Govind Belbase
<April 2024>
SuMoTuWeThFrSa
31123456
78910111213
14151617181920
21222324252627
2829301234
567891011
उपन्यास: NRN (बेलायत)को कथाबस्तु – "एम्मा" – भाग 2
भाग – २

विहान अस्पताल पुगेपछि एम्माको अपरेसनको लागि थिएटरमा जानु पर्ने थियो । उनीसँग सामान्य विरामी र डाक्टरको सम्बन्ध भन्दा अलि बढि नै मेरो भावना जोडिएको छ । हुबहु अनुहार सहितको रगतको सम्बन्ध हुन सक्ने आशङ्काका कारण मेरा लागि विशेष विरामी हुन एम्मा । उनका टुक्रा परेका हड्डीका टुक्रालाई जोड्न चाहिने मेटलका सामान तथा जोड्ने टुक्राहरु पनि सवै तयार भैसकेकै रहेछन् ।


उता मेरो मन भने उनको डिएनएको रिपोर्ट हेर्नमा आतुर थियो तर विरामीको खुट्टाको समस्यासँग त्यो रिपोर्टको कुनै सम्बन्ध थिएन । थियो त मेरो मनको खुल्दुली समाधान गर्ने कडी । डिएनए रिपोर्टले हामी बीचमा कुनै रगतको सम्बन्ध नभएको पुष्टि गर्ने सम्भावना अनुमान गर्दै थिएं । तर, मन भने सम्बन्ध जोडिन सक्ने सम्भावनाको तरङ्गमा चञ्चल पनि भैरहेको थियो । दुनियाँमा यति धेरै मान्छे भए पनि हुबहु ठ्याक्कै मिल्ने दुई जना त जुम्ल्याहा मात्रै हुन्छन् । कोही–कोही उस्तै–उस्तै देखिने पनि हुन्छन् तर जुम्ल्याहाको जस्तो ठ्याक्कै मिल्ने त हुँदै हुँदैनन् । नेपालका पहाडका डाँडाको स्वरुपसँग मान्छेहरुको विविधता कहिले काहीँ दाज्ने गर्छ मेरो मन । पहाडका लस्करै लंबिएका डाँडाहरु उस्तैउस्तै त देखिन्छन् तर ठ्याक्कै मिल्ने कतै भेटिँदैनन् । कसैका वल्लो टुप्पा र पल्लो टुप्पका बीचको दुरी मिल्दैन, कतै एउटा डाडाको मोटाइ र तलतिर फैलिएका शाखाहरु पटक्कै मिलेका हुँदैनन् । कुनै पहाडका थुम्कामा भएका चौपारीले स्वरुपमा सुन्दरता थप्दै अरु डाँडाभन्दा फरक पारेका भेटिन्छन् । कतै हरियाली र रुखका लस्करले पनि छुट्याएका हुन्छन् । आखिर कतै को डाँडा हुबहु अर्को डाँडासँग मिलेकै हुँदैन । मान्छे पनि तिनै डाँडा जस्तै एउटा मान्छे र अर्को मान्छे ठ्याक्क उस्तै हुँदै हुँदैनन् । जुम्ल्याहा सन्तानहरुका बीचमा पनि समानता भेटिन्छन् । उस्तै हुन्छन्, कतिपय जुम्ल्याहा ब्यक्तिलाई कहिलेकाहीँ भेट्ने ब्यक्तिले छुट्याउनै सक्दैनन् । कहिले काहीँ त त्यस्ता दुई जुम्ल्याहा बीचमा अनुहारमा भएका कोठी हेरेर मात्र छुट्याउन सकिने परिस्थिति पनि बन्ने गर्छ । जुम्ल्याहाहरुले धेरै ब्यक्ति झुक्किएका रमाइला कुरा पनि सुनाउने गर्छन् । उनीहरुलाई त बानी नै परेका हुँदोरहेछ । तर, बाबु–आमा तथा परिवार सदस्यले भने त्यस्ता जुम्ल्याहा बीचमा पनि सजिलै फरक छुट्याएर चिनिरहेकै हुन्छन् । कतै एम्मा र म पनि जुम्ल्याहा त होइनौ ? भन्ने आशङ्काकै कारण मैले डिएनए परिक्षणको लागि रगत जाँच गर्न पठाएकी हुँ । त्यो रिपोर्ट आउन कम्तिमा चार हप्ता लाग्ने त पक्का पक्की नै थियो ।

तोकिएकै समयमा योजना अनुसार नै अपरेसन पनि सफल भयो । थिएटरबाट बाहिर निस्कँदा दिउसोको साढे दुई बज्न थालेको रहेछ । सिधै अफिस कोठामा गएं । मोबाइलको बत्ति झिपीझिपी गरेर कुनै म्यासेज आएर बसेको सूचना दिइरहेको थियो । फोन उठाएर हेरेको भाइबरमा नेपालबाट आएको म्यासेज रहेछ । नेत्र दाइको म्यासेज रहेछ । मेरा मामाका छोरा नेत्र दाइले ‘दिदीभिनाजु चढेको बस ट्रकसँग ठोकिएर सिकिस्त घाइते हुनुभएकोले टिचिङ् हस्पिटलमा राखेका छौँ, तुरन्त काठ्माण्डौ आउनु’ भनेर लेख्नु भएको रहेछ । हाम्रो गाउँघर तिर फुपुफुपाजुलाई पनि दिदी भिनाजु भन्ने चलन छ । उहाँको आसय मेरा बुवा र आमा घाइते भएर टिचिङ् अस्पताल बालुवाटारमा भर्ना हुनुभएको भन्ने बुझेँ । तुरुन्तै नेत्र दाइलाइ फोन गरेको फोन पनि तुरुन्तै उठिहाल्यो । उहाँले त मेरो फोनको प्रतिक्षा गरिरहनु भएको रहेछ ।

