थारूहरू भने तराईमै बस्थे। सायद उनीहरूका शरीरमा मलेरिया रोगसँग जुध्ने केही इम्युनिटी बढेको थियो होला। तर, थारूहरूको जनसंख्या खासै वृद्धि हुन नसकेको त्यो अवस्था मध्यनजर गर्दा केही रोगप्रतिरोध क्षमता त थियो होला, पूरै थिएन होला भन्ने अनुमान गर्छु।

तराईमा भने उस समयमा पनि मट्टितेलको प्रयोग प्रशस्तै हुन्थ्यो। ढुवानी गर्न पहाडमा भन्दा सहज भएकै हुनाले होला। गाउँमा पेट्रोमेक्स बालेर नौटङ्की (नाटक) खेलिन्थ्यो। हार्मोनियम, ढोल, मजुरा बजाएर ती कलाकारले देखाएका लैला मजनु, मानसिंह डाकु, इत्यादि नाटकहरू हेरेको सम्झना ताजै छ।

हिन्दी भाषाका ती पटकथाहरू पर्दाका पछाडिबाट पढेर सुनाइन्थ्यो। कलाकार त्यो सुन्न अलि पछाडि पर्दा नजिक जान्थे र अगाडि बढेर चर्को स्वरमा लाउड स्पिकरमा डायलग बोल्थे। लैला मजनु वियोगान्त प्रेम कथा थियो। तत्कालीन समाजमा व्याप्त डाँकुहरूको कथा हो। एक्सन कथावस्तु हुन्थ्यो डाकु मानसिंह, डाकु सुल्तान। डाँकु पनि गाउँले केटीका मायाजालमा परेर हिंसा त्याग्ने कथावस्तु पनि सम्झन्छु तर उक्त नाटकको नाम के थियो अहिले सम्झन सकिरहेको छैन।

छाप गाउँको त्यो घरमा दियालो धेरै बालिने भएर भित्ताहरू पनि धुँवाले अलि बढी नै कालो भएका रहेछन्। हामी पाहुना बनेर बास बस्न पुगेका त्यो घरबेटीले हामीलाई मकै भुटेर खान दिएका थिए।

एक वर्ष भान्जे काकाको 'लाँबीरह' भन्ने बेसीको गोठमा रात बिताउन जाँदा पनि दियालोको उज्यालोमा खाना खाएको सम्झना छ। सायद त्यस बेलाको दियालोको प्रचलनले जुरेको नाम हुनुपर्छ। चितवनमा नेपालका राजा कहिलेकाहीँ बस्न जाने दियालो बङ्गला बनाइएको थियो। सायद त्यो अझै पनि संरक्षित होला।

राजा महेन्द्रले बनाउन लगाएको त्यो घरमा चितवन शिकार खेल्न जाँदा राजाहरू बस्ने चलन राजा महेन्द्रबाट वीरेन्द्र र ज्ञानेन्द्रसम्म पनि चलेको गाइँगुइँ सुनिन्छ। राजा महेन्द्रको मृत्यु २०२८ माघ १७ बिहान पौने चार बजे चितवनको त्यही दियालो बङ्गला दरबारमा भएको थियो।

setopati.com मा प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९, १२:२७:१५
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.