Govind Belbase
<November 2024>
SuMoTuWeThFrSa
272829303112
3456789
10111213141516
17181920212223
24252627282930
1234567
जमिन्दारी अवशेष
जमिन्दारी अवशेष (अनुभूति- साहित्य)
-गोविन्द बेल्वासे
म एक वर्षको हुँदा जमिन्दारी ब्यवस्था उन्मुलन भएकोले मैले त्यो ब्यवस्था भेटिन । तर, मैले त्यसका अवशेषहरू भेँटे । महसुर गरेँ, केही हदसम्म उपभोग पनि गरेँ । नेपाली राजनीतिक भाषामा प्रचलित हुने सामन्ती ब्यवस्थाको एउटा जरो थियो, जमिन्दारी ब्यवस्था । दास प्रथा अलि पहिला नै उन्मुलन भैसकेको थियो, तर उन्मुक्त भएका केही दासहरूलाइ जिवित भेटेँ मैले । पहाडमा स्थानीय सामन्तको भूमिका जिम्माल र मुखियाले निभाएका हुन्थे र तराइमा जमिन्दारले । पहाडका जिम्मालले जस्तो तिरो भरोको हिसाव किताव राख्ने जिम्मा तराइमा पटवारीको हुन्थ्यो । तराइमा उतिबेला 'जमिन्दार' र 'रैती' हुन्थे । 'जमिन' भनेको 'भूमि' र 'दार' भनेको 'मालिक' जोडिएर बनेको जमिन्दार शब्दको अर्थ भूमिपति हुन्छ । रैतीहरूको जमिनमा हक हुँदैन थियो ।
क्यँउवा थारूले अरू थारूले जस्तै बढ्तै आदर गर्थे मलाइ । मैले त्यो ब्यवहारबाट अप्ठेरो मान्थेँ । सानै छँदा, मैले त्यो अप्ठेरो उनलाइ बताएँ र उनले 'हामी रैती हौ, तपाइ हाम्रा मालिक हुनुहुन्छ' भनेर थारू भाषामै बताएका थिए । उनी रैती थिए, म जिमिदारको छोरो भएकोले मलाइ उनले सम्मन गर्दारहेछन् । उतिबेला मैले गाउँका अरू केटाकेटी र मेरो बीचमा भएका भेदभाव बुझ्न नसकेर जन्मबाटै यो विभेद हुँदोरहेछ भन्ने महसुश गरेँ । जन्मबाटै मैले गाउँमा अरूलाइ भन्दा धेरै सुविधा र सम्मान पाइरहेको थिएँ । क्यउँवा थारूले सामान्य लेखपढ गर्न जानेका थिए । गाउँमा उनी र चिते थारूका छोराले मात्र लेख्न पढ्न जानेका थिए । अरू थारू थरूनी सवै निरक्षर थिए । जिमिदारी अँश बाँड्दा लेखपढ गर्न जानेका चिते बड्का शीरका भागमा र क्यउँवा छोट्का शीर (हाम्रो) भागमा परेका रैतीहरू रहेछन् । सोही अनुसार अरू रैतीहरू पनि आधाआधा गरेर बाँडिएको रहेछ । उस बेला त्यता नगिचमा स्कूल पनि थिएनन् तर उनीहरूले कसरि लेख्न पढ्न जानेका रहेछन, कुन्नि !! सायद कुनै सन्त या जोगीले सिकाएका हुन कि जस्तो अनुमान गरेको छु । जिमिदारको घर गोठ परिसर सहितको संस्थागत थारू भाषाको नाम हो शीर । जिमिदारी अंश भाग लागेर दुइ भाग भएकाले बड्का (जेठा) र छोड्का (कान्छा) शीर भनेर थारूहरूले नाम राखेका थिए । रैतीहरूको जीवनको जिम्मेवारी पनि हुन्थ्यो जिमिदारको । अनिकाल परेपनि जिमिदारले जसरी भए पनि रैतिका लागि खाध्यान्न जुटाउने भावनात्मक जिम्मेवारी हुन्थ्यो ।