उता फोन उठेको थाहा पाउने वित्तिकै ‘दाइ मैले म्यासेज पाउने वित्तिकै फोन गरेको, म त अपरेसन थिएटरमा थिएं, वुवा र आमालाई कस्तो छ ? बेस्सरी घाइते हुनुहुन्छ कि कस्तो छ ?’ भन्ने प्रश्न गरेँ ।

उताबाट दाइको आवाज आयो ‘न आत्तिउ हामी यहीँ छौ, निकै सिरियस हुनुहुन्छ दुवै जना तिमी तुरन्तै आउनु पर्ने भयो ।’

अवस्था गम्भीर रहेको अनुमान सहित मेरो मन अतालिन थाल्यो । दिमागले अरु सवै कुरा विर्सिएर नेपाल जाने निधो नै गरिहाल्यो । दाइलाइ भनेँ ‘यहाँ काममा मैले मिलाउनु पर्छ, सकेसम्म आजैको प्लेनमा उडेर भोलि आइपुग्छु । मैले यहाँबाट सवै मिलाएर यात्राको तयारी गरेर भोलि कतिबेला काठ्माण्डौ पुग्छु भन्ने जानकारी दिनेछु । हुन्छ अहिले राखें त’ भनेर मैले फोन काटें ।

हत्तपत्त म म्यानेजरको कोठामा पुगें । धन्न, म्यानेजर आफ्नै कोठामा रहेछन् । उनलाई ‘एक्सिडेन्ट भएर मेरा ड्याड र मम दुवै जना हस्पिटलमा सिकिस्त हुनुहन्छ भन्ने भरखर खबर आयो, म आजै नेपाल जान पर्ने भयो । मेरो लिभ स्वीकृत गरिदिनुस’ भन्दै अनुरोध गरेँ ।

उनले मेरो जिम्मेवारीका विरामीको केशका विषयको जानकारी सोधेर टिपे । त्यस पछि, ‘हुन्छ तिमी आजै जान सक्छ्यौ, नेपाल पुगेर स्थिति बुझेपछि कहिले आउन सक्छ्यौ खवर गर्नु र म यहाँको रोटाहरु मिलाउने छु ।’

विदाको समस्या त समाधान भयो त्यसपछि प्लाइट मिलाउनु पर्ने थियो । ट्राभल एजेन्टलाई फोन गरेको साँझको फ्लाइटबाट उडेर भोलिनै दिउसो तीन बजे काठमाण्डौ पुग्ने टिकट मिलाएँ । कामका सिलसिलामा साउथअफ्रिका गएका दिनेश (पति)लाई ‘अपरझट परेर छोरीलाई पनि साथै लिएर नेपाल जाँदै छु, अरु कुरा बताउन म एयरपोर्ट जान ट्रेन चढेपछि फोन गर्नेछु र कुरा गरौँला भनेर इमेल लेखेर पठाएं ।

छोरी स्कूलको गेटबाहिरको बाहिर पेटीमा हिँड्दै रहिछन् । उनको छेउँमा विस्तारै कार लगेको उनले देखिन र रोकिएको कारमा पस्दै भनिन् ‘आज किन चाडै आएको आमा ? मैले त यसरि पिकअप गर्नुहुन्छ भन्ने एस्पेक्ट (आशा) नै गरेकी थिइन’
उनी अगाडिको सिटमा बसेर सिटबेल्ट बानेपछि गाडि अगाडि बढाउँदै मैले भनेँ ‘बुवा र आमा तथा तिम्रो हजुरबुवा हजुरआमाको एक्सिडेण्डमा परेर हस्पिटलमा हुनुहुन्छ । त्यसैले तिमी र म आजसाँझ कै फ्लाइटमा नेपाल जाने हो ।’

छोरीले अवस्थालाई मध्यनजर गरेर ‘बुवा त अर्को हप्तामात्र फर्कनुहुन्छ, मेरो पढाइ पनि छुट्ने भयो, तर, उहाँहरुलाई भेट्न नेपाल त जानै पार्यो नि । स्कूल एपसेन्ट (गयल–गैरहाजिर) भएकोमा समस्या पर्छ कि !’

उनको चिन्ता जायज नै थियो र सम्झाउँदै भनेँ ‘यस्तो कम्प्यासन अवस्थामा फरक पर्दैन, मैले तिम्रो स्कूलमा इमेल पठाउँछु ।’

उनले अवस्थालाई बुझेको चाल पाएँ । पारिवारिक सम्बन्धको महत्व उनले बुझिन पनि । आखिर बुवा–आमाकी म एक मात्र छोरी भएपछि सामाजिक चलन र संस्कृति अनुसार मेरा कर्तब्यहरु पनि त छन् नि । साझँ नै फ्ल्याइट समाउने चाजोँ मिलाउन पर्ने भएकोले पनि नेत्र दाइसँग के कसरि कहाँ दुर्घटना भयो ? कसरि अस्पताल पुर्याइयो ? को को साथमा छ ? अवस्था के कसो छ भन्ने केही राम्रारि सोध्न पनि नपाएकोले मन झन् मलिन भैरहेको छ । जे होस ठूलो नोक्सानी केही नभए हुन्थ्यो । दाइले सिकिस्त हुनुहुन्छ भने पनि स्थिति गम्भीर त पक्कै छ । उहाँहरुकी एकमात्र सन्तान साथमा नहुँदा उहाँहरु चिन्तित पनि हुनुहुन्छ होला, तर भोलि त म पनि पुगि हाल्छु नि । आखिर नेपालमै म भए पनि कुनै जिल्ला तिर काममा भएको भए पनि त काठमाण्डौ पुग्न समय त लागि हाल्थ्यो । नेपालका कतिपय जिल्लाबाट त यति समयमा काठमाण्डौ पुगिहाल्न सम्भव पनि हुँदैन । अझ त्यसै माथि मौसमको खराबी त कहिले नेपाल बन्द जस्ता आन्दोलनका कारण पनि भनेको र साँेचे जसरि गन्तब्य पुग्न नै कहाँ सकिन्छ र ! मैले परदेशमा भएर बुवाआमालाई आवस्यक परेका बखत साथै हुन नपाएको पिडालाई सान्त्वना दिनलाई पनि त्यस्तै कुरा मनमा खेलाउँदै रहें । मनमा कुरा खेल्दाखेल्दै घर पुगेर छोरीको र आफ्नो सामान झोलामा हालेर टेक्सीलाई बोलाउन फोन गरें । समयमै ट्रेन चढेर एयरपोर्ट जाँदा नै दिनेशलाई फोन गरेर आफुलाई जानकारी भएको जति र नेपाल हिँडेको जानकारी गराएं । योजनाअनुसार काठमाण्डौ पुग्न त समस्या भएन । समय भने निकै ढिलो हिँडिरहेको र चाडै पुग्नमा अताल्लिरहेको छ ।

एयरपोर्टमा वाहिर निस्कनासाथ नेत्र दाइहरुसँग भेट भैहाल्यो । उहाँकै गाडीमा हामी सिधै अस्पताल जाने भनेर गाडीमा बस्यो । नेत्रदाइको अनुहारमा निकै उदासिनता थियो । रातभरि नसुतेको जस्तो अनुहार उडेको थियो । गाडीमा बसेपछि उहाँले भन्नु भयो ‘दिदी र भिनाजु अव यो दुनियामा हुनुहुन्न, तिमीलाई पहिला नै भनेको खण्डमा यात्रामा समस्या हुन्छ भनेर हामीले नभनेका हौ ।’

मेरो भक्कानो भरियो । आखाँबाट सररर आशु बग्न थाले । त्यो स्तरको समाचारको कुनै सम्भावना नै साँेचेकी थिइन । हुन त एक्सिडेन्ट भन्नासाथ शङ्का त लाग्नु पर्ने हो तर म बढि सकारात्मक भएर पनि होला बुवाआमा गुमाउने सम्भावना सोँचेकै थिइन । हुन त सोचेकै कुरा मात्र हुने पनि त होइन । छोरी पनि रुन थालिन । एक छिन दाइले हामीलाई केही नभनि चुप बस्नु भयो । करिब १० मिनेट पछि भन्न थाल्नु भयो ‘शब टिचिङ् अस्पतालमा छ । अस्पतालसम्म पुर्याउँदासम्म त दुवै जनाको स्वाश थियो रे । रगत धेरै बगिसकेको रहेछ । म राति १० बजे अस्पतालमा पुग्दा मैले पनि स्वाश भेट्न पाइन । एम्बुलेन्सबाटै बोल्न छाड्नु भएको रहेछ । घटना स्थलबाट एम्बुलेन्समा सिधै ल्याएका रहेछन् । होस छँदै भिनाजुले मेरो नम्बर पुलिसलाइ दिनु भएको रहेछ । पुलिसले मलाई खबर गरेपछि म सिधै अस्पताल आएको हुँ ।’

मैले आफुलाइ सम्हाल्ने प्रयास गरें । भरिएको मनले भने ‘जाउँ अस्पतालमा’, स्वर पनि बल्ल बल्ल निस्किरहेको थियो । गाडी हिँडिरहेको थियो । मेरो मनले पुराना याद र अबका सामाजिक रितिरिवाजको अल्झनको विषयमा सोचिरह्यो । हामी गत वर्ष बेलायत जानेबेला बुवा र आमा एयरपोर्ट आएर विदा गरेको समय सवैभन्दा बढि आखा अगाडि आइरह्यो । सानादेखिका कुराहरु सम्झना आइरहेको छ । अरुलाई यस्तो पर्दा आफन्तजन साथीभाइहरुले सम्झाउने शब्दहरुनै अब कानमा गुञ्जनेछन भन्ने अनुमान गर्न थालें । परम्परा अनुसार छोराले शबमा आगो लगाउने सम्भावना थिएन, म त्यसको लागि पनि मन भित्रैबाट तयार भैसकेकी छु । पहिले भन्दा परम्पराहरुमा अलिअलि सुधार त भएको छ । छोरीमात्र हुनेहरुले नै आफन्तको शबमा आगो लगाउने चलन समाजले सहजै स्वीकार गर्न थालिसकेको छ । तर, अझै थुप्रै संस्कारहरु इन्धनबाट चल्ने यन्त्रहरु प्रचलनमा नआउँदैदेखि चलनचल्तिमा रहेका छन्, कुनै पनि सुधार गरिएको छैन । हाम्रो चेतना स्तर र विज्ञानको जानकारीका सन्दर्भमा अनुचित पनि रहेका छन् । तर, यस्तो अवस्था भनेको सम्बेदनशील हुन्छ । न त विरोधै गर्न मिल्छ न स्वीकार गरेर पालन गर्न मनले नै मान्छ । यही कुरा मनमा खेल्दै गर्दा छोरी अलि रुन कम गरेकी थिइन्, रुन्चे स्वरमा भनिन् ‘प्यास लाग्यो’

हाम्रो गाडी पसुपति नाघेर दायाँ मोडिंदै चावहेल तिरको ट्रफिकको हुलमा नियन्त्रित गतिमा अगाडि बढ्दै थियो । मैले बोकेको ब्याकप्याकको छेउँबाट सानो बोतलको पानी नबोलीकनै छोरीलाई दिएं । दुई घुट्की खाइन । अनि भनिन् ‘घाटीमा र नाक थुनिए जस्तो, स्वाश फेर्न अलि असजिलो भैरहेको छ ।’ मैले पनि त्यो गाडीका धुवाको असरले स्वाश फेर्न अपठेरो अनुभव गरिरहेकी थिएं । छोरीलाई पनि त्यही गाडीको धुवाको असर परेको सहजै अनुमान गरें । अनि दाइलाइ सोँधे ‘दाइ, गाडीमा एक्स्ट्रा मास्क भए दिनुस है, यसलाई यो पोलुसनले स्वाश फेर्न अप्ठेरो भएर होला’ ।