म जान्ने हुँदा जमिन्दारी ब्यवस्था खारेज हुँदा सवै भन्दा बढि घाटा लाग्ने ब्यक्तिका रूपमा हरिहरको चर्चा सुनिन्थ्यो । हरिहरले अर्घाखाँचीमा 'हरिहर पाठशाला' नामको संस्कृत विद्यालय स्थापित गरेको तथ्यबाट उनी असल ब्यक्तिका रूपमा मेरो मनमा छाप बस्यो । बर्दिया लगायत तराइमा उनका एक सय का हाराहारीमा जमिन्दारी गाउँहरू थिए भन्ने सुन्थेँ । जिमिन्दारी ब्यवस्था खारेज भएर एक परिवारले २८ विगाहा भन्दा बढि जग्गा राख्नन नपाउने ब्यवस्था घोषणा भएको थाहा पाएर हृदयघात (हर्ट अट्याक)भएर उनको मृत्यू भएको हो रे । सम्पत्ति सरकारले खने भयो भन्ने पिरले उनको हृदयघात भयो भनिन्छ । बाठाहरूले कम्पनी दर्ता गरेर पनि लुकाए, तर उनी सोझा रहेछन् ।
जमिन्दार हक दिएको सरकारी कागजमा पुर्व, पश्चि, उत्तर, दक्षीण चौकिल्ला (चार सिमाना) खोलेर 'रस्ती रसाइ बस्ती बसाइ खानु' भनेर लेखिएको हुन्थ्यो । औलो (मलेरिया) रोगको वैज्ञानिक समाधान भेटिएको केही वर्ष मात्र भएको थियो । सरकारले डीडीटी छर्न थालेपछि मलेरियाबाट मर्ने डर हराएको थियो र रोग लागि हालेपनि सञ्च हुने औषधि बजारमा उपलब्ध थियो । अहिले त्यही औषधिले कोरोनाभाइरस (कोभिड१९)को उपचारको विषयमा चर्चा पाएको छ र अमेरिकी राष्ट्रपति ट्रम्पको नाम पनि त्यसैसंग जोडिने गरेको छ । त्यस भन्दा पहिला भने मलेरिया रोगले गर्दा नै तराइमा बाल मृत्यूदर धेरै थियो । औसत आयू थोरै थियो । त्यस कारण जनसंख्या बढिरहेको थिएन । जनसंख्या र खद्यान्न सकेसम्म धेरै उत्पादन गर्ने नीति सरकारको थियो । सकेसम्म धेरै जङ्गल फडानी गरेर खेती योग्य जमिन बढाउन र जनसंख्या बढाउन सरकारले जोड दिएको थियो । पञ्चायती ब्यवस्था हुँदाको राष्ट्र गानमै 'प्रजा फैलियोस' भन्ने बोलको अर्थबाट पनि त्यो परिवेशलाइ बुझ्न सकिन्छ । त्यसपछि भने जनसंख्या बढ्न थाल्यो र सदरमुकाममा परिवार नियोजनको कार्यालय नै खुल्यो । परिवेश बदलिएसंगै दशैमा 'सन्तानले डाँडाकाँडा ढाकुन' भनेर जनसंख्या बढोस भनेर दिइने आशिरवादका शब्द पनि बदलिन थाले । त्यही कुरा भने नयाँ पुस्तालाइ रोचक प्रसंग सुनाए जस्तो लाग्ने हुन थाल्यो ।
तराइमा मलेरिया नियन्त्रण भएर जनसंख्या बढ्न थालेर उत्पादन बढ्न थाले पछि पहाडबाट मानिसहरू तराइ झर्न थाले । बल्ल तराइका जमिनको मुल्य बढ्न थाल्यो । नत्र जिमिदारहरूलाइ मालपोत तिर्न पनि मुस्किल हुन्थ्यो, थुप्रै जिमिदारीमा जिमिदारले मालपोत तिर्न नसकेर लिलाम हुन्थे । पहाडमा मलेरियाले नभेट्ने हुनाले औसत उमेर पनि बढि हुन्थ्यो । समाजिक रूपमा तराइ बस्नेको इज्ज्त भन्दा पहाड बस्नेको इज्जत बढि थियो । तर, मेरो उमेर जति बढ्दै गयो त्यसै अनुरूप तराइको जमिनको महत्व बढ्दै गयो र धेरै मेहेनतबाट थोरै कमाइ हुने पहाडको जमिनको महत्व घट्दै गयो । तराइको जिमिदारी लिलाम हुँदा मालपोत मात्र तिरेर पाइने जिमिदारी स्वीकार नगरेका बुढाहरू धेरै थिए । म स्कूल पढ्दा बिगहा गनेर तराइमा जग्गा किन्न थालेकोमा उनीहरूले पछुतो मानेको भेट्थेँ । पहाडका जाँगरे किसानले बर्षमा तीन टीनसम्म घिउ बेच्थे । मलेरिया उन्मुलन नहुँदासम्म त एक टिन घिउका मुल्यले मालपोत सकारेर एक गाउँको जिमिदारी नै सकार्न पाइन्थ्यो ।