उहाँले एक हातले स्टेरिङ समाउदै अर्को हातले गाडीको अगाडिपट्टि सामान राख्ने खाली ठाउँको ढक्कन खोल्दै मास्क खोज्न थाल्नु भयो । ट्राफिकको चापले गर्दा गाडी निकै विस्तारै विस्तारै गुडेकाले उहाँलाई हात लम्काएर मास्क खोज्न खासै गाहरो त भएको थिएन । उता आखा बाटोतिर पनि लगाउँदै मास्क खोज्दै भन्नुभयो ‘हुन्छ, मसँग डिस्पोजेबल मास्क हुने गर्छ, छ होला म खोज्दैछु ।’

पुर्व तयारी गरेर नेपाल यात्रा गर्दा मैले बेलायतबाटै मास्क बोकेर आउने गर्थेँ तर यस पटक त हतारमा हिंडेकोले त्यो विषयमा त ध्यान पनि भएन । मन मलिन छ, बोल्न मनै लागिरहेको छैन । विचलित मन अस्पताल पुगेर प्राण नभएको शरीरै भए पनि आमासँग हामहाल्ने मन गरिरहेको छ । दाइले भन्न थाल्नु भयो ‘यस्तै हो, हामीले टार्न सक्ने भएन, काल आएपछि के लाग्छ र चित्त बुझाउन पर्छ । तिमी पढेलेखेकी डाक्टर मान्छे हामीले सम्झाउन भन्दा पनि तिमी आफै बुझ्ने छँदै छौ । तिमीले उहाँहरुको जीवन छँदासम्म सवै कुराले सन्तोष लगाएकै थियौ । के गर्ने प्रकृतिको नियम हो जन्मिएपछि एक दिन मर्न त परिनै हाल्छ । उमेर नभइ जानु भयो ।’

अस्पताल पुग्दा आफन्तहरु धेरै जना नै जम्मा हुनुभएको रहेछ । महिला आफन्तहरु मलाई देख्नासाथ रुन थाल्नु भयो । मेरा रोकिएका आँसुहरु पनि उहाँहरुको समबेदनाका आँसुमा साथदिन थाले । म रोक्न प्रयास गरिरहें तर रोक्नै नसकिने रहेछ, चिकित्सा विज्ञानको अध्ययन र कामका सिलसिलामा थुप्रै मृत्यूहरुसँग सामना भए पनि आफ्नो मान्छेको सधैको विछोड फरक पो हुँदोरहेछ । असामयिक त थियो नै बृद्ध भएकै बाबुआमा गुमाउनेहरुलाई पनि त पिडा त उस्तै त हुन्छ होला नि ! पुरुष आफन्तहरुमध्ये पनि कोही भने लुकाएरै आशुं पुछ्दै गरेको देखें । हाम्रो समाजले पुरुषहरुलाई रुने छुट नदिएकोले होला । महिलाहरुलाई सामाजिक मान्यताले रुने अधिकारमात्र होइन रुने जिम्मेवारी पो तोकेको जस्तो चलन अनुसार नै कुनै पनि महिलाको आखा ओभानो भएको मैले देखिन । त्यही रुवावासीको शिल्सिलामा मुर्दाघरमा राखिएको शवमा पुगेर शब भेटियो । ती प्राण नभएका दुई शरीर मेरै बाबु आमाका थिए तर ती भावना विहिन माटोसरी भैसकेका थिए । तर ती शबमा पनि उर्जा त थियो क्यारे ! त्यसैले होला माटोसरी भएका ती शरीरसँग पनि भावना जोडियो भक्कानो फुट्दा रोक्नै नसकिने । ती आत्मा नभएका र मस्तिस्क नचल्ने शरीरमा चेताना नभएपछि मेरा लागि महत्व नहुनु पर्ने हो तर शरीरका उर्जा भने भावनासँग जोडिइराखेकोले होला छुट्टिदो रहेन छ । चिकित्सा विज्ञानले अर्थहिन भैसकेका मानव शरीर तथा संस्कारले आगो लगाएर जलाइने ती शरीरले मेरा लागि छुट्टै अर्थ बोकिरहेका थिए । मेरो जन्मदेखिका घटनाक्रम कोही मलाई याद भैरहेका त कोही मैले विर्सिसकेर पनि बुवाआमाले सुनाएका कारण मैरे सम्झनामा ताजा बनाइएका घटनाक्रमहरु मडारिन थाले । म रोइरहँदापनि दिमागमा पुराना ती घटनाक्रमहरु एकपछि अर्को गर्दै दिमागमा खेल्न थाले । सायद उपस्थित परिवारजनहरुलाई पनि म रुँदा मन हल्का हुन्छ भन्ने थाहा थियो क्यारे मेरो रुवाइमा अलि वेरसम्म हस्तक्षेप गरिएन । म पनि खुलेर रुन पाएको र पुराना घटना दिमागमा खोतल्न पाएकोमा अनौठो आनन्द अनुभूति गर्दै छु । सवै भन्दा बढि त पछिल्ला घट्नाहरु नै मनमा खेल्नु स्भाविक हो क्यारे, गत वर्ष बुवाआमा दुवै जना बेलायत गएका समयमा अझ बढि उहाँहरु छोरीसँग रमाएको र नातिनीको भविष्य तथा विदेशिएका नेपालीहरुको नयाँ परिवेशको भविष्यवारेको उहाँहरुको चिन्ता मनमा खेलिरहेछ । छिमेकीका केटाकेटी भन्दा हाम्री छोरीको नेपाली भाषा बोल्ने स्पष्ठ कलाले उहाँहरुलाई सन्तोष पारेको थियो । नेपाली परम्पराका संस्कृति र संस्कारमा भएका कुरितिहरुको आलोचक हुँदाहुँदै पनि वुवा कुरिति हटाउँदै लगेको तथा सुधारिएको नेपाली संस्कृतिको चाहना भएको पटक पटक दोहर्याउनु हुन्थ्यो । नेपाली संस्कृति त्यसमा पनि छोइछिटो प्रथा जस्ता कुरितिहरुलाई छोड्न नचाहने सामाजिक मान्यताबाट उहाँ त निकै उदास हुनुहुन्थ्यो । कुरिति हटाउने सुधार गर्ने प्रयासमा स्वयं धर्मगुरुहरु नै उदासिन रहेकाले नेपाली संस्कृति र संस्कार विलुप्त हुँदै जान्छ भन्ने उहाँको मान्यता थियो । विद्युतिय उर्जाबाट चल्ने यन्त्रहरुको प्रचलन हुनुभन्दा पहिलाको समाजको आवस्यकतामा विकास भएका हुन हाम्रा संस्कार भन्नु हुन्थ्यो । ती संस्कार र संस्कृतिहरु अहिले डिजिटल र साइबर प्रविधिले सुसज्जित हुँदा जुन परिवर्तन हुन पर्ने थियो त्यस मध्ये एक प्रतिशत पनि सुधार हुन नसकेको बरु कुरितिलाई धार्मिक आडदिने पण्डाहरुलाई उहाँले दोषी मान्नु हुन्थ्यो । चन्द्रमा छुने लक्ष्मिप्रसाद देवकोटाको कवितालाई निकै दोहोर्याउनु हुन्थ्यो जसलाई उहाँले हाम्रो समाजले कल्पना भित्र मान्यता दिन पनि छुट नदिएको अवस्था भन्नु हुन्थ्यो । तर, मानिस नै चन्द्रमामा पुगेको तथ्यलाई समेत हाम्रा पण्डितहरुले नपत्याएको उहाँका दिनलाई त उहाँ ठट्टा मान्नु हुन्थ्यो । आमाले गर्ने मुर्ति पुजा तथा पुजाकोठाको सजावटमा उहाँ रमाउनु हुन्थ्यो । आमाको आध्यात्मिक सोचमा कहिल्यै हस्तक्षेप गर्नु भएन । स्वस्थानी ब्रतकथा पढ्न रोक्नु भएन तर त्यो कथा भित्रका अवैज्ञानिक तथ्यहरुलाई बुझाउने प्रयास गर्नु हुन्थ्यो । तर, मामालाई तर्कसँग मतलब थिएन, चलिआएको परम्परा अनुसारको पुजाले आनन्द दिएको भन्दै पुजाआजामा रमाउनु हुन्थ्यो । बुवाले अध्यात्मिक सोच वास्तविक नभएको र ज्ञानको कमिले अध्यात्मिक सोच जन्माउँछ भन्ने मान्यता राख्ने भौतिकबादी भएको मान्नु हुन्थ्यो, आफुलाई । आफुलाई ‘नास्तिक होइन धर्म नमान्ने मान्छे हुँ’ भन्ने गर्नु हुन्थ्यो । उहाँले नास्तिकले धर्ममान्नेहरुलाई घृणा गर्छन र धर्मपालनमा ब्यवधान खडा गर्छन् तर ‘म आफुले धर्ममा तथा अध्यात्मबादमा विस्वास गर्दिन तर धर्ममा आस्था राख्नेको पनि आस्था अनुसारका गतिविधि अरुलाई नोक्सान नपुर्याउने गरी गर्न पाउनु पर्छ’ भन्नु हुन्थ्यो । मानिसको ज्ञानले उत्तर भेटाउन नसकेको सिमानाबाट इश्वरको कल्पना सिर्जना हुन्छ भन्नु हुन्थ्यो । मानिसले उत्तर निकाल्न नसकेको तर्कबाट पन्छिनका लागि यो त इश्वरको खेल हो त्यसैले हामीले उत्तर भेटिंदैन भन्ने हुनाले ज्ञानको सिमाना सकिना साथ इश्वरको अस्तित्व सुरु हुने मान्यता राख्नु हुन्थ्यो । उहाँले उदाहरण दिँदै हाम्रा पण्डितहरुले गर्ने तर्कबाट ज्ञानको परिधि नाघ्नासाथ अध्यात्म सुरुवात हुने तर्क पुष्टि गर्ने गर्नु हुन्थ्यो । जबसम्म टिवी (ट्यूबरक्लोसिस–क्षयरोग) को औषधि बनेको थिएन र उपचार नभएर मानिस मर्थे त्यस समयसम्म इस्वरका अगाडि डाक्र केही होइनन् भनेर पण्डितहरु तर्क गर्थे । टिवी रोग सञ्चोो पार्ने औषधिले विरामीहरु निको हुन थाले पछि ती पण्डितहरुले टिबी त मान्छेले ठीक पार्न थाले क्यान्सरको औषधि खै पत्ता लगाएको ? भनेर प्रश्न गर्न थालेछन् । उनीहरुले त्यो तर्कबाट अध्यात्मबादको पुष्टि गर्ने प्रयास गर्छन । मानिसको ज्ञानको परिधिले क्षयरोगको औषधि पत्ता नलगाउँदासम्म पण्डितहरुले त्यहीँबाट इश्वरको पुष्टि गर्थे, जब टिवीको औषधि बान्यो त्यसपछि ज्ञानको परिधि उनिहरुले विस्तार गरे र क्यान्सर रोगसम्मको परिधि तोके भन्ने तर्क गर्नु हुन्थ्यो । चन्द्रमालाई भगवान भान्छन्, अझै पनि अर्घ दिन्छन्, पानी चढाउँछन् तर मान्छे त्यहाँ आउने जाने गर्न थालेपछि मानिसको ज्ञानको परिधिलाई अध्यात्मबाद पुष्टि गर्ने परिधि बढाएर पडितहरुले सूर्यमा मान्छे पुग्नै सक्दैनन् भन्ने, उहाँ भन्ने गर्नु हुन्थ्यो । सूर्य आगोको डल्लो भएकोले त्यहाँ मान्छे पुग्न सक्दैनन् भन्ने कुरा पण्डितहरुले बुझेर होइन चन्द्रमा भगवान भएको भन्ने तर्क फेल भयो भन्ने माने पनि सूर्य ठूला भगवान हुन भन्ने तर्क प्रस्तुत गर्नु पण्डितहरुको विश्वास हो भन्नु हुन्थ्यो । बरु उहाले धर्मगुरुहरुलाई ज्ञानी पुरुष भन्ने प्रचलनको भने समर्थन गर्नुहुन्थेन । जहाँबाट ज्ञानको परिधि सकिन्छ त्यहीँबाट अध्यात्मको तर्क गर्ने हुनाले त्यस्ता ब्यत्तिलाई ज्ञानीपुरुष होइन अज्ञानी ब्यक्ति भन्नु पर्ने बुवाको तर्क हुने गथ्र्यो ।