बोक्टापुर गाउँको हाम्रो भागको आठ आना जिमिदारी मेरा जिजुबाजेका पालामा जोरिएको जिमिदारी हो । हाम्रो पहाडको बसाइबाट तराइको उक्त जिमिदारी पुग्न हिँडेरै पनि ६ घण्टामा पुगिन्छ । उतिवेला हाम्रा पुरखाको मुख्य पेसा पसुपालन (गाइ-भैसी) मुख्य हुँदा उक्त टाँकु-बोक्टापुरको जिमिदारी एकजना राणाको थियो भनेर मेरा बुवाले बताउनु हुन्थ्यो । उनले हाम्रा जिजुबाजेलाइ कसरि दिए भन्ने पनि निकै रोचक प्रसंग छ ।
मलेरियाको खतरा टार्ने गरी जाडो महिनामा मात्र उत्पादन अनाज आदिको हिसाव किताब गर्न ती जिमिदार राणा काठमाण्डौबाट टाँकु-बोक्टापुर गाउँमा आउने गर्दा रहेछन् । हाम्रा पुरखाले पनि पुस माघको जाडोमा गोठ पहाडबाट सारेर भावँर (तराइ र पाहाडको घेँच) मा झार्नु हुन्थ्यो । हाम्रा बाजेले गाइको दुध अलि धेरै बेर तताएर ती राणाकहाँ पुर्याउनु हुँदोरहेछ । दुध जति धेरै बेर ततायो त्यत्ति गुलियो हुन्छ । तताउँदा दुधमा पानीको मात्रा घट्दै जाने हुनाले गुलियो पन थपिँदैजान्छ । ती जिमिदार राणाले त्यसरि तताएको दुध मिठो नमान्ने कुरै भएन । उनलाइ कसरि मिठो भयो भन्ने थहा भएन र गाइ नै मीठो दुध दिने परेछ भन्ठानेका रहेछन् ।
हरेक वर्ष जाडोमा जिमिदार आउने, उनी आउँदा दुध पुर्याइदिने क्रम चलिरहेछ । ती जिमिदारले दुधको पैसा तिर्न खोज्दारहेछन् तर ती बुढाबाले हामीले दुध बेच्ने चलन छैन, खुसीले दिएको हो पैसा लिन्न भन्नुहुँदोरहेछ । त्यसै गरी अलि वर्ष वितेपछि बाहुनको बर्मस्व त्यसै खान हुँदैन भन्ने धार्मिक भावनाले ती जिमिदारलाइ सताउन थालेछ । त्यत्तिखेरको समाज र कानून धर्म र जातको विषयमा धेरै कट्टर पनि थियो । त्यसै अनुसारको उनको मानसिकता पनि हुने नै भयो । उनले अन्त्यमा उपाय नलागे पछि यस्तो मिठो दुध दिने गाइ नै किन्छु, किन्न देउ भन्न थालेछन् । तर बुढाबाले हाम्रो गाइ नै नबेच्ने धर्म छ भन्नु भएछ । त्यसै गर्दागर्दै पनि दुइतीन वर्ष वितेछन् । त्यस पछिको वर्षमा आएका ती राणाले जानेबेलामा बाहुनको बर्मस्व त्यसै खान्न अरू केही भनेर मानेनौ ल अव यो टाँकु बोक्टापुर दुवै मौजा तिमीलाइ छाडेँ भनेर कागज गरेर सोह्रै आना जिमिदारी दिएर गएछन् ।
चारभाइ छोरा मध्ये जेठा र माइलाका सन्तानलाइ टाँकुको आठआठ आना जिमिदारी र साइला मेरा जिजुबुवा टिकारामका भागमा आठ आना र कान्छाका भागमा आठ आना जिमिदारी पर्यो । टिकारामका एकमात्र छोरा, भिमलाल र भिमलालका छोरा मेरा बुवा भक्तिप्रसाद पनि एक भाइमात्र छोरा हुनुहुन्थ्यो । त्यसरी बुवाका भागमा परेको बोक्टापुरको आठ आना जिमिदारीको अवशेषको अनुभूति र महसुश गर्ने मौका मैले पाएको थिएँ ।
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.