आखिर धर्मको विषयमा फरक मान्यता राख्ने वुवाको अन्त्यष्टि पनि हाम्रो समाजले पालन गर्र्दै आएको हिन्दू संस्कारहरुकै आधारमा पुरा गर्नु पर्नेमा म विश्वस्त नै थिएं । प्रविधि र सुविधाहरु जे जस्ता उपलब्ध भए पनि परम्परा धान्नकै लागि बाँस र कात्रोको पुरानो परम्परा दोहोर्याइयो । सवै आफन्तहरु आ–आफ्नो गक्षअनुसारको सेवामा जुट्नु भयो । समय सापेक्ष नरहेका संस्कार प्रति असहमति रहेका आफन्तहरु पनि उपस्थित हुँदाहुँदै पनि यो अवस्था भनेको संबेदनशील भएकोले पनि कसैले त्यस विषयमा तर्क नगरी आर्यघाट शब पुर्याउने र हामी पुग्ने काम सम्पन्न भयो । त्यसपछि आगो सल्काउने छोराको अनुपस्थितिले भने शब्दहरु फुट्न थाले । कानेखुसीहरु पनि हुन थाले । ती कानेखुसीहरु मैले सुन्ने गरी गरिएका थिएनन्, त्यसैले मैले अनुमान र अड्कल धेरै खालका गर्दैरहेँ । परिस्थितिलाई मुल्याङ्कन गर्दै उपस्थित समुदाय मध्ये मेरो कुरामा साथदिने ब्यक्तिहरुको उपस्थितिलाई मध्यनजर गर्दै मैले आफैले मुख खोल्न जायज ठानें र भने–

‘दाग बत्ती कसले दिने भन्ने चिन्ता नगर्नुस, म आफैले दागबत्ती दिन्छु ।’

नन्दराम पण्डित नै हाम्रो परिवारको संस्कारहरुमा सरिक हुने गर्नु हुन्थ्यो । बुवाले पुजापाठ नगरेपनि आमाले धार्मिक कार्यका लागि उहाँलाई नै बोलाउनु हुन्थ्यो । बुवाले पनि आमाको भावनाको कदर गरेर संस्कारहरुमा सरिक हुनुहुन्थ्यो । अरु कोही नभएको र हामी परिवार मात्र भएको अवस्थामा भने आमालाई हाम्रा संस्कारका कुरितिका विषयमा सचेत गराउने प्रयास गर्नु हुन्थ्यो ।

तर, आमा भने ‘भगवानले दिएकाछन् र सवै पगिसरै हुँदै आएको छ, भगवानले दिएको पनि पित्रि खुसि नभए जान्छ भन्छन्, त्यसैले पित्रि कार्य गर्न पर्छ ’ भन्नु हुन्थ्यो ।

आमा पण्डितका सल्लाहअनुसारका पित्रीकार्य र पुजाआजाका लागि अड्डि कस्नु हुन्थ्यो बुवाको तर्क आमाका अड्डिका अगाडि परास्त हुन्थे । बुवाको मनले धर्मकार्य तथा पुजामा विस्वार नगरे पनि संस्कार पालना गर्नु हुन्थ्यो । आमाले लोकलाई देखाउन पनि संस्कार पालन गर्नै पर्छ भन्नु हुन्थ्यो । म मनले सधै बुवाको पक्षमा हुन्थें तर उहाँहरुको बीचमा बोल्ने आँट कहिल्यै गरिन ।

नन्दराम पण्डितले मेरो कुरामा असहमत हुँदै तर कुटनीति खेल्ने प्रयास गर्दै भने,
‘शाष्त्रले त छोराले नै दागबत्ती दिने भनेको छ, तर आजकाल छोरीले पनि दागबत्ती दिने चलन त छ ।’ उनको भाव छोरासरह छोरीहरुलाई मान्यता नदिने र छोरा भन्दा छोरीलाई तल्लो स्तरमा राख्ने गरी रचिएका कर्मकाण्डका पक्षमा अड्डि कस्न नसक्ने तर चाहना भैरहेको भाव प्रति थियो । उनी कार्मकाण्डको कुरिति बचाउन मोर्चामा अघि बढ्न नसक्ने लाचारी पन बोकेका हाम्रो समाजका एक पात्र थिए । धादिङका अधिकारी बाहुनहरुले हलो जोत्ने आन्दोलन गरेर सहेका पिडाहरुको योगदानका कारण कट्टर पडितहरु कुरिति बचाउने मोर्चामा गलिसकेको प्रमाणका रुपमा बुझ्ने गरेकी छु, मैले । उनीहरु गलेका छन् तर सुधारका कदम चालेर संस्कृति बचाउने बुद्धि उनीहरुमा पलाएको छैन, बरु यो संस्कृति मासिएला तैपनि पाखण्डिहरु कुरिति हटाउने सधार गर्नुपर्छ भनेर अग्रसर हुनेवाल छैनन् भन्ने नै मेरो बुझाइ छ । मेरो बुझाइ निकट भविष्यमा गलत सावित भैदियोस भन्ने त मेरो कामना मात्र हो ।

हाम्रा गाउँ पिताम्बर पनि त्यहीँ रहेछन् । उनले मेरो मुरामा साथ दिँदै भने
‘समाज दुनिया कहाँ पुगिसक्यो, संविधानले छोराछोरी बराबर भनेर ब्यवस्था समेत गरिसकको छ, अझै पनि दागबत्ती दिन छोरा नै हुन पर्छ भनेर हुन्छ ? छोरा नभएको अवस्थामा छोरीले दागबत्ती दिने प्रचलन त चलिसकेको छ, बरु मित छोराले दागबत्ति दिने छोरीले नदिने कुरा पखण्डीहुन, यस्ता पाखण्डि कुरा गरेर हुँदैन ।’
हाम्रै गाउँका पिताम्बर वकालत पेसा गर्ने नामै चलेका वकील हुन । मैले आइएससी पढ्दा हाम्रो जिल्लाको पिकनिकको समयमा भेट भएको थियो, त्यस पछि भेट भएको थिएन । तर, उस्तै रहेछन्, कपाल फुलेर सतै भएछन्, अलि बुढा पनि देखिन थालेछन् । हाम्रा गाउँतिरका सवैले उनलाई अलि सम्मान पनि गर्ने गर्छन । हाम्रा लागि उनी सम्मानित ब्यक्ति हुन । पञ्चायत विरुद्धको २०४६को आन्दोलनका समयमा त हाम्रो गाउँमा उनी सवै भन्दा चर्का मानिन्थे रे । उनका कुराले मेरो समर्थन गरेपछि पण्डित नन्दराम पनि नतमस्तक भए । मलाई दागबत्ती दिने सामाजिक मान्यता पनि प्राप्त भयो । दागबत्ती दिने विषयमा त अझै हाम्रो समाजले छोरीलाई अझै पन्छाउने प्रयास गर्छ भने संविधानमा समानताका कुरा गरेको भनेर पिताम्बर काकाको भनाइअनुसारको समानता पुरै कायम हुन त केही पुस्ता नै कुर्नु पर्छहोला जस्तो भान भयो । हुन त पुर्विय र पश्चिम जताको समाज भए पनि पुरुषहरुले विशेष सुविधाको अवसर त पाउने गरेकै छन् तर पनि पश्चिमा समाजको तुलनामा हाम्रो समाजले त झन् धेरै भेदभाव गर्ने गरेको छ । बुवाले त हाम्रो सामाजिक बनावटमा चाडक्य नीतिको प्रभाव भएको र राणा शासनको अन्त्य पछि मनुस्मिृतिको सिद्धान्तको ठाउँमा कमन लिगल सिस्टमको नीति लागु गर्न थालिएको बताउनु हुन्थ्यो । म भने यी समाज विज्ञानका कुरा बुझ्न पट्टि खासै ध्यान दिन्थिन । तर, यी प्रचलन र सामाजिक नियमहरुले त सवैका दैनिकीमा हस्तक्षेप गर्दा रहेछन् त्यसैले लैङ्गिक समानताको लागि त नीति गत सिद्धान्तको जरोसम्मै पुग्न जरुरी भएको अनुभूति हुँदैछ ।

जनतन एक चरण सकियो । दाग बत्ति दिएर शब जलुन्जेल लामो समय हुँदोरहेछ । मनमा कुरा खेल्दै गर्दा फेरि मेरो अनुहार र शरीरसँग सवै मिल्दो जुल्दो भएकी मैले अपरेसन गरे लगत्तै नेपाल हिँड्न परेकी महिलाको विषयमा मन मडारिन थाल्यो । सत्य पत्ता लगाउने एउटा सम्भावना मेरै बुवाआमा थिए, उनीहरु पनि यो दुनियामा रहेनन् । अव मेरो जिज्ञासाको उत्तर उनीहरुले कहिल्यै दिने छैनन् । उनीहरुले रहस्य बताउन चाहेको भए त मलाई पहिलानै भन्न सक्थे । तर उनीहरुले बताउन नचाहेरै नभनेका हुन भन्ने मा त दुईमत नै छैन । तर, मेरो आशङ्का सवै झुट हुने पनि त सम्भावना छ नि । उनीसँग मेरो कुनै रगतको सम्बन्ध नै नहुन पनि त सक्छ नि ! तर, मेरा बुवाको पढाइको सिल्सिला नेदल्र्याण्ड्समा हुनु र उनी त्यहीँ हुर्के बढिकी हुनु । मेरो जन्म पनि नेदल्र्याण्ड्समा हुनु । हामी दुवैको जन्म मिति एउटै हुनुले रहस्य बनेको तथ्यसँग मेरो रगतको सम्बन्ध जोडिने कुरा बताइरहेका थिए । तर, बुवा आमा नै अव नरहे पछि कसरी पत्ता लगाउने भन्ने चिन्ताले सताउन थाल्यो । बुवा आमाको विछोडको पिडामाथि अर्को चिन्ताको विषय थियो ती एमिला नामकी महिलासँगको सम्बन्धको यथार्थ पत्ता लगाउनु । यता म अलि दिन अन्त्यष्टि संस्कारमा अल्झिने छु, उता त्यो डिएनए रिजल्टबाट तथ्य बुझ्ने मेरो प्रयाश पनि त अन्योलमा रहने भयो । मनमा यो समय एम्माको विषयमा सोच्ने समय होइन भन्ने लाग्यो र बुवाका संझनाहरु संझिन थालें ।

मैले एसएलसी परीक्षाको तयारी गरिरहेको समय हो । ठ्याक्क दिन त याद भएन । आमा मामा घरमा नेत्रदाइको विवाहको तयारिका लागि जानु भएको थियो । त्यस दिन बुवाले चाउमिन पकाउनु भयो र दुई कचौरामा हालेर टेबल माथि राख्नुभयो । एउटा कचौरामाथि एउटा अण्डा थियो, अर्को कचौरामाथि अण्डा देखिएन । बुवाले मलाई एउटा कचौरा रोज्न भन्नु भयो ।

हाम्रो दैनिकी बुवाको सरकारी जागिरको तलबले पुर्याउनु पर्ने हुन्थ्यो । घुस नखाने र नैतिकवान बन्ने बुवाको आचरणले गर्दा उहाँको कमाइ महिना धान्न पुग–नपुग नै हुन्थ्यो बुवाको कमाइ अनुसार अक्कल झुक्कल मात्र अण्डा खाने अवसर जुथ्र्यो । दशैं तिहार जस्ता चाडपर्वमा । अहिले जस्तो नयाँ वर्ष र भेलेन्टाइन जस्ता पर्ब मनाउने त चलन नै थिएन ।

मैले सहजै अण्डा भएको कचौरा रोजें । जब हामीले चाउचाउ खान थाल्यौ, मैले आफ्नो छनोट प्रति आफूलाई बधाई दिंदै खुसी हुँदै अण्डा खाएँ । आफुलाई खुव बाठी–चतुरे मानें । बुवाले चाउचाउ खाँदै जाँदा उहाँको कचौराको पिंधमा चाउमीनमुनि दुइटा अण्डा देखियो ! मलाई ज्यादै पश्चाताप भयो ! आफूले हतार गर्दै कचौरा छानेकोमा मलाई आफै देखि रिस उठ्यो ।

बुवाले मुस्कुराउँदै मलाई भन्नुभो— ‘प्रिय छोरी, तिमीले बुझ्नु पर्छ— तिम्रा आँखाले देखेका कुरा सधैं सत्य नहुन पनि सक्छन् । यदि तिमी अरुबाट फाइदा उठाउने उद्देश्य राख्छौ भने अन्ततः तिमी गुमाउने छौ ।’

अर्को दिन बुवाले फेरि चाउमिन पकाउनुभयो र दुई कचौरा टेबलमाथि राख्नुभयो— पहिलेजस्तै एउटा कचौरा माथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन ।

बुवाले मलाई भन्नुभयो, ‘अस्मिता, कुनचाहिँ कचौरा लिन्छ्यौ, रोज ?’

यस पटक म चनाखी भएँ । मैले कचौरामा अण्डा नदेखिएको चाहिँ कचौरा छानें र फुर्कँदै चाउमिन खोतलेर हेरें । कचौराको पिंधसम्म रित्याउँदा पनि एउटा पनि अण्डा भेटिएन । बुवाले मुस्काराउँदै मलाई भन्नुभयो, ‘हेर छोरी, तिमीले सधैँ अनुभवमाथि भर पर्नु हुँदैन किनभने कहिलेकहीं जीवनले धोखा दिन या छल गर्न सक्छ । तर तिमी रिसाउनु वा दुःखी हुन हुँदैन । यसलाई तिमीले एउटा शिक्षाको रुपमा ग्रहण गर्नु पर्छ । यो पाठ पाठ्य पुस्तकबाट सिक्न पनि सकिन्न ।’ बुवाले तेस्रो दिन फेरि दुई कचौरा चाउमीन तयार पारेर टेबलमा राख्नु भयो— एउटा कचौरा माथि एउटा अण्डा थियो र अर्को कचौरामा अण्डा थिएन । बुवाले कचौरा टेबलमाथि राख्दै मलाई भन्नुभयो—‘छोरी, चाउमीनको एउटा कचौरा रोज, कुनचाहिँ कचौरा लिन्छ्यौ?’

त्यस पालि भने मैले बुवालाई भनें— ‘बुवा, कचौरा हजुरले रोज्नुस् । हजुर घरमुली हुनुहुन्छ । परिवारमा सबैभन्दा बढी योगदान हजुरकै छ ।’
उहाँले नाई–नास्ति केही नगरी एउटा अण्डा भएको कचौरा आफु तिर तान्नु भयो । मैले आफ्नो भाग चाउचाउ खाँदै गर्दा मनमनै सोचें— ‘पक्का पनि यस पटक मैले अण्डा गुमाएँ !’ तर मैले चाउचाउ खाँदै जाँदा कचौराको पिंधमा चाउचाउले छोपिएको दुइटा अण्डा देखेर म आश्चर्यमा परें !

बुवाले प्रेमपूर्वक मलाई हेरेर मुस्कुराउँदै भन्नुभयो, ‘हेर छोरी, तिमीले बुझ्नु पर्छ । जब तिमी अरुको भलाइको बारेमा सोच्छ्यौ स्वाभाविक रुपमा तिम्रो पनि भलो हुनेछ ।’

त्यस दिनदेखि, मैले सधैँ बुवले भन्नुभएका ती तीन कुरालाई जीवनमा अपनाउने गरेकी छु—मैले गर्ने हरेक कर्ममा सर्वप्रथम म अरुको भलाइ सोच्छु । त्यही कुरा मनमा खेलाउँदै थिएं, त्यत्तिकैमा नेत्र दाइको फोनको घण्टि बज्यो । उहाँले फोनमा कुरा गरेपछि म नगिच आएर स्वासै स्वासले फुसफुसाउँदै भन्नु भयो ‘दिनेश ज्वाई एयरपोर्ट आइपुग्नु भएछ, उहाँकै फोन रहेछ, म गएर यहीँ लिएर आउँछु ।’

मेरो स्वर निस्किएन, टाउको हल्लाएर हुन्छ भन्ने सहमति जनाएपछि उहाँ जानु भयो ।

भाग – 3 भाग– १
 
 
There are no data records to display.
   
Comment:
Date:
Name:
LastName:
Address:
City:
PostalCode:
PhoneNumber:
EmailAddress:
WritingId:
Insert  Cancel

www.flykathmandu.co.uk

Received Comments



www.flykathmandu.co.uk
Please write email to belbase@flyktm.com to get permission to publish my article to your media